मध्यमधार : चिकित्सकले हातमा बच्चा दिँदै ‘टु इन वान’ जन्मियो भनेपछि…

मध्यमधार : चिकित्सकले हातमा बच्चा दिँदै ‘टु इन वान’ जन्मियो भनेपछि…
सांकेतिक तस्बिर

काठमाडौं : रोशनी (साङ्केतिक नाम) जन्मदा सामान्य नै थिइन् तर हुर्कँदै जाँदा उनको शारीरिक विकास अन्य केटीभन्दा फरक हुँदै गयो। किशोरावस्थामा प्रवेश भएपछि सबै साथीहरूको महिनावारी भयो। उनीहरूबीच यसबारे कुरा पनि हुन थाल्यो। तर, उनलाई महिनावारी भएन।

केही केटीको हकमा महिनावारी अलि ढिला हुनु सामान्य नै हो। उनले यो पनि थाहा पाइन्। अत्तालिइनन् उनी। तर, किशोरकाल सकिएर २० वर्षमा प्रवेश भइसक्दा पनि उनको महिनावारी भएन।

‘जति-जति उमेर बढ्दै गयो समाजमा कुरा काट्नेक्रम पनि बढ्दै गयो,’ उनले उकेरासँग भनिन्, ‘समाजको धारणामा राम्री हुनु भनेको स्तनको आकार ठूलो हुनु, कम्मर छिनिएको हुनु, नरम र कोमल देखिनु रहेछ। म त्यस्तो भइनँ।’

विस्तारै उनले अपमानित महसुस गर्न थालिन्। व्यवहारहरू पनि त्यस्तै हुन थाले। उनी आफ्ना साथीहरूजस्तै आम केटीको जीवन बिताउन चाहन्थिन्। तर, उनले चाहेर मात्र भएन। उनको शरीरले उनलाई साथ दिइरहेको थिएन।

उमेर बढ्दै जाँदा घरमा विवाहको कुरा चल्न थाल्यो। तर, विवाह गर्ने रहर मरिसकेको थियो उनको। उनलाई लागिरह्यो ‘महिनावारी भएको छैन भन्ने थाहा भयो भने थप जटिलता भोग्न पर्छ।’

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको सवालमा अहिले ‘एलजीबिटीक्युआई’ शब्दको प्रयोग बढेको छ। यौनिक अल्पसंख्यकलाई जनाउने शब्दहको पहिलो अक्षर मिलेर यो छाता शब्द बनेको हो।

लेस्बियन, गे, बायोसेक्सुअल, ट्रान्सजेन्डर, क्वेयर अनि इन्टर सेक्स। यही समूहको आई अर्थात इन्टरसेक्स थिइन् उनी। नेपालीमा अन्तरलिङ्गी।

तर, उनलाई योबारे केही थाहा थिएन। केटीको रूपमा जन्म भएकाले आफूलाई अन्य केटीजस्तै सोच्नु असामान्य पनि हैन। आफू मात्र किन भिन्न हैन, आफूलाई जस्तै समस्या हुनेहरू अन्य पनि हुन्छन् भने थाहै भएन उनलाई।

एक दिन त्यसै बसिरहँदा रेडियोमा यौनिक अल्पसंख्यक सम्बन्धी कार्यक्रम सुनिन्। विस्तारै उनलाई त्यो कार्यक्रममा चासो लाग्न थाल्यो। पूरै कार्यक्रम सक्ने समयसम्म उनी रेडियो अगाडि नै बसिरहिन्।

बल्ल उनले यौनिकताको आधारमा महिला र पुरुष मात्र हैन रहेछ भन्ने थाहा पाइन्। उनले सम्बन्धित संस्थाबारे पनि जानकारी लिइन्।

‘त्यसबेलामा महिनावारी नहुनु अन्तरलिङ्गीको विशेषता रहेको थाहा पाएँ। अनि त्यत्तिकै बस्नु भन्दा सम्बन्धित संस्थामा गएर थप कुराहरू जान्न मन लाग्यो’, उनले भनिन्।

जब उनी संस्थामा पुगिन् अनि आफूजस्तै धेरै साथीहरू भेटिन्। पछि चिकित्सककोमा गएर आफ्नो स्वास्थ्य समस्याको बारेमा बताइन्। चिकित्सकले ‘पाठेघर पूर्ण रूपमा विकास नभएको कारण महिनावारी नभएको’ खुलाए।

‘मेरो पाठेघर तुलनात्मक रूपमा सानो रहेछ। पाठेघरको आकारले पनि मेरो यौनिक पहिचान निर्धारण गर्यो। यसको बारेमा म आफैँलाई पनि बुझ्न धेरै समय लाग्यो। अनि म पनि अन्तरलिङ्गी रहेछु भनेर स्पष्ट भएँ,’ उनले भनिन्।

पछिल्लो समय नेपाली समाजमा यौनिक अल्पसङ्यक समुदायबारे बहस बढिरहेको छ। तर, यो बहस समग्र समुदाय केन्द्रित भन्दा पनि गे अनि ट्रान्सप्रति बढी केन्द्रित छ। त्यसले यही समुदायका अन्य समूहले आफू अल्पसङ्ख्यक समुदायभित्रको पनि पिछडिएको समुदायको सदस्य भएको सम्झन बाध्य छन्।

चिकित्सकले ‘टु इन वान’ भनेपछि…
२०६६ मङ्सिर २५। प्रसव व्यथा लागेपछि हरि(सांकेतिक नाम)ले श्रीमतीलाई थापाथली प्रसुति गृह लगे। केही समयपछि चिकिसकले उनको हातमा भर्खरै जन्मिएको सन्तान दिँदै भने, ‘तपाईंको टु इन वान भएको छ।’

उनी अक्मकिए। हाम्रो समाजमा सन्तान जन्मिने बित्तिकै उसको जैविक लिङ्ग हेरेर छोरा या छोरी भन्ने चलन छ। उनले हत्तपत्त आफ्नो बच्चाको लिङ्ग हेरे। आफ्नो सन्तान छोरा हो कि छोरी हो छुट्याउनै सकेनन्।

‘योनी भए पनि त्यसकै माथि सानो टुप्पो पनि थियो। तर, दुइटा दाना (अण्डकोष) चैँ थिएन’, उनले अक्मकिँदै सुनाए।
उनको श्रीमती पनि निराश भइन्।

‘सन्तान न छोरा न छोरी उनी अन्तरलिङ्गी हुन् भन्ने बुझ्न हामीलाई लामो समय लाग्यो। थापाथलीमै डाक्टरले चेक गर्ने भनेर रगत झिकेर इन्डिया पनि पठाएको थियो। तर, स्पष्ट रूपमा हामीलाई भनेनन्। मैले सन्तानलाई बालमैत्री हस्पिटल पनि लगेँ। त्यहाँको डाक्टरले ‘त्यो टुप्पो काटेर फाल्नपर्छ’ भने। सानो बच्चालाई त्यस्तो ठाउँमा अप्रेशन गर्दा के कसो हुने हो भनेर हामीले मानेनौँ’, उनले भने।

अहिले उनीहरूको ती छोरी १३ वर्ष भइसकिन्। उनको सबै साथीहरू केटी नै छन्। उनलाई भर्खरै महिनावारी पनि भयो। त्यसपछि उनी छोरी नै हुन् भनेर परिवार खुसी छन्।

‘तर, कहिलेकाहिँ झर्किँदा उसको धोद्रो आवाज आउँछ। दाई-दिदीसँगको झगडामा उसले पिट्दा धेरै दुखेको भन्छन्। अहिले भर्खरै ऊ किशोरावस्थामा पुगेकी छन्। पछि शारीरिक र मानसिक रूपमा उसको कस्तो व्यवहार हुन्छ त्यो थाहा पाउन बाँकी नै छ।’

ती सन्तानको लैङ्गिकताको बारेमा उनीहरूले परिवारमा अन्य कसैलाई भनेका छैनन्। पछि उनले आफ्नो लैङ्गिक पहिचान अर्कै बनाउन चाहे भने चाहिन्छ भनेर उनीहरू अहिले पैसा जम्मा गर्न केन्द्रित देखिए।

अस्पतालको अन्तरलिङ्गी परिवार
सन् २०१२ मा काठमाडौंको एउटा अस्पतालमा ‘अस्पष्ट’ यौनाङ्ग भएको बच्चा जन्मियो। जन्मको समयमा चिकित्सकहरूले अभिभावकलाई देखाएर ‘यो किन हुन्छ र बच्चाको सम्भावित मेडिकल अवस्थाहरू के हुनसक्छ’ भनेर सल्लाह दिए।

तर, बच्चाको आमाबाबु स्तब्ध थिए। चिकित्सकको परामर्शपछि ती अभिभावकहरूले थप अध्ययन गर्ने सहमति जनाए।

‘हामीले जन्मको समयमा बच्चाको लिङ्ग पहिचान गर्न सकेनौँ। थप परीक्षणपछि जन्मजात ‘एड्रेनल हाइपरप्लासिया भएको महिला जीनोटाइप’ पत्ता लगायौँ,’ ती चिकित्सकले भने, ‘एड्रेनल हाइपरप्लासियाको शल्यक्रिया गर्न गैरकानूनी मानिन्छ। किनभने शल्यक्रियापछि पनि शरीरमा हुने क्रोमोजोमहरूको गडबडीमा सुधार आउँछ भन्ने हुँदैन।’

बच्चाहरूले हर्मोन र नुन प्रतिस्थापन गर्न औषधिहरू प्रयोग गर्यो भने केही हदसम्म क्रोमोजोमलाई स्थिर राख्न सकिन्छ। चिकित्सकले ती अभिभावकलाई यही सुझाव दिए।

दुई वर्षसम्म अविभावक चिकित्सकको सम्पर्कमै थिए। तर, त्यसपछि फलोअपमा आएनन्। ती बच्चा कहाँ छन्, कस्तो अवस्थामा छन् भनेर अस्पतालले पनि खोज्ने प्रयास गरेन।

एड्रेनल हाइपरप्लासिया भनेको ग्रन्थीहरूको वंशाणुगत असन्तुलन हो, जसले ‘केटा’ वा ‘केटी’ दुवैको क्रोमोजोमलाई असर गर्नसक्छ।

एड्रेनल ग्रन्थीहरू ठ्याक्कै मृगौलाको माथि हुन्छन्। चिकित्सकका अनुसार यसले ऊर्जा, रक्तचाप र रक्त शर्करालाई नियन्त्रण गर्ने कोर्टिसोल उत्पादन गर्छ। कोर्टिसोलले स-सानो रोगबाट निको हुन मद्दत गर्छ।

को हुन् अन्तरलिङ्गी?
पछिल्लो समय तेश्रोलिङ्गी, र परलैङ्गिकलाई नै अन्तरलिङ्गी भनेर बुझ्ने गरेको देखिन्छ।

तर, क्याम्पेन फर चेन्जका सह-संस्थापक तथा कार्यकारी इशान रेग्मी यो गलत भएको बताउँछन्।

‘हाम्रो समाजमा अन्तरलिङ्गी विविधता भएका व्यक्तिहरूप्रतिको सोचाइ र व्याख्या निकै साँघुरो छ। लिङ्गले लैङ्गिकतालाई समेत जनाउने भएकाले अन्तरलिङ्गी विविधता भएका व्यक्तिलाई तेश्रोलिङ्गी र पारालैङ्गिक व्यक्ति भनेर सम्बोधन गरिएको रहेछ,’ उनले भने, ‘यसरी गलत बुझ्नु अन्तरलिङ्गी व्यक्तिहरूको अस्तित्व खुम्च्याउनु हो।’

छोरा र छोरीको अङ्ग लिएर जन्मिएका भन्दा फरक लैङ्गिक पहिचान भएका बालक जन्मियो भने उ अन्तरलिङ्गी हो। यदि उसको बाह्य लिङ्ग स्पष्ट भए पनि उसको भित्री प्रजजन अङ्ग, क्रोमोजोमहरू फरक छ भने उ पनि अन्तरलिङ्गी हो।

नेपालमा अन्तरलिङ्गीको तथ्याङ्क छैन
सन् २०१५ मा संयुक्त राष्ट्र संघद्वारा जारी तथ्यपत्रका अनुसार अन्तरलिङ्गी विविधता भएकाहरूको संख्या विश्वकै जम्मा जनसङ्ख्याको करिब ० दशमलव ५ देखि १ दशमलव ७ प्रतिशत छ।

नेपालको हकमा अन्तरलिङ्गी सम्बन्धि तथ्याङ्क पाउन गाह्रो छ। उकेराले तथ्याङ्क खोज्दा सम्बन्धित निकायले तथ्याङ्क राखेकै भेटिएन।

राष्ट्रिय जनगणना २०७८ मा ‘अन्य लिङ्गी’ भनेर यौनिक अल्पसंख्यकहरूको जनसंख्या दुई हजार नौ सय २८ उल्लेख छ। यो तथ्याङ्क गलत भएको यौनिक अल्पसङ्ख्यकहरूको दाबी छ।

‘अन्य भनेर त भनियो। तर अन्यभित्र पनि धेरै विविधता छ,’ रेग्मीले भने, ‘त्यसको विवरण कसले राख्छ? यसरी यौनिक अल्पसङ्ख्यकहरूलाई ‘अन्य’ भनेर सबै एकै ठाउँमा राखिनु आफैँमा आपत्तिजनक छ। यो तथ्याङ्क सही होइन।’

के भन्छ सम्बन्धित निकाय ?
स्वास्थ्य सेवा विभागका पदाधिकारी कसैले यस्तो तथ्याङ्क माग्न नआएको कारण प्राथमिकतामा नपरेको दाबी गर्छन्।

‘जन्मकै आधारमा छुट्टिने एकदमै कम हुन्छन्। लाखौँमा एक हुन्छन् भन्ने सुनेको हो। मैले पनि यतिका वर्ष प्रसुति गृहमै काम गरेँ। तर, त्यहाँ अहिलेसम्म त्यस्तो जन्मिएको बच्चा देखिएन,’ विभाग अन्तर्गतको मातृ तथा नवजात शिशु शाखा प्रमुख डा गौरी प्रधान भन्छिन्, ‘बच्चाको यौनाङ्ग हेरेर छोरा वा छोरी भनेर छुट्याउने हो। अब त्यस्तो बच्चा जन्मिएकै छ भने पनि यौनाङ्गमा अलि बढी जसको प्रभाव देखिन्छ त्यस(छोरा/छोरी)मै राखिने सुनेको हो। हामीले अर्कोमा राख्ने अभ्यासै गरेका छैनौँ।’

स्वास्थ्य विभागका कर्मचारीहरूले भने भर्खरै नयाँ तथ्याङ्क राख्न ढाँचामा फेरबदल भए पनि विभागमा कसैले पनि अन्य यौनाङ्ग शिशुहरूको विवरण राख्नपर्छ भनेर नभनेको बताउँछन्।

तथ्याङ्कसँगै अस्तित्व नि सङ्कटमा
रेग्मीका अनुसार अन्तरलिङ्गीको मात्रै ४७ वटा विविधता छन्। यसरी जन्मेकै समयमा छुट्टिने भनेको एउटा मात्रको तथ्याङ्क राख्नु हो।

‘हामी जनसङ्ख्याको विवरणमा समेत नअटाउनु, हाम्रो अस्तित्वलाई अनदेखा गर्नु त सिधै मानव अधिकारको उल्लङ्घन हो,’ रेग्मीले भने, ‘अझ धेरैले त बालअधिकार उल्लङ्घन पनि गरेका छन्।’

नेपालकै केही अस्पतालले आफ्नो वार्षिक प्रतिवेदनमा राखेका विवरणले अन्तर्लिङ्गीहरूको शल्यक्रिया गर्ने गरेको देखाउँछ। तर, शल्यक्रिया गरेर लिङ्ग परिवर्तन आफैँमा जोखिमको काम हो भन्ने मेडिकल रिसर्चले नै देखाउँछ। अझ त्यसमा शिशुहरूमा त यो जटिल हुने गर्छ।

(गोपनियताको कारण साङ्केतिक नाम प्रयोग गरिएको छ।)

मध्यमधारका अन्य सामग्री

२६ असोज, २०८०, १९:२३:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।