मध्यमधार : परामर्शदाता बाबु, जसलाई ‘छ्या कस्तो छोरी जस्तो’ भन्नेहरूको केही मतलब लाग्दैन

मध्यमधार : परामर्शदाता बाबु, जसलाई ‘छ्या कस्तो छोरी जस्तो’ भन्नेहरूको केही मतलब लाग्दैन

केही दिनअघि सामाजिक संजालमार्फत् बाबु धुमी राईलाई अपरिचित व्यक्तिको फोन आयो। सुरुमा त उनले वास्ता गरेनन्। फोन गरेको गर्यै गरेपछि महत्वपूर्ण काम होला भनेर उठाए। 

उता बाट कुरा सुरु भइहाल्यो, ‘भाइ यो अप्राकृतिक हो, यो यशूको विरुद्धमा छ। यशूले महिला र पुरुषलाई मात्र बनाउनु भएको हो। बाँकी सबै गलत हो। लैंगिकताबारे बोल्दै नहिंड। पछि यशूले तिमीलाई कुभलो गर्नुहुन्छ।’

अपरिचित व्यक्तिले सिधै यस्तो कुरा गरेको देखेर उनी अक्क न बक्क परे। एकछिन त केही बोल्न पनि सकेनन्। अनि जवाफ फर्काए, ‘दाइ म अहिले बोल्न सक्ने अवस्थामा छैन। तपाइको प्रश्नको उत्तर दिन सक्दिनँ। भोलि कुरा गरौंला।’ यति भने फोन राखेपछि उनी दिनभर त्यही कुरा सोचेर बसे।

भोलिपल्ट भने उनी आफैंले ती व्यक्तिलाई फोन गरे। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायबारे सम्झाउने प्रयास पनि गरे। तर, ति व्यक्तिले उल्टै, ‘भाइ तिमी सम्झेलाउ भनेको त उल्टै मलाई सम्झाउने !’ भने अनि फोन काटे।

बाबु आफूलाई क्वेर भनेर चिनाउन चाहन्छन्। उनी अहिले यही समुदायको मानवअधिकार तथा एचआईभी, एड्स संक्रमितलाई परामर्श दिनेदेखि सचेत गराउने सम्मको काम गर्छन्। उनी सामाजिक सञ्जालमार्फत् यस विषयमा विभिन्न जानकारीहरू दिइराखेका हुन्छन्। 

उनी यो समुदाय भित्र हुने विभेदका बारेमा पनि खुलेर लेख्ने गर्छन्। त्यसैले ती अनजान व्यक्तिले फोनै गरेर थर्काएका थिए उनलाई। सामाजिक सञ्जालमा उनले आफ्नो र यो समुदायको बारेमा यस्ता धेरै टीकाटिप्पणीको सामना गरिराखेका हुन्छन्।

लिपिस्टिक लगाउँदा सरको गाली

खोटाङमा जन्मेका बाबुको विद्यालय तहको पढाइ उतै भयो। विद्यालय पढ्दाको एउटा घटनाले अहिले पनि उनलाई झस्काइरहन्छ। कक्षा ८ मा पढिरहेको, भर्खरै किशोरावस्थामा प्रवेश गरेको बेला राम्रो हुन मन लाग्ने त हुने नै भयो।

तीन दिदीका एक्लो भाइ उनले घरमा लिपिस्टिक भेटे। दिदीहरूले लगाएको उनले देखेकै थिए। जाडो मौसमको समयमा झन् सबैजसोले ओठ फुट्दा चिल्लो बनाएका पनि देखेकै थिए। त्यही भएर उनले पनि ओठ रातो बनाइहाले। आफ्नो अनुहार ऐनामा हेरेर केही बेर दंग पनि परे। 

बिहान मुख धोए तर लिपिस्टिक मेटिएन। विद्यालय जान हतार भएपछि त्यतिकैमा कुदिहाले। यसपछि उनलाई माया गर्ने एक शिक्षकले यसरी गाली गरे की त्यसपछि लिपिस्टिक लगाउने बारेमा सोच्न पनि सकेनन्।

‘राति सुत्नुअघि लिपिस्टिक लगाएँ। बिहान धुँदा गयो होला भनेको गएको रहेनछ,’ उनले भने, ‘सरले सबैको अगाडि उठाएर यस्तो गाली गर्नु भयो कि अहिलेसम्म बिर्सन सकेको छैन।’

उनले सानैदेखि बुबाको माया पाएनन्। खेतिपाती पनि गर्नै पर्ने थियो। दिदीहरूले खेत जोत्ने चलन थिएन। एकपटक रोपाइँको चटारो भएको समयमा उनको घरमा कोही खेताला आइदिएनन्। घरको एक मात्र छोरा मान्छे भएको कारण सानै भए पनि उनी आफैं अगाडि बढ्न पर्यो।

‘मैले दिदीहरूलाई नराम्रो त भनेको होइन तर त्यो सानो बेलामा मैले छोराको भूमिका निभाउनु पर्दा कस्तो गाह्रो भएको थियो। छोरा मान्छे र छोरी मान्छेको काम किन छुट्याएको होला भन्ने लाग्यो। त्यसबेला हलोमा झुण्डीएर रुँदै पहाडको खेत जोतेको थिए,’ कुरा गर्दागर्दै एकछिन उनी स्तब्ध भए। 

छ्या कस्तो छोरी जस्तो!

बाबु हातमा नङ पालिस, कानमा रिङ, नाकमा नत्थी, सानो साइड ब्याग अनि कालो पारदर्शी टि-सर्ट, सेतो पाइन्ट र कालो हिल जुत्ताको हुलियामा उकेराको अफिस आइपुगे। उनी खुला विचारका छन्। पुरुषले यो लगाउने यो नलगाउने भनेर बाँधिंदैनन्। उनलाई जस्तो लगाउँदा सहज महसुस हुन्छ त्यस्तै लगाउँछन्। त्यसैले त ‘छ्या कस्तो छोरी जस्तो’ भन्दा पनि ‘महिला’ले लगाउने भनिएको पहिरन लगाउन छाड्दैनन्। 

‘यो सब त समाजले बनाएको नियमभन्दा बाहिरको कुरा पो रहेछ। यो पनि प्राकृतिक र सामान्य हो भन्ने थाहा पाएको छु,’ उनले भने, ‘पहिला त म नै गलत रहेछु, म सुध्रिनु पर्छ। मैले आफ्नो मर्दाङ्गीपन देखाउनु पर्छ, भन्ने दिमागमा आइरहन्थ्यो।’

पढाइमा अब्बल विद्यार्थी भए पनि साथी र शिक्षकहरूले गर्ने व्यवहारले गर्दा उनी गाउँकै जंगलमा टोलाएर बस्न मन पराउँथे। उनलाई लाग्छ विद्यालयमा यौनिकताबारे पढाइदिएको भए उनी जंगल गएर बस्नको साटो साथीहरूसँग खेल्थे, पढाइमा थप ध्यान दिन पाउँथे।

‘मैले बालापन बालापन जसरी बिताउन पाइनँ, साथीहरू ‘छ्या कस्तो केटी जस्तो’ भनिदिने,’ उनले भने, ‘विद्यालयमा यसको बारेमा पढाइदिएको भए सबैले बुझ्थे। मैले पनि बालापनमा एक्लो महसुस गर्न पर्दैनथ्यो।’ 

जति हेपाइ, उति बलियो

एसईईपछि भने उनी बाँकी पढाइको लागि काठमाडौं आए। सामाजिक विज्ञान पढेसँगै विभिन्न संस्थामा जोडिने क्रममा निल हिरा समाजमा जोडिन पुगे। यसको बारेमा आफैं पनि अध्ययन अनुसन्धान गर्दै जाँदा आफ्नो पहिचान पनि फेला पारे। जुन समाजले भनिएको ‘छोरा’ मा पर्दैनथ्यो।

त्यसपछि भने उनले आफैंले आफैंलाई नजरअन्दाज गरिरहेको थाहा पाए। उनी भन्छन्,‘बाटोमा हिंड्दा पनि मलाई पछाडिबाट कसैले जिस्काइरहेको छ कि! कसैले हेरिरहेको छ कि। कसैले केही भन्ने हो कि, भनेर धेरै सोच्थें।’ जब उनले आफैंलाई स्वीकारे त्यसपछि अरूले के सोच्लान् भन्ने मतलब गर्न छाडे।

संस्थाहरूबाट तालिम लिए। काम गरे। छात्रवृत्ति पाए। आफैं पनि तालिम दिन थाले। अहिले ‘सोसियल मिडिया इन्फिल्युन्सर’ भएर पनि काम गरिराखेका छन्। आफ्नै समुदाय भित्रकै कमजोरी पनि उप्काउने गर्छन्।

‘हाम्रो समुदाय भित्र पनि धेरै समस्या छन्। साथीहरूले आफ्नो समस्याबारे नलेख भन्नु हुन्छ,’ उनी भन्छन्, ‘हामी भित्र देखिएको समस्याको बारेमा पनि कुरा गर्न आवश्यक छ। हामी आफैं जुध्नु हुँदैन भनेर लेखिरहन्छु।’

एचआईभी संक्रमणको उच्च जोखिम 

एचआईभी/एड्सबाट जो कोही पनि संक्रमित हुन सक्छन्। तर, धेरै जोखिममा यस समुदायका व्यक्तिहरू रहेका कारण धेरैले ‘उनीहरू’लाई मात्र लाग्ने, वा उनीहरूबाटै सर्ने जोखिम रहेको गलत भाष्य भएकोमा भने उनको चित्त दुखाइ छ। 

यसैसँग सम्बन्धित संस्थामा काम गर्ने हुँदा एचआईभी संक्रमितले आफू संक्रमित भएको भनेर स्वीकार्नै नसक्नेहरू धेरै भएको उनी बताउँछन्। ‘एचआईभी संक्रमित भएपछि धेरै साथीहरू एचआईभी लागेको हो भनेर स्वीकार्नै सक्नुहुन्न। कण्डम किन्न नै लजाउनुहुन्छ,’ उनले भने।

‘धेरैले त बुझ्नै नचाहेको पनि देखेको छु। हस्पिटल नै गयौं भने पनि उभिनै अप्ठ्यारो लाग्ने गरेर हेरेको हेर्यै गरिदिन्छ। मैले कतै पढेअनुसार १४ सेकेन्डभन्दा धेरै कसैलाई हेर्यो भने यौनहिंसा भयो भन्ने गरिन्छ। उनीहरूले त १४ मिनेटसम्म पनि हेरेको हेर्यै गरिदिन्छ। अनि काने खुशी गर्ने, छक्का, हिजडा भनिहाल्छ।’

संक्रमितहरूलाई गर्ने व्यवहार देख्दा धेरै जना अझै रोगले ग्रसित भएको बाबुको ठम्याई छ। त्यस्तो अवस्थामा कतिले त आफू संक्रमित भएको पनि थाहा नभएको र थाहा भए पनि अरूले गर्ने व्यवहार देखेर संक्रमित होइन भन्दै हिंड्ने गरेका पनि छन्। 

‘त्योभन्दा त म औषधि नै खान्न भन्ने हुने रहेछ। त्यसले गर्दा विशेषगरी यो समुदायको धेरै एचआईभी संक्रमितहरूको मृत्यु डर पनि बढी छ,’ उनले भने। 

‘एक रिपोर्टअनुसार चार मध्ये तीन जना संक्रमित चै यही समुदायको हुन्छ भनेर देखाएको छ। त्यो भनेको हामी एकदमै धेरै जोखिममा छौं भनेको हो,’ उनी भन्छन्, ’त्यो भन्दैमा फेरि यसमा यस समुदायको सबै जना संक्रमित छन् भन्ने होइन। यसमा पनि विशेषगरी समलिंगी पुरुष, बाइसेक्सुयल, ट्रान्स वोमेन, अनि पान सेक्सुयलहरू बढी जोखिममा भएको तथ्यांकले नै देखाएको कुरा हो।’

उनका अनुसार १८ देखि २५ वर्ष उमेर समूहका व्यक्तिहरू बढी जोखिममा छन्।

जोखिम उच्च, सचेतना कम 

बाबु कार्यरत संस्थाले संक्रमितहरूलाई खोज्ने र जोखिममा रहेका व्यक्तिहरूलाई यौन परामर्श दिनेसँगै कण्डम, लुब्रिकेन्टहरू दिने गरेको छ।

उनी आफैंले पनि परामर्श दिने हुँदा प्रायः नयाँ अनुहारका व्यक्तिहरू देखिरहेका हुन्छन्। परामर्श दिने क्रममा केही व्यक्तिहरूले त उनीसँग झगडै पनि गरेका छन्।

‘हामी पुरुष पुरुष यौनसम्बन्ध राख्दा एचआईभी सरेकै थिएन। तिमीहरूले गर्दा नै हो’ भनेर उल्टै गालि पनि आइरहन्छ। ‘अनि एचआईभी लागेकोहरूले लागेको नै होइन भनेर बस्दिन्छन्।’ यस्तोमा सम्झाउन निकै सकस हुने बाबुको अनुभव छ। 

यस समुदायमा अझै पनि धेरै शिक्षाको अभाव छ। लैंगिकताकै कारण विद्यालय र परिवार छोड्नुपरेको घटना उत्तिकै हृदयविदारक छन्। त्यसमाथि यौनसम्बन्धी रोगको संक्रमण पनि अति नै देखिन्छ।

‘यस्तो अवस्थामा सचेतनाको कार्यक्रमहरू सञ्चारमाध्यम तथा पाठ्यक्रममा राख्न सकिन्छ,’ बाबुले भने, ‘स्थानीय सरकारले पनि यसमा हामीसँग मिलेर काम गरिरहेको छ। तर, धेरै जसो अवस्थामा उहाँहरूलाई नै पनि बुझाउनु पर्ने हुन्छ।’ 

मध्यमधारका अन्य सामग्री

१ भदौ, २०८०, १३:२९:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।