भगवानलाई एलेन प्रश्न गर्थे- किन मन पुरुष, तन महिला बनाइदियौ ?

भगवानलाई एलेन प्रश्न गर्थे- किन मन पुरुष, तन महिला बनाइदियौ ?

बाल्यकालमा ऐना हेरेर रंगहरूले दाह्री जुँगा बनाउँथिन् एलिना। आफूलाई चिनेको दिनदेखि मन र तन एकै बनाउने दौडधुपमा थिइन्। अहिले उनको नाम एलिन भण्डारी हो।

यौनांगबाहेक अंगहरू मनसँग मिल्ने बनिसकेका छन्। 

हुर्कँदै जाँदा आफू गलत शरीरमा जन्मिएको अनुभूति भयो उनलाई। किशोरावस्थासम्म गलत शरीरमा फिट हुने कोशिस गरे। आफ्नो शरीर र मनको भावनाको तालमेल नमिल्दा भोग्नुपरेका दिनहरू उनलाई कालो लाग्छ, सम्झन मन लाग्दैन। जसै गर्दा शरीरमा फिट हुन नसकेपछि उनी गलत शरीर सच्याउनतिर लागे। 

प्रविधिको विकाससँगै पाठेघर र स्तन दुवै निकालेका छन् उनले। हर्मोन थेरापीमार्फत बोली धोद्रो बनाएका छन्। दाह्रीजुँगा झपक्क पारेका छन्। हर्मोन थेरापीले उनलाई नयाँ जिन्दगी दिएको छ। प्रविधिले गलत भएको शरीरलाई सच्याउने तरिका सुझाएको छ।

हर्मोनको गडबडीले ट्रान्सजेन्डर भएको हैन

जुन दिनदेखि उनले तन र मनलाई मिलाउने योजना बनाए। धेरै प्रविधिहरूको अध्ययन गरे। नेपालमा त्यो समयसम्म हर्मोन थेरापीका लागि भरपर्दो र अनुभवी चिकित्सक समेत थिएनन्। साथीभाइसमेत थिइनन्, हर्मोन थेरापी गरिरहेका। विदेशी साथीहरूको सल्लाह लिए उनले। बल्ल अल्का अस्पतालमा हर्मोन थेरापी सुरु गरे।

'होलबडी चेक' गराएर चिकित्सकले दिएको प्रेस्किप्सनअनुसार हर्मोनको प्रयोग सुरु गरे। हर्मोन थेरापी गरेको ३ देखि ६ महिनाभित्र उनको महिनावारी रोकियो। अनि बल्ल स्वर धोद्रो हुँदै गयो, ओठमुनि जुँगाका रेखीहरू बस्न थाले। 

उनले हाँस्दै भने, 'धेरैको बुझाइमा हर्मोनको गडबडीले हामी ट्रान्सजेन्डर भयौं भन्ने धारणा छ। तर त्यस्तो हैन। हर्मोनले बाहिर शरीरको आवरण फरक पर्ने हो, भावना हैन।'

यदि हर्मोनको गडबडी हुन्थ्यो भने समाजसँग फिट हुन उनी फिमेल हर्मोन शरीरमा प्रवेश गराउँथे र केटी बनेर समाजमा बस्थे। तर यहाँ गतल शरीरको हर्मोनमा हैन, अनुभूतिमा भइदियो। अनुभूतिलाई हर्मोनले चाहेर पनि परिवर्तन गर्न सक्दैन।बुझेका चिकित्सकहरूले समेत एलजीबीटीआई भनेका हर्मोनको गडबडीले भएका हुन् भन्ने सोच छ। यो बिल्कुलै गलत हो। 

अहिले एलिन ऐना हेर्दा तन र मन मिलेको देख्छन्। स्वास्थ्यमा परेको समस्या र प्रकृतिले दिएको शरीर छेडखानी गर्दा भोग्नुपरेका पीडा अनि अस्पताललाई तिर्नुपरेको आर्थिक भार त छँदै छ। 

'बैनी हैन, भाइ भनेको मनपर्छ'

लैंगिक पहिचानअनुसार मानिसको सर्वनाम हुन्छ र हुनुपर्छ। जन्मँदा बालिका रहेका एलेन भण्डारीले कुराको थालनी सर्वनाम र नामको प्रयोगबाट सुरु गरे। भने, 'सर्वनाम प्रयोग नगर्दा कुनै हानि गर्दैन, तर प्रयोग गर्दा केही मात्रामा फाइदा भने हुन्छ।'

यौनिक तथा लैंगिक अल्पसंख्यकहरूलाई के भनेर सम्बोधन गर्ने भन्ने कुरामा सञ्चारमाध्यमदेखि हरेक क्षेत्रमा अलमल भइरहेको देखिन्छ। 

विशेष गरी ट्रान्सम्यान र ट्रान्स ओमनहरूमा यो कन्फ्युजन हुने एलनको बुझाइ छ। भन्छन्, 'लामो समयसम्म बालिका, महिलाको रूपमा स्वीकारेको समाजले परिवर्तित रूपलाई स्वीकार्छ, तर के भनेर सम्बोधन गर्ने भन्नेमा अल्झिन्छ,' उनले थपे, 'मैले सुरुमै मलाई ‘ऊ’ सर्वनामले सम्बोधन गरभन्दा बहिनी भन्ने कि भाइ भन्ने दोधार रहँदैन।'

आफूलाई चिन्दै गर्दाका ती काला दिनहरू

एलिन काठमाडौंको टिचिङ हस्पिटलमा जन्मिए हुन्, परिवारको कान्छो सन्तानका रूपमा। लिंगका आधारमा उनको परिवारले नाम राख्यो एलिना। 

सानैदेखि एलिन मास्कुलिन स्वभावका भए। घरमा आमाले कुर्ता सुरुवाल ल्याइदिन्थिन् उनी कुर्ता फाल्थे, सुरुवाल लगाउँथे र माथिबाट टिसर्ट भिर्थे। 

बच्चा बेलामा उनको कपाल छोटो बनाउने, केटाको जस्तो व्यवहार गर्ने कार्यलाई परिवारले स्वीकार गर्यो। १३ वर्षको उमेरमा उनी महिनावारी भए। शरीरमा स्तनहरू बढ्दै गए, स्वर झनै सुरिलो हुँदै गयो, शरीर महिलाको जस्तो बन्दै गयो।

विगत सम्झँदै एलिन भन्छन्, 'महिनावारी भएपछि बल्ल मेरो दिमागमा स्टाइग गर्यो, म मेरो शरीरसँग कम्फर्टेबल छैन। 
महिनाको २५ दिन उनी आफूलाई पुरुष सोच्थे, ५ दिन महिला हुँ भन्ने रिमाइन्ड गराएको भान हुन्थ्यो। ती दिनहरू एलिनका लागि काला थिए। जब ऐनाअघि उभिन्थे एलिन, भगवानलाई प्रश्न गर्थे-किन मन पुरुष, तन महिला बनाइदियौ ? 

उमेरसँगै उनलाई आफ्नो शरीरदेखि घृणा पैदा भएको थियो। रातभर सुत्न सक्दैनथे, उनको दिमागले भगवनालाई गाली गरिरहन्थ्यो। 

केटालाई जबर्जस्ती केटी बनाइदिएको जस्तो लाग्थ्यो

एलिनको हिँडाइ, बोलाइदेखि अनेकन् स्वभाव पुरुषजस्तै थियो। विद्यालयमा भने केटीका लागि स्कट लगाउनैपर्ने, दुई चुल्ठी बाट्नुपर्नेलगायत अनिवार्य नियमहरू थिए। सर्ट र स्कट लगाएर कपाल बाँध्दा उनलाई एकदमै असहज महसुस हुन्थ्यो।

एउटा केटालाई जबर्जस्ती केटी बनाएर विद्यालय पठाइदिएको जस्तो लाग्थ्यो।

विद्यालयमा शिक्षक शिक्षिकाले सीधै भन्थे, 'तँ त केटी भएर नि के केटाजस्तो हिँडेको ? अलि केटीजसरी हिँड्न सिक्। साथीहरूले पनि उनलाई तँ त लेस्वियन हो कि क्या हो ? तँ त छक्का हो कि क्या हो भनेर सीधै प्रश्न गर्थे। यी कुराहरूले एलिनलाई मनका कुरा खोल्न झनै सकस पर्यो। 

६ कक्षासम्म पढाइमा अब्बल थिए एलिन। तर लैंगिक पहिचानकै कारण उनको पढाइमा असर पर्यो। मानिसले के भन्ला, के सोच्ला भन्नेतिर दिमाग जाँदा उनले पढाइतिर ध्यान दिनै सकेनन्। कसरी लैंगिक पहिचान लुकाऊँ भनेर लागिपर्दा उनका लागि साँच्चै पीडादायी थिए ती दिन।

एसएलसीपछि प्लस टु पढ्न भने उनी निजी कलेजमा गए। जहाँ सर्ट, पाइन्ट र कोट ड्रेस राखिएको थियो। यही ड्रेसकै कारण उनी त्यो कलेजमा आकर्षित भएका थिए। 

प्लस टुको पहिलो दिन, उनी चटक्क सर्ट पाइन्ट र कोटमा सजिएर कलेज पुगे। जानेबित्तिकै शौचालय जान मन लाग्यो। महिलाको शौचालयमा गए। बाहिर २-३ जना केटीहरू बसिरहेका थिए। एलिनले भावुक हुँदै भने, 'मेरो कानमा झट्ट शब्द परिहाल्यो, हेर्न त्यो केटा त केटीको ट्वाइलेटमा पो गयो।'

खिन्न परे उनी। जे स्कुले जीवनमा भोगेका थिएँ, त्यही यहाँ पनि भोग्नुपर्ने भो भनेर निराश बने। कलेज बंक गर्ने, नजाने गर्न थाले। परीक्षा भएको समयमा मात्रै कलेज जाने, नत्र नजाने गर्न थाले। १२ कक्षासम्म पहिचान लुकाउनमै उनको संघर्ष सीमित रह्यो। 

फेक ब्वाइफ्रेण्ड बनाउने कोशिस गरें

आफ्नो लैंगिक पहिचान लुकाउन उनले सक्दो गरे। केटीको जस्तो व्यवहार गर्न खोज्ने, हिँड्दा ध्यान दिने, बोल्दा ध्यान दिने आदि गरे। 

उमेर बढ्दै जाँदा कक्षाकै केटी साथीहरूप्रति आकर्षण बढ्न थाल्यो। शरीरको हाउभाउ त छँदै थियो, भावनासमेत केटाको जस्तै भयो। समाजले बनाइदिएको नियममा हिँड्न खोज्दाको पीडा अनुहारमा झल्काउँदै एलिनले भने, 'मैले मानिसहरूलाई आफ्नो पहिचान लुकाउन यतिसम्म गरें कि फेक ब्वाइफ्रेण्डहरू पनि बनाएँ।' 

अरूले कुरा नकाटोस् भनेर ब्वाइफ्रेण्ड बनाएका एलिन बाल्यकाल र स्कुले जीवन निकै उकुसमुकुसमा बितेको बताउँछन्। 

आफूलाई चिन्ने संघर्ष, विद्यालय र कलेजमा खेपिरहेको बुलिङसँगै एलिनको अर्को समस्या थियो, परिवार। उनको परिवार त्यति धेरै शिक्षित थिएन। त्यसैले आफ्नो शरीरबारे कुरा गर्नै सकेनन्। 

घरमा आमाबुबाले कपाल पाल्, छोरी बनेर हिँड् भनेर कराउँथे। एलिनलाई लाग्छ- बाल्यकालका कुनै पुस्तकहरूमा यो समुदायबारे खुलेर लेखिदिएको भए, पढाइदिएको भए म मेरो परिवारलाई यो विषयमा भन्न सक्थें, खुलेर बाँच्न सक्थें।

ब्लु डाइमण्डले दियो कन्फिडेन्ट

१२ कक्षा सकेपछि उनी एक डाटा अपरेटरको रूपमा एक कम्पनीमा काम गर्न थाले। त्यहाँ उनको हाउभाउ नोटिस गरेका केही साथीहरू थिए, जसले ब्लु डाइमण्ड सोसाइटीमा इन्टर्नसिप गरेका रहेछन्। उनीहरूले ब्लु डाइमण्ड सोसाइटीमा आउन सुझाए। 

सुरुमा त उनीहरूको कुराले डराए एलिन। 'मजस्तै भावना भएका मानिसहरूको समूहमा जा भनिसकेपछि मन कस्तो-कस्तो हुनेरहेछ,' एलिनले भने, 'त्यसअघि मैले मजस्तो मान्छे देखेकै थिइनँ। यो समुदाय छ, यससँग काम गर्ने कार्यालय नै छ भन्ने नै थाहा थिएन।'

फरक परिचय भएको मानिस एक्लै हो भन्ने अनुभूति भइरहेको समयमा जब उनी ब्लु डाइमण्ड सोसाइटी आए, उनको मन ढुक्क भयो। 'पहिले गुगलमा केटी, केटीसँग आकर्षित हुनेलाई लेस्बियन भन्छ भन्ने थाहा पाएको थिएँ। यहाँ आएर काउन्सिल गरेपछि बल्ल टान्सम्यान रहेछु भन्ने थाहा पाएँ,' उनले जानकारी बताए। 

जब आफू को हो भन्ने उनले थाहा पाए, नजिकका केही साथीहरूलाई सुनाए। सुरुमा साथीहरू टाढिए, तर अहिले भने उनीहरू नजिकिएका एलिन बताउँछन्।  

दाइसँग बैनी हैन, भाइ जसरी स्वीकार भनें

एलिनको कपाल सुरुमा लामै थियो, तर तक्लु बनाए। उनले हाँस्दै भने, 'तक्लु बनाएर घर गएको दिन बुबाआमाको भक्कुमार गाली खाएको थिएँ।' कसले बिगार्यो, कसको लहैलहैमा लागिस् जस्ता केरकार बुबाआमाले गरेको उनी सम्झन्छन्। 

दाइसँग हिम्मत गरेर उनले भने, 'म पनि तँ जस्तै हो, मलाई बहिनी हैन भाइ भनेर ट्रिट गर्।' 

यो कुरालाई दाइले सामान्य तरिकाले लिइदिए। परिवार र समाजसँग बच्नू भन्ने दाइको आश्वासन पाए उनले। आफ्नै लागि आफै लड्, पछाडि म छु भन्ने दाइ पाएपछि उनी ढुक्कले बढे। 

दाइको साथ पाउने बित्तिकै उनले हर्मोन थेरापी सुरु गरे। बुबा आमाले हर्मोन थेरापी लिन थालेपछि बल्ल को हो भन्ने थाहा पाएको उनी बताउँछन्। 

हर्मोनका कारण बिस्तारै स्वर धोद्रो हुँदै गयो, दाह्री जँगा आउन थाल्यो। ज्यान बिगारेको भनेर सुरुसुरुमा गाली खाए।

एलिन भन्छन्,' म म २० वर्षको उमेरमा छोरीबाट छोरा भएँ, मलाई फूलमाला लगाएर स्वीकार गर् भन्ने अपेक्षा थिएन। ४ देखि ५ वर्षसम्म लाग्यो, बुबा आमालाई स्विकार्न। अहिले मेरो एउटा छोरो थियो, दुइटा भयो भनेर गर्वका साथ भन्नुहुन्छ।'​

यतिबेला एलिनको साथमा परिवार छ। मन र बाह्य तनको बनोट मिलेको छ। तर उनको समस्या समाधान भएको छैन। सामान्य र आधारभूत समस्याहरूबाट जुधिरहेका छन उनी। 

महिला र पुरुष शौचालयमा कता जाने, उनी दोधारमा पर्छन्। कुनै स्त्रीरोग लागे उनलाई अस्पतालले भर्ना लिनै नमानेका घटनाहरू पनि भोगिरहेका छन्।

मध्यमधारका सामग्री

पाट्नरको मृत्युले बिरक्तिएर भिक्षु भएका समलिङ्गी सुनिलबाबुको ‘चौथो जन्म’

गाउँलेले छोरा भन्दा दङ्ग पर्ने भक्ति शाह, जो पाठेघर बोकेर हिँडिरहेछन्

पिंकी गुरुङ : २१ वर्षको छोराले अकस्मात छोरी हुँ भन्दा बुबाआमालाई झट्का त लाग्यो होला नि!

प्रीति पिटर सोध्छिन् : बुबाले चुनाव हारेको कारण म तेस्रोलिंगी भएरै हो त ?

२२ बैशाख, २०८०, २१:२२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।