तीन जनाको ज्यान जाने गरी कपनमा भएको विस्फोटको प्रमाण दुई वटा ग्याँस सिलिन्डर मात्र !

तीन जनाको ज्यान जाने गरी कपनमा भएको विस्फोटको प्रमाण दुई वटा ग्याँस सिलिन्डर मात्र !

काठमाडौं : २०७५ मा पानी तान्ने मोटर जोड्ने क्रममा निस्किएको आगोको झिल्काले अक्सिजन ग्याँस भेट्दा आगलागी भएको थियो ज्याठामा।

स्थानीय सुमन स्थापितको घरको भुइँतलामा रहेको ‘ट्रेकिङ’का लागि प्रयोग हुने अक्सिजनका ८० सिलिन्डर थिए। विहान चार बजे आगलागी हुँदा तीमध्ये २५ वटा सिलिन्डर पड्किएका थिए।

घटनामा स्थापितसहित सात जना घाइते भए। क्षति १० करोड बराबर भएको अनुमान गरियो। घाइतेमध्ये सबैको ज्यान जोगियो।

विस्फोटबाट दुई तलाको एकातर्फको पर्खाल भत्कियो भने चोक आसपासका अन्य घरहरूका पर्खाल र ढोका चर्किए।

कपनमा भएको विस्फोटमा करिब-करिब २० वटा अक्सिजनको ग्याँसको सिलिन्डर परेको देखिन्छ। दावा डेबिट शेर्पाका अनुसार नजिकै भान्छा कोठा थियो। पाँच लिटरका साना अनि २० लिटरका ठूला अक्सिजन ग्याँसका सिलिन्डर थिए।

आगलागीको दृश्य।

एलाइट ट्रेकिङका सञ्चालक समेत रहेका डेबिडका अनुसार घरमा रहेको भान्छा कोठा गएर हेर्दा एलपिजी ग्याँससहित सबै सामान सकुशल थियो। चामलको बोरा समेत डढेको थिएन। त्यसले जे क्षति भयो त्यो त्यही ट्रेकिङका सामान राखेको कोठामा राखेका सामानबाट भएको हुनसक्ने देखाउँछ।

तर त्यहाँ अक्सिजन ग्याँसका सिलिन्डर अनि म्याट्रेस बाहेक पनि अन्य केही पड्कने सामान थियो र ? कतैबाट पुष्टि हुन सकेन।

‘घरको क्षति देखेर त हामी पनि छक्क परेका थियौँ। कतै भान्छामा राखेको एलपीजी ग्याँस पनि पड्कियो कि भनेर हेरेको रैनछ। ठूलो आगो लाग्नुका कारण म्याट्रेस लगायतका प्लास्टिकका सामग्रीका कारण हुनसक्छ। तर त्यस्तो क्षति हुने गरी के पड्कियो हामी पनि छक्क छौँ’, उनले उकेरासँग भने।

घटनास्थल मुचुल्का

डेविडको दाबी पत्याउने हो भने उनीहरूले बेलायती सेनामा विस्फोटक पदार्थ सम्बन्धी काम गर्ने अवकाश प्राप्त एक व्यक्तिलाई लगेर घटनास्थल देखाएका थिए। उनले पनि ‘यो त अक्सिजन ग्याँस मात्र पड्किएको हैन होला’ भनेको उनी नै बताउँछन्।

आगलागी कत्तिको भयानक थियो भने उपत्यकाभरिका दमकल प्रयोग गर्दा पनि भोलिपल्ट विहान चार बजेमात्र नियन्त्रणमा आएको थियो।

तर विस्फोट सम्बन्धी मुचुल्का र अनुसन्धानमा फेला परेका सामानहरूको विश्लेषणमा अन्य केही देखिँदैन। घटनास्थलको मुचुल्का र प्रारम्भिक अनुसन्धान गरेको प्रहरी वृत्त बौद्धमा रहेको फाइल हेर्ने हो भने त यो सामान्य घटना समानै देखिन्छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो अलि गहिरिएको देखिन्छ अनुसन्धानमा। तर ब्यूरोको अनुसन्धान पनि निष्कर्षमा पुग्न भने सकेको छैन।

मुचुल्काको प्रमाण पड्किएका २ सिलिन्डर

घटनामा ट्रेकिङका लागि प्रयोग हुने अक्सिजन सिलिन्डर पड्किएको भनिए पनि प्रत्यक्षदर्शीहरूले बम पड्केको जस्तो आवाज पटक-पटक आएको, विस्फोटको शृङ्खला नै चलेको देखिन्छ। घटनाको प्रत्यक्षदर्शीले खिचेको भिडियोमा पनि पटक-पटक ठूलो आवाजमा विस्फोट भएको सुनिन्छ।

तर त्यत्रो आवाज आउने गरी के पड्किएको हो कतै खुल्दैन। 

घटनामा ताप्लेजुङ घर भएका २९ वर्षीय तेन्जिङ शेर्पा, सोलुखुम्बु घर भएका २४ वर्षीय छेवङ शेर्पा र सङ्खुवासभा घर भएका ३२ वर्षीय अशोक राईको मृत्यु भयो। सोही घटनामा घाइते भएका कुशल बुढाथोकी उपचारपछि निको भए।

उकेरालाई प्राप्त प्रहरीको घटनास्थल मुचुल्कामा पनि सिलिन्डर भन्दा अन्य केही देखिँदैन घटनास्थलमा। क्षतिको आकार भने ठूलै देखिन्छ।

मुचुल्का अनुसार घरको कम्पाउन्डमा रहेको एउटा मोटरसाइकल आंशिक क्षति भएको छ भने एउटा स्कूटर पूर्ण रूपमा जलेको छ।

घरको भूइँतल्लाका सबै कोठाहरू अनि माथिल्लो तल्लामा रहेका २ वटा कोठा निर्मल पुर्जाको कम्पनीले भाडामा लिएको देखिन्छ।

मुचुल्का अनुसार भूइँतल्लामा रहेको सबै कोठाको पर्खालसमेत फुटेर कोठाका सबै सामानहरू जलेर नष्ट भएका छन्।

दोस्रो तल्लामा रहेका दक्षिणी भागका कोठाका सामानहरू समेत आगोले जली पूर्ण रूपमा क्षति भएको उल्लेख छ।

घरको अगाडि दक्षिण पूर्व साइडको भूइँतल्लाको इँटाको पर्खालसमेत फुटेर क्षति भएको छ।  

बाहिरी भागमा रहेको सिसाको झ्यालहरू फुटेका छन्। घरको पश्चिम तथा साइडको भागमा समेत आगोले जलेर झ्यालहरूका सिसाहरू फुटेको अवस्थामा थिए।

विस्फोटले त्यो घरमा मात्र हैन, छिमेकीको घरमा समेत क्षति भएको छ। पश्चिम साइडमा रहेको ध्रुव केसीको गाई गोठसमेत आगोले जलेको छ। नजिकैको माउन्ट कैलाश बोर्डिङ स्कुलको जस्तापाता तथा झ्यालसमेत क्षति भएको थियो।

अक्सिजनको सिलिन्डर ब्लास्ट भएको भनिएको घरको कोठा। तस्बिर : कृष्पा श्रेष्ठ।

घटनास्थल मुचुल्का अनुसार दक्षिण साइडमा रहेको ध्रुव खत्रीको दुई तले पक्की घरको माथिल्लो तल्लामा राखिएको प्लास्टिकका दुई ड्रमसमेत आगोले जलेर क्षति भएको छ भने झ्यालहरूका सिसाहरू फुटेका छन्।

घरको भूइँतल्लामा ‘निम्सदाइ’ लेखिएको चार लिटरको अक्सिजन ग्याँसका सिलिन्डरहरू केही सकुशल र केही सिलिन्डर आगोले जली नष्ट भएको अवस्थामा फेला परेको मुचुल्कामा उल्लेख छ।

ती सिलिन्डरहरू मध्ये निम्सदाइ लेखिएको चार लिटरको सकुशल अवस्थामा रहेको सिलिन्डर थान १ र आगोले जलेको अवस्थाको सिलिन्डर प्रहरीले प्रमाणको रूपमा उठाएर लगेको देखियो।

घरमा एलपी ग्यासका १० वटा सिलिन्डर रहेको तर ती सबै सकुशल अवस्थामा रहेको मुचुल्कामा उल्लेख छर केही समय अगाडि मात्र बनेको थियो। घरसहित कम्पाउन्ड पनि ठूलै देखिन्छ। विस्फोटक हुँदा दुई तला सम्मको झ्याल-ढोका पूरै जलेका छन्।

विस्फोट भएको तलामाथि सिलिङ समेत पूरै भत्किएको छ। त्यहाँ घरबेटी टङ्क घिसिङको परिवार सुत्थे।

दुवै पक्षको मनमा शङ्का तर खुलेन रहस्य

सो विस्फोटबारे विभिन्न स्थानमा परेको उजुरीमा सिलिन्डर बाहेक अर्को विस्फोटक पदार्थको पनि उल्लेख गरिएको छ।

युवन्तिकाले नेपाल पर्यटन बोर्ड लगायतमा गरेको उजुरीमा उनले हाई एक्सप्लोसिभ एभलान्स कन्ट्रोल,एम वान जिरो वान समेत राखेको दाबी गरेको देखिन्छ।

घरबेटी घिसिङ प्रहरी मुचुल्कामा अक्सिजन ग्याँस सिलिन्डरको कारणले विस्फोट र आगलागी भएको लेखेको तर त्यसमा शङ्का रहेको दाबी गर्छन्। उनले उकेरासँग कोठामा गैर कानुनी प्रज्वलनशील सामान समेत राखेको दाबी गरे। तर त्यो भनेको के हो भन्न सकेनन्।

डेबिट सो कोठामा हिमाल चढ्दा प्रयोग हुने अक्सिजन सिलिन्डर र म्याट्रेस लगायतका ट्रेकिङका सामान बाहेक कुनै गैर कानुनी सामान नभएको दाबी गर्छन्।

'नेपालमा कुनै पनि ट्रेकरले हाई एक्सप्लोसिभ एभलान्स कन्ट्रोल,एम वान जिरोको प्रयोगै गर्दैनन्। त्यो लुकाउन ल्याउन सम्भव छैन। कानुनी रूपमा नेपालमा कसैले ल्याउनै पाउँदैन,' उनले भने' यदि त्यस्तो केही लुकाएर राखेको र त्यही पड्किएको हो भने घटनास्थलमा त्योसँग जोडिएका केही न केही प्रमाण त फेला परेको होला नि। यदि यो प्रमाणित भयो भने त ज्यान गुमाएका तीनै जनाको जिम्मेवारी हामीले लिनै पर्छ। लिन्छौँ पनि।'

उकेराले युवन्तिकाले निवेदनमा दाबी गरेको तर डेबिडले अस्वीकार गरेको'हाई एक्सप्लोसिभ एभलान्स कन्ट्रोल,एम वान जिरो' नेपालमा हिमालको बाटो खोल्ने लगायतका काममा प्रयोग हुन्छ या हुन्न भनेर खोजी गर्दा कतैबाट पुष्टि हुन सकेन।

गृह मन्त्रालयमा यस्तो प्रकारको विस्फोटक पदार्थ सेना बाहेक अन्यले ल्याउनै नपाउने जानकारी आयो। सेनाले त्यस्तो सामान ल्याउने गरेको देखिएन।

नियमित हिमाल आरोहण गर्ने पाँच जना बढी आरोहीहरूसँग यसबारे बुझ्दा अन्य देशका हिमाल प्रयोग हुने या नहुने त्यो थाहा नभएको तर नेपालमा कसैले लुकाएर ल्याए पनि प्रयोग गर्न सम्भव नै नभएको दाबी आयो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ग्याँसका दुई वटा सिलिन्डरसँगै अन्य सामानहरू समेत घटनास्थलबाट सङ्कलन गरेर लगेर परीक्षण गराएको खुल्यो। जसमा दाबी गरिए जस्तो कुनै शङ्कास्पद सामान फेला परेको उल्लेख छैन।

आखिर के पड्कियो त? ग्याँस मात्र पड्किएर त्यत्रो क्षति भएकै हो या दाबी आए जस्तै अन्य केही विस्फोटक पदार्थ? किन सहमति हुन सकिरहेको छैन निम्स र घरबेटीबीच, युवन्तिकाको फर्जी नागरिकताको पक्ष के हो? उकेरा शृङ्खला जारी छ।

सम्बन्धित समाचार

विस्फोटमा परेको कपनको घर जोडियो ब्ल्याकमेलिङदेखि नक्कली नागरिकतासम्म !

दोहोरो नागरिकता र दोहोरो राहदानी बोकेका आरोही पुर्जाको दाबी' कानुन अनुसारै निकालेको हुँ, नागरिकता छाडिसकेँ'

कीर्तिमानी आरोही निर्मल पुर्जाको आपराधिक काम: कानुन छल्दै २ देशको नागरिकता, २ देशको पासपोर्ट

कीर्तिमानी आरोही पुर्जा बेलायती नागरिक भएको पुष्टिसँगै नागरिकता निष्क्रिय गराउँदै  गृह प्रशासन, राहदानी दुरुपयोगमा विभाग मौन

२० फागुन, २०७९, १९:४९:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।