महरा प्रकरण विषयान्तर गर्न खोज्दै माओवादी, पर्याप्त प्रमाण हुँदाहुँदै अनुसन्धान हैन भाषणबाजीमै सीमित

महरा प्रकरण विषयान्तर गर्न खोज्दै माओवादी, पर्याप्त प्रमाण हुँदाहुँदै अनुसन्धान हैन भाषणबाजीमै सीमित

काठमाडौँ : माओवादी केन्द्रले नौ किलो सुन तस्करीमा संलग्न चिनिया गिरोहसँग बाक्लो सम्पर्क देखिएका पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा र उनको छोरा राहुललाई अनुसन्धानको दायरामा ल्याउनभन्दा ढाकछोपमै बल लगाइरहेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा महरा बाबु-छोरा र सुन तस्करीमा सक्रिय समूहबिच घनिष्ठ सम्बन्ध रहेको खुले पनि उनीहरू औपचारिक अनुसन्धानको दायरामा तानिएनन्।

महरा बाबुछोरा र चिनिया तस्कर समूहबिचको सम्बन्धको जालोबारे उकेराले समाचार सम्प्रेषण गरेको थियो। उनीहरूबिच एक पटक हैन पटक-पटक टेलिफोनमा सम्पर्क रहेको ब्युरोकै अनुसन्धानमा खुले पनि उनीहरूसँग सामान्य बयान समेत नलिई उन्मुक्ति दिने प्रयास भयो।

दुबैमाथि अनुसन्धान गर्ने पर्याप्त आधार भए पनि अनुसन्धानको दायरामै नल्याएपछि अहिले सुन तस्करीमा सरकारले अगाडि बढाइरहेको अनुसन्धानको निष्पक्षता शंकामा परेको छ।

दबाब बढ्दै गएपछि माओवादीको पदाधिकारी बैठकले महरालाई तस्करीबारे जानकारी दिन आग्रह गरेको थियो भने महराले आफैँ ब्युरोमा निवेदन दिएर बयान दिन जाने बताएको सार्वजनिक भएको थियो।

ब्युरोले चाहने हो भने तत्काल महरा बाबुछोरालाई नै कार्यालयमा बोलाएर सुन तस्करीमा संलग्न देखिएका चिनियाहरुसँगको सम्बन्ध र भेपमा लुकाएर ल्याएको सुन तस्करीमा उनीहरूको संलग्नताबारे अनुसन्धान अगाडि बढाउन सक्छ। तर ब्युरोले त्यसमा चासो देखाएको छैन।

पार्टीले महरालाई अनुसन्धानमा सघाउन निर्देशन दिन सक्छ। तर पार्टी नेतृत्व बैठकमा अनुरोध गर्ने र बाहिर सार्वजनिक मञ्चमा प्रतिरक्षामा सक्रिय देखिन्छ।

सोमबारै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धान गर्ने प्रतिबद्धता हैन अनुसन्धानमा नाम जोडिएर आए आफ्नो पार्टी मात्र होइन, आफ्नै परिवारका सदस्यलाई पनि नछाड्ने दाबी गरे।

महरा बाबुछोरा नौ किलो सुन तस्करीमा जोडिएको नाम मात्र हैन प्रहरीले अनुसन्धान गरेर बुझाएको प्रस्तावित राय सुझाव अनि काठमाडौँ जिल्ला अदालतमा दायर भएको अभियोग पत्रले नै पुष्टि गर्छ।

तर उनी भावनात्मक तर्क गरेर पार्टीको उपल्लोतहका नेताको सुन तस्करीमा संलग्नताको विषयलाई विषयान्तर गर्न सक्रिय देखिए।

सोमबार पार्टीको बागमती प्रदेश कमिटी बैठकमा प्रचण्डले सुन तस्करीमा नाम जोडिए आफैँलाई हतकडी लगाएर थुने हुन्छ' भनेका थिए।

‘महराजीको र उहाँका परिवारका सदस्यलाई कारबाही गर्न सरकारले भनेको छ’ प्रचण्डले बैठकमा भनेका थिए' मेरो नाम आएछ भने मलाई पनि हतकडी लगाएर थुने हुन्छ।’

कृष्णबहादुर र राहुलले समेत चिनियाहरुसँगको सम्पर्कबारे स्वीकार गरेका छन्। तर उनीहरूले कसैसँग सम्पर्क भएकै आधारमा तस्करीमा संलग्न छ भनेर चरित्रहत्या गरेको कुतर्क गरिरहेका छन्।

सोमबारै राहुले फेसबुकमा लेख्दै विभिन्न सञ्चारमाध्यममा बारम्बार आइरहेका आरोपहरूप्रति गम्भीर आपत्तिसहित दुःख व्यक्त गरेका छन्।

उनले पुष्टि नभएको र प्रहरीले अनुसन्धान गरिरहेको विषयमा बारम्बार एकोहोरो आरोप लगाएर चरित्रहत्या गर्ने र राजनीतिक जीवन नै सिद्ध्याउन खोज्ने गलत कार्य भएको दाबी गरेका छन्।

उनले सञ्चारमाध्यमले पुष्टि नभएको विषयमा बारम्बार आरोप लगाएर जबरजस्त पुष्टि गराउन खोजेको दाबी गर्दै लेखेका छन्' कोही व्यक्तिसँग सम्पर्क हुँदैमा,  केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भएको हो भनेर प्रचारबाजी गरिनु र  समाचार लेखी भ्रमित पार्नु गलत हो।'

एक पटक हैन पटक-पटक सम्पर्क

कृष्णबहादुर र राहुलको भेपमा सुन लुकाउन संलग्न देखिएका चिनिया नागरिकसँगको सम्बन्धको जालोबारे उकेराले एक साता अगाडि प्रमाणसहित समाचार प्रकाशित गरेको थियो।

प्रहरी अनुसन्धानमा उनीहरूबिच सामान्य हैन घनिष्ठ सम्बन्ध नै देखिएको थियो। प्रहरीको प्रस्तावित राय र सुझाव, मिसिलमा संलग्न प्रमाण अनि अभियोग पत्रअनुसार सुन तस्करीको योजनाकारका रूपमा उल्लेख गरिएकाहरूसँग कृष्णबहादुर महरा अनि राहुल महराको सम्बन्ध सामान्य राजनीतिक वा व्यक्तिगत मात्र हैन भन्ने प्रस्टै खुलेको छ।

उनीहरूबिच एक पटक हैन, पटक-पटक फोन सम्पर्क भएको छ। एक जनासँग हैन पहिलो तहमा रहेका अधिकांशसँग नै उनीहरूको नियमित सम्पर्क देखिन्छ। यही सम्पर्ककै आधारले उनीहरूलाई औपचारिक अनुसन्धानमा ल्याउने आधारहरू निर्माण गरेको देखिन्छ।

उनीहरूलाई कसैले मौखिक रूपमा मात्र पोलेका हैनन्, अपराध अनुसन्धानमा अकाट्य प्रमाण मानिने फोन सम्पर्कले नै उनीहरूबिचको घनिष्ठ सम्बन्ध स्थापित गरेको देखिन्छ।

सुन तस्करीको मुख्य व्यक्तिहरूमा चिनियाँ नागरिक ली, लोकेन्द्र पौडेल, श्याम साह र असिन पहिलो लहरमा देखिन्छन्। दोस्रो लहरमा छन् कृष्णबहादुर महरा, राहुल महरा र  चिनियाँ नागरिक दोजिङ वाङ।

महराको सम्बन्ध चिनियाँ नागरिक वाङ र लीसँग घनिष्ठ देखिन्छ। महरा र लीबिच ११ पटक मोबाइलमा कुराकानी भएको पुष्टि भएको छ भने वाङसँग पनि ११ पटक नै कुराकानी भएको देखिन्छ। अन्यसँग महराको सम्पर्क भएको देखिँदैन।

कृष्णबहादुर महराको छोरा राहुलको सम्बन्ध चिनियाँ नागरिक लीसँग देखिँदैन। उनको सम्बन्ध वाङसँग छ। वाङ र राहुलबिच एक वा दुई पटक हैन ६४ पटक कुराकानी भएको छ। राहुल र सुन तस्करीको योजनाकारको सूचीमा रहेका लोकेन्द्र पौडेलबिच ३६ पटक कुराकानी भएको छ।

राहुलको आसिनसँग तीन पटक र त्रिभुवन विमानस्थलका मुक्तिप्रसाद श्रेष्ठसँग एक पटक कुराकानी भएको पुष्टि भइसकेको छ। यसबिचमा बाबुछोराबिच २८ पटक फोनमा कुराकानी भएको देखिन्छ।

राहुलले भन्सारले जफत गरेको सामानको लिलामी प्रक्रियाबारे बुझ्न आफूलाई फोन गरेको मुक्तिप्रसादको बयानबाट खुल्छ। तर, अन्य व्यक्तिहरूसँग उनले पटक-पटक कुन प्रयोजनका लागि सम्पर्क गरेका हुन् अनि उनीहरूबिचको औपचारिक सम्बन्ध के हो भन्ने कहीँ कतै खुल्दैन।

यसले अभियोग पत्रमै उल्लेख गरिएको स्वतन्त्र प्रमाणहरू नै यही सम्पर्क जालो देखिन्छ, जसलाई न प्रहरीले अनुसन्धानको क्रममा महत्त्व दिएको देखियो न त अभियोग पत्र दर्ता गर्दा जिल्ला न्यायाधिवक्ताको कार्यालयले नै वास्ता गरेको देखियो।

सम्बन्धित समाचार:

२९ साउन, २०८०, १६:१६:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।