मध्यमधार : अति उकुसमुकुस भएपछि मीनाले साङ्केतिक भाषामा बहिनीलाई भनिन्- ‘म केटासँग हैन, केटीसँग बिहे गर्छु’

मध्यमधार : अति उकुसमुकुस भएपछि मीनाले साङ्केतिक भाषामा बहिनीलाई भनिन्- ‘म केटासँग हैन, केटीसँग बिहे गर्छु’

मीना जोशीले जन्मिएदेखि नै कान सुन्न सकिनन्। संवादका लागि सङ्केत साङ्केतिक भाषा प्रयोग गर्छिन्। अरूले बोलेको बुझ्दिनन्। तर, सकेसम्म अरूको कुरा बुझ्न भने खोज्छिन्।

यो परिवर्तन आएको धेरै भएको पनि छैन। ठ्याक्कै एक वर्ष भयो। उनी समलिङ्गी महिला। त्यसमाथि बहिरा। उनले आफ्नो यौनिक पहिचान २० वर्षको उमेरसम्म गुटमुटाएर लुकाएरै राख्नु पर्यो।

जब उनले आफ्नो यौनिकताबारे  घरमा भन्न सकिन् उनमा खुसी छायो। घरमा भन्न नसक्दा उकुसमुकुस भइरहेको थियो उनलाई। जब भनिन् उकुसमुकुस मुक्त भइन्।

काभ्रेमा जन्मिएकी उनले आफ्नो विद्यालय शिक्षा गाउँमै पुरा गरिन्। अहिले भने नक्सालमा रहेको बहिरा माध्यमिक विद्यालयमा स्नातक पढिरहेकी छिन्।

यता आएपछि उनले सबै भन्दा पहिला त 'बहिरा' साथीहरुनै धेरै भेटिन्। त्यसपछि त्यहाँ यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको साथीहरू पनि भएको थाहा पाइन्।

पहिलो पटक उनले आफ्नो यौनिक पहिचानबारे साथीहरूसँग खुलेर बोलिन्। 

काठमाडौँमा लैङ्गिक अल्पसङ्ख्यकहरूको लागि भनेर धेरै संस्थाहरू छन्। तर, अपाङ्गता भएका लैङ्गिक अल्पसङ्ख्यकहरूकै लागि भनेर जम्मा इन्द्रेणी नाम गरेको एउटै मात्र संस्था छ। उनको साथी सुवास काफ्ले, जो आफै पनि बहिरा समलिङ्गी नै हुन्, उनी इन्द्रेणी जाने गरेको थाहा पाइन्। संस्थामा गएर धेरै आफू जस्तै यौनिक पहिचानका साथीहरूसँग उनको भेट भयो।

'एक वर्ष अघि म यहाँ आएको हो। पहिलो पटक आउँदा एकदम डर लागेको थियो। खुलेर कुरा गर्न सकिन। तर, पछि बिस्तारै आफ्नो बारेमा खुलेर भन्न थाले,' मीनाले साङ्केतिक भाषाबाट बताएको कुरा सुनिता श्रेष्ठले उकेरालाई उल्था गर्दै भनिन्,' स्कुल र कलेजमा यस्तो कुरा नै हुन्थेन। पाठ्यक्रम नभएर पनि होला। तर, यहाँ त सबै जना यस्तै भएको भएर एक हिसाबले माहौल पनि बन्यो। अनि मलाई सहज भयो।'

'यौनिक पहिचान बारे स्कुलमा पढ्न पाएको भए…'

नेपालमा यौन शिक्षा त मुस्किलले पढाइ हुन्छ। यौनिक पहिचानबारे खुलेर विद्यालयसम्मै छलफल र पढाइ कहिले हुनु!

स्कुल पढ्दा नै यौनिक पहिचान पनि 'सामान्य' नै हो भनेर पढ्न पाएको भए यति धेरै जटिल हुन्थेन होला भन्ने लाग्छ उनलाई। त्यसैले अहिले जो नयाँ मान्छे देखे पनि आफूसँग आफ्नो बारेमा कुरा गर्छन् कि भनेर उनी रमाइलो मान्ने गर्छिन्।

'यो चैं मेरो ठाउँ हो जस्तो लाग्न थालेको छ। आफ्नो बारे पनि झन् बढी थाहा पाएँ,' इसारामा उनले भनिन्।

गाउँमा हुँदा उनले लैङ्गिक तथा यौनिक अल्पसंख्याहरूलाई गर्ने व्यवहार र दृष्टिकोण देखेकी रहिछन्। व्यवहार राम्रो थिएन। त्यसले उनको मनमा डर बसायो। आफ्नो यौनिक पहिचानबारे कसैसँग कुरा गर्ने हिम्मतै गरिनन्।

समलिङ्गी महिला भनेको एउटा महिलाले आफू जस्तै महिलालाई मन पराउनु हो। उनीहरूको यौन विशेषता पनि एउटै हुने गर्छ। यसमा उनीहरू आफ्नो शारीरिक बनोटलाई पनि जे हो त्यसमै स्विकार्ने विशेषता पनि हुन्छ।

उनले आफ्नो पहिचान खुलाउन सकिनन् घरमा। लामो समय लुकाएरै बसिन्। जब उनको बिहेको कुरा चल्यो उनलाई गाह्रो हुन थाल्यो।

'तैँले कान पनि सुन्दैन। बिहे गरेर गयो भने काम गर्न पनि पर्दैन। आर्थिक रूपमा पनि सपोर्ट हुन्छ भन्नुहुन्थ्यो,' उनले साङ्केतिक भाषामा भनिन्' 'घरबाट धेरै दबाब भयो।'

पहिलो पटक उनले आफ्नी बहिनीलाई आफू केटासँग हैन केटीसँग विवाह गर्न मन भएको बताइन्। बहिनीबाट त्यो कुरा घरका सबैसम्म पुग्यो। घरबाट उनले सोचेभन्दा फरक प्रतिक्रिया आयो।

गाली गर्छन् भन्ने लागेको रहेछ उनलाई। तर कसैले गाली गरेनन्। बरु 'त्यसो भए जुन केटी मन परेको छ त्यहीसँग बिहे गरिदिन्छु' भने ।'

तर, बिहे नै गर्नेगरि उनले कुनै साथी चयन गरिसकेकी थिइनन्। पहिला उनी आफ्नो पढाइलाई निरन्तरता दिन चाहन्छिन्। आफू जस्तै आफ्नो कुरा राख्न नसक्ने यौनिक अल्पसंख्याहरूको लागि काम गर्न चाहन्छिन्।

'यतिका समय उकुसमुकुस भएर बस्न परेको पीडा म कसलाई सुनाऊँ। एक त बोल्न र बुझाउन सक्नेहरूले नै यो कुरालाई लुकाउन खोज्छन् । अनि हामी जस्तो सुन्न नसक्ने, बोल्न नसक्नेको कुरा कसरी अगाडि आउँछ?', उनको आँखा रसाए।

उनको धेरै ठूलो इच्छा रहेनछ। बस सानो बेला जुन कुराको उनलाई अभाव भयो त्यो अरूलाई नहोस् भन्ने चाहन्छिन्। स्कुलको पाठ्यक्रममा यौनिक पहिचानको कुरा अटाए हुन्थ्यो, भन्ने चाहन्छिन् उनी। त्यही भएर उनले शिक्षा विषय छानेकी छिन्।

पछि शिक्षक बन्न सकिन् भने आफ्नो विद्यार्थीलाई सानै देखि यसबारे खुल्नको लागि प्रेरित गर्ने उनको उद्देश्य छ।

'समलिङ्गी महिला साथीहरू धेरै हुनुहुँदो रहेछ। तर, उहाँहरू खुल्न निकै अप्ठ्यारो महसुस गर्नुहुने रहेछ। परिणाम जस्तो भए पनि खुलेर अगाडि आउन सक्यो भने आफ्नो मन हल्का हुन्छ। त्यसपछि त अरूलाई मनाउन, बुझाउन सकिहाल्छ नि !,' उनले भनिन्।

आफूसँग भन्न टन्नै कुराहरू छन्। तर धेरै कुरा भन्नै सक्दिनन्। उनीहरूले पढ्ने 'विशेष विद्यालय'हरूमा पाठ्यक्रममा सीमित कुराहरू मात्र राखिएको छ। मनमा भाव व्यक्त गर्ने साङ्केतिक भाषाका सङ्केतले उनको सबै भाव बोक्न सक्दैनन्। उनका धेरै कुरा मनमै रहन्छन्। केही भाव अनुहारले बोल्छ।

यत्ति हो। तर जति भाव व्यक्त गर्न सक्छिन् अब खुलेर बताउन सक्ने भएकी छिन् उनी। यसमै पनि सन्तुष्ट छिन् अहिले।

मध्यमधारका अन्य सामग्री

१५ मंसिर, २०८०, २१:५०:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।