निर्मल पुर्जालाई दोहोरो राहदानीमा कारबाही गर्न अध्यागमन र प्रहरीमा उजुरी, रविको छानबिन अझै टुङ्गिएन

निर्मल पुर्जालाई दोहोरो राहदानीमा कारबाही गर्न अध्यागमन र प्रहरीमा उजुरी, रविको छानबिन अझै टुङ्गिएन

काठमाडौँ : सेलिब्रिटी पर्वतारोही निर्मल पुर्जाले दोहोरो राहदानी प्रयोग गरेको दाबी सहित अध्यागमन विभाग र प्रहरीमा निवेदन परेको छ। पुर्जा बेलायती नागरिक हुँदाहुँदै उनले नेपाली राहदानी समेत बनाएर प्रयोग गरेको दाबीसहित विभाग र जिल्ला प्रहरी परिसर काठमाडौँमा निवेदन परेको हो।

दुवै निकायले निवेदनबारे जाँचबुझको काम सुरु गरिसकेको जनाएका छन्। पुर्जा बेलायत र नेपालको नागरिक रहेको र उनले त्यसैको आधारमा दोहोरो राहदानी बनाएकोबारे उकेराले प्रमाणसहित समाचार प्रकाशित गरेको थियो।

सन् २०१२ जुन २८ मा बेलायती नागरिकको हकमा बेलायती राहदानी बनाए पनि पुन सन् २०१५ मार्च १६ मा नेपाली राहदानी समेत बनाएका थिए।

कुनै नेपाली नागरिकले विदेशी नागरिकको कानुनी मान्यता पाए लगत्तै नेपाली नागरिकको कानुन हक निष्क्रिय हुने कानुनी व्यवस्था छ।

सो अनुसार पुर्जाको नेपाली नागरिकको हैसियत सन् २०१२ मै निष्क्रिय भए पनि त्यही निष्क्रिय नेपाली नागरिकताको प्रमाण पत्र पेस गरेर उनले नेपाली राहदानी निकालेका हुन्।

उकेराले पुर्जासँग दोहोरो नागरिकता रहेको प्रमाण सार्वजनिक गरेपछि उनी बेलायत गएर बेलायतमा रहेको नेपाली दूतावासमार्फत म्याग्दीबाट निकालेको नेपाली नागरिकता निष्क्रिय गराइसकेका छन्। तर राहदानी भने अझै सक्रिय नै छ।

अध्यागमन विभागमा परेको निवेदनमा राहदानी ऐनको दफा २२ को उपदफा १ र तोकिएको कानुनी कारबाही गर्न माग गरिएको छ।

सो दफा अनुसार दफा २१ को उपदफा क लगायतका गतिविधि गरेमा दुई देखी पाँच लाखसम्म जरिवाना र एक वर्षदेखि तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।

दफा २१ को क मा झुट्टा विवरण दिई यात्रा अनुमति पत्र लिएमा यस्तो सजाय हुने उल्लेख छ।

विभागका सूचना अधिकारी तथा निर्देशक कमलप्रसाद पाण्डेले निवेदन परेको पुष्टि गर्दै त्यसबारे के कसो हो भनेर बुझ्ने काम सुरु भइसकेको बताए।

'निवेदन आएको हो। त्यसमा गरिएको दाबी अनुसार के हो भनेर बुझ्ने काम सुरु भइसकेको छ,' उनले उकेरासँग भने' निवेदनमा दाबी गरिए अनुसार दोहोरी राहदानी बनाएको देखिएमा अध्यागमन ऐनले दिएको अधिकार अनुसार प्रक्रिया अगाडि बढाउँछौँ।'

पुर्जा विरुद्ध जिल्ला प्रहरी परिसरमा समेत कारबाहीको माग गर्दै निवेदन परेको छ। दुवै निवेदन फागुन ३० मा परेको हो।

परिसर दर्ता भएको निवेदनमा कुनै व्यक्तिले अपराध गरिरहेको छ भन्ने जानकारी हुँदाहुँदै नागरिकको रूपमा अनुसन्धान गर्ने निकायलाई जानकारी नदिनु पनि अपराधको रूपमा उल्लेख भएकाले पुर्जाको दोहोरो राहदानीबारे अनुसन्धान गरी कारबाही गर्न माग गर्दै निवेदन दिइएको छ।

सो निवेदन परिसरको अपराध अनुसन्धान शाखामा कानुन अनुसार प्रक्रिया अगाडि बढाउन तोकादेश भइसकेको छ।

दोहोरो राहदानी वाहक पुर्जा अहिले नेपालमा छन्। दोहोरो राहदानीधारी भएको विवरण अध्यागमन विभागमा अद्यावधि भए पनि विभागले उनलाई बेलायती नागरिकको रूपमा पर्यटन भिसामा नेपाल आउन अनुमति दिएको थियो।

नेपाल प्रवेशको अनुमति पाएपछि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, पर्यटन मन्त्री सुदन किराँती, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतकासँग भेटघाट गरेर टोली लिएर पर्वतारोहणका लागि म्याग्दी पुगेका थिए।

पुर्जा गिनिज बुक होल्डर पर्वतारोही हुन्। उनको बारेमा नेटफ्लिक्समा डकुमेन्ट्री आएपछि उनी विश्व चर्चित भएका थिए। उनी अहिले नेपालमा कम्पनी खोलेर पर्वतारोहणको व्यवसायमा सक्रिय छन्।

लामिछानेको उजुरी टुङ्गिएन

परिसरमा पुर्जा जस्तै दोहोरो राहदानी बनाएर दुरुपयोग गरेको भन्दै रास्वपाका सभापति लामिछानेविरुद्ध समेत उजुरी छ।

गृह मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालय काठमाडौँहुँदै अनुसन्धानका लागि परिसरमा पुगेपछि प्रहरीले छानबिन सुरु गरेको थियो। तर सो छानबिन कहाँ पुगेको छ त्यसबारे भने केही सार्वजनिक भएको छैन।

लामिछानेको निष्क्रिय नागरिकता र दोहोरो राहदानीबारे कानुनी प्रश्न उठेपछि नागरिकताबारे सर्वोच्च अदालतको संवैधानिक इजलासले टुङ्ग्याउँदै निष्क्रिय नागरिकताको आधारमा उनले प्रयोग गरेको संवैधानिक हक निष्क्रिय बनाउने फैसला गरेको थियो। सो फैसला अनुसार उनको मन्त्री र सांसद पद गएको थियो।

सर्वोच्चतर्फबाट सो फैसलाको पूर्ण पाठ समेत आइसकेको छ। पूर्ण पाठमा दोहोरो राहदानीबारे उल्लेख गर्दै त्यसबारे सम्बन्धित निकायले प्रक्रिया अगाडि बढाउने उल्लेख गरिएको थियो। 

राहदानीबारे प्रहरीले अध्यागमन विभाग लगायतका निकायबाट विवरण सङ्कलन गरिसकेको छ। नेपालस्थित अमेरिकी दूतावासबाट भने विवरण आएको छैन।

लामिछाने आफैंले अमेरिकी राहदानी रहँदा रहँदै नेपाली राहदानी समेत बनाएको स्वीकार गरिसकेका छन्। उनी सन् २०१४ मा अमेरिकी नागरिक बनेर पनि सन् २०१५ मा नेपाली राहदानी बनाएका थिए।

सम्बन्धित समाचार

१ चैत, २०७९, १६:१७:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।