दोहोरो नागरिकता र दोहोरो राहदानी बोकेका आरोही पुर्जाको दाबी' कानुन अनुसारै निकालेको हुँ, नागरिकता छाडिसकेँ'

दोहोरो नागरिकता र दोहोरो राहदानी बोकेका आरोही पुर्जाको दाबी' कानुन अनुसारै निकालेको हुँ, नागरिकता छाडिसकेँ'

काठमाडौँ : दोहोरो राहदानी र दोहोरो नागरिकता लिएका कीर्तिमानी आरोही निर्मल पुर्जाले आफूले राहदानी ऐन २०१४ अनुसार नेपाली राहदानी लिएको र सो गैर कानुनी नभएको दाबी गरेका छन्।

उकेराले पटक-पटक सम्पर्क गर्ने प्रयास गर्दा पनि सम्पर्कमा नआएका पुर्जाले प्रेस काउन्सिल नेपालमार्फत पठाएको खण्डनमा यस्तो दाबी गरेका हुन्।

उनले बेलायती राहदानी बेलायती कानुनको अधीनमा रहेर लिएको उल्लेख गरेका छन्। उनले नागरिकता ऐन २०६३ को व्यवस्था अनुसार नागरिकता परित्यागका लागि निवेदन दिएर परित्याग गरेको दाबी गरेका छन्।

नेपालको विद्यमान कानुन अनुसार दोहोरो नागरिक बन्नु कानुन विपरीत हो। उकेराले प्राप्त गरेको प्रमाणमा पुर्जाले सन् २०१२ जुन २८ मा बेलायती पासपोर्ट बनाएको र सन् २०२२ सम्म म्याद रहेको सोही राहदानी प्रयोग गरेर उनी पटक-पटक भिजिट भिसामा नेपाल आउने गरेको अध्यागमन विभागको रेकर्डमा खुलेको थियो।

बेलायतको पासपोर्टमा राष्ट्रियता बेलायत र जन्मस्थान म्याग्दी उल्लेख छ। उनले बेलायती राहदानी लिइसकेको अवस्थामा सन् २०१६ मार्च १५ मा नेपाली नागरिकको रूपमा नेपाली पासपोर्ट समेत निकालेका छन्।

म्याग्दी जन्मस्थान र नागरिकता नम्बर १..९ राखेर उनले राहदानी विभागबाट पासपोर्ट निकालेका हुन्। १० वर्षको म्याद रहेको पासपोर्टको नम्बर ०९६...९४ रहेको छ।

दोहोरो राहदानी लिनु नेपाली कानुन अनुसार गम्भीर अपराध हो। १० वर्ष अगाडि नै बेलायती नागरिक बने पनि उनले २०७९ पुस १२ मा बेलायतस्थित नेपाली दूतावासमा आफू बेलायती नागरिक बनेको भन्दै निवेदन दिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीले उनको नागरिकता निष्क्रिय गराएको थियो।

उनको नाममा जारी नेपाली राहदानीको म्याद सन् २०२६ सम्म रहेको छ। उनको नेपाली राहदानीको म्याद कायमै रहे पनि उनले सन् २०१९ बाट सो नागरिकता प्रयोग गरेको अध्यागमनको रेकर्डमा देखिएको छैन।

नागरिकता ऐन २०६३ अनुसार कुनै नेपाली अर्को देशको नागरिक बने लगत्तै उसको नेपाली नागरिकता स्वतः निष्क्रिय हुने उल्लेख छ। सो कानुन अनुसार उनी सन् २०१२ मा बेलायती नागरिक बने लगत्तै नेपाली नागरिकता निष्क्रिय हुने भए पनि उनले सोही नागरिकता प्रयोग गरेर सन् २०१६ मा नेपाली राहदानी निकालेको उकेराले प्राप्त गरेको प्रमाणले पुष्टि गरेको छ।

राहदानी ऐन अनुसार झुटा विवरण पेस गरेर राहदानी लिएमा एक वर्षदेखि तीन वर्षसम्म कैद सजाय हुनसक्ने कानुनी प्रावधान रहेको छ।

पुर्जा सम्बन्धी स्टोरी

 

२८ पुस, २०७९, १७:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।