दोहोरो राहदानीमा अनुसन्धान गर्नुपर्ने निम्सको पर्यटनमन्त्रीसँग खुला बैठक, सहजै भिसा लिएर कतारी राजकुमारीसँग म्याग्दी पुगे

दोहोरो राहदानीमा अनुसन्धान गर्नुपर्ने निम्सको पर्यटनमन्त्रीसँग खुला बैठक, सहजै भिसा लिएर कतारी राजकुमारीसँग म्याग्दी पुगे
मन्री सुदनसँगको तस्बिर निम्सको फेसबुकबाट। म्या्ग्दीको तस्बिर माउन्टेनखवरबाट।

काठमाडौं : नागरिकता अनि राहदानी दुरुपयोगमा नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने बेलायती नागरिक निर्मल पुर्जा निस्फिक्री नेपालमा घुमिरहेका छन्। राज्य प्रशासनले थाहै नपाए झैँ गरिरहेको छ।

म्याग्दीमा पुर्जा बेलायती सेनामा भर्ना भएर उतैको नागरिक बने पनि नेपालको नागरिकता र राहदानी त्यागेका थिएनन्। उनले नेपालको कानुन अनुसार दोहोरो नागरिकता र राहदानी प्रयोग गरेर दुरुपयोग गरेकोबारे उकेराले प्रमाणसहित सार्वजनिक गरेको थियो।

उकेराले समाचार प्रकाशित गर्दा उनी बेलायतमा थिए। कपनको एक घरमा निम्सले कम्पनीको कार्यालय राखेको घरमा शङ्कास्पद आगलागी भयो। सो घटनामा अनुसन्धानको दायरामा तानिएपछि उनी बेलायत पुगेर नेपाली नागरिकता निष्क्रिय गराउन बेलायतमा रहेको नेपाली दूतावासमा निवेदन दिए।

सो निवेदन जिल्ला प्रशासन कार्यालयमा पुगे पनि अनुसन्धानको दायरामा रहेको व्यक्तिको नागरिकता निष्क्रिय हुन नसक्ने भनेर प्रशासनले प्रक्रिया अगाडि बढाएको थिएन। पछि जिल्ला प्रशासन कार्यालयले उनको नागरिकता निष्क्रिय गरायो। तर उनले नागरिकता मात्रै हैन बेलायती राहदानी लिएपछि नेपाली राहदानी समेत निकालेका थिए।

नेपाल आएको हकमा उनीमाथि नागरिकता र राहदानी दुरुपयोगमा अनुसन्धान गर्नुपर्नेमा उनलाई अध्यागमन विभागले सहजै टुरिस्ट भिसामा नेपाल प्रवेशको अनुमति दियो।

स्रोतका अनुसार उनी एक १० दिन अगाडि आफ्नो कम्पनी एलाइट हिमालयन एक्सपिडिसन प्रालीबाट कतारकी राजकुमारी आश्मा अल्थानीलाई अन्नपूर्ण प्रथम हिमाल आरोहण गराउन नेपाल आएका थिए।

पहिला उनी एक्लै आएका थिए। नेपाल प्रवेश गर्न अध्यागमनबाट कुनै बाधा नभएपछि उनी आफ्नो सुइट रुम भएको होटल मेरियटमा बसे। नेपाल बसाइकाक्रममा उनले दोहोरो राहदानी प्रयोग गरेको आरोपमा प्रहरी अनुसन्धानको दायरामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरे।

उनीसँगै कानुनी राज्यको वकालत गर्दै राजनीति सुधार्न काठमाडौँ क्षेत्र नम्बर पाँचबाट उम्मेदवार बनेका प्रणय राणा समेत सँगै देखिएका थिए। राणाले निम्ससँगको तस्बिरसहित ट्विट गरेका थिए आठ दिन अगाडि।

जानकारस्रोतका अनुसार यो बिचमा निम्सले गृहमन्त्री समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर आफ्नो दोहोरो राहदानीबारे छलफल गरेका थिए। दोहोरो राहदानीबारे कानुनी रूपमा आफू अप्ठ्यारोमा नपर्ने आश्वास पाएपछि उनले कतारी राजकुमारीको टिमलाई नेपाल ल्याउने प्रक्रिया अगाडि बढाएका थिए।

यो बिचमा उनले पर्यटनमन्त्री सुदन किराँतीले मन्त्रालयमा छलफल गरेका थिए। प्रधानमन्त्री प्रचण्डसँगको भेटको विषय गोप्य राखियो। पर्यटनमन्त्री किराँतीसँगको भेटलाई पुर्जा आफैँले सामाजिक सञ्तजालमा तस्बिर राखेर सार्वजनिक गरे।

यसबारे मन्त्री किराँतीसँग प्रतिक्रिया लिने प्रयास गर्दा सचिवालयका प्रमुख राजन राईले व्यस्त भएकाले कुरा गर्न सम्भव नभएको बताए। उनले पुर्जासँगको भेटको पुष्टि गर्दै भेटमा विशेष केही कुराकानी नभएको दाबी गरे।

'भेट भएको हो। भेटमा विशेष केही कुराकानी भएन। अब भेट्न आउने व्यक्तिलाई तिम्रो नागरिकता र राहदानी कति वटा छ भनेर सोध्ने कुरा भएन,' उनले भने।

सोमबार उनी कतारी राजकुमारी अल्थानीसहितको टोलीलाई लिएर आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल चढ्न म्यादी पुगे। अल्थानीसहितको आरोहण टोली सिम्रिक एयरको हेलिकप्टरमार्फत अन्नपूर्ण–३ दानामा पुगेका थिए। अल्थानीको आरोहणको सबै प्रक्रिया उनको कम्पनीले मिलाएको हो भने निम्स सो टोलीका टिम लिडर हुन्। निम्स कतारी राजकुमारीको टोलीसँगै बुधवारसम्म म्याग्दीको दानामा रहनेछन्।

निम्सको नागरिकता र राहदानीको केस के हो ?

म्याग्दीका निर्मल पुर्जा चितवनको रामनगरमा हुर्किए अनि बेलायत पुगे। बेलायती सेनामा भर्ना भएका उनी सन् २०१२ बाट हिमाल आरोहण सुरु गरेका थिए।

गिनिज रेकर्डसँगै विश्व चर्चित भएपछि उनले नेपालमा ट्रेकिङ सम्बन्धी व्यवसाय सुरु गरे। त्यो बेलासम्म उनले आफू अनुकूल राष्ट्रियता प्रयोग गर्ने गरेको देखिन्छ।

यो बिचमा निम्सको कम्पनीको स्टोर रहेको कपनको घरमा शङ्कास्पद आगलागी भयो। त्यसबारे उकेराले खोजी सुरु गर्दा निम्ससँग बेलायती नागरिकको कानुनी हैसियतसँगै नेपाली राहदानी र नागरिकता समेत रहेको प्रमाण फेला पर्यो।

उकेराले प्राप्त गरेको प्रमाण अनुसार उनले सन् २०१२ जुन २८ मा बेलायती पासपोर्ट बनाएका थिए। सो पासपोर्टमा उनको राष्ट्रियता बेलायत उल्लेख छ।

सन् २०२२ सम्म म्याद रहेको सोही राहदानी प्रयोग गरेर उनी पटक-पटक भिजिट भिसामा नेपाल आउने गरेको अध्यागमन विभागको रेकर्डमा उल्लेख छ।

बेलायती राहदानी हुँदाहुँदै उनले सन् २०१६ मार्च १५ मा नेपाली नागरिकको रूपमा नेपाली पासपोर्ट समेत निकालेका छन्।

म्याग्दी जन्मस्थान र नागरिकता नम्बर १..९ राखेर उनले राहदानी विभागबाट पासपोर्ट निकालेका हुन्। १० वर्षको म्याद रहेको पासपोर्टको नम्बर ०९६...९४ रहेको छ। 

उकेराले प्राप्त गरेको विवरणले उनी बेलायती नागरिक बनेपछि पनि नेपालको कानुन विपरीत नेपाली नागरिकता नत्यागी त्यसको प्रयोग गरिरहेको पुष्टि भयो।

नेपालको कानुनले दोहोरो नागरिक स्वीकार गर्दैन। नेपाली नागरिक कुनै अन्य देशको नागरिक बने लगत्तै उसको नेपाली नागरिकता निष्क्रिय हुने कानुनी प्रावधान रहेको छ।

नेपालको कानुन अनुसार उनी बेलायती नागरिक बने लगत्तै उनको नेपाली नागरिकता स्वतः निष्क्रिय भएको छ। तर उनले त्यही नागरिकताको प्रयोग गर्दै नेपाली पासपोर्ट समेत बनाए।

बेलायती नागरिकता र राहदानी हुँदाहुँदै नेपाली नागरिकता प्रयोग गरेर राहदानी निकाल्नु अध्यागमन ऐन अनुसार दण्डनीय काम हो। उनको अपराध पुष्टि भएमा न्यूनतम एक वर्षदेखि अधिकतम ३ वर्षसम्म कैद हुनसक्छ।

उनले २०५० भदौ ६ मा जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट नेपाली वंशजको नागरिकता निकालेका थिए।

बेलायती नागरिक बनेपछि पनि नेपाली नागरिकता निष्क्रिय नबनाएकोबारे सार्वजनिक भएपछि उनले बेलायतबाट प्रक्रिया सुरु गरेर नेपाली नागरिकता निष्क्रिय गराए। तर उनी कानुनी अनुसन्धानबाट मुक्त भने भइसकेका छैनन्।

सम्बन्धित समाचार

२२ फागुन, २०७९, २१:३०:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।