कीर्तिमानी आरोही निर्मल पुर्जाको आपराधिक काम: कानुन छल्दै २ देशको नागरिकता, २ देशको पासपोर्ट

कीर्तिमानी आरोही निर्मल पुर्जाको आपराधिक काम: कानुन छल्दै २ देशको नागरिकता, २ देशको पासपोर्ट
कभरको पुर्जाको तस्बिर निम्सदाईडटकमबाट लिइएको हो।

काठमाडौंः कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा( निम्सदाई) ले गैर कानुनी रूपमा नेपाल र बेलायतको नागरिकता लिएको खुलेको छ।

आफूलाई नेपाली मूलको बेलायती नागरिक दाबी गर्न पुर्जाले बेलायती नागरिक बने पनि नेपाली नागरिकता प्रयोग गरिरहेका छन्। उनले बेलायती पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट समेत बनाएका छन्।

१४ वटा उच्च हिमालको आरोहण लगायतका गिनिस वर्ड रेकर्ड बनाएका ती रेकर्डहरूमा उनको राष्ट्रियता नेपाली उल्लेख छ।

उकेराले प्राप्त गरेको प्रमाण अनुसार उनले सन् २०१२ जुन २८ मा बेलायती पासपोर्ट बनाएका थिए। सो पासपोर्टमा उनको राष्ट्रियता बेलायत उल्लेख छ।

सन् २०२२ सम्म म्याद रहेको सोही राहदानी प्रयोग गरेर उनी पटक-पटक भिजिट भिसामा नेपाल आउने गरेको अध्यागमन विभागको रेकर्डमा उल्लेख छ। बेलायतको पासपोर्टमा उनको जन्मस्थान म्याग्दी उल्लेख छ।

बेलायती राहदानी हुँदाहुँदै सन् २०१६ मार्च १५ मा उनले नेपाली नागरिकको रूपमा नेपाली पासपोर्ट समेत निकालेका छन्।

म्याग्दी जन्मस्थान र नागरिकता नम्बर १..९ राखेर उनले राहदानी विभागबाट पासपोर्ट निकालेका हुन्। १० वर्षको म्याद रहेको पासपोर्टको नम्बर ०९६...९४ रहेको छ। 

उकेराले प्राप्त गरेको विवरणले उनी बेलायती नागरिक बनेपछि पनि नेपालको कानुन विपरीत नेपाली नागरिकता नत्यागी त्यसको प्रयोग गरिरहेको पुष्टि भएको छ।

पुर्जा अहिले पनि बेलायती नागरिक नै हुन्। उनले नेपाली पासपोर्ट लिएको एक वर्ष पछि दोस्रो पटक बेलायतको पासपोर्ट लिएको देखिन्छ।

अध्यागमन विभागका एक अधिकारीका अनुसार  पुर्जाको नेपाली राहदानी सन् २०१९ देखि निष्क्रिय रहेको देखिन्छ।

निर्मलको नाममा बेलायतबाट जारी भएको राहदानी।

ती अधिकारीले भने, ‘पुर्जाले सन् २०१६ मा नेपाली राहदानी लिएको देखिए पनि हाम्रो अभिलेखमा यो राहदानी सन् २०१९ देखि निष्क्रिय रहेको देखिन्छ। उनले नेपाल आउजाउ गर्दा बेलायती राहदानी प्रयोग गरिरहेका छन्।’

नेपालको कानुनले दोहोरो नागरिक स्वीकार गर्दैन। नेपाली नागरिक कुनै अन्य देशको नागरिक बने लगत्तै उसको नेपाली नागरिकता निष्क्रिय हुने कानुनी प्रावधान रहेको छ।

नेपालको कानुन अनुसार उनी बेलायती नागरिक बने लगत्तै उनको नेपाली नागरिकता स्वतः निष्क्रिय भएको छ। तर उनले त्यही नागरिकताको प्रयोग गर्दै नेपाली पासपोर्ट समेत बनाएका मात्रै छैनन् प्रयोग समेत गरेका छन्।

बेलायती नागरिकता र राहदानी हुँदाहुँदै नेपाली नागरिकता प्रयोग गरेर राहदानी निकाल्नु अध्यागमन ऐन अनुसार दण्डनीय काम हो। उनको अपराध पुष्टि भएमा न्यूनतम एक वर्षदेखि अधिकतम ३ वर्षसम्म कैद हुनसक्छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछानेले समेत अमेरिकी नागरिक बने पनि नेपाली नागरिकता नत्यागी दोहोरो नागरिक बनेको र अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट बनाएको उकेराले खुलासा गरेको थियो।

उनको नागरिकता र राहदानीबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ भने उता जिल्ला प्रहरी परिसर काठमाडौँले पनि अनुसन्धान सुरु गरेको थियो।

रवि गृहमन्त्री बनेर आएपछि भने प्रहरीको अनुसन्धान रोकिएको छ। अदालतमा २२ गते पेशी तोकिएको छ।

दुस्साहसी  पुर्जा

निर्मल पुर्जा कीर्तिमानी हिमाल आरोही तथा बेलायती भूतपूर्व गोर्खा सैनिक हुन्।  उनले ७ महिनाभन्दा कम अवधि (१८९ दिन)मा समुद्री सतहबाट ८ हजार मिटरभन्दा अग्ला संसारका सबै (१४ वटा) हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए।

उनी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा सन् १९८३ मा जन्मिएको देखिन्छ। ब्रिटिस सेनामा १६ वर्ष काम गरेका उनले  १० वर्ष युके स्पेसल फोर्सेस (यूकेएसएफ)मा बिताए।

‘बियोण्ड  पोसिबल’ पुस्तकका अनुसार सन् २०१२ डिसेम्बरबाट हिमाल चढ्न सुरु गरेका हुन्। उनी सगरमाथा आधार शिविर पुगेपछि हिमाल चढ्ने सोख पलाएको उल्लेख छ।

आफ्नो हिमाल आरोहणक्रमलाई मानव क्षमताको परीक्षण भएको र त्यसमा सफल भएको उनले दाबी गरेका छन्।

निर्मलको नाममा नेपालबाट जारी भएको राहदानी।

सगरमाथा चढ्दा सगरमाथामा भएको ट्राफिक जामको उनको तस्बिर भाइरल भएको थियो। उनीबारे नेटफ्लिक्समा डकुमेन्ट्री रिलिज भएपछि उनी थप चर्चित भए।

पछिल्लो समय उनी बेलायत-नेपाल आउजाउ गरिरहन्छन्। काठमाडौँको नाग पोखरी क्षेत्रमा उनले आफ्नै नाममा ट्रेकिङ सम्बन्धी सामाग्री विक्री गर्न शो रुम खोलेका छन्।

विवादमा आइरहन्छन् निर्मल

निर्मल पर्वतारोहण क्षेत्रमा सक्रिय छन्। वर्ल्ड रेकर्डसँगै पर्वतारोहणमा चासो राख्नेहरूलाई उनले पर्वतारोहणमा सघाउने गरेका छन्।

उनले कुवेती टिमलाई आमादब्लम् हिमाल लगेका थिए। उनीहरूले सो हिमालमा आफ्नो देशको झन्डा बिछ्याएपछि पुर्जा विवादमा आए र आफूलाई हिमालमा त्यस्तो गर्न नपाइनेबारे जानकारी नभएको भन्दै माफी मागेका थिए।

कपनमा पुर्जाले भाडामा लिएको घरमा आगलागी हुँदा २ जनाको मृत्यु भएको थियो। हिमाल चढ्दा प्रयोग हुने ग्यास सिलिन्डरमा आगो लागेको दाबी गरिँदै आएको छ। त्यसबारे प्रहरीले अनुसन्धान गरिरहेको खुलेको छ। 

पुर्जाले दोहोरो नागरिकता लिएर नागरिकता ऐन र राहदानी ऐन विपरीत काम गरेको उकेराले प्राप्त गरेको प्रमाणले पुष्टि गरेको छ। यसबारे उनीसँग उकेराको कुरा गर्ने प्रयास गरेको थियो। उनको नेपालमा रहेको कार्यालयले उनी बेलायतमा रहेको भन्दै उनको ह्वाट्सएप नम्बर दिए। उनलाई कल गर्दा उठेन। सन्देश पठाए पनि कुनै प्रतिक्रिया आएन। 

२० पुस, २०७९, १८:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।