निर्मल पुर्जाको कार्यालयको आगलागी घटनामा जोडियो नक्कली नागरिकता अनि नक्कली विवाहको मुद्दा

निर्मल पुर्जाको कार्यालयको आगलागी घटनामा जोडियो नक्कली नागरिकता अनि नक्कली विवाहको मुद्दा
कपनमा आगलागी भएको घरको अवस्था अनि नक्कली नागरिकता।

काठमाडौँ : पर्वतारोही निर्मल पुर्जाको कार्यालय रहेको कपनको घरको घटना क्षतिपूर्ति अनि शङ्कास्पद आगलागी मात्रै हैन नक्कली नागरिकता अनि नक्कली विवाहसँग समेत जोडियो।

नक्कली नागरिकताको विषय चितवन जिल्ला अदालत पुगेर प्रक्रियामा छ। आरोपी धरौटीमा मुक्त भएकी छिन्। नक्कली विवाहबारे भने दुवै पक्षको आ-आफ्नै दाबी छ। न विवाह भएकै हो भन्न सक्ने प्रमाण न हैन भन्ने।

यो घटनामा जोडिएका छन् दुई पात्र जसमध्ये एक तेन्जिङ शेर्पा जसको कपनको घरमा भएको आगलागीमा परेर मृत्यु भइसकेको छ। अर्की पात्र युवन्तिका राई जो आफूलाई उनै मृतक तेन्जिङको श्रीमती भएको दाबी गरिरहेकी छिन्।

तेन्जिङको परिवार उनलाई बुहारी स्विकार्न तयार छैन। कारण उनको मृत्यु अगाडि दुवैको सम्बन्धबारे परिवार जानकार नहुनु र उनको मृत्युपछि मात्रै विवाह भएको दाबी गर्नु। यसमै जोडिएर आयो युवन्तिकाको नक्कली नागरिकता।

OOO

ताप्लेजुङका २९ वर्षका तेन्जिङ उनका दाइ मिङमा डेभिड शेर्पासँग ट्रेकिङमा संलग्न थिए। उनी निर्मल पुर्जा र मिङमाको इलाइट एक्सपिडिसनमा क्लाइम्बर अफिसरको रूपमा कार्यरत थिए।

डेभिड आफूले भाइलाई गाउँबाट काठमाडौँ ल्याएर उसैको इच्छा अनुसार ट्रेकिङमा संलग्न गराएको बताउँछन्। डेभिडका अनुसार तेन्जिङ गाउँमा लामा पढ्थे। अनि उनले काठमाडौँ ल्याएर पढाए।

एसएलसीपछि पढ्न मन नगरेपछि आफू संलग्न पेसामा लगाए। काम सिकाए। उनले पनि तीन वटा हिमाल चढिसकेका रहेछन्।

पछि दाजुभाइ नै हिमाल चढ्दा कुनै दुर्घटना भए बाबुआमा एक्लै हुने भन्दै हिमाल चढ्न मन नगरेपछि कार्यालयको व्यवस्थापनको प्रमुख बनाएको डेभिड बताउँछन्।

तर युवन्तिकाको दाबी अलि भिन्न छ। उनी घर छाडेर काठमाडौँ आएर बसेको दाबी गर्छिन्। तर तेन्जिङ निकट अन्य केही ब्यक्तीहरुसँगको कुराकानीमा उनलाई दाइले पढ्न काठमाडौँ ल्याएको अनी दाइले पढाइमा सहयोग गरेको खुल्यो।

युवन्तिका भागेर विवाह गरेको दाबी गर्छिन्। भागेर विवाह गरेकाले उनको परिवारले नबोलाएको उनको दाबी छ। यी दुवैको सम्बन्धबारे जानकारबाट लिभिङ टुगेदरमा रहेकोसम्म खुल्छ तर विवाह भएकोबारे उनको दाबी बाहेक प्रमाणित गर्ने थप प्रमाण देखाउन सकिनन् उनले।

उनी पनि पर्यटन क्षेत्रमै सक्रिय छिन्। यी दुवैको विवाहबारे शङ्का बढाउने काम गर्यो तेन्जिङको मृत्यु लगत्तैका दिनका उनको सामाजिक सञ्जालका गतिविधि जहाँ उनी शोकमा हैन खुसी देखिन्छन्। यसैमा जोडियो नाता प्रमाणित अनि नक्कली नागरिकता पनि।

तर उनी आफू विवाह भएको र श्रीमान् तेन्जिङै रहेको दाबी गर्छिन्। तेन्जिङको परिवार यसलाई स्वीकार गर्ने पक्षमा देखिएन।

डेभिड भाइले आफ्नो विवाहबारे परिवारका कसैलाई जानकारी नगराएको, मृत्युपछि एकाएक दुई युवती आएको भन्दै विवाहको प्रमाण नदेखाई स्विकार्न नसक्ने बताउँछन्।

'न सन्तान छन् न विवाहको प्रमाण पत्र। भाइले परिवारका कसैलाई भनेको पनि थिएन,' उनले भने' बौद्धको गुम्बामा पूजाका लागि भाइको शव राखेको बेलामा दुई जना युवती भाइको प्रेमीका भन्दै आएका थिए। अब यस्तोमा अहिले तपाईँको भाइ मेरो श्रीमान् भनेर आउँदैमा म कसरी स्वीकार गरौँ।'

युवन्तिकासँग फताङलुङ गाउँपालिकाले दिएको नाता प्रमाणित प्रमाण पत्र छ। डेभिड गाउँमा रहेका आफ्नो दाजुलाई भ्रममा पारेर भाइ मरिसकेपछि गएर नाता प्रमाणित कागजपत्र बनाएको दाबी गर्छन्।

युवन्तिका जोडिइन् नक्कली नागरिकतामा

यही क्रममा युवन्तिका नक्कली नागरिकताको मुद्दामा जोडिइन्। यो सामान्य आरोप मात्रै हैन अदालतमा समेत प्रवेश भइसक्यो। बाबु आमाको झुटो विवरण दिएर नागरिकता बनाएको मुद्दामा जिल्ला अदालत चितवनबाट उनी फागुन १० मा एक लाख ५० हजार धरौटीमा रिहा भएकी हुन्।

उनले आफूलाई छविलाल तामाङको छोरी भएको दाबी गर्दै नागरिकता बनाएको आरोप लाग्यो। यसमा छविलालको छोराले उनलाई बहिनी हुन् भनेर सनाखत गराएको देखियो। तर उनी न छविलालको छोरी भएको देखियो न किशोरको बहिनी।

अदालतमा उनले आफू विदेश जानका लागि नागरिकता बनाएको र सो नागरिकताबाट कसैलाई हानी नगरेको बयान दिएकी छिन्। मुद्दामा किशोर पनि सह-अभियुक्त बनेका छन्।

युवन्तिकाले उकेरासँग पनि आफू छविलालको छोरी नभएको स्वीकार गरिन्। आफ्नो आमा-बाबु इलाममा बस्ने गरेको र बाबुले नागरिकता नबनाएकाले किशोरको सहयोगमा नागरिकता बनाएको स्वीकार गरिन्।

'किशोरलाई म तिहारमा टीका लगाउँछु। उनले बहिनी बनाएर नागरिकता बनाइदिन्छु भनेपछि मानेको हो,' उनले भनिन्' यसमा मबाट गल्ती भएकै हो। तर त्यो भन्दैमा मेरो भएको विवाह पनि भएकै छैन त भन्न नमिल्ला नि।'

सम्बन्धित समाचार

७ चैत, २०७९, २१:५४:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।