छोरीमैयाँ केस मोडिनुमा ‘मल्होत्रा फ्याक्टर’को के छ कनेक्सन ?

छोरीमैयाँ केस मोडिनुमा ‘मल्होत्रा फ्याक्टर’को के छ कनेक्सन ?

०००

गएको भदौको पहिलो साताको एक शुक्रबार ज्ञानेश्वरस्थित आफ्नो कर्पोरेट कार्यालयमा दीपक मल्होत्रा हल्का तनावमा देखिन्थे। 

‘कहिलेसम्म हामीलाई यो टर्चर?’, फेसबुक, इन्स्टाग्राम र युट्युबमा आएका कमेन्ट, मेसेजहरुको प्रिन्ट कपि हाम्रो अगाडि राख्दै उनले भने,’ खुनका बदला खुन लेखेका छन्। सानी नातिनीलाई किडन्याप गर्ने थ्रेट दिएका छन्। अति भएन यो?’

भान्जी प्रियंका कार्की, छोरा दिकेश मल्होत्रा, बुहारी जेनिशा मोक्तान र स्वयं आफ्नो सोसल मिडियाहरुमा आएका कमेन्टहरु ती प्रिन्ट कपीमा थिए।

हामीले छोरीमैयाँ खै सिरिज थालिसकेपछि आफ्नो पक्षको कुरा स्पष्ट पार्न मल्होत्राले हामीलाई आफ्नो कार्यालयमा डाकेका थिए। उनले आफूहरुको मानहानी गर्नेहरु विरुद्ध साइबर क्राइममा उजुरी दिन लागेको जानकारी दिए। 

सोसल मिडियाका कमेन्टहरुले मल्होत्रा परिवारलाई हतास बनाएको महसुस हुन्थ्यो। घटनाको १० वर्षपछि सोसल मिडियामा एकाएक यो इस्यु चर्को बनेर उठ्न थालेको थियो र तारो बनेको थियो मल्होत्रा परिवार। 

तर, १० वर्षअघिको दृश्य भने बिल्कुल फरक थियो। त्यतिबेला अहिले जस्तै सामाजिक सञ्जाल व्यापक भइसकेको थिएन। छोरीमैयाँको न्यायका लागि आवाज उठाउनेहरु उल्टै त्रसित बन्नुपर्ने अवस्था थियो। 

धम्की र चेतावनी सहनेमा विद्या श्रेष्ठ पनि पर्छिन्। रिले अनसन, सडक प्रदर्शनदेखि अदालत घेराउसम्मका प्रदर्शनका कार्यक्रममा सक्रिय भएकी उनी एक दिन घर फर्कँदै गर्दा बाटो छेक्दै भनेछन्, कति हिँडेको तिमी आन्दोलनमा? तिमी पनि हराउली है, विचार गर।’

विद्या डराउनेमध्येकी थिइनन्। को हौ भनी परिचय मागे। 

उनले भने, ‘म मल्होत्राको साथी हुँ। विचार गर, तिमी पनि हराउन सक्छौ।’  

त्यतिबेला उनको मनमा चिसो पस्यो। अहो, आमा जस्तो मान्छे हराउँदा त पोइल गई भनेका छन्। उमेरदार मान्छे हराउँदा झनै के भन्लान्!

तर, मैले त्यतिबेला मन दह्रो पारेर जवाफ फर्काएँ, ‘म  हरायो भने त टोलभरिका मान्छे हराउँछन्।’ 

उनी सम्झन्छिन्, ‘हामी आन्दोलनमा लाग्नेलाई निरन्तर केही मान्छेले एउटै कुरा सुनाउँथे, ‘तिमीहरुलाई मल्होत्रा को हो थाहै रहेनछ।’

‘आन्दोलनमा मल्होत्राका मान्छे छिर्थे, छोरीमैयाँको घरमा को को गए भनेर टोलमै आएर टिपोट गरिन्थ्यो, आन्दोलनमा जानेलाई फलो गरिन्थ्यो। यस्ता कारणले एक प्रकारको डर फैलिएको थियो। त्यतिबेला हामीलाई परिवारले ५ बजेपछि घर आइहाल भन्थे। आउन ढिला भए फोन गर्थे।’

बरु मारिदिनु पर्ने !

छोरीमैयाँ खोजी अभियानमा जोडिएका र धम्की पाएका अर्का अभियन्ता हुन्- गणपतिलाल श्रेष्ठ। 

गएको भदौमा उनले आफ्नो अनुभव यसरी सुनाए,  ‘छोरीमैयाँको खोजीका लागि दबाब समूह विस्तारै निष्क्रिय बन्दै थियो, अकुपाइ बालुवाटार आन्दोलनले गर्दा पुनः चर्कियो। निक्कीका पति विनोद सिंहको परिवार हाम्रो कम्युनिटीलाई भड्काउन लागि पर्नुभयो। त्यतिबेला अदालत र प्रहरीमा चलखेल भयो भन्ने हामीलाई लाग्थ्यो।’ 

‘दबाब समूह निष्क्रिय जस्तै भए पनि दबाब समूहमा आबद्धहरुलाई निकी सिंहका मान्छेले भेट्न छोडेनन्। 

उहाँहरुले हाम्रो समूहको एक एक जनालाई भेट्न थाल्नुभयो। मलाई पनि भेट्न निकी सिंहका पति विनोद सिंह आउनुभयो। उहाँले सुरुमा मलाई प्रलोभनमा पार्न खोज्नुभयो। खर्च कसरी चल्छ सामाजिक काम गर्ने मान्छे भनेर सोधे। मैले भनिदिएँ, 'सामाजिक काम गर्न अरुको सहयोग लिदैनौँ। फेरि उहाँले भन्नुभयो तिमी किन यस्तो आन्दोलनमा लाग्छौँ करिअर बनाउन पर्दैन। म सुनिरहेँ उहाँलाई।’ 

‘मैले केही भन्दा पनि नमानेपछि उहाँले त झोक्किएर बरु मार्दिनैपर्ने रहेछ भन्नुभयो छोरीमैयाँलाई।’ 

‘मैले पनि त्यतिबेला उहाँलाई भने, तपाईंहरु सिंगल भेट्दै किन हिँड्नुहुन्छ? हाम्रो बैठकमा आउनुस्। तर उहाँ आउनुभएन। हामीले छोरीमैयाँ खै मात्रै भनेका थियौँ, उहाँहरु कसैलाई हामीले आरोपी करार गरेका थिएनौँ। पम्पलेट पनि बोकेका थिएनौँ। उहाँहरुको व्यवहारले हामीलाई झन् उहाँहरुनै दोषी हो भन्ने पर्यो।’ 

मल्होत्राका सहयोगीको ‘धम्की’

सुधाका अनुसार एक दिन आफूहरुको खोजी दबाब समूहलाई सक्रिय रुपमा सहयोग गरिरहेका कांग्रेस नेता तीर्थराम डंगोललाई अपरिचित नम्बरबाट धम्की आयो। उनीहरुले प्रहरीलाई खबर गरे। खोजी हेर्दा त्यो नम्बर दयाराज शर्माले चलाउने गरेको भेटियो। पूर्व एआइजी विज्ञानराज शर्माका भाइ दयाराज मल्होत्राका सहयोगी हुन्। 

दीपक मल्होत्रा भने यो प्रकरणलाई गलत व्याख्या गरिएको स्पष्टीकरण दिन्छन्। उनका अनुसार दयाराज र तीर्थरामको एकदम राम्रो सम्बन्ध थियो- तँ-तँ म-म चल्ने। तिमीले किन यस्तो गरेको भनेर दयाराजले फोनमा कुरा गर्दा गलत अर्थ लगाएर कुप्रचार गरिएको मल्होत्राको तर्क छ। 

मल्होत्राको नाम लिएर अदालतमा प्रवेश

गणपतिलाल श्रेष्ठले मल्होत्राको पावर कतिसम्म रहेछ भनेर देखाउन अर्को एउटा उदाहरण सुनाए। काठमाडौं जिल्ला अदालत त्यतिबेला पुरानो भवनमा थियो। थुनछेकको बहस चलिरहेको थियो त्यतिबेला।

हामी बाहिरै थियौँ। भित्र निक्की सिंहका आफन्त मात्रै होइन अन्यत्रलाई समेत जान दिइएको थियो। तर हामीतिर भने परिवारको पनि एक दुई जनालाई मात्र जान दिए। 

त्यतिकैमा एक जना मान्छे आयो। उसले हातभरि फाइल बोकेको थियो। त्यहाँ खटिएका डिएसपीलाई म दीपक मल्होत्राको मान्छे भन्यो। सहजै जान दियो भित्र। तर कालो कोट लाएका वकिललाई समेत कार्ड देखाउन परेको थियो।  दीपक मल्होत्राको नाम लिने बित्तिक्कै केही देखाउन नपर्ने मलाई चित्त बुझेन। 

केही बेरपछि मैले पनि दीपक मल्होत्राले फाइल लिन बोलाउनुभएको भनेर भित्र गएँ र लफडा गरिदिएँ। त्यतिबेला टेलिभिजनका पत्रकारहरु पनि हुनुहुन्थ्यो। न्यायालयमा यस्तो विभेद गर्न पाइँदैन भने।

हामीलाई र उनीहरुलाई गरिएको फरक व्यवहारले नै हामीलाई शंका गर्ने वातावरण बनाइदियो। 

एकैछिनमा पत्रकार किशोर पौडेलले आएर एक्लैदुक्लै बाहिर नहिँड्नु ठूला-ठूला मसल भएका मान्छेहरु बाहिर छन् भन्नुभयो। उनीहरु प्रहरीको घेराभन्दा बाहिर रहेछन्।

हनुमानढोकामा बयान दिन आउँदा पनि प्रहरीको घेरामा मल्होत्रा आउने र भिडतिर हेर्दै ‘के गर्न सक्छौ गर’ भनेर चुनौती दिने गरेको तत्कालीन अभियन्ताहरुले सुनाए। 

मल्होत्रा भने आफूलाई बिना कुनै आधार यसमा मुछिएको दावी गर्दै भन्छन्, ‘त्यतिबेला मेरो परिवार पूरैलाई गाली गरे। अहिले पनि गाली गरिरहेका छन्। यत्रो वर्ष भइसक्यो अझै गाली गरेका छन्।’

उनी भन्छन्, ‘त्यतिबेला ५० लाख रुपैयाँ दिएको भए यो केस सकिन्थ्यो।’ परिवारले ब्ल्याकमेलिङ गर्न खोजेको उनको आरोप छ। 

‘अनुसन्धानलाई प्रभाव पारेको भए मेरी बहिनी दुई हप्ता थुनामा पर्दिनथिन्। उसको हिरासतमा बसेको फोटो बाहिर आउँदैनथ्यो,’ मल्होत्राको तर्क छ। 

०००

‘कहिलेसम्म हामीले स्पष्टीकरण दिँदै हिँड्नुपर्ने?,’ मल्होत्राले सोधे, ‘किडन्याप भनेको त ग्याङले गर्ने होला नि। मेरी एक्ली बहिनीले कसरी गर्न सक्छे? यो कुरा मिल्दै मिल्दैन।’

उनले थपे,’ यही बीचमा ज्वाइँ (निक्कीका श्रीमान् विनोद सिंह) हर्ट अट्याक भएर बिते। घरमै ढले भन्ने खबर आएपछि म कुदेर गएको थिएँ। त्यतिबेला जीवितै थियो। नर्भिक अस्पतालमा लाँदालाँदै बीच बाटोमै बितेछ।’

‘यो कुरा जेनिशा (बुहारी) ले पनि लेखेकी थिइन् इन्स्टाग्राममा। तर इमोसनल ब्ल्याकमेलिङ गर्यो भने। एक्लै रहेकी बहिनीलाई समाजमा कति गाह्रो छ।’

हामीले मल्होत्रालाई सोध्यौँ- तपाईँहरुको त भारतमा धेरै सम्पर्क छ। भारतमा छोरीमैयाँ लुकेको भन्ने कुरा आइरहँदा तपाईँहरुले आफ्नो सञ्जाल प्रयोग गरेर खोज्ने प्रयास गर्नुभएन?

एकछिन मौन रहेर उनले भने, तपाईँहरुलाई साँचो कुरा गरौँ? इमान्दारपूर्वक भन्दा हामीले नखोजेकै हो। 

बिना कारण आक्षेप लगाएकोले आफूहरुले वास्ता नगरेको उनले स्पष्टीकरण दिए। 

हामीले फेरि अर्को प्रश्न राख्यौँ, ‘तपाईँलाई के लाग्छ? के परिवारले नै छोरीमैयाँलाई लुकाएको हो?]'

उनले भने, ‘मेरो आफ्नो हिसाबमा (उनीहरुले) आमालाई लुकाएको भन्ने त लाग्दैन। सेकेण्ड फेजमा आमा हराए पनि पैसा आए हुन्थ्यो भनेको हो।’ 

‘म पनि यो घटना सल्भ भइदिए हुन्थ्यो भन्नेमा नै छु,’ उनले भने, ‘आमा खोज्ने सन्दर्भमा केही गर्नुपरेमा म अझै तयार छु।’

०००

‘दाइ, हामीलाई अहिले पनि एकदमै गाह्रो हुन्छ यो सब कुरा सम्झँदा’, छोरीमैयाँ खै सिरिज पढेर एक साँझ सुधाले मेसेज गरिन्। 

यो परिवारले खप्नु परेको दुःखको सीमा छैन। आमा हराउनु, पोइल गएको बिना प्रमाणित आरोप लगाएर हियाइनु, त्यत्रो रकम गुमाउनु, वर्षौँ आन्दोलनमा दौड्नु तर उपलब्धि केही नहुनु। खासमा आमालाई भयो के भन्ने जवाफसमेत नपाउनु!

तैपनि सब कुरालाई सहँदै विस्तारै जीवन चलिरहेको थियो। छोरीमैयाँले सुरु गरेकै कारखाना अहिले छोरीहरुले चलाउँछन्। 

पछिल्लो पटक त उनीहरुले केही गरेका पनि होइनन्। यत्तिकै सामाजिक सञ्जालमा यो विषयमा कुरा उठ्यो। र, फेरि उनीहरुको पुरानो घाउ कोट्याइदियो। 

तीन छोरीमध्ये कान्छी सुधा अलि ‘स्ट्रङ’ देखिन्छिन्। हामीले कयौँ पटक पुराना कुराहरु कोट्याउँदा पनि उनको मुहार भावशून्य देखिन्थ्यो। तर जब मल्होत्राले लगाएको आमाको खोजीको साटो पैसाको पछि लागेको आरोप सुनिन्, उनले आफूलाई सम्हाल्न सकिनन्। वर्षौँदेखि रोकिएका आँसु बग्न थाले। 

‘जसरी हुन्छ आमालाई के भयो भन्ने मात्रै जान्न पाए हामी सम्हालिन सक्थ्यौँ होला,’ सुधाले भनिन्। 

तर, उत्तर आएको छैन। राज्यको जिम्मा हो यो प्रश्नको जवाफ दिने। तर वर्षौँदेखि नाजवाफ छ।  

प्रश्न कायमै छ- छोरीमैयाँ खै?

प्रहरीले २१ दिन हिरासतमा राखेर निक्की भनिने सुरक्षा सिंहविरुद्ध अपहरण तथा शरीर बन्धक बनाएको अभियोगमा अनुसन्धान गर्यो। तर अनुसन्धान सकिएपछि तयार पारिएको अभियोग पत्र निकै फितलो कसरी थियो। यसबारे थप जानकारी #ChhoriMaiyaKhai शृंखलाको भोलिको अंकमा। 

(प्रजु पन्त र कृष्पा श्रेष्ठको सहयोगमा)

अघिल्ला शृ‌ंखला

१६ मंसिर, २०७८, १८:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।