मध्यमधार : अति भएपछि हिम्मत जुटाएर मधुले भने- ‘म समलिङ्गी पुरुष हुँ’

मध्यमधार : अति भएपछि हिम्मत जुटाएर मधुले भने- ‘म समलिङ्गी पुरुष हुँ’

२०६६ साल तिहारको भाइटीकाको दिन सेतो कुर्ता पाइजामा लगाएर बुटवलबाट तौलिहवास्थित दिदीको घर हिँडे मधु। बसका सहचालकले सबैसँग भाडा माग्दै आयो। जति हो त्यति नै भाडा उठाइरहेको थिए उनी।

भाडा दिने पालो आयो मधुको। तर सहचालकले मधुलाई तलदेखि माथिसम्म हेरेपछि अरुसँग मागिरहेको भन्दा दोब्बर भाडा मागे। अरुलाई भन्दा दोब्बर भाडा मागेपछि उनले प्रतिवाद गरिन्।

उनको बोल्ने शैली देखेर गाडीका स्टाफले ‘छक्का हिजडा’ भन्न थाले। स्वभाविक रूपमा मधुलाई पनि रिस उठ्यो। उनले ‘के बोलेको?’ भनेर प्रतिवाद गर्न खोज्दा अन्य गाडीका स्टाफसमेत आएर अनलाई लछारपछार पारेर गाडीबाट निकाले अनि कुटे पनि।

उनलाई झारेर गाडी हिँड्यो। बाइकबाट आइरहेका दुई जना पुरुषले उनलाई ‘के भयो भाइ?’ भनेर सोधे। उनले आफूलाई भएको कुरा भने। प्रहरीलाई खबरपछि गाडीवालालाई पनि कारबाही भयो।

साझा सवालको त्यो कार्यक्रम 
रुपन्देही जिल्लामा एक दाइ र एक दिदीको भाइका रूपमा जन्मेका हुन् मधु। घरको आर्थिक अवस्था ठिकठिकै थियो। खानलाउन पुग्ने।

स्कुल पढ्दापढ्दै सन् २००२ मा भारततिर लागे मधु, त्यो पनि कामको लागि। झण्डै १० वर्ष भारतको विभिन्न होटलहरूमा काम गरेपछि सन् २०१२ मा पृथ्वी नै ध्वस्त हुन्छ भन्ने त्रास फैलियो अनि स्वदेश फर्किए।

केही समय उनी रुपन्देहीमै बसे। काम खोज्न थाले तर पाएनन्। सबै काठमाडौं हिँडेको देखेपनि पनि त्यतै हानिए।

काठमाडौंमा जानेको काम गर्दै जसोतसो जीवन चलेकै थियो। उमेर बढ्दै जाँदा घर जान थालेपछि विवाहको दवाव आउन थाल्यो।

केही समय त टारेकै थिइन् तर अति भएपछि हिम्मत जुटाएर उनले भने, ‘म समलिङ्गी पुरुष हुँ। महिलासँग विवाह गर्न सक्दिनँ।’

आमालाई बज्रपात पर्यो। आमाले मधुलाई भनिन्, ‘मैले त छोरा पो जन्माएको त के भो तलाईं?’

उनले सकेसम्म आमालाई बुझाउन कोसि गरे। सम्झाएपछि उनकी आमाले केही भन्नै सकिनन्।

मधु आफैँलाई पनि समलिङ्गी पुरुष हुँ भन्ने कुरा पछि मात्रै थाहा भयो। किशोरावस्था पुग्दै गर्दा उनलाई महिलाप्रति आकर्षण भएन। पुरुष नै मन पर्न थाल्यो। पुरुषसँग खेल्दा अप्ठ्यारो लाग्न थाल्यो। महिलासँग खेल्दा सहज।

‘म किन पुरुष भएर पनि महिलालाई मन पराउँदिन। पुरुषहरू देख्दा किन ढक्क छाती फुल्छ? महिलाहरू किन साथी जस्ता मात्र लाग्छन्? मलाई के भइरहेको छ भन्ने लागिरह्यो,’ मधुले भने, ‘म समिलिङ्गी हुँ भन्ने त पछि मात्रै थाहा पाएँ। सबैले कस्तो केटीजस्तो केटा भन्दा पनि पत्तो पाइनँ मैले यो समुदायबारे।’

काठमाडौं आएपछि मधुले आफूजस्तै साथीहरू भेटे। लैंगिकताबारे अभिमुखिकरण दिने संस्थाको नजिक पुगे। प्रशिक्षणहरू लिए।

यसै क्रममा पत्रकार विद्या चापागाईंले साझा सवालमा यौनिक तथा लैंगिक अल्पसंख्यकसँगको अन्तरक्रिया कार्यक्रममा यस समुदायका धेरैलाई बोलाइन्। मधु पनि गए। त्यसमा उनले आफू समलिङ्गी भएको कुरा बताएका थिए।

कार्यक्रम थियो २०१६ को। त्यो भिडियो उनको गाउँभरि फैलियो। सबैले मधुकी आमालाई ‘तिम्रो छोरा त छक्का हिजडा पो रहेछ त!’ भनेर हियाए पनि। लगत्तै मधुले लैंगिकताबारे युट्युबमा भिडियो बनाएर पनि हाले।

यो भिडियाले उनलाई ओपन हुन सहज त गरायो तर घरमा भने छिमेकीले छक्का रहेछ फलानीको छोरा त भन्दै पुगे। मधु सम्झन्छन्, ‘त्यतिबेला मेरी आमालाई निकै गाह्रो भएको थियो।’

मधुको विचारमा साझा सवालको त्यो कार्यक्रमले स्वीकार्यता बढाएको र सम्बन्धित निकायले पनि आफ्नोबारे घोत्लिन बाध्य भएको बताउँछन्।

त्यसपछि मधुलाई ओपन भएर हिँड्न गाह्रो त परेन। तर यो समुदायले भोग्दै आएको पीडा भने भोग्नुपर्याे नै। यहि समुदायका साथीहरू भएपछि उनीहरूका समस्याबारे मधुलाई थाहा छ।

यौन व्यवसायमा लागेका मधुका साथीहरू प्रहरी चौकीमा पुग्दा छुटाउन गुहार माग्छन्। उनले केही पटक सहजीकरण नगरेका पनि होइनन्। तर कुरा बुझ्दै जाँदा आफ्नै साथीहरूको गल्ती देखे। त्यसपछि उनको बाटो बद्लियो।

‘ठूला’ले जोगाउँदा बढेको अपराध
दशैंअघि एकजना व्यक्ति कोरियाबाट नेपाल आए। उनको परिवार काठमाडौंमै बस्ने भए पनि उनी नयाँ बसपार्कस्थित एक होटलमा पुगे।

त्यहाँ तेस्रोलिङ्गी महिलाले उनलाई ‘सर्भिस’ दिने भइन्। उनी रुममा पुगेका मात्रै के थिइन् कोरियाबाट आएका मानिसको डेढ लाख नगद चोरी भयो।

ती व्यक्तिले ‘प्रहरीमा उजुरी गर्छु, नगद फिर्ता देऊ’ भन्दा होटल साहुनीले ‘यो सानी नानीलाई जबरजस्ती करणी गर्न लागेको’ भनेर बयान दिन्छौँ भन्दै धम्क्याए।

तर ती व्यक्ति टसको मस भएनन्। होटल साहुनी समेतको मिलमतोमा लुटिएपछि उनी प्रहरीकोमा पुगे। अहिले यो मुद्दा काठमाडौं जिल्ला अदालतमा छ।

अदालतले विपक्षी होटल मालिक र सहयोगीलाई बयान प्रत्यर्थी बयानको लागि बोलाएको छ भने प्रहरीसमक्ष होटल मालिकले तेस्रोलिङ्गी प्रयोग गरेर होटलमा ल्याउने र लुट्ने काम यसअघि पनि गरेको बयान दिएकी छन्।

यो त यहि दशैंअघिको घटना भयो। यस्ता घटना धेरै समयदेखि हुँदै आए। यौन व्यवसाय नेपालमा गैरकानूनी हो तर यौन व्यवसाय हुन्छ भन्ने कुरा कतैबाट छिपेको छैन।

यौन व्यवसायलाई कानूनसम्मत बनाउनुपर्छ भन्ने आवाज पनि नउठेका होइनन्। तर गैरकानूनी हुँदा यौन व्यवसायी र ग्राहक दुवै चोरिने, ठगिने र लुटिने जस्ता घटना बढेका छन्। लैंगिक तथा यौनिक समुदायनै चोर्ने लुटपाट गर्ने काममा सहभागी छ भन्ने भ्रम पैदा भएको मधुलाई लाग्छ।

‘अल्पसंख्यक समुदायहरूले सानो गल्ती गरे पनि ‘नोटिस’ भइहाल्छ। लुटपाट चोरीमा नै संलग्न भएपछि त झनै नकारात्मक धारणा बनेको छ,’ उनले भने, ‘त्यसैले हामीले मायाको पहिचान नामक संस्था खोलेर यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका नागरिकले कस्तो अपराध गरिरहेका छन् यसलाई न्यूनिकरण कसरी गर्ने भन्ने तर्फ काम गरिरहेका छौँ।’

उनको यो संस्था हालसालै मात्र खुलेको हो। चार जनाले लुटेका मुद्दाहरू पीडितको तर्फबाट यस संस्थाले सहजीकरण गरिरहेको छ। यौनिक तथा लैंगिक समुदायका केहीले लुटेपछि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हकहितको लागि काम गर्ने संस्थाकै माथिल्लो पदमा बस्नेहरूले जोगाउने गरेको पाइएको मधुको भनाइ छ।

‘कतिपय लुटेका केशहरू प्रहरीकोमा नै नजाने। गइहाल्यो भने पनि मिलापत्र हुने। लुटिएको रकम र ज्वेलरी ‘ठूला’हरूलाई भाग लगाएपछि मिल्ने गरेको देखियो,’ उनले भने, ‘यस्तोले त हाम्रो बदनाम भो नि होइन? अपराध जुनसुकै जात, धर्म, भाषा र लिङ्गले गरोस् न, अपराध त अपराध नै हो नि!’

मधुका अनुसार ठमेल, रत्नपार्क, सुन्धारा, चावहिल, गौशाला क्षेत्रमा लुटपाट र चोरीको घटनामा यो समुदायका केही व्यक्ति संलग्न रहेको सूचना छ। यो समुदायको चोरी र ठगीमा परेका पीडितहरू प्रहरीमा गएर विकृत्ति हटाउन लाग्नुपर्ने उनको मत छ।

‘हुन त यस्तो घटना यौन व्यवसायमा संलग्न भएकाहरूबाट हुने हो। यौन व्यवसाय कानूनसम्मत नभएकाले प्रहरीकोमा आफैँ पर्ने डरले जाँदैनन् ग्राहकहरू,’ उनले भने, ‘तर लुटिन, ठगिन त कोही भएन नि!’

२४ कात्तिक, २०८०, १६:०९:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।