मध्यमधार : नागरिकतामा ‘महिला’ बनाउन जब डाक्टरले यौनाङ्ग हेरे सन्ध्यालाई नरमाइलो लाग्यो

मध्यमधार : नागरिकतामा ‘महिला’ बनाउन जब डाक्टरले यौनाङ्ग हेरे सन्ध्यालाई नरमाइलो लाग्यो
तस्बिर- विजयमान नापित

पुरुषको रूपमा जन्मिएका सन्ध्या लामालाई महिलाको रूपमा देखेका धेरैले उनी महिला भएको प्रमाण खोजे। तर उनीसँग कानुनी प्रमाण थिएन। लामो संघर्षपछि २०७७ सालमा सन्ध्या लामाले आफू ‘महिला’ भएको कानुनी प्रमाण पाइन्। उनलाई थाहा भएसम्म सबै भन्दा खुशी भएको पल त्यहि  हो।

नागरिकताको विषय जटिल छ नेपालमा। त्यसमा पनि लिंग नै बदलिएको कानुनी प्रमाण। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यहरुले आफ्नो लिंग अनुसारको कानुनी पाहिचान पाउन निकै सकस छ। पहिचान सहितको नागरिकता पाउन कम चुनौती थिएन।

त्यसका लागि आफ्नो लिङ्गको शल्यक्रिया गरेको हुनुपर्छ, त्यसको कागजातहरू नेपाल मेडिकल काउन्सिलमा देखाउनुपर्छ, त्यहाँबाट पुष्टि गरेपछि फेरि त्यो कागजात लिएर गृह मन्त्रालयहुँदै अन्य सरोकारवाला निकायबाट पारित भएपछि मात्र नागरिकता पाइन्छ।

‘मैले जे महसुस गर्थे धेरै संघर्ष गरेर त्यो कागजमा पाएँ,’ उनले भनिन्, ‘म महिला हुँ भनेर सरकारले मलाई प्रमाण दियो। मेरो  पहिचान स्वीकार गरियो। त्यो भन्दा ठूलो कुरा अरु के नै हुन सक्छ र!’

नागरिकताको यति लामो प्रक्रियामा यौनिक अल्पसंख्यकहरूले सबै भन्दा नरुचाएको चरण शल्यक्रियापछि आफ्नो यौनाङग नै देखाउनुपर्ने चरण हो। चिकित्सकिय परिक्षणमा आफ्नो बदलिएको यौनाङग देखाउनुपर्दा सन्ध्यालाई नरमाइलो लाग्यो। 

‘के गर्नु प्रक्रिया नै त्यस्तै छ। यौनाङ्गमा समस्या हुँदा डाक्टरसँग लजाउन त भएन। तर विरामी नभई प्रमाणका लागि यौनाङग देखाउँदा नरमाइलो लाग्ने रहेछ। धन्न मेरो प्रक्रिया एक महिनामै सकियो। अरुको त डेढ, दुई वर्ष लागेको पनि देखेको छु,’ उनले भनिन्।

पहिला नै जन्मदर्तामा ‘छोरी’ बनाइदिने आमाको आँट
घरको कान्छो छोराको आत्मामा छोरी हुकँदै गरेको उनको आमाले सायद उनी भन्दा अगाडि नै थाहा पाइसकेकी थिइन्। त्यहि भएर छोराको जन्मदर्ता बनाउँदा नै ‘छोरी’ राख्ने छलफल चलिसकेको थियो।

‘आमाले त वडाध्यक्षसँग पनि कुरा गरिसक्नु भएको रहेछ। तर, गाउँ समाजमा त छोरा जन्मिएको भनेर सबैलाई थाहा थियो। त्यसबेला त्यति गर्ने आँट नै भएन। आमाको जति आँट मैले त्यतिबेला नै गरेको भए फेरि अहिले यति धेरै संघर्ष नै गरिराख्नु  पर्दैनथ्यो  कि!’, उनले भनिन्।

यौनिक अल्पसंख्यकहरू बीच पहिचान सहितको नागरिकताको कुरा आउँदा ‘अन्य’, ‘तेश्रो लिंगी’, वा महिला नै राख्ने भनेर बहस भइरहन्छन्। तथ्याङ्कमा गडबड भइरहेको हुँदा समुदायकै केहि समूहले सबैले ‘अन्य’ नै राखेर नागरिकता लिँदा आफ्नो अधिकारको लागि लड्ने कुरा पनि आइरहेको हुन्छ। तर, सन्ध्याले महिला नै राख्ने निर्णय गरिन्।

‘यो सबैको व्यक्तिगत अनुभुति हो। यौनिक अल्पसंख्यकलाई ‘अन्य’ दिने भनेर राज्यले व्यवस्था त गर्यो। तर, त्यस वर्गको लागि केहि पनि कुरामा समावेशिताको अवसर दिएन। न कुनै कोटा छ। सरकारी जागिरदेखि लिएर राजनीतिक कुनै पनि कुरामा जोडिएन। त्यसमाथि तेश्रोलिंगी महिलाहरूले नागरिकता लियो भने लैंगिक पहिचानमा अन्य लेखे पनि नाम भने पुरुषकै हुन आउँछ। त्यस्तो भएपछि मैले त ‘अन्य’ राख्ने आँट गर्न सकिनँ।’

उनी भन्छिन्, ‘फेरि महिलाको लिँदैमा महिला मात्र हुन्छ भन्ने नि त हुदैन नि! महिलामा पनि विविधता छ। तेश्रो लिंगी महिला, समलिंगी महिला, द्विलिंगी महिला। त्यै कारणले महिला भन्दैमा पहिचान गुम्ने भन्ने हुँदैन। महिलाभित्रको तेश्रो लिंगी महिला हुँ म।’

हेटौंडाको थानाभर्याङमा जन्मिएकी हुन्, सन्ध्या। छोरा भएर जन्मिइन्। हुर्काइ पनि त्यहि अनुसारले नै भयो। तर, जब किशोरावस्थामा उनी प्रवेश गर्दै गइन्, त्यसपछि आफूभित्रको ‘सन्ध्या’ बिस्तारै बाहिर आउँदै गरेको थाहा पाइन्। छोरा भएर पनि किन सधै केटी साथीहरूनै धेरै बनाउन पुगेँ? भन्ने थाहा पाइन्।

त्यसैक्रममा टेलिभिजनमा यौनिक अल्पसंख्यक समुदायको बारेमा अन्तर्वार्ता दिरहेकी एक तेश्रो लिंगी महिलाको कुरा सुनिन्। त्यसबेला उनले पुरुष पनि पुरुष हुन नसक्ने र महिला पनि महिला हुन नसक्ने रहेछन् भन्ने थाहा पाइन्।

शरीरनै परिवर्तन गर्नको लागि जुटाएको त्यो साहस
उनलाई आफ्नो पुरुषको शरीर नै मन पर्न छाड्यो। ती अङ्ग सधै आफैँ सित रहिरहोस् भन्ने उनले चाहिनन्। उनले त्यो सब अङ्ग परिवर्तन गर्ने निर्णय गरिन् जसले उनलाई आफ्नो अस्तित्व फरक भएको बोध गराइरहन्थ्यो।

घरमा आमाले धेरै माया र साथ दिएपछि दाजुभाइले पनि केहि बोल्नै पाएनन्। आमाकै कारणले समाजमा पनि उनले सुन्ने गरेर कसैले पनि केहि भन्न नसकेको उनी बताउँछिन्।

अनि उनले यौनिक अल्पसंख्यकहरूको लागि काम गर्ने संस्थामा काम पाइन्। विभिन्न सुन्दरी प्रतियोगिताहरूमा भाग लिइन्। सन् २००८ मा ‘मिस ब्युटी एण्ड ब्रेन’ जितिन्।

एचआइभी/एड्स निर्मुलान्को ‘ब्राण्ड एम्बेसडर’ बनिन् अनि ‘मिस इन्टरनेश्नल’ पनि भइन्। वीरगञ्ज प्रोजेक्टमा ‘को-अर्डिनेटर’को रूपमा ८ वर्ष काम गरिन् र अन्य विभिन्न जिल्लामा पनि गएर काम गरिन्।

केहि पैसा कमाइन्। सुन्दरी प्रतियोगिता जितेपछि थाइल्याण्ड जाने मौका पाइन्। त्यहाँ नै उनले पुरुषबाट महिला बन्न सकिन्छ भन्ने थाहा पाइन्। सन् २०१२ मा उनले स्तन प्रत्यारोपण गरिसकेकी थिइन्। अनि मानसिक र शारीरिक रूपमा बलियो भएर सन् २०१७ मा गुप्ताङ्गको शल्यक्रिया पनि गरिन्।

‘सानोतिनो जोखिम होइन। म यस्तो शल्यक्रिया गर्न जादै थिएँ, जुन विना रोगको थियो। त्यसमाथि एक पटक शल्यक्रिया भइसकेपछि कुनै पनि हालतमा पहिलाको अवस्थामा आउन मिल्दैन। त्यो पनि त्यति टाढाको देशमा गएर जहाँ शल्यक्रिया असफल भयो भने आफ्नो देशमा आउन पाउँछु कि पाउँदिन भन्ने थियो।’

‘केटा मान्छेलाई त्यसमा हिर्कायो भने त मर्छ भन्छन्। त्यसमाथि त्यहाँ त एकदमै धेरै नशा हुन्छ भनेको पनि सुन्दै आएको हो। अझ मेरै साथीहरूको शल्यक्रिया असफल भएको, पछि इन्फेक्सन भएको, र केहि त अप्रेशन गर्दा–गर्दै मरेको भन्ने पनि सुनेको थिएँ,’ उनी भन्छिन्, ‘शल्यक्रिया भन्दा अगाडि मानसिक रूपमा धेरै नै तयार हुन आवश्यक रहेछ।’

शरीर परिवर्तन हुने भए पनि मानसिक रूपमा पनि यसमा धेरै परामर्श हुने गरेको उनले अनुभव गरिन्।

‘शल्यक्रिया गरेपछि पनि केहि मान्छेहरूले त पश्चाताप पनि गरेका छन्। डिप्रेसनमा गएर आत्महत्या समेत गरेका छन्। त्यै भएर पनि यो सजिलै हुने कुरा होइन। आफ्नो शारीरिक र मानसिक स्वास्थ्यको ख्याल गरेर मात्र गर्नपर्छ। मलाई पनि परिवारको समर्थन भएको, अधिकारकर्मी भएको र मानसिक रूपमा तयार भएको थार भएपछि मात्र शल्यक्रिया गर्न तयार भएको हो।’

मानसिक अस्थिरताको चुनौती
तर, दुई महिनापछि भने उनलाई पनि ग्लानि हुन थाल्यो। ‘गल्ति गरेँ’ कि भन्ने सोचिन्। अङ्ग परिवर्तन हुँदैमा उनको प्रकृति पक्कै परिवर्तन हुने होइन। उनलाई समाजमा कुनै छोरा मान्छेले बिहेको लागि योग्य मान्दैनन्। उनी आमा बन्न सक्दिनन्।

‘धेरै जोखिम उठाएर, लाखौं खर्चेर पनि आफूलाई कुनै फाइदा भएन भने यस्तो बेकारमा किन गरेछु? भन्ने आफैँलाई प्रश्न गर्न लागेँ। तर, मैले बिस्तारै आफ्नो प्रश्नको जवाफ आफैँले दिएकी छु। बिहे गर्नु र बच्चा जन्माउनु नै  जिन्दगीको लक्ष्य होइन। अहिले म शान्त छु। अनुत्तरित हुनुपरेको छैन।’

तेश्रो लिंगी सबैले अङ्ग परिवर्तन गर्नुपर्छ भने होइन। अङ्ग परिवर्तन नगरेका धेरै तेश्रोलिंगीहरू खुशीका साथ बसिरहेका छन्। उनका अनुसार केहिले चैँ आफ्नो ‘पार्टनर’ले भनेअनुसार रहरले वा बाध्य भएर पनि अङ्ग परिवर्तन गरेका छन्।

अहिले भारतमा पनि लिङ्ग परिवर्तनको शल्यक्रिया हुने हुँदा सबै जना मोटो रकम तिरेर थाइल्याण्ड नै जानुपर्ने बाध्यता भने छैन। पछिल्लो समय नेपालमा अङ्ग परिवर्तन नगर्नको लागि विभिन्न कार्यक्रमहरू पनि हुँदै आएको छ। शरीरको संरचना बदल्न उनले हर्मोनको पनि प्रयोग गरेकी छन्। डाक्टरको सल्लाहअनुसार हर्मोन लियो भने त्यसले नकारात्मक असर नगर्ने उनी बताउँछिन्।

यौनिक अल्पसंख्यकका यौनकर्मीले कहिलेसम्म हिंसा भोगिरहने?
उनको संस्थाले भने समुदायभित्र रहेका यौनकर्मीहरूको लागि काम गर्छ। एक त यस समुदाय भन्नेबित्तिकै यौन व्यवसाय नै गर्छ भन्ने गलत भाष्य निर्माण भएको छ। त्यसमाथि यौनकर्मीकै लागि काम गर्नु उनको लागि कम चुनौतीको विषय होइन।

‘हामीले जुन क्षेत्रमा काम गर्यो त्यो व्यक्ति पनि त्यस्तै हो भन्ने त समाजको मन्यता नै छ। एचआईभीको क्षेत्रमा काम गर्यो भने यो पनि संक्रमित हो भन्छ। यौनकर्मीहरूको लागि काम गर्यो भने यिनीहरू पनि यौनकर्मी नै हो भनेर नराम्रो दृष्टिकोणले हेर्छ,’ उनी सुनाउँदै गइन्, ‘त्यै माथि अहिले पनि हाम्रो साथीहरूलाई विनाकारण प्रहरीले पक्राउ गर्ने, गुण्डा केटाहरूले पिट्ने, लुट्ने, मार्ने, घटनाहरूमा पनि केहि कमी भएको छैन। रातिको समयमा काम गर्नु गाह्रो नै छ। रोडमा कसैले आएर ड्याम्मै हिर्कायो भने कसलाई समात्ने? राति हिँड्दा गाडीले किच्देको घटनाहरू छन्।’

यस्तो अवस्थामा प्रहरीले भन्दा पनि मानवाधिकारकर्मी र महिलावादी अधिकारकर्मीहरूले केहि हदसम्म समन्वयात्मक भूमिका निर्वाह गर्ने गरेको उनको अनुभव छ। उनका अनुसार यस समुदायका धेरैले अहिले पनि बाध्य भएर नै यौन पेशा गरिरहेका छन्।

‘पहिलाको दाँजोमा केहि सहज भए पनि व्यवस्थित हुन चैँ सकेको छैन। कति दिन संघसंस्थाले नै हेर्ने? संस्था भनेको दाता भइन्जेलसम्म त हो। काठमाडौं मात्र नभएर ठूलो–ठूलो शहरहरू जस्तै पोखरा, चितवन, वीरगञ्ज, भैरहवा, चितवन, बुटवल, बिराटनगर, इटहरी, दमक सबैमा यौनकर्मीहरू अवस्था उस्तै दयनीय छ।’

यौनिक अल्पसंख्यकहरूले भोग्ने हिंसामा धेरै बदलाव नआए पनि यसप्रतिको नकारात्मक बुझाइ भने कम हुँदै आएको उनले सुनाइन्। यस समुदायभित्र पनि धेरै विविधता छ। त्यहि भएर पनि बुझ्न खोज्नेहरूमा केहि अल्मलता भए पनि नकारात्मक दृष्टिकोणले हेर्ने भने केहि हदसम्म कम भएको उनले बताइन्।

‘विविधताले गर्दा बुझाइमा अलि असहज भएको छ। कोहि केटा जस्तो छ, कोहि केटी जस्तो छ, कोहि बिहे गरेको छ, कसैको बच्चा छ तर पनि तेस्रो लिंगी भन्छ भनेर अलमलिनु भएको हुन्छ। जस्तो जे भए पनि मानव हौँ। मानव भित्रको विविधतालाई स्वीकार्न केहि समय लागेको मात्र हो। सधैँ यस्तो त रहँदैन।’

मध्यमधारका अन्य सामग्री

१९ असोज, २०८०, १७:२०:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।