मध्यमधार : १७ वर्षको उमेरमा आफूलाई चिनेका सुवास भन्छन्- ‘म बहिरा समलिंगी हुँ, तर घरमा भनेको छैन’

मध्यमधार : १७ वर्षको उमेरमा आफूलाई चिनेका सुवास भन्छन्- ‘म बहिरा समलिंगी हुँ, तर घरमा भनेको छैन’

निलो हुडी, निलै जिन्स पाइन्टमा खुलेका थिए सुवास काफ्ले। त्यसमाथि निकै सुहाएको थियो जुल्फी कपाल पनि।

आफूलाई बहिरा समलिङ्गी पुरुष बताउने सुवाससँग हामीले कुराकानी गर्न चाह्यौँ। हामीले सोधेको प्रश्न साङ्केतिक भाषामा सुनिता श्रेष्ठले अनुवाद गरिदिइन्। अनि सुवासले साङ्केतिक भाषामा बोलेका कुरा हामीलाई बुझाइदिइन्।

आधा घण्टा सुवाससँग कुराकानी गर्दा उनी निकै खुसी देखिए। कुराकानीको क्रममा सुवासले भने, ‘मलाई पनि आफ्ना मनमा गढेर रहेका धेरै कुरा भन्न मन पर्छ अनि हाम्रा अनुभव अरूले पढिदिउन् भन्ने लाग्छ। तर पत्र पत्रिकामा हाम्रो बारे समाचार लेखिए पनि विचार भने आएको छैन। मलाई विचार लेख्न पनि मन छ।’

०००

बहिरा विद्यालय आएपछि फेरिएको दैनिकी 
२६ वर्ष पुगे सुवास। दुई सन्तानमध्ये कान्छा उनी सानैदेखि बोल्न सक्दैनथे। बोल्न नसक्नेलाई पढाउने बहिरा विद्यालय सोलुखुम्बु जिल्लामा थिएन। परिवारले उनलाई सानैमा बहिरा माध्यमिक विद्यालय नक्सालमा भर्ना गरिदियो।

गाउँमा छँदा उनलाई ‘आफू अरू जसरी किन बोल्न सकिनँ’ भन्ने लाग्ने रहेछ। आफू जस्तो अरू छैनन् की जस्तो पनि लाग्थ्यो रे। तर, जब बहिरा विद्यालय आए उनले त्यहाँ आफूजस्तै अन्य साथीहरू पनि भेटे।

बहिराहरूले बुझ्ने गरी पढाइ हुन्थ्यो त्यहाँ। सुवास पनि अन्य बालबालिकाले जस्तै पढ्न पाए।

‘हामीले पढ्ने विद्यालय एकदमै कम छ। धेरै बहिरा साथीहरूले पढ्न पाउनुभएको छैन,’ उनले भने, ‘मैले पढ्न पाएँ, अत्यन्तै खुशी छु।’

विद्यालयमा तहमा पढ्दा उनी अन्य केटा साथी जस्तो भएनन्। अन्य केटा साथीहरूले केटीहरूलाई मन पराउँथे। तर उनी १३ वर्ष हुँदा उनलाई आफू जस्तै केटा साथी मर्न पर्न थाल्यो। मन परे पनि भन्न सकेनन्, कसैलाई पनि ‘तिमी मलाई मन पर्छ’ भनेर भनेनन्।

दिन बित्दै गयो। १७ वर्ष हुँदा उनले एउटा भिडियो देखे। भिडियो समलिङ्गी पुरुषको बारेमा थियो। त्यसमा उनले आफूलाई भेटे। त्यसपछि उनले थाहा पाए ‘म त समलिङ्गी पुरुष पो रहेछु।’ यो कुरा उनले दुई चार जना साथीहरूलाई पनि नभनेका होइनन् तर उनलाई हियाइयो।

एक छिन घोरिएर उनले भने, ‘मलाई त साथीहरूले छक्का हिजडा पो भन्न थाले। त्यति बेला मलाई निकै नरमाइलो लागेको थियो।’

उनलाई साथीहरूले हेपेनन् मात्र, कतिपय कार्यक्रममा सहभागी समेत हुन दिएनन्। उनले यो कुरा शिक्षकलाई पनि भनेनन्, भित्रभित्रै दबाएर राखे।

अपाङ्गता भएका व्यक्तिको लागि काम गर्ने रहर 
सुवास पढाइमा अब्बल नै थिए। २०७२ सालमा एसएलसी दिँदा ८० प्रतिशत ल्याएर उत्तीर्ण गरे। अहिले उनी स्नातक तह तेस्रो वर्षमा अध्ययनरत छन्।

इन्द्रेणी अपाङ्गता नेपालमा आबद्ध भएका सुवास अपाङ्गता भएका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको हकहितको लागि काम गर्न चाहन्छन्।

हुन त उनी कक्षा १२ सकेपछि नै विदेश जान चाहन्थे। उनको परिवारले उनलाई विदेश नजान सुझाएपछि यतै बसे।

‘तँ अपाङ्ग मान्छे किन जानुपर्याे भनेर मलाई विदेश नजा भन्नुभयो,’ उनले भने, ‘मलाई अझै पनि जान छ नि! तर अहिले आफूजस्तै अपाङ्गता भएका अनि यही समुदायको साथी भेट्दा आफूले गर्नुपर्ने काम धेरै बाँकी छ जस्तो लाग्छ। सायद अब नेपाल नै पो बसिन्छ कि!’

इन्द्रेणी अपाङ्गता नेपाल लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय भित्रका पनि अपाङ्गता भएकाहरूको हकहितको लागि काम गर्ने संस्था हो। यस संस्थाका संस्थापक आदित्य राईका अनुसार सुरूवातमा सुवासलाई घुलमिल हुन सकस भएको थियो। अहिले सुवास संस्थाका हरेक गतिविधिमा सहभागी हुन्छन्।

उनको परिवारलाई उनीबारे त थाहा छ तर उनले मुखै फोरेर भने भनेका छैनन् सुवासले।

‘म समलिङ्गी पुरुष हो भन्ने कुरा मैले घरमा चाहिँ भनेको त छैन तर उहाँहरूलाई थाहा छ।’

तपाईंबारे थाहा नभएपछि यो अन्तर्वार्ता आउँदा तपाईंलाई अप्ठ्यारो पर्छ की भन्ने हाम्रो प्रश्नमा सुवासले भने, ‘पर्दैन, उहाँहरूले मतलब नै गर्नुहुन्न।’

सुवासको दिदीको विवाह भइसक्यो। उनलाई पनि परिवारले ‘विवाह गर्’ भन्ने हो कि भनेर मनमा डर पालेर बसेका छन्।

उनले थपे, ‘बहिरा नै भएका केटाकेटी विवाह गर्छन् एक आपसमा। मलाई प्रहरीले विवाह गरिदियो भने केटीसँगै गर् भनिदिन्छ तर म केटीसँग विवाह गर्दिनँ। केटासँग विवाह गर्न पनि सजिलो छैन। सायद म विवाह गर्दिन होला।’

सुवासलाई समलिङ्गी विवाह कानुनी नभएको कुरा थाहा छ। सुवासका अनुसार अपाङ्गता भएका लैङ्गिक अल्पसङ्ख्यकले समाजबाट दोहोरो हिंसा भोग्नुपर्ने हुन्छ।

‘एक त अपाङ्गता भएका व्यक्तिलाई समाजले हियाउँछ। अवसरहरू थोरै हुन्छन्। अपाङ्गता भएका लैङ्गिक अल्पसङ्ख्यक समुदायभित्र पर्नेहरू त आधारभूत अधिकारबाटै वञ्चित हुन्छन्। यसरी हेर्दा हामी त दोहोरो हिंसामा पर्छौँ। त्यसैले पनि अझै काम गर्ने मन छ।’

सुरूवातमा अपाङ्गता भएका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक साथीहरूलाई आफ्नो पहिचान खुलाउन सहयोग गर्ने, त्यसपछि जीविकाको लागि सहयोगी भूमिका खेल्नुपर्ने आजको आवश्यकता रहेको उनको बुझाइ छ।

उनी भन्छन्, ‘यो समुदायको लागि बोल्ने, लेख्ने साथै अन्य तरिकाबाट काम गरेर सहयोग गर्न मन छ।’

मध्यमधारका अन्य सामग्री

९ मंसिर, २०८०, ११:५७:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।