एकीकृत समाजवादीका महासचिव बेदुराम भन्छन्‘ कानुनले नै दिँदैन, कसरी फुट्छ पार्टी?'

एकीकृत समाजवादीका महासचिव बेदुराम भन्छन्‘ कानुनले नै दिँदैन, कसरी फुट्छ पार्टी?'

पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता गरेर नयाँलाई पठाउने निर्णयले एकीकृत समाजवादीमा ठुलै विवाद निम्त्यायो। पार्टीको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सार्वजनिक रूपमै चेतावनी दिएपछि कोही आक्रोशित हुँदै त कोही रुँदै राजीनामा दिन बाध्य भए।

त्यसैको दोस्रो दिन पार्टी अध्यक्ष माधवकुमार नेपालका राजनीतिक र साङ्गठनिक प्रतिवेदन सुझाव सहित पारित गर्दै आगामी कार्यदिशा र चुनावी रणनीति बनाउन करिब १ हजार ६ सय केन्द्रीय परिषद् सदस्यलाई काठमाडौँमा भेला गराएको छ समाजवादीले।

यी नै सन्दर्भमा उकेराकर्मी दिपेन्द्र अधिकारीले एकीकृत समाजवादीका महासचिव डा बेदुराम भुसालसँग गरेको कुराकानीको सम्पादित अंश:

एक्कासि बैठक बोलाउनुको उद्देश्य के हो?

आगामी दिनमा पार्टी कसरी अगाडि बढ्ने भन्ने रणनीति बनाउन नै केन्द्रीय प्रतिनिधीहरुलाई काठमाडौँमा बोलाएका हौँ। बैठकमा उत्साहपूर्ण ढङ्गले देशभित्रबाट मात्र होइन प्रवासबाट पनि प्रतिनिधिहरू उपस्थित हुनुहुन्छ। उत्साहपूर्ण ढङ्गले बैठक चलिरहेको छ।

बैठक गर्दागर्दै के कस्ता रणनीति बनाएर निस्कनुहुन्छ त?

हाम्रो पार्टीको राजनीतिक सङ्गठनलाई मजबुत बनाउने, आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा राम्रो सफलता प्राप्त गर्ने योजना र उत्साहकासाथ हामी फर्किन्छौँ।

बल्ल-बल्ल मन्त्री हेरफेरको निर्णय कार्यान्वयन भयो। तर धेरै विवाद भए। अब पार्टी विवाद सकियो त?

पार्टीमा कुनै विवाद छैन। मन्त्री साथीहरूले बजेटको उत्तर दिन पाए हुन्थ्यो भन्नुभयो र केही दिन ढिला भएको मात्र हो। पार्टीभित्रको मतभेदले विवाद भएको हैन। त्यसैले पार्टीभित्र विवाद अनि असहमति केही पनि छैन।

हामीलाई अपमान गरेर गलहत्याएर निकालेको जस्तो गरियो, हामीसँग छलफल गरेन भन्ने असन्तुष्टि अहिलेसम्म देखिएकै छ। त्यसलाई त सम्बोधन गर्नुपर्ला नि?

उहाँहरूले बाहिर के बोल्नुभएको छ मैले त्यति हेरेको पनि छैन, हेर्नुपर्ने जरुरी छ जस्तो पनि म ठान्दिन। आन्तरिक रूपमा जे कुरा गर्नुभएको छ त्यो सुनिएको छ। बाहिर पनि त्यही कुरा गर्नुहोला भन्ने विश्वास छ। आन्तरिक रूपमा उहाँहरू स्वयं सहभागी बैठकबाट हामीले उहाँहरू मन्त्रीबाट फिर्ता हुने अनि अरू साथी मन्त्री पदमा पठाउने कुरा अनुमोदन गरेका छौँ। केन्द्रीय कमिटीमा सबै मन्त्रीहरू हुनुहुन्थ्यो। २ जना मन्त्री रामकुमारी झाँक्री र विरोध खतिवडा स्थायी कमिटीकै सदस्यहरू हुनुहुन्छ। उहाँहरूको उपस्थितिमा स्थायी कमिटीबाट निर्णय गरेका छौँ। पार्टीभित्र उहाँहरूले धरै गुनासो गर्नुभएको छैन।

तपाईँले नाम लिनु भएकाहरूले हस्ताक्षर फिर्ता पनि लिनुभएको छैन। कुरा त ज्युँ का त्युँ रहेछ नि?

६ जनाले फिर्ता नै लिनुभयो हस्ताक्षर, त्यो अर्थमा हामीले हस्ताक्षर गरेकै होइनौ भनेर यहाँहरूबाटै प्रकाशन प्रसारण भएकै छ। चार जना साथीहरूले पनि पुनर्विचार गर्छौ भन्ने कुरा गर्नुभएको छ।

अब पार्टी विवाद सल्टिन्छ ? कुनै विवाद रहँदैन ?

विवाद छ भनेर भन्नु पर्दैन।

पार्टी फुट्छ भन्नेसम्मको टिप्पणी थियो ?

कसरी पार्टी फुट्छ? एउटा पार्टी विभाजन भएर अर्को पार्टी बनेको ५ वर्षसम्म फुट्नै सक्दैन। कानुनी व्यवस्था त्यस्तो छ।

उहाँहरूले पार्टी त्याग्नुभयो भने ?

जसलाई मन लाग्छ जुनसुकै बेला पार्टी छोड्ने त स्वतन्त्रताको कुरा हो। यो व्यक्तिगत स्वतन्त्रताको कुरा हो नि। पार्टी विभाजन भन्ने कुरा र म पार्टीमा बस्न सक्दिन भन्छ भने फरक कुरा हुन्। तपाईँहरूले विवाद छ भनेर जे सुन्नु भएको छ त्यो निराधार कुरा हो।

१३ असार, २०७९, १९:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।