नक्कली भुटानी शरणार्थी प्रकरणमा अब थुनामा जम्मा सात जना, दोस्रो तहको अनुसन्धान अलपत्र

नक्कली भुटानी शरणार्थी प्रकरणमा अब थुनामा जम्मा सात जना, दोस्रो तहको अनुसन्धान अलपत्र

काठमाडौँ : नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी सहित चार अभियोगमा १८ जना पक्राउ परेकोमा १६ जना सिधै पुर्पक्षका लागि थुनामा गएका थिए।

जिल्ला अदालतमा ३० जनालाई प्रतिवादी बनाएर पेस भएको अभियोग पत्रसँगै पक्राउ परेका १८ जना समेत पेस भएका थिए। २०८० असार १ गते १८ मध्ये १६ जनाको हकमा पुर्पक्षका लागि थुनामै राख्न आदेश आयो।

जिल्लाको आदेशविरुद्ध उच्च अदालत जाँदा बालकृष्ण खाण, टेकनाथ रिजाल लगायतका अभियुक्तमध्ये कोही धरौटी त कोही तारेखमा छुटे। अन्य १० पुर्पक्षका लागि थुनामै रहे।

उच्चको फैसलाविरुद्ध १० जना सर्वोच्च अदालत जाँदा तीन जना छुटेर अब मुद्दाको अन्तिम किनारा नलागेसम्म थुनामै बस्नुपर्नेको सङ्ख्या जम्मा सातमा झरेको छ।

जिल्ला अनि उच्चको आदेशविरुद्ध सर्वोच्चमा गएकाहरूबारे बिहीबार सर्वोच्च अदालतमा भएको बहसमा पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई र सन्देश शर्मा थुनामै रहे।

न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले तीन जनाको हकमा उच्चले दिएको पुर्पक्षको आदेश बदर गर्यो।

शमशेर मियाँ साधारण तारेख रिहा भए। उच्चले उनीसँग १० लाख रुपैयाँ धरौटी माग गरेको थियो।

उच्चले पुर्पक्षका लागि थुनामा पठाएका आङटावा शेर्पासँग ३० लाख धरौटी माग्यो। गोविन्दकुमार चौधरी पनि धरौटीमा छुटे।  सुमन दाहाल १० लाख रुपैयाँ धरौटीमा रिहा भए। यीसँगै अब नक्कली शरणार्थी मुद्दामा थुनामा जम्मा सात जना मात्रै रहेका छन्।

उच्चबाट पूर्व गृहमन्त्री बालकृष्ण खाण धरौटीमा छुटेपछि सत्ताको दुरुपयोग भएको भन्दै आलोचना भएको थियो।

दोस्रो तहको अनुसन्धान अलपत्र

नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा सत्ता सञ्चालनमा रहेका प्रभावशालीहरू पक्राउ परेसँगै राजनीतिक तहमा पराकम्प नै गएको थियो।

गिरोहले ८ सय ७५ जना नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुलेका थिए। मुद्दा दायरहुँदा २८ करोड ८१ लाख बिगो मागदाबी गरिएको थियो। 

पूर्व उपप्रधान, पूर्व गृहमन्त्री, गृहसचिव, गृहमन्त्रीको सुरक्षा सल्लाहकार र पूर्व सांसद समेत पक्राउ परेको यो प्रकरणमा उच्च तहमा रहेका प्रभावशालीहरूको नाम जोडिँदै गयो। तर पहिलो चरणको शैलीमा अनुसन्धान तिब्र हुन सकेन।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका वर्तमान प्रमुख आयुक्त प्रेम राई, नेपाली कांग्रेसकी नेतृ आरजु राणा र मञ्जु खाँण, पूर्व गृहमन्त्री रामबहादुर थापा बादल र उनको श्रीमती नैनकला थापा समेत बयानमा जोडिएका थिए।

बेचन झा, एमाले अध्यक्ष केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, पूर्व प्रदेश सांसद तथा एमालेका नेता अजयक्रान्ति शाक्य, पूर्वगृहसचिव महेश्वर न्यौपाने, एमालेका नेता राजेश्वर स्थापित समेत यो प्रकरणमा जोडिएका थिए।

प्रहरीले गुपचुप अनुसन्धान अगाडि बढाउँदै बयान अगाडि बढाए पनि प्रभावशालीहरूलाई भने अझैँ अनुसन्धानको दायरामै ल्याएको छैन।

फरारहरू फेला परेनन्

पूर्व गृहमन्त्री रामबहादुरका छोरा प्रतीक थापासहित १२ जना फरार रहेकामा एक जना पक्राउ परे। अन्य फरारै रहे। मुद्दा दायरको क्रममा थापासँगै अशोक पोखरेल, धीरेन राई, नीरज राई, दीपा हुमागाईँ, राजेश अर्याल, मोहनराज राई, आशिष् बुढाथोकी, विनीता लिम्बू, निरञ्जनकुमार खरेल, सुनिल बुढाथोकी फरार थिए। यीमध्ये प्रतीक, नीरज र अशोक नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्दामा मुख्य व्यक्ति देखिएका थिए।

१४ बैशाख, २०८१, १६:४६:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।