मध्यमधार : तेस्रोलिंगीको समस्या यौन सम्बन्ध मात्रै हो त?

मध्यमधार : तेस्रोलिंगीको समस्या यौन सम्बन्ध मात्रै हो त?

एक त यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबारे कमै सामग्री प्रकाशित अनि प्रशारित हुन्छन्। अझ फिल्म त निकै कम बन्छन्।

प्रकाशित/प्रशारित सामग्री, फिल्म या सर्ट फिल्म नै हुन्। ती हेर्ने हो भने अधिकांशको केन्द्रमा यौन नै देखिन्छ। यसले समाजमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यको समस्या भनेको यौन सम्बन्ध मात्रै हो भन्ने गलत सन्देश प्रवाह भएको त छ नै, उनीहरूले सबैभन्दा धेरै प्रश्न पनि त्यसै वरिपरिको भोग्दै आएका छन्।

‘केटाकेटाबीच कसरी यौन सम्बन्ध हुनसक्छ?, वा महिला अनि महिलाबीच पनि यौन सम्बन्ध हुन सक्छ र? वा केटा अथवा केटी भएर जन्मिएको व्यक्ति कसरी केटी वा केटा हुनसक्छन्?’

वास्तवमा यो समुदायका सदस्यहरूको मुल समस्या के हो? यौन सम्बन्ध, सह-अस्तित्व वा सामाजिक अनि कानूनी पहिचान?

यो प्रश्नको सटिक उत्तर बोकेर आएको छ ओटिटीमा ‘ताली : बजाऊँगी नहीं, बजवाऊँगी’ ले।

गणेशको रूपमा जन्मिएका एक बालक कसरी गौरी बन्छन्? उनीजस्तै गौरीहरूले सरकारी कार्यालयदेखि अस्पतालसम्म कस्ता-कस्ता दुर्व्यवहार भोग्नुपर्छ? कसरी यो समुदायमाथि समाज अनि राज्यले भेदभाव गरिरहेको छ? यही कथामा बगेको सिरिज हो ‘ताली’।

भारतको राष्ट्रिय पुरस्कार विजेता रवि जाधवले निर्देशन रहेको अनि क्षितिज पटवर्धनले लेखेको यो सिरिज ओटिटीमा  रिलिज भएदेखि नै प्रशंसा पाइरहेको छ। सिरिज प्रशंसा लायक पनि छ।

सिरिज ट्रान्सजेन्डरको अधिकारका लागि संघर्षरत भारतीय सामाजिक अभियन्ता गौरी सावन्तको जीवनीमा आधारित हो। पुरुषको रूपमा जन्मिएका उनीभित्र एक महिला हुर्कँदै थियो जसलाई समाजले हिजडा अनि छक्काको रूपमा व्यवहार गर्थ्यो।

समाजले लैंगिक रूपमा कि महिलालाई स्वीकार गर्थ्यो कि पुरुषलाई। कानूनले पनि दुई लिंगी मात्र स्वीकार्यो। उनीसहितको समुदाय पहिचानहीन भए। उनी सर्वोच्च अदालतसम्म पुगेर सन् २०१४ मा ट्रान्सजेन्डर समुदायलाई तेस्रो लिंगीको कानूनी पहिचान दिलाउन सफल भइन्।

अनि गौरीलाई सिरिजमा प्रतिनिधित्व गरेकी छन् भारतीय अभिनेत्री सुस्मिता सेनले। दर्शकदेखि समिक्षकसम्मले मुक्तकण्ठले फिल्मको प्रशंसा गरिरहेका छन्।

प्रशंसाको पहिलो कारण यौनिक अल्पसंख्यक समुदायको विषयको उठान गर्नु नै हो। किनकी यो समुदायबारे कमै फिल्म बन्छन् बलिउडमा। जति बन्छन् ति कि यौनसँग मात्र जोडेर बने कि यो समुदायका सदस्यलाई मजाकका रूपमा प्रस्तुत गरियो।

प्रशंसाको दोस्रो कारण गौरी बनेकी भारतीय अभिनेत्री सेनको जीवन्त अभिनय। विषय, पात्र अनि उनीहरूको चरित्रचित्रणका कारणले पनि सिरिजले ताली पाइरहेको छ।

सिरिजको शिर्षकले ट्रान्सजेन्डर समुदायले भारतमा मात्रै हैन अन्य देशहरूमा समेत भोगिरहेको कानूनी तथा सामाजिक पहिचानको जटिल समस्यालाई राम्रोसँग उजागर गरेको छ।

अभिनयसँगै सुस्मिता सेनको मेकअपले पनि दर्शकलाई तान्यो। छ एपिसोडको वेब सिरिज हेर्दा उनी लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको सदस्य हैनन् भन्ने छिसिक्क संकेत समेत देखिँदैन।

गणेश जब पूर्ण रूपमा गौरी बन्छन्, तब उनको पूरै हुलिया परिवर्तन हुन्छ। निधारमा ठूलो रातो टीका, ओठमा चिटिक्क परेको लिपिस्टिक। सबै औंलामा नेलपोलिस। फिटिङ गरेको ब्लाउजमाथि सर्लक्क परेको सारी।

तर, गाला र चिउड़ोमा भने दारीजुँगा काटिसकेपछि रहने कालो दाग। मेकअपमा स-सानो कुरामा पनि ध्यान दिइएको छ। यति मात्रै हैन मर्दाना शरीर, बाक्लो आवाज, खुट्टा फाटेर बस्ने शैलीलाई मिहीन रूपमा प्रस्तुत गरिएको छ सिरिजमा।

अभियन्ता शावंतको जीवनीमा आधारित यो सिरिज आफ्नै भावनासँगको लडाइँ पनि हो। छोरीको व्यवहार देखाउने छोरा स्वीकार्नै नसक्ने बाबु, दिदी भनेको दाइ स्वीकार्न नसक्ने बहिनी, आमा बन्ने इच्छा, तेस्रोलिंगी समुदायमा स्वीकार्य हुन लिंग नै परिवर्तन गर्नुपर्ने अवस्थालाई सहज रूपमा प्रस्तुत गरिएको छ।

भारत मात्रै हैन नेपालमा समेत लैंगिक अल्पसंख्यक समुदाय सिरिजमा देखाइए जस्तै आफ्नो परिवार र समाजसँग अस्तित्वको लडाइँमा छन्।

सामाजिक अनि कानूनी पहिचानको लडाइँमा छन्।

यो भारतीय अभियन्ता गौरीको लडाईंको कथामा आधारित भए पनि हरेक देशमा रहेका गणेशबाट गौरी बनेकाहरूको कथा हो। नेपालमा पिंकीहरूको कथा हो, सुनिलबाबु पन्त अनि ट्रान्समहिला प्रितीहरूको कथा हो।

बाबु प्रहरीमा कार्यरत रहेका परिवारमा कान्छो छोराको रूपमा जन्मिएका गणेश गौरी बन्दा खाएको हण्डर, परिवारले स्वीकार्न नसकेको अवस्था अनि राज्यले गर्ने व्यवहार नेपालमा पनि भिन्न छैन।

कानूनी पहिचानलाई सर्वोच्च अदालतले स्विकारिसकेको छ नेपालमा। तर, अझै वैवाहिक पहिचानका लागि कानूनी लडाइँमै छन् नेपालका यौनिक अल्पसंख्यक समुदाय। सर्वोच्च अदालतबाट विवाह दर्ताको अस्थायी अभिलेख राख्न आएको आदेश जिल्ला अदालतबाट अस्वीकार हुने देश हो नेपाल।

अनि भारतमा गौरीजस्तै संघर्षमा होमिएका पात्र हुन् सुनिलबाबुहरू। त्यसैले ‘ताली’ नेपालका सुनिलबाबुहरूको पनि कथा हो।

समाजले परिभाषित गरेको ‘छोरा’ भएर मन छोरीको भएकाहरूको कथा हो ताली।

लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका सदस्यलाई चलचित्र जस्तो शक्तिशाली माध्यममा स्थान दिँदा हास्य पात्र या भिलेनको भूमिकामा मात्र अटाउने फिल्म मेकरहरूका लागि दरिलो झापड पनि हो ‘ताली’।

लैंगिक तथा यौनिक अल्पसंख्यकहरूको समस्या केवल यौन सम्बन्ध मात्र हैन सामाजिक अस्तित्व अनि कानूनी अस्तित्व पनि हो भन्ने दरिलो सन्देश दिएको छ सिरिजले।

सिरिज रिलिज भएदेखि अहिलेसम्म सिरिजबारे जस्तो प्रतिक्रिया आएको छ, त्यसले यो समुदायलाई हेर्ने सामाजिक र कानूनी दृष्टिकोण बदलिने बलियो सम्भावना देखाउँछ।

सिरिजको सबैभन्दा राम्रो पक्ष नै ‘गौरी’लाई दया वा हाँसोको पात्र हैन परिवर्तनको नेता बनाउनसक्नु हो। सिरिजमा एउटा सिन छ, आफ्नो ‘सामाजिक प्रतिष्ठा’लाई जोगाउन गणेशको बुवाले डाक्टरसँग भेटेकोअनि छोरालाई ‘केटा’नै भइराख्नको लागि औषधि खुवाएको।

प्रहरी भएकाले उनको बाबुले समाजमा ट्रान्सजेन्डर महिलाहरूमाथि भएको दुर्व्यवहार हरेक दिन देखिरहेका नै थिए। उनी आफ्नो छोराले त्यस्तो दुर्व्यवहार नभोगोस् भन्ने चाहन्छन्। जब छोरा गणेश भए पनि आत्मा गौरी हो भन्ने थाहा पाउँछन् तब उनी आत्तिन्छन् र छोरालाई गणेशबाट गौरी हुनबाट रोक्ने हरसम्भव प्रयास गर्छन्।

तर, भनिन्छ नि पानीलाई मुट्ठीमा जति दबाउन खोज्छ, त्यो त्यतिनै फुत्कन्छ। गौरी बन्ने संघर्षमा रहेका गणेश पनि बाबुको कसाईबाट उम्कन्छन्। गौरी बन्न मात्र हैन आफूजस्तै समुदायलाई कानूनी पहिचान दिलाउन समेत सफल हुन्छिन्।

संवाद निकै चोटिलो छ। अस्पतालमा मृत्यु भएको ट्रान्सजेन्डरलाई शवगृहमा नराखी शौचालय अगाडि राख्नेदेखि लिएर यौनकर्मका लागि बाध्य तेस्रो लिंगीमाथि प्रहरीले गर्ने दुर्व्यवहारका दृश्यहरू निकै शक्तिशाली छन्।

यौनकर्ममा आवद्ध भएकाहरूको अवस्था अनि उनीहरूबाट जन्मिएका सन्तानहरूको अवस्था दर्शकले अनुभव गर्न सक्नेगरी समेटिएको छ।

झुटो पहिचान बोकेर समुदायलाई बदनाम गराउने, समाजका कमजोर सदस्यको फाइदा उठाएर गैर कानूनी काममा लगाउने, समुदायको हितमा काम गर्दा समुदायकै सदस्यहरूबाट आउने चुनौती र खतरा सबै पक्ष समेटिएको छ।

नेपालमा पनि यौनिक तथा लैंगिक अल्पसंख्याबारे फिल्म नबनेको वा उनीहरूलाई पर्दामा स्थान नदिएको हैन। तर, ती मुल समस्यालाई उजागर गर्नमा भन्दा सामान्य विषयमै धेरै अल्झिए।

नेपालमै पनि यौनिक तथा लैंगिक अल्पसंख्याबारे ‘जुनेली रात’ अनि ‘सुनगाभा’ जस्ता फिल्म नबनेका हैनन्। तर, यी दुवै फिल्म समुदायको सामाजिक पहिचानमा भन्दा यौन सम्बन्धमा केन्द्रितहुँदा सम्बन्धित समुदायले नै अपनत्व अनुभव गर्न सकेनन्।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारका लागि सक्रिय सुनिलबाबु पन्तले ‘निलो फुल’ फिल्म निर्देशन गरे। प्रदर्शन पनि भयो। तर, ठूलो समुदायमा जानै सकेन यो फिल्म।

‘ताली’को सबैभन्दा सशक्त पक्ष अभिनेत्री सेनको दमदार अभिनय अनि राष्ट्रिय पुरस्कार विजेता निर्देशक रवि जाधवको साथ नै हो। रविले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यमाझ यौन सम्बन्ध मात्रै समस्या देखेनन्। मूल समस्यालाई च्याप्पै समातेर प्रस्तुत गरे।

नेपालमा फिल्म निर्माणमा जमेका अनि फरकधारको गफ दिने निर्देशक अनि राष्ट्रको गहना दाबी गर्ने कलाकारको नजर अझै यस्तो संवेदनशील विषयमा पर्न सकेको छैन। परेको भए सायद सुनिलबाबु आफ्ना लागि नयाँ क्षेत्र फिल्म निर्देशनमा पक्कै संलग्न हुँदैनथे होला। कलाकारहरूको माझमा कुनै परिचित अनुहार पनि हुन्थ्यो होला।

घिसिपिटी प्रेम कथा मात्र हैन समाजमा दबिएका, हेपिएका समुदायको कथालाई कसरी प्रभावकारी रूपमा पर्दासम्म ल्याउन सकिन्छ भन्ने सफल उदाहरण हो ‘ताली’। नेपालका निर्देशक अनि कलाकारले हेरे उत्तम। केही सिकिहाल्थे कि!

मध्यमधारका अन्य सामग्री

८ भदौ, २०८०, १८:३७:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।