मध्यमधार : माया र सुरेन्द्र जसले सम्बन्ध जोगाउन समाजको अपहेलना पचाए, विवाह गरेको छ वर्षपछि कानुनी मान्यता पाए

मध्यमधार : माया र सुरेन्द्र जसले सम्बन्ध जोगाउन समाजको अपहेलना पचाए, विवाह गरेको छ वर्षपछि कानुनी मान्यता पाए

काठमाडौँ : माया गुरुङ र सुरेन्द्र पाण्डेले पञ्चेबाजा बजाएर विवाह गरेको छ वर्ष भयो।

सामाजिक रुपमा यी दुवै श्रीमान् र श्रीमती। तर कानुनी रूपमा भने साथी मात्र। कारण उनीहरूको लैंगिक पहिचानबीच उनीहरूको विवाहलाई नेपालको कानुनले चिन्दैनथ्यो। माया तेस्रोलिंगी समुदायकी अनि सुरेन्द्र समलिंगी। 

असार १३ गते सर्वाेच्च अदालतबाट आएको अल्पकालीन आदेशले यी दुवैको जीवनमा खुसीको बहारै ल्यायो। अल्पकालीन नै भए पनि जुन आदेश आयो, त्यसले यी दुवैलाई व्यवहारिक मात्रै हैन, कानुनी रूपमा समेत श्रीमान् श्रीमतीको पहिचान दियो। 

त्यो दिन १० बजेदेखि दुई दर्जनजति लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरू सर्वोच्चमा भेला भएका थिए। इजालस नम्बर १० मा अघिल्लै दिन आदेश भएको अन्तरिम आदेशमा के लेखिन्छ भन्ने खुलदुलीमा थिए उनीहरू।  

यत्तिकैमा संविधान सभा सदस्य सुनिलबाबु पन्तले सर्वाेच्चको आदेशको फोटोकपी लिएर आइपुगे बाहिर। सबैलाई भेला पारेर उनले भने, ‘लौ साथीहरू बधाई छ, हाम्रो समुदायको जोडीको पनि विवाह दर्ता हुने भयो। अब जो जसले विवाह गर्न मन छ, मज्जाले गर्नू।’

सबै जना खुसीले दंग देखिए। विशेष माया र सुरेन्द्र।

माया सारीमा सजिएर आएकी थिइन् अनि कुर्ता (सेरवानी)मा सजिएका थिए सुरेन्द्र। ठ्याक्कै दुलाहा-दुलहीकै भेषमा।उनीहरूलाई सबैले बधाई दिए।  

आफ्नो विवाहले कानूनी मान्यता पाउला भन्ने कल्पनासमेत नगरेकी मायाका आँखा रसाए। भनिन्, ‘यति छिटै न्याय पाइएला भन्ने लागेकै थिएन।’ अदालतको आदेशमा खुसी देखिएका सुरेन्द्रले भने, ‘मलाई त आजै पो बेहुला भएजस्तो महसुस भयो।’

६ वर्षअघि विवाह गरे, अहिले मान्यता पाए

लमजुङमा जन्मिएकी हुन् माया गुरुङ। तर छोराका रूपमा। ७ वर्षको उमेर हुँदा उनले आफूलाई फरक हो कि भन्ने चाल पाइन्। तर १५ वर्ष हुँदा मात्रै उनी आफ्नो लैंगिक पहिचानबारे राम्रोसँग जानकार भइन्।

भागेर काठमाडौँ आएकी माया यतै बसिन्। उनको परिवार पछि नवलपुर सर्यो। उतै आउजाउ गरिरहिन्। काठमाडौँमा आएपछि उनी ब्लु डाइमण्ड सोसाइटीको सम्पर्कमा पुगिसकेकी थिइन्। त्यहाँ पुगेपछि हो उनले आफू अरूभन्दा फरक रहेछु भन्ने थाहा पाएकी। 

आफू त तेस्रोलिंगी महिला भएको ज्ञान पाएसँगै आफूलाई किन पुरुष मनपर्छ भन्ने थाहा पाइन् उनले। त्यै सोसाइटीमै काम गरिरहेकी उनले नवलपुर नै घर भएका सुरेन्द्रलाई भेटेको ९ वर्ष भयो। 

साथीका रूपमा रहेका उनीहरूले दुईबीच प्रेम होला भन्ने सोचेकै थिएनन्। तर जे नसोचेका थिए, त्यही भयो। उनीहरू गहिरो प्रेममा परे। प्रेममा परेको तीन वर्षपछि उनीहरूले काठमाडौँमै विवाह नै गरे, धार्मिक परम्पराअनुसार।

‘२०७४ सालमा हामीले धुमधाम विवाह गर्यौँ,' सुरेन्द्रले भने, ‘लिभिङ रिलेसनसिपमा पहिल्यैदेखि बस्दै आइरहे पनि विवाह भने ६ वर्षअघि मात्र गर्याैँ।’ 

सुरेन्द्रका बाआमा छैनन्। दिदीहरूले उनको विवाह स्विकारिसकेका छन्। घरमा उनीहरूको आउजाउ छ। मायाको पनि घरमा आउजाउ चलिरहन्छ।

तर यो जोडीले समाजमा सकस भने निकै सहनुपर्यो। सुरेन्द्र भन्छन्, ‘अपमान गाली गलौज त कति कति। अरूले जति गाली गर्थे, हाम्रो माया उति बढ्थ्यो। त्यो गाली गलौज र अपमान त पूरै पचाइसकियो। अब त जसले जे भने पनि केही हुँदैन।’ 

सुरेन्द्र बोल्दै गर्दा मायाले थपिन, ‘हामीलाई त पहिले पहिले काठमाडौँमा डेरा नै दिँदैनथे। अहिले त पूरै समाज बदलिसक्यो। हामीलाई बस्न पनि गाह्रो छैन। स्वीकार्यता पनि बढ्दै गयो अहिले त अदालतले नै हामीलाई न्याय दियो।’

सर्वाेच्चले समलिंगी विवाहलाई दर्ता गर्न अन्तरिम आदेश दिएसँगै यो जोडी निकै खुसी देखिएको छ। त्यसैले त सुरेन्द्रले भने, ‘आज पनि बेहुला भएजस्तै भएको छ।’

'योनिकता जे भए पनि हामी मान्छे हो फरक व्यवहार किन?'

माया तेस्रोलिंगी महिला भएपछि उनको हिँडाइ र बोलाइ समाजका लागि अपाच्य असुहाउँदो भयो। उनलाई 'छक्का' 'हिजँडा'सम्म भने। उनले यसलाई सहँदै गइन्। ब्लु डाइमण्ड सोसाइटीमा काम गर्न थालेपछि भने उनमा आत्मविश्वास पलायो।

अहिले उनलाई जसले जेसुकै भनोस् त्यसले फरक पार्दैन। पुरुषको लिंग लिएर जन्मे पनि महिलाको पहिरन लगाएपछि, महिलाजसरी नै हिँडेपछि समाजले फरक व्यवहार त गर्ने नै भयो। उनी भन्छिन्, ‘पहिले पहिले त निकुञ्जबाट आएको नौलो जनावर जसरी हेर्थे हामीलाई। नजिक आउन डराउने हामीलाई देख्यो भने भाग्ने गर्थे मान्छेहरू। अहिले त हामीलाई सबैले स्वीकार्न थालेका छन्। हास्तै... अहिले त हामीलाई देखे भने भाग्दैनन्। हाम्रै संस्थामा आएर हामीबारे बुझ्छन् पनि।’

सुरेन्द्रको विचारमा जन्मँदा महिला पुरुष जे भएर जन्मे पनि प्रेम भने जोसँग पनि हुने र त्यसलाई समाजले स्विकार्नुको विकल्प नरहेको बताउँछन्।

‘तपाईं हाम्रै घरमा आफ्नै दाजुभाइ दिदीबहिनी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हुन सक्नुहुन्छ। उहाँहरूले गरेको प्रेम र तपाईंले गरेको प्रेममा केही फरक हुँदैन। महिला पुरुषको मात्रै प्रेम हुने होइन, महिला महिला पुरुष पुरुषबीच पनि हुन्छ प्रेम र विवाह।’ 

मायालाई  पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई समाजले हेर्ने हेय र अप्राकृतिक सम्बन्धभन्दा चित्त दुख्ने दुख्छ। भन्छिन्,‘हामीलाई पनि समलिंगी र विपरीतलिंगी दुवैतिर आकर्षित हुन यही सृष्टिले नै दिएको हो। आफू आकर्षित भएको प्राकृतिक, अरू भएको अप्राकृतिक भन्ने हुँदैन। तपाईंहरू जस्तो नेपाली नागरिक हो हामी पनि। तपाईंहरूको जति अधिकार छ हाम्रो पनि।'

मान्छे भएर मान्छेलाई फरक व्यवहार नगरिदिन उनले अनुरोध गरिन्। 'अझै पनि पुरानो सोचाइ भएका मान्छे हुनुहुन्छ, उहाँहरूले सोचाइ नै बदलिएको राम्रो। आफूले देखेको जानेको मात्रै सधैं ठीक हुँदैन।’

मध्यमधारका सामाग्री

१५ असार, २०८०, २१:१८:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।