तामाङ नायिका सुकुमायाको प्रसव पीडा र खुसी : परिवारले दिएको तनाव झेल्न नसकेर डेरा लिएर बसें

तामाङ नायिका सुकुमायाको प्रसव पीडा र खुसी : परिवारले दिएको तनाव झेल्न नसकेर डेरा लिएर बसें

सुकुमाया मोक्तान तामाङ चलचित्रकी नायिकामात्र होइनन्, निर्देशक तथा निर्मात्री पनि हुन्। दर्जनौं तामाङ चलचित्रमा नायिकाको भूमिका निभाएकी सुकुमाया तामाङ चलचित्रकी पहिलो महिला निर्देशक समेत हुन्।

यतिबेला उनी मोक्तान फिल्म प्रोडक्सनमार्फत आफैं तामाङ चलचित्र निर्माण गर्दैछिन्। दोलखामा जन्मेकी उनले आफ्नो नाममा सुकुमाया फाउन्डेसन पनि खोलेकी छिन्। सो फाउन्डेसनबाट बालबालिकाको शिक्षाको लागि काम गर्दैछिन्। बच्चाप्रतिको लगावकै कारण सो संस्था खोलेको उनी बताउँछिन्।

एक वर्षअघि पर्यटन व्यवसायी छिरिङ शेर्पासँग विवाह गरेकी सुकुमायासँग प्रसवको बेला खेप्नुपरेको शारीरिक पीडा त छँदै थियो, मानसिक रुपमा पनि निकै तनाव खेप्नुपर्यो।

बच्चा पाउनु भनेको सामान्य कुरा होइन रहेछ। यो त पहाड फोरेर बस्ती बसाल्नु जस्तै नै हो भन्छिन् उनी। आफ्नो प्रसवको पीडा र खुसीलाई उकेरामार्फत यसरी पोखिन् सुकुमायालेः

आमाका सात जना सन्तानमध्ये म पाँचौं नम्बरकी। छोरीमध्ये कान्छी। मपछि दुई भाइ जन्मे। छोरा नै चाहिन्छ भन्ने मानसिकतामा जकडिएको गाउँ-समाज थियो त्यतिबेला।

सानो छँदा मैले धेरै गाली र पिटाइ खाएको छु। आफ्नो कारणभन्दा पनि भाइहरुका कारण। उनीहरु लड्दा, रुँदा मैले नै पिटाइ खानुपर्थ्यो। त्यो विभेद मेरो बाल मष्तिष्कमा नराम्रोसँग गाडिएको थियो।

काठमाडौं बस्न थालेपछि हाम्रो घरमा डेरामा बस्ने कसैले बच्चालाई पिट्यो भने साह्रै रिस उठ्थ्यो। आमालाई ‘अबदेखि बच्चालाई पिट्नुभयो भने कोठाबाट निकालिदिन्छु’ भनेर गाली गर्थें।

त्यही छोराछोरी बीचको विभेद र गरिबीले बच्चामा पर्ने मानसिक असरलाई मनन गरेर मैले आफ्नै नाममा फाउन्डेशन पनि खोलें। मैले धेरै बालबालिकालाई सपोर्ट पनि गर्दै आएको छु।

०००
मेरो विहे अलि ढिलै भयो। ३३ वर्षमा इंगेजमेन्ट गरेर अर्का वर्ष विहे गरेको हो। हाम्रो समुदायमा इंगेजमेन्टपछि नै श्रीमानको घरमा बस्ने चलन छ। म पनि श्रीमानको घरमा बस्न थालें र अर्को वर्ष विहे गरें।

विहे गरेको दुई महिनापछि एक्कासि सहिनसक्नु भएर ढाड दुख्यो। हुन त मेरो ढाडको नशा च्यापिएर लामो समयदेखि नियमित औषधि खाइरहेको थिएँ। तर धेरै दुखेपछि ढाडमा फेरि ठूलै समस्या आयो कि भन्ने डर लाग्यो।

सधैं मेरो महिनावारी अगाडि सर्थ्यो। तर त्यो महिना केही दिन नाघिसक्दा पनि भएको थिएन। प्रेगनेन्ट भएछु कि भन्ने शंका लाग्यो। खासमा मलाई प्रेगनेन्सीबारे राम्रो ज्ञान थिएन। ममीले यस्तो कुरा भन्नुपर्छ भनेर कहिल्यै सिकाउनु भएन। उहाँहरुको लागि बच्चा पाउनु ठूलो इस्यु नै थिएन। उहाँहरुका लागि खान र कमाउन नै समस्या थियो।

सुगर बढ्यो कि भनेर हस्पिटलमा गयौं। म त प्रेगनेन्ट पो रहेछु। अलमलको खुसी भएँ।

विहेपछि मेरो प्रोजेक्टका थुप्रै काम बाँकी थिए। कोरोना महामारीका कारण बाँकी रहेका काम पूरा नहोलान् भन्ने डर पनि लाग्यो। तर विहे गरेर गएपछि नै आमा बन्नुपर्छ भन्ने सोचाइ आइहाल्दो रहेछ। महिला आमा बनेपछि पू्र्ण हुन्छ भन्ने सुनेको थिएँ, साह्रै रमाइलो लाग्यो।

सुरुको दिनदेखि नै मर्निङ सिक्नेस भयो। जे खाए पनि भोमिट हुने, केहीको बासना मन नपर्ने, पानी समेत खान मन नपर्ने। साह्रै गाह्रो भयो। नखाई-नखाई कमजोर भएर खुट्टै बटारिन्थ्यो। तर मेरो त्यो अवस्थालाई घरमा कसैले बुझ्दैनथे।

सासु पनि पढेलेखेकी हुनुहुन्न्थ्यो। उहाँले अहिलेका महिलाको दोहोरो मार र मानसिक थकानलाई बुझ्नसक्ने कुरै भएन। त्यसमा पनि कोरोनाले गर्दा घरमा मेरो सम्बन्ध बिग्रियो।

म उठेर चल्नै नसक्ने। प्रायः कोठामै हुन्थें। कोरोना कहरमा आफन्त पर्ने कतिपयले आत्महत्या समेत गरे।

सासु-ससुरा बाहिर गइरहनुहुन्थ्यो। उहाँहरु मैले किचेनमा काम गरेर खाना तयार गरिराखोस् भन्ने चाहनुहुन्थ्यो। तर म त्यो सुरुको तीन महिनासम्म उठ्नै सकिनँ। सुतिरहँदा मुखमा टालो बाँधेर भए पनि पकाउनुपर्छ भन्थे घरमा। सासुले त हामी हिँड्दाहिँड्दै, खेतमा काम गर्दागर्दै बच्चा पाउँथ्यौं भनेर सुनाइराख्नुहुन्थ्यो। मलाई साह्रै रिस उठ्थ्यो। अनि जवाफ फर्काइदिन्थें।

त्यतिबेलाका महिलालाई बाहिरी भार थिएन। खानपान र वातावरण पनि स्वस्थ हुन्थ्यो। उहाँहरु बलियो हुनुहुन्थ्यो। तर अहिले हामी घरभित्र र बाहिर उत्तिकै व्यस्त छौं। न खाना नै अर्गानक खान पाउँछौं, न त स्वस्थ हावामा श्वास फेर्न नै। प्रेगनेन्सीको बेला शान्त र खुसी रहनुपर्ने हो। तर मन नै खलबल हुन्थ्यो मेरो।

०००
चार महिना चल्दै थियो, धेरै नै गाह्रो भयो। शारीरिकभन्दा मानसिक तनाव बढी भयो। डर पनि लाग्यो, ओहो! यसरी तनावमा बसियो भने त बच्चालाई समेत नराम्रो असर पर्छ।

आमाको घर गएर मैले आफूलाई धेरै गाह्रो भएको सुनाएँ। त्यतै नजिक घाम आउने कोठा भएको घर खोजिदिन भनें। संयोग पनि कस्तो, लकडाउनको समयमा आमाको पुरानो घरमा बस्नेहरु भाडा नतिरी भागेका रहेछन्। त्यही घरमा रङ-रोगन गरेर सर-सामान जोडेर बस्न थालें।

त्यतिबेला मलाई बाँच्नै नसकिएला जस्तो टर्चर थियो। घरमा जो आए पनि यसो गर, उसो गर भनेर प्रेसर दिन्थे। मैले सोचें, यदि यो ठाउँबाट मुभ भइनँ भने बाच्दिनँ। एक प्रकारको डिप्रेसन जस्तै भयो।

म र श्रीमान् घर छोडेर बाहिर बस्न थाल्यौं। त्यो टर्चर र वचनबाट टाढा भएपछि फ्रेस हुँदै गएँ। यदि मैले त्यतिबेला घर छोड्ने निर्णय नलिएको भए हाम्रो सम्बन्ध साह्रै बिग्रिन्थ्यो र म पनि डिप्रेसनमा जान्थें।

मानसिक रुपमा बढी तनाव हुनुको कारण मेरो उमेर पनि थियो। उमेर पुगेपछि पाएको बच्चा नर्मल नहुन सक्छ भन्ने कुराले मलाई निकै चिन्तित बनाएको थियो।

बच्चा पेटमा पाँच महिनाको हुँदा नर्मल छ कि छैन हेर्नका लागि इन्डियामा रगत पनि पठायौं। म बच्चा र आफूलाई लिएर निकै संवेदनशील थिएँ। सबै नर्मल छ भन्ने रिपोर्ट आएपछि मात्रै ढुक्क भएको थिएँ।

म सधैंजसो बाँदरलाई खानेकुरा खुवाउन बौद्ध जान्थें। तर पेटमा बच्चा भएपछि बादरसँग डर लाग्न थाल्यो। त्यसपछि चरा, परेवा र माछालाई खुवाउन थालें। मेरा बाँकी रहेका काम सकाउनतिर व्यस्त भएँ। म ठूलो पेट बोकेर तातोपानी बोर्डरसम्म जान्थें। बच्चा सक्रिय होस् भन्ने सोच थियो। सकेसम्म हिँडिरहन्थें।

०००
डाक्टरले राम्रो सल्लाह नदिँदा मैले ९ महिनाको समयमा चार वटा हस्पिटल फेरें। पछि डेलिभरीका लागि ओम हस्पिटल गयौं। म डा सुप्राताबाट डेलिभरी गराउन चाहन्थें। त्यसैले डा. सुप्राताको समयमा दिएको मितिभन्दा १५ दिनअघि अप्रेसन गरेर बच्चा निकालियो।

जब मलाई अप्रेसन रुममा लगिँदै थियो, आफ्नै शरीर काटेर नयाँ मान्छे भित्र्याउँदैछु भन्ने सोचले गर्व महसुस भयो। बच्चा पाएपछि मलाई २५ घन्टा आइसियुमै राखियो।

एक दिन पूरै मेरो मुखबाट आवाज निस्किएन। मलाई बच्चा देखाइएको पनि थिएन। इशारा गरेर श्रीमानलाई ‘बच्चाले आँखा देख्छ?, औंलाहरु सबै छन्?, कान छ कि छैन?’ भनेर सोधिरहन्थें। म्नमा पनि बच्चा नदेखुन्जेल यस्तै कुरा खेलिरहन्थे।

अप्रेसन गरेको २५ घन्टापछि बच्चा ल्याए। म क्वाँ-क्वाँ रोएँ। बच्चा देख्नासाथ एटेचमेन्ट पनि महसुस भएन। एक/दुई दिनपछि त ऊ नै मेरो मुटुको टुक्रा बन्दै गयो। एकछिन भुईंमा राख्नै नसक्ने, कस्तो माया-मोह हो हो।

अहिले छोरा दुई महिनाको भयो। बच्चा पाएको एक महिनासम्म त म कोरोहोरो टोलाएर, खाली भित्तामा हेरेर मात्र बस्थें। कहिलेकाहीँ कोल्टे परेर सुत्दा घाउ दुखेर मात्रै झस्कन्थें। म आफैंले यसलाई कन्ट्रोल गरें। सासु-ससुरासँगको सम्बन्ध पनि बच्चा पाएपछि राम्रै भयो।

मैले गर्भवती हुँदा शारीरिकभन्दा मानसिक रुपमा धेरै व्यथा सहनु पर्यो। पुस्तान्तरणको अभावले पनि धेरै समस्या आउने रहेछ। र, तनाव नलिई त्यसलाई सुल्झाउनुपर्ने रहेछ।

गर्भवती भएका बेला यदि कोही नकारात्मक सोच राख्ने व्यक्ति नजिक पर्छ भने आफैं टाढिनुपर्ने रहेछ। त्यो ९ महिनाको समयले बच्चाको भविष्यमा धेरै हदसम्म प्रभाव पार्ने रहेछ।

यो पनि

३० जेठ, २०७८, १४:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।