फेसबुकमा 'धन्यवाद पोस्ट' हाल्न बैठकमा ढिलो आइन् झाँक्री

फेसबुकमा 'धन्यवाद पोस्ट' हाल्न बैठकमा ढिलो आइन् झाँक्री

काठमाडौंः निवर्तमान शहरी विकासमन्त्री रामकुमारी झाँक्री हिजो मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा रोइन्। मन भारी बनाएर मन्त्री पदबाट बाहिरिइन्।

आज उनको पार्टी एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक छ। बैठक भोलिसम्म चल्नेछ।

बैठकमा उनी भर्खरै देखिएकी छिन्। उनी आउन त आइन् तर ढिलो। फेसबुकमा लामो 'धन्यवाद पोस्ट' हालिसकेर मात्र देखापरिन्।

यद्यपि, मन्त्री पद खोसिएका विरोध खतिवडा, कृष्णकुमार श्रेष्ठ र प्रेम आले भने अझै देखिएका छैनन्।

यस्तो छ झाँक्रीको फेसबुक स्टेटस

मलाई शहरी विकासमन्त्रीको जिम्मेवारीमा सिफारिस गर्ने मेरो दल, दलका नेता कमरेड माधवकुमार नेपाल, गर्न सक्ने र केही गर्न खोज्ने मन्त्रीलाई प्रशस्त मौका र विश्वास गर्ने सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवा, गठबन्धन दलका नेता कमरेड प्रचण्ड, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का मेरा सिनियर सहकर्मी मन्त्री दाइदिदीहरू, मूख्य सचिव, विभिन्न सरोकार रहने मन्त्रालय र योजना आयोगका सचिवहरू, मेरो मन्त्रालयका सचिव, जंगी, प्रहरी लगायत सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू, सहसचिवहरू, विभिन्न निकायका पदाधिकारीहरू, मेरो निजी सचिवालय, स्वकीय सचिवालयका सहकर्मीहरू प्रति हार्दिक आभार व्यक्त गर्न चाहान्छु।

खासगरी मेरो मन्त्रालयको समग्र टिम जसले मलाई शहरी भाषा बोल्न सिकाउनुभयो उहाँहरू प्रत्येकलाई हार्दिक धन्यवाद दिन चाहन्छु। आफ्नो जिम्मेवारीमा कहिल्यै सम्झौता नगर्ने अंगरक्षक, व्यक्तिगत सुरक्षा अधिकारी, सहयोगी भाइबहिनीहरू सबैप्रति हार्दिक धन्यवाद!

मेरा शुभेच्छुक साथीहरू पत्रकार मित्रहरू विकास साझेदार संस्था र प्रतिनिधिहरू, निजी क्षेत्रका मेरा मार्गदर्शकहरू, मेरो पथप्रदर्शक मेरो श्रीमान्, मेरो परिवार र मेरो सानो छोरा जसको समय मैले सार्वजनिक जीवनमा लगाएँ… सबैप्रति ऋणी छु।

मलाई आलोचना गरेर मौका दिने मेरो पार्टीका विभिन्न जनसंगठनका नेता तथा “कार्यकर्ताहरू” प्रति हार्दिक हार्दिक धन्यवाद! सबै दल सम्बद्ध मेरा मित्रहरू तपाईंहरूलाई सधै सम्झिन्छु। मप्रति आशावादी हुने सम्पूर्ण बुद्धिजीवी, पत्रकार र आम नागरिकहरूप्रति हार्दिक धन्यवाद! म तपाईंहरूको आशालाई निराश हुन दिने छैन भन्ने संकल्प लिँदै अगाडि बढ्नेछु।

यो बीचमा कार्यपालिका मात्र होइन, न्यायपालिका, व्यवस्थापिका जस्ता राज्यका अंगहरूका प्रमुखज्यूहरूसँग सार्वजनिक सरोकारका विषयहरूमा पटक पटक परामर्श गरेर इमानका साथ सोझो मनले, जनताको भलो चिताएर आफ्नो शतप्रतिशत कर्म लगाएर मन्त्रालयबाट बिदा भएकी छु। त्यसका परिणामहरू आइरहेका छन्, आइरहने छन्। मैले नीतिगत क्षेत्रमा गरेको रूपान्तरण ठूलो डिपार्रचर हो भन्नेमा दुई मत छैन।

साथै नवनियुक्त मन्त्रीजीले मैले नीतिगत रूपमा अगाडि बढाएका विषयलाई निरन्तरता दिनु नै हुनेछ भन्नेमा ढुक्क छु । साथै माननीय मन्त्री मेटमणी चौधरीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!

१३ असार, २०७९, १३:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।