माधव-झलनाथ मञ्चमा नाच्दा झोक्राइरहिन् झाँक्री , विरोध, प्रेम र किसनले बङ्क हाने सम्मेलन

माधव-झलनाथ मञ्चमा नाच्दा झोक्राइरहिन् झाँक्री , विरोध, प्रेम  र किसनले बङ्क हाने सम्मेलन

काठमाडौँ : फेसबुकमा धन्यवादको पोस्ट समेत गर्न नभ्याउने हतारोमा रहेकी निवर्तमान सहरी विकास मन्त्री तथा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री अध्यक्ष माधव नेपालले उद्घाटन गरेर भाषण गर्न थालेको १० मिनेटपछि मात्रै पार्टीको केन्द्रीय परिषद्को भेलामा आइपुगिन्।

उनी ब्याक स्टेजबाट हतार-हतार मञ्चमा पुगिन्। उद्घाटन सत्रभरी उनको अनुहारमा चार्म थिएन। उनी अधिकांश समय मोबाइलमै घोत्लिइरहिन्।

अध्यक्ष नेपालले भाषण सकेपछि कलाकार नवीन पौडेल स्टेज उक्लिए र संविधान मास्नेलाई भोट नदिऊँ भन्दै गीत गाए। पौडेलको गीतमा अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल सहित नेता कार्यकर्ताले स्टेजमा कम्मर मर्काए।

स्टेजको पछाडिको लहरमा रहेकी झाँक्री भने मौन रहिन्। उनलाई ती शब्दहरू क्रान्तिकारी लागेझैँ देखाएन उनको मुडले। मन्त्रालयबाट बिदाइहुँदा खसेका आँसुको ढिक्काको प्रभाव सोमबार पनि देखियो।

पौडेलले ५ मिनेट पार्टी कमान्डर नचाउँदा र परिषद् सदस्य मोबाइलको लाइट बालेर झुम्दा झाँक्री केही बेर रमाएजस्तै देखिइन्। तर अधिकांश समय मोबाइलमा घोल्तिरहिन्। अध्यक्ष नेपालको सांगठनीक र राजनीतिक प्रतिवेदनमा ११ समूह बनाएर छलफल चल्दै गर्दा झाँक्री बाहिरिइन्।

‘तपाई कार्यक्रममा ढिला पुग्नुभयो। अनि सम्पूर्ण समय मोबाइलमा बिताउनु भयो त ? भन्ने प्रश्नमा झाँक्रीले भनिन्, ‘फेसबुकमा एउटा पोस्टसम्म गर्न भ्याइन। एउटा पोस्ट गरेको थिए, त्यो सच्याउन समय लाग्यो’ उनले दाबी गरिन्।

उनले ‘स्याड मुड’ मा हुनुहुन्थ्यो नि भन्ने प्रश्नलाई बेवास्ता गरिन्। बाहिर केही शुभेच्छुकसँग सेल्फी खिचाएर झाँक्री बाहिरिइन्।

खतिवडाको फोन, २ मन्त्री बेपत्ता

कार्यक्रमस्थलमा अर्का मन्त्री विरोध खतिवडा देखिएनन्। आइतबार स्वास्थ्य मन्त्रीबाट बाहिरिएका खतिवडाले महासचिव डा बेदुराम भुसाललाई फोन गरेर नयाँ मन्त्रीको पदभार पछि आउने जानकारी गराएका रहेछन्।

कार्यक्रममा आइतबारबाट पूर्व मन्त्री बनेका प्रेम आले र कृष्ण श्रेष्ठ देखिएनन्। उनीहरूले पार्टी नेताहरूलाई कुनै जानकारी गराएका पनि थिएनन्।

प्रवक्ता जगन्नाथ खतिवडाले ‘उहाँहरू आउने नआउने बारे केही जानकारी नभएको बताए।

महासचिव भुसालले ‘अरू दुई जना (आले र श्रेष्ठ) बारे थाहा भएन। पार्टी अध्यक्षलाई फोन गर्नुभएको छ कि। तर विरोध खतिवडाजीले नयाँ मन्त्रीलाई पदभार हस्तान्तरण गराएर आउँछु भनेर फोन गर्नुभयो,’ भने।

सरकारमा रहेका पार्टीका मन्त्री फिर्ता बोलाउने निर्णयको प्रभाव कार्यक्रमस्थलमा नदेखिएको हैन। तर पार्टीका नेताहरू भने त्यस्तो विवाद केही भएको हैन भनेर भुसले आगो छोप्ने प्रयासमा लागे।

'थोरै–थोरै चहल पहल आएन भने त मान्छेलाई रमाइलो नलाग्ने भइसक्यो, विवाद समाप्त भयो। गम्भीर आशङ्का गर्ने ठाउँ छैन,’ पार्टी प्रवक्ता खतिवडाले उकेरासँग भने।

निवर्तमान भएका चारमध्ये तीन जना कार्यक्रममा नदेखिएकोबारे उनको जवाफ थियो' हिजो मन्त्री पदबाट बाहिरिनुपर्यो आज बैठकमा अनुपस्थितले असन्तुष्टि देखाएन भन्ने प्रश्नमा खतिवडाले भने, ‘होला, मन दुखाइ होला भ्याएइन होला। हिजो मात्र मन्त्रीबाट हट्नुपरेको छ थकाइ पनि होला।’

 ओली नै तारोमा

बैठकका उद्घाटनमा अध्यक्ष माधवकुमार नेपालले पुरानो पाठ पढाएर सुरु गरेका थिए। उनले तत्कालीन समयमा एमाले अध्यक्ष ओलीको कारण पार्टी विभाजन भएको बताउँदै संविधानलाई कुल्चिने काम भएको आरोप लगाए।

‘एमाले र माओवादी केन्द्र मिल्दा जनतामा ठुलो आशा थियो’, उनले भने, ’हामीले गरेको वाचालाई जनताले विश्वास गरेका थिए। तर पार्टीमा धेरै समस्या सिर्जना हुन थाले। विकृति विसङ्गतिमा पार्टी डुब्न थाल्यो।’

उनले ओलीको आलोचनामा समय खर्चिए।

‘विदेशीसँगको सहमतिमा पार्टीलाई कुनै जानकारी दिइएन,’ उनले भने, ’केपी ओली अल्पमतमा पर्ने भएपछि एकलौटी रूपमा विभाजन गरियो।’

दास बन्ने भन्दा पनि कम्युनिस्ट आन्दोलनको यात्रालाई  निरन्तरता दिन नयाँ दल खोलेको उनको दाबी थियो।

‘पार्टी फुटाउन लागि राज्यसत्ताको प्रयोग पनि भयो। हामीसँग तीन वटा विकल्प थिए। पहिलो दास भएर त्यही पार्टीमा बस्ने दोस्रो सन्यास लिने, तेस्रो कम्युनिस्ट आन्दोलनलाई जोगाउने’, उनले भने, ’त्यस कारण हामीले तेस्रो विकल्प अपनायौँ।’

१३ असार, २०७९, २२:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।