कीर्तिमानी आरोही पुर्जा बेलायती नागरिक भएको पुष्टिसँगै नागरिकता निष्क्रिय गराउँदै  गृह प्रशासन, राहदानी दुरुपयोगमा विभाग मौन

कीर्तिमानी आरोही पुर्जा बेलायती नागरिक भएको पुष्टिसँगै नागरिकता निष्क्रिय गराउँदै  गृह प्रशासन, राहदानी दुरुपयोगमा विभाग मौन

काठमाडौँ : कीर्तिमानी आरोही निर्मल पुर्जा(निम्सदाई) बेलायतको नागरिक बने पनि लुकाएर नेपाली नागरिकता र राहदानी समेत प्रयोग गरिरहेको खुलेपछि प्रशासनले उनको नागरिकता निष्क्रिय बनाउने प्रक्रिया अगाडि बढाएको छ।

सन् २०१२ मै पुर्जा बेलायती नागरिक बनेर बेलायतको राहदानी लिइसकेका थिए। तर उनले त्यसबारे नेपाली प्रशासनलाई जानकारी नै नदिई नेपाली नागरिकता र नेपाली राहदानी समेत प्रयोग गरिरहेको उकेराले प्रमाणसहित समाचार प्रकाशित गरेको थियो।

कुनै नेपाली नागरिक अन्य कुनै देशको नागरिक बने लगत्तै उसको नाममा जारी नेपाली नागरिकता स्वतः निष्क्रिय हुने कानुनी प्रावधान छ। तर पुर्जाले कमजोर सरकारी संयन्त्रबाट लाभ लिँदै नेपालमा बेलायतको नागरिकको रूपमा भिजिट भिसामा आएर यता नेपाल आएर म्याग्दीबाट जारी भएको नागरिकताको आधारमा नेपाली राहदानी समेत बनाएर प्रयोग गरिरहेका थिए।

उनले २०५० भदौँ ६ मा जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट नेपाली बंशजको नागरिकता निकालेका थिए।

जिल्ला प्रशासन कार्यालय म्याग्दीकी सहायक प्रमुख जिल्ला अधिकारी प्रतिज्ञा सुबेदीका अनुसार पुर्जा बेलायती नागरिक भएको जानकारी आएको छ। पुर्जाले हालै बेलायतमा रहेको नेपाली दूतावासमा आफू बेलायती नागरिक बनेकाले नेपाली नागरिकता निष्क्रिय बनाउन निवेदन दिएका थिए।

सो निवेदन गृह मन्त्रालयमा आइपुगेपछि मन्त्रालयले जिल्ला प्रशासन कार्यालय म्याग्दीमा सो निवेदन पठाएको खुलेको छ। 'यसै महिना निवेदन आएको छ। हामीले उनी बेलायती नागरिक भएको रेकर्ड दर्ता गरेर उनको नागरिकता निष्क्रिय बनाउने प्रक्रिया सुरु भइसकेको छ।'

नागरिकता ऐन २०६३ अनुसार कुनै नेपाली नागरिकले कुनै अर्को देशको नागरिकता लिएमा सम्बन्धित देशको दूतावास या सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्छ। यसरी निवेदन प्राप्त भएपछि नागरिकता निष्क्रिय गराउने प्रक्रिया सुरु हुन्छ।

उनी सन् २०१२ मै बेलायती नागरिक बने पनि १० वर्षदेखि दोहोरी नागरिक बनेर नेपाली कानुनको उलङ्घन गर्दै बसेका थिए। यहीबिचमा उनले सबैभन्दा छोटो समयमा ८ हजार माथिका १४ वटा हिमाल आरोहण गरेर विश्वकिर्तिमान बनाएका थिए। विश्व रेकर्डमा उनको परिचय नेपाली भनेर उल्लेख छ।

पुर्जाले सन् २०१२ जुन २८ मा बेलायती राहदानी बनाएका थिए। सो पासपोर्टमा उनको राष्ट्रियता बेलायत उल्लेख छ। सन् २०२२ सम्म म्याद रहेको सोही राहदानी प्रयोग गरेर उनी पटक–पटक भिजिट भिसामा नेपाल आउने गरेको अध्यागमन विभागको रेकर्डमा उल्लेख छ।

बेलायती राहदानी हुँदाहुँदै उनले झुक्क्याएर सन् २०१६ मार्च १५ मा नेपाली नागरिकको रूपमा नेपाली राहदानी समेत निकालेको समाचार उकेराले प्रकाशित गरेको थियो। दोहोरो राहदानी निकाल्नु राहदानी ऐन अनुसार दण्डनीय अपराध हो। सो कसुर प्रमाणित भएमा तीन वर्षसम्म कैद हुनसक्छ। तर यसबारे राहदानी विभाग मौन छ।

सुवेदीका अनुसार पुस १२ को मितिमा उनी बेलायती नागरिक बनेको उल्लेख छ। त्यसैको आधारमा उनको नेपाली नागरिकता निष्क्रिय गराउने प्रक्रिया अगाडि बढाइएको हो।

पुर्जा कीर्तिमानी हिमाल आरोही तथा बेलायती भूतपूर्व गोर्खा सैनिक हुन्।  उनले ७ महिनाभन्दा कम अवधि (१८९ दिन)मा समुद्री सतहबाट ८ हजार मिटरभन्दा अग्ला संसारका सबै (१४ वटा) हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए।

सगरमाथा चढ्दा सगरमाथामा भएको ट्राफिक जामको उनको तस्बिर भाइरल भएको थियो। उनीबारे नेटफ्लिक्समा डकुमेन्ट्री रिलिज भएपछि उनी थप चर्चित भए। पछिल्लो समय उनी बेलायत–नेपाल आउजाउ गरिरहेका थिए।  काठमाडौँको नाग पोखरी नजिक उनले आफ्नै नाम ब्रान्डका ट्रेकिङ सामाग्री विक्री गर्ने शोरुम समेत खोलेका छन्।

२२ पुस, २०७९, १५:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।