विस्फोटमा परेको कपनको घर जोडियो ब्ल्याकमेलिङदेखि नक्कली नागरिकतासम्म!

विस्फोटमा परेको कपनको घर जोडियो ब्ल्याकमेलिङदेखि नक्कली नागरिकतासम्म!
कपनमा विष्फोट भएको घर र विष्फोटमा ज्यान गुमाएका तीन जना।

काठमाडौँ : दशैँ सुरु हुनु पाँच दिन मात्र बाँकी रहँदा काठमाडौँको कपनमा साँझ ६ बजेतिर अकस्मात् ठुलो आवाजका साथ लगातार विस्फोटको आवाज आयो। प्रत्यक्षदर्शीहरूका अनुसार आवाजसँगै भुईँचालो आए जस्तै जमिन पनि हल्लिएको थियो।

असोज ५ को त्यो साँझ कपनको लसुनटारस्थित टङ्क घिसिङको साढे तीन तल्लाको पक्की घर दनदनी बलेको देखे छिमेकीहरूले।

घटनामा तीन जनाको ज्यानै गयो– ताप्लेजुङ घर भएका २९ वर्षीय तेन्जिङ शेर्पा, सोलुखुम्बु घर भएका २४ वर्षीय छेवङ शेर्पा र सङ्खुवासभा घर भएका ३२ वर्षीय अशोक राई। सोही घटनामा घाइते भएका कुशल बुढाथोकी उपचारपछि निको भए।

ज्यान गुमाउनेहरू एलाइट हिमालयन एडभेन्चर्सका कर्मचारी थिए जुन कम्पनी अहिले भिआइपी हिमाल आरोहीहरूको आकर्षणको केन्द्र बनेको छ। यसका सञ्चालक मध्ये एक हुन् निर्मल पुर्जा, जो निम्सदाई उपनामले चिनिन्छन्।

३९ वर्षीय पुर्जा नेपाली मूलका बेलायती नागरिक हुन्।

बेलायती सेनाको जागिर छाडेर ६ महिना ६ दिनमा आठ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल आरोहणसहित तीन वटा विश्व कीर्तिमान राखेका उनको जीवनीमा आधारित '१४ पिक्स नथिङ इज इम्पसिबल' डकुमेन्ट्री नेटफ्लिक्समा रिलिज भएपछि उनी ग्लोबल आइकन बनेका छन्। 

दोहोरो नागरिकतामा विवादमा आएपछि उनले नेपाली नागरिकता त्यागे। तर दोहोरी राहदानीको विवाद अझैँ ताजै छ। तर उजुरी नआएको भन्दै प्रहरीले छानबिन अगाडि बढाएको छैन।

उकेराले प्राप्त गरेको विवरणले उनी बेलायती नागरिक बनेपछि पनि नेपालको कानुन विपरीत नेपाली नागरिकता नत्यागी त्यसको प्रयोग गरिरहेको खुलेको थियो।

पुर्जा अहिले पनि बेलायती नागरिक नै हुन्। उनले नेपाली पासपोर्ट लिएको एक वर्ष पछि दोस्रो पटक बेलायतको पासपोर्ट लिएको देखिन्छ।

अध्यागमन विभागका एक अधिकारीका अनुसार  पुर्जाको नेपाली राहदानी सन् २०१९ देखि निष्क्रिय देखिन्छ। उनले प्रयोग गरेका छैनन्।

जिल्ला प्रशासन कार्यालय म्याग्दीकी सहायक प्रमुख जिल्ला अधिकारी प्रतिज्ञा सुबेदीका अनुसार पुर्जा बेलायती नागरिक भएको जानकारी पुसमा आएको थियो। अहिले उनको नागरिकता जिल्ला प्रशासन कार्यालयले निष्क्रिय बनाएको छ।

एकातिर पुर्जा आफैँ अनुसन्धानमा दायरामा छन् नै अर्कोतिर घरमा कसरी विस्फोट भयो अनुसन्धान अझै सकिएको छैन।

घटनामा घरबेटी, घर भाडामा लिएकै कम्पनी अनि मारिएका व्यक्तिका परिवार तीनै पक्ष त्यो दिन घरमा के पड्कियो भन्ने प्रश्नको उत्तरको प्रतीक्षामा देखिए।

प्रहरी वृत्त बौद्ध हुँदै केन्द्रीय अनुसन्धान ब्युरोले घटनाबारे अनुसन्धान गरिरहेको छ। तर निष्कर्षमा पुगेको छैन। घटनासँग सरोकार राख्ने व्यक्तिहरू घरमा सिलिन्डर मात्र पड्कँदा त्यति धेरै क्षति नहुने भन्दै केही विस्फोटक पदार्थ नै पड्किएको शङ्का गर्छन्।

तर अनुसन्धानमा संलग्न प्रहरी अधिकारी विस्फोटमा शङ्का गरिहाल्नुपर्ने कुनै तथ्य फेला नपरेको दाबी गर्छन्।

उकेराले केही प्राविधिक अनि विस्फोटबारे जानकार व्यक्तिलाई घटनास्थल लगेर देखाएको थियो। उनीहरू पनि सो घरमा केवल अक्सिजन ग्याँसको सिलिन्डर मात्र पड्किएकोमा विश्वस्त हुन सकेनन्। तर के पड्कियो होला अनुमान गर्न सक्ने अवस्था पनि देखिएन।

उकेराले ज्यान गएका दुई जनाको परिवार, इलाइट कम्पनीका सञ्चालकमध्येका एक अनि घर जलेका टङ्क घिसिङ लगायतकासँग भेटेर,घटनास्थलको अवलोकनका साथ योसँग जोडिएको पाटोबारे रिपोर्टिङ गर्दा पनि रहस्य थप बल्झियो तर सुल्झिएन। एकपछि अर्को रहस्य थपिँदै गयो।

घटनामा ज्यान गुमाएका तेन्जिङ शेर्पाकी श्रीमती भएको दाबी गरिरहेकी युवन्तीका तामाङ एकातिर तेन्जिङको परिवारले स्विकारेन भन्ने गुनासो गर्छिन् अर्कोतिर उनी आफैँ नक्कली नागरिकताको मुद्दामा भर्खरै जिल्ला अदालत चितवनबाट धरौटीमा रिहा भएकी छिन्।

घटनामा आफ्ना भाइ छेवाङलाई गुमाएका पासाङ शेर्पा घटनाको राम्रोसँग अनुसन्धान नै नभएको गुनासो गर्छन्।

घरका साहु म्यानपावर व्यवसायी टङ्क घिसिङले इलाइटसँग पाँच करोड क्षतिपूर्ति मागिरहेका छन्। तर कतै उजुरी गरेका छैनन्।

उनले सो घर राखेर बैङ्कबाट तीन करोड बढी ऋण निकालेको उकेराले पत्रै फेला पारेको छ। तर यसबारे उनी खुलाउन चाहँदैनन्।

इलाइट कम्पनीका सञ्चालकमध्येका एक मिङमा डेबिट शेर्पा विस्फोटबाट जुन रूपमा घरमा क्षति भएको छ त्यसबारे आफूहरूलाई समेत शङ्का रहेको दाबी गर्छन्।

लामो समयदेखि पर्यटन व्यवसायमा संलग्न र निम्ससँगै हिमालहरू आरोहण गरेर कीर्तिमान बनाएका उनी हिमाल चढ्दा प्रयोग हुने अक्सिजन ग्याँसको सिलिन्डरहरू मात्र पड्कँदा त्यत्रो क्षति हुनै नसक्ने बताउँछन्। के पड्कियो उनी पनि अनुमान गर्न सक्ने अवस्थामा छैनन्।

'विस्फोटमा मेरो भाइ समेत मारिएको छ। मेरो भाइ किन मारियो मलाई पनि जानकारी त हुनुपर्छ,' उनले उकेरासँग भने' तर कतैबाट कुनै जवाफ आएको छैन।'

उनी विस्फोटको घटनालाई आधार बनाएर उल्टो आफूहरूलाई दुख दिने काम भएको दाबी गर्छन्।

आखिर त्यो घरमा पड्किएको के हो?, इलाइट प्राली दोषी हो या घरबेटी? यो घटनामा कसरी जोडियो नक्कली नागरिकता?

यी सबै प्रश्नको उत्तरको खोजीमा उकेराले रिपोर्टिङकोक्रममा फेला परेको तथ्यहरू श्रृंखलाबद्ध रूपमा प्रस्तुत गर्दैछ।

१९ फागुन, २०७९, २०:२७:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।