प्रीति पिटर सोध्छिन् : बुबाले चुनाव हारेको कारण म तेस्रोलिंगी भएरै हो त ?

प्रीति पिटर सोध्छिन् : बुबाले चुनाव हारेको कारण म तेस्रोलिंगी भएरै हो त ?

साइवर जाने, इन्टरनेटमा बस्ने र च्याट गर्ने। भाइबहिनी हुर्किएपछि एक्लो जीवनलाई सजिलो बनाउन अनुज राईको जीवनमा प्रविधि आइदियो। उनी घण्टाको २० रुपैयाँ तिरेर साइवरमा समय बिताउँथे। 

समाजको सोचाइभन्दा फरक, पुरुष भए पनि पुरुष नै मन पराउने आफ्नो सिक्रेट यही समयमा थाहा पाएका थिए उनले।

इन्टरनेटबाट आफूजस्तै पुरुष मन पराउने चाइनिज नागरिक पिटरसँग मायामा पनि परिन्। तर बाध्यता, न पिटर नेपाल आउन सके, न अनुज नै चीन जान। प्रेम इन्टरनेटमै सीमित भयो, तर मनमा भने गढिरह्यो। त्यही समयदेखि उनले आफ्नो नामसँग पिटरको नाम जोडिन् र अनुज पिटर राई भइन्। 

ब्लु डाइमण्ड सोसाइटीमा काम गरेको लामो समयपछि उनले अझै आफूलाई बुझ्दै गए। मनले मन केलाउँदै जाँदा समलिंगी पुरुष सोचेका उनको व्यवहार र रुचि महिलाजस्तो भयो। छोराबाट उनी छोरी भइन्। अनुज पिटरबाट प्रीति पिटर बनिन्।

उनको नयाँ जन्म भएको जम्मा १० महिनाजति मात्रै भयो। अरूले जस्तो विद्यालयमा बुल्ली हुनु परेन। 

प्रीति आफूलाई अरूको तुलनामा भाग्यमानी ठान्छिन्। किनभने, उनका बाबु निजी विद्यालयमा प्रिन्सिपल थिए भने आमा शिक्षिका।

आमाबुबा भएको विद्यालयमै उनले पढिन्, त्यसैले उनको बोली व्यवहार र चालढाल बुल्ली हुन परेन। तर आफैसँग युद्ध भने धेरै नै गर्नुपर्यो। 

समाजले केटीसँग बिहे गर, बच्चा जन्माउ, मर्द होउ परिवारको जिम्मेवारी बहन गर, रुन त पटक्कै हुँदैन छोरा भएर जस्ता कुरा गर्छ। तर उनी शरीर छोराको भए पनि छोरीको भावना बोकेर जन्मेकी थिइन्। यी र यस्ता विचारहरूसँग लड्नुपर्दाको क्षण निकै तीता थिए उनका लागि। 

केटीसँग इन्गेजमेन्ट तोड्नुपर्दा

घरको जेठो सन्तान थिइन् उनी । २२/२३ वर्ष हुने बितिक्कै परिवारले विवाह गर्ने कुरा गर्न थाल्यो। साना भाइबहिनी हुर्काउने जिम्मा छउन्जेल त उनले आफूलाई बुझ्ने समय नै पाएनन्। जब समय पाए, तब विवाह पक्का भयो, परिवारको साथमा इंगेजमेन्टसमेत भयो। 

हङकङ बस्ने एक महिलासँग प्रीतिको विवाह फिक्स भएको थियो। बिहे गर्ने महिला उनको मिल्ने साथी बनिन्। भावनाहरू सेयर भए, मिल्ने साथी पाइन् प्रीतिले तर जीवनसाथी बनाउन सकिनन्। 

यो कुरा थाहा दिन, उनी हल्का मेकअप गरेर केटी भेट्न जान्थिन्। कोरियन फेसन एकदम चलेको थियो, त्यही लगाएर सकेसम्म फेमिन देखिन्थिन्।  यो त झनै उल्टो परेछ। खासमा ती फियोन्सेलाई कोरियन केटाहरू एकदमै मनपर्ने रहेछ। प्रीति झनै मन पर्ने भएछ। शंका गरोस् भनेर गरेका मेकअपहरूले उनी झनै प्रेममा परिछन्। 

दुवै मिल्छन्, तर बिहे गर्न मान्दैनन्। परिवारमा गाइँगुइँ चल्यो। कुल देवता बिग्रियो कि भन्ने पर्यो परिवारलाई। कुखुरा काटेर पूजा गरेको हिजो जस्तो मात्रै लाग्छ उनलाई। 

उनले एउटा टेलिभिजनमा पुरुष समलिंगी पहिचानसहितको अन्तर्वार्ता दिए। त्यसपछि भने उनको घरमा एक प्रकारले भुइँचालो नै गएजस्तो भयो। उनको विवाह तोडियो।

‘अहिले पनि ती महिला र म साथी छौँ। राम्रैसँग कुराकानी हुन्छ। उहाँलाई मैले पहिले नै भन्नुपर्ने थियो भन्न सकिनँ। अहिले पनि माफी माग्छु,’ प्रीतिले भनिन्। ‘जब मलाई म पुरुष समलिंगी भएको कुरा घरमा भन्न सक्ने भएँ, मेरो विवाह तोडियो।

उहाँसँग विवाह भएको भए मैले खुसी दिन सक्दैनथेँ। धन्न समयमै तोडिएछ भन्ने लाग्छ।’ प्रीतिले पुराना कुरालाई पन्छाउँदै भनिन्, लामो समयसम्म म गे हो भन्ने सोच्नुभएको साथीहरूले अहिले मेरो लुक्स देखेर अर्को अचम्म मान्नुहोला। 

आफूलाई चिन्ने क्रम जारी छ 

लामो कपाल । गाढा रातो लिपिस्टक । टिपिक्क परेको लुगा। नीलहीरा समाजको पुस्तकालय कक्षमा प्रवेश गर्दै गर्दा प्रीति पिटरले सोधिन्, ‘म कस्ती देखिएको छु, राम्री देखिएकी छु नि है ?’ 

हँसिलो अनुहारमा सकारात्मक सोच बोकेकी प्रीतिको सुन्दरतामा मोहित नहुने सायद कमै छन्। 

'तपाईं पहिले आफूलाई पुरुष समलिंगीको रुपमा पहिचान गर्नुहुन्थ्यो होइन ?’ भन्ने उकेराकर्मीको प्रश्नमा उनले सहज हुँदै भनिन्, ‘आफूले आफूलाई चिन्न झण्डै दुई दशक लाग्यो नि ।’

‘कसरी ?’ स्वाभाविक हाम्रो प्रश्नमा उनले भनिन्, ‘म पुरुषप्रति नै आकर्षित हुने भएकाले आफूलाई पुरुष समलिंगी भन्ने ठान्थेँ। तर जब आफूलाई चिन्दै गएँ म त तेस्रोलिंगी महिला पो रहेछु।’

जब उनले आफू तेस्रोलिंगी महिला भएको थाहा पाइन्। टिपिक्क परेको पाइन्ट र सर्ट लगाउन छाडिदिइन्। जेठ उनको जन्म महिना। जन्मदिनमा पशुपति जाँदा साडी लगाएर पुगिन्। त्यो दिनदेखि उनले आफूले आफूलाई यति खुसी पाइन् कि बल्ल आफू हुनुको अर्थ थाहा पाइन्।

‘जब महिला लुक्समा देखिएँ, तब मलाई बल्ल मैले मेरो पहिचान थाहा पाएँ भन्ने लाग्यो,’ उनले भनिन्, ‘गत जेठदेखि म निकै खुसी छु आफूलाई चिनेर।’ 

जबसम्म लैंगिक रुपमा आफूलाई चिनिँदैन। तबसम्म निकै कष्ट हुने प्रीतिको अनुभव छ। ‘मनले समाजले जसलाई प्रेम गर भन्छ उसलाई गर्न मान्दैन। समाजले जसलाई नगर भन्छ उसैलाई प्रेम गर्छ यस्तो अवस्थामा गाह्रो त हुन्छ नि हैन र?’उनले हामीतिर हेर्दै भनिन्। 

उनी सामाजिक सञ्जालमार्फत पुरुष समलिंगिहरूसँग बोलचाल गरिरहन्थिन्। त्यसै क्रममा एक जना चिनियाँ प्रेमी पनि भए उनको।

चिनियाँ प्रेमी यहाँ आउने सम्भावना नभएपछि उनको प्रेम टुटेको सुनाइन्। त्यसपछि उनले आफ्नो नामै 'पिटर' राखिन्। 

परिवारलाई भन्दा गाउँलेलाई ‘चिन्ता’

उनको परिवारले उनलाई स्वीकार गरिसकेको छ। त्यसो त जेठो छोरा नै छोरी हो भनेपछि केही असहज नहुने होइन, तर परिवारले उनलाई महत्व ठान्यो। समाजको भन्दा उनको कुरा सुन्यो। तर गाउँलेले उनलाई अनेकथरी आरोप नलगाउने होइन। 

४ वर्षअघि भएको स्थानीय चुनावमा उनका बुवा उम्मेदवार थिए। उनले हारे। गाउँलेले भने, ‘जेठो छोरा नै अगतिलो भएर हो।’ 

यो कुराले प्रीतिको मन चसक्क हुन्छ। मेरै कारण बुवाले चुनाव हारेका हुन् त ? उनको मनमा प्रश्न पनि उठ्यो। त्यसपछि फेरि आफूलाई सम्झाइन्। अरूले के भन्ला भनेर आफ्नो पहिचान र अस्तित्व नै नामेट भइसक्ने थियो नत्र। 

तेस्रोलिंगी महिलालाई महिला जसरी हिँडेको धेरै मेकअप गरेको भनेर हियाउने बाटोमा अपमानजनक शब्द नबोलिने होइन, तर उनलाई यस्तो शब्दले छुँदैन। भन्छिन्, ‘ओहो तँलाई त बाटोमा कस्तरी हेर्छन् अप्ठ्यारै लाग्नेगरी । मलाई त यस्ता कुराले छुँदैन। बाटोमा हिँड्दा जसले जसलाई पनि हेर्छ नि । कसैले तपाईंलाई देखेर अपामनित शब्द बोल्छ भने त्यो त बोल्नेकै समस्या हो नि । मलाई त यस्ता कुराले छुँदैन। अरूले के भन्छ भनेर आफूलाई भित्रभित्रै मार्न त भएन नि ।’ 

नीलहीरा समाजको ‘प्रोग्राम कोअर्डिनेटर’ भएर काम गरिरहेकी प्रीति एपीवान टेलिभिजनमा कार्यरत छिन्। आफूलाई भाग्यमानी ठान्छिन्।

‘कतिपयको घरमा छोरा छोरीजस्तो भयो भनेर पढ्नै नदिने, घरबाटै निकालिदिने गर्छन्। मचाहिं भाग्यमानी रैछु, परिवारलाई पनि म फरक छु भन्ने थाहा पायो सहजै स्वीकारे पनि। आफूलाई कमजोर कहिल्यै महसुस गर्नु परेन।’ 

प्रेमलाई फरक भावमा बुझ्छिन् प्रीति। कसैले मन पराउँदैमा आफूलाई कसैले मन पराउनै पर्छ भन्ने लाग्दैन उनलाई। विवाह नभए पनि भावना बुझिदिने प्रेम गर्ने मान्छे भने चाहिने उनको बुझाइ छ।

‘तिमी के गर्दैछौँ ? खाना खायौँ ? कस्तो छ ? भनेर सोध्ने मान्छे त भएकै राम्रो नि होइन र ? थाहा छ हाम्रो विवाह हुन गाह्रो छ भनेर। विवाह पो समाजका लागि गरिन्छ, प्रेम त मनले गरिन्छ नि होइन ?’ 

परिवारलाई पनि आफ्नो कोही जोडी भइदिए हुन्थ्यो भन्ने लागेको प्रीति बताउँछिन्।  

'लैंगिकतालाई स्वीकारौँ, आत्मनिर्भर बनौँ' 

लिंगका आधारमा जन्मँदा छोराछोरी अथवा अन्तरलिंगी जे भए पनि हुर्कँदै गएपछि लैंगिकता छुटिने हुँदा परिवारले आफ्नो सन्तानको लैंगिकता स्विकार्नुपर्ने उनको धारणा छ।  

छोराको भए पनि भोलि उसले कुनै पुरुषलाई मन पराउन सक्छ, छोरी भए पनि महिलालाई मन पराउन सक्छे भन्ने लिंग र लैंगिकता फरक हो भन्ने परिवारले बुझ्न आवश्यक रहेको उनको भनाइ छ।

सन्तानलाई लैंगिकताकै आधारमै विभेद गर्दा आत्महत्याजस्तो जघन्य अपराधमा समेत सन्तान पर्ने, यौन व्यवसाय गर्न बाध्य हुने हुँदा परिवार सचेत हुनुपर्ने उनको बुझाइ छ। 

परिवारले आफ्नो सन्तानको अस्तित्व नस्वीकार्दा घर छाडेर हिँड्नुपर्ने, सम्पत्तिबाट बेदखल गराइँदा आत्मनिर्भर नहुने, प्रेम कसैको नपाउँदा मानसिक समस्या झेल्ने हुँदा परिवारले लैंगिकतालाई स्वीकार्नुपर्ने पनि उनको भनाइ छ। 

‘परिवारले लैंगिकता त स्वीकार्नु पर्छ नै। सरकारले पनि कानुन बनाएर सबै नागरिकलाई समान व्यवहार गर्नुपर्छ। यौनिक तथा लैंगिक अल्पसंख्यकले कुनै अपराध गरेका छैनन् उनीहरूले पनि मान्छेलाई नै प्रेम गरेका हुन्।

मान्छेलाई प्रेम गर्न पाउने अधिकारबाट राज्यले रोक्न सक्दैन,’प्रीतिले भनिन्, ‘त्यसैले जति सक्दो छिटो हाम्रो अस्तित्व राज्यले स्विकार्यो उति छिटो काम हुन्छ। यसमा दोधार हुने कुरै देख्दिनँ।’

 

१५ बैशाख, २०८०, २१:२७:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।