सुन तस्करसँग महरा बाबुछोराको सम्बन्ध सामान्य हैन घनिष्ठ, अभियोग पत्रमा अभियोग छ तर अभियुक्तमा नाम छैन

सुन तस्करसँग महरा बाबुछोराको सम्बन्ध सामान्य हैन घनिष्ठ, अभियोग पत्रमा अभियोग छ तर अभियुक्तमा नाम छैन

काठमाडौं : इलेक्ट्रिक सिगरेट ‘भेप’मा लुकाएर ल्याएको नौ किलो सुन तस्करीको गिरोहका सदस्यसँग माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा अनि उनको छोरा राहुलको सम्पर्क र सम्बन्ध देखिए पनि अनुसन्धानको दायरामै ल्याइएन। उनीहरू अनुसन्धानको दायरामा नपर्नुको कारणबारे अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अधिकारीले ‘पर्याप्त आधार नभेटिएको’ तर्क गरे।

तर, उकेराले यस प्रकरणबारे फेला पारेको दस्तावेजले भने महरा बाबु-छोरामाथि सामान्य शंका मात्रै हैन, गिरोहका मुख्य व्यक्तिका लागि सहजीकरण गर्न भूमिका खेलेको प्रस्टै देखिन्छ। सीआईबीका अधिकारीहरू भने कसैसँग सम्पर्क गरेको आधारमै शंका गरिहाल्नुपर्ने अवस्था नहुने कुतर्क गरिरहेका छन्।

तर, जुन खालले अनि जति जनासँग जुन प्रकृतिको सम्पर्क स्थापित भएको देखिन्छ, त्यसबाट महराका बाबुछोरा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जफत गरेको भेप छुटाउन र सुन तस्करीको नाइके देखिएका चिनियाँ नागरिक लीसँग प्रत्यक्ष सम्पर्कमा देखिन्छन्।

प्रहरीको प्रस्तावित राय र सुझाव, मिसिलमा संलग्न प्रमाण अनि अभियोग पत्र अनुसार सुन तस्करीको योजनाकारका रूपमा उल्लेख गरिएकाहरूसँग कृष्णबहादुर महरा अनि राहुल महराको सम्बन्ध सामान्य राजनीतिक वा व्यक्तिगत मात्र हैन प्रष्टै खुल्छ।

सीआईबी हुँदै जिल्ला न्यायाधिवक्ताको कार्यालयबाट काठमाडौं जिल्ला अदालतमा पुगेको अभियोग पत्र अनि मिसिलमा संलग्न बयान कागज लगायतका विवरणहरूबाटै महराका बाबुछोरा नै नौ किलो सुन तस्करीका दोस्रो तहका सदस्य हुन् भन्ने प्रष्टै स्थापित हुन्छ। माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नै गृहमन्त्री हुनु अनि सरकारको नेतृत्वमा माओवादी अध्यक्ष हुनुको लाभ महरा बाबुछोराले लिएको अनुसन्धानका कागजपत्रहरूले प्रष्टै देखाउँछ।

प्रहरीले चाहेको भए यी विवरणहरू मिसिलमा समेत संलग्न नगर्न पनि सक्थ्यो। उनीहरूले सुन तस्करीको अनुसन्धानको क्रममा खुलेको मोबाइल सम्पर्क जालो लुकाउन पनि सक्थे। तर, लुकाएनन्। यसको अर्थ प्रहरी कृष्णबहादुर महरा र राहुललाई अनुसन्धानको दायरामा ल्याउने पक्षमा देखिए। तर, दबाबका कारण बोलाएर बयान लिने अनि अभियुक्त उल्लेख गर्ने हिम्मत गर्न सकेनन्।

प्रहरीले पठाएको प्रस्तावित राय सुझावमा रहेको प्रमाणको आधारमा जिल्ला न्यायाधिवक्ताको कार्यालयले अभियोग पत्र बनाउँदा महराका बाबुछोरालाई अभियुक्त बनाउने पर्याप्त प्रमाण र आधारहरू रहेको देखिन्छ। तर, महान्यायाधिवक्ताको कार्यालयले पनि अभियुक्त बनाउने हिम्मत गरेन। महराका बाबुछोरालाई जोगाउन अभियोग पत्रमा ‘नाम र ठेगाना नखुलेकाहरूको हकमा पछि अभियोग पत्र पेश गर्ने’ भन्ने लेखेर टारे।

पहिलो घेरामा रहेकाहरू अधिकांशको नाम र ठेगाना खुलेको देखिन्छ। उनीहरूको नाम उल्लेख गर्दा प्रष्टै महराका बाबुछोरालाई जोगाएको स्थापित हुने भएपछि जिल्ला न्यायाधिवक्ता बाशुदेव शर्माले तयार पारेको अभियोग पत्रमा ‘हालसम्म एकिन नाम, थर, वतन नखेलेको व्यक्तिहरूको हकमा एकिन नाम थर वतन खुली आएको बखत संगठित अपराध निवारण ऐन अनुसार थप दावी लिई अभियोग पत्र पेश गरिने’ उल्लेख गरियो।

अभियोग पत्रको ‘अन्य कुरा खुलाउनुपर्ने भए सो कुराहरू’ कोलममा ‘बयानमा पोलिएका नन्द कुमार पांडुरङ मगरले विश्वराम खड्का, बन्धन खम्बु किरात र सचिन पवार समेतका व्यक्तिहरूको हकमा अनुसन्धान कार्य जारी रहेको हुँदा अनुसन्धानका क्रममा स्वतन्त्र प्रमाणबाट संगठित समूहको सदस्य भई कसुर गरेको खुल्न आएको बखत पक्राउ वा पक्राउ परेमा’ भन्ने सर्त राखिएको छ।

राहुलको आसिनसँग तीन पटक र त्रिभुवन विमानस्थलका मुक्तिप्रसाद श्रेष्ठसँग एक पटक कुराकानी भएको पुष्टि भइसकेको छ। यसबीचमा बाबुछोराबीच २८ पटक फोनमा कुराकानी भएको देखिन्छ।

यसमा चिनियाँ नागरिक ली, असिन, दोजिङ वाङ, लोकेन्द्र पौडेल, श्याम साहको नामसमेत राखिएन। यही सूचीमा कृष्णबहादुर महरा र राहुल महराको नामसमेत थियो।

यो सूचीमा रहेका पाँच जनाको मोबाइल नम्बरसहितका विवरण ब्यूरोले फेला पारिसकेको छ। त्यसको आधारमा उनीहरूको सहजै पहिचान गर्न सकिने अवस्था देखिन्छ। तर, नाम खुलेकाहरूको हकमा समेत उनीहरूको नाम अभियोग पत्रमै राखिएन। यसले अनुसन्धानमा भएको बदनियत प्रष्टै देखिन्छ।

तस्करहरूसँग कृष्णबहादुर र राहुलको सम्बन्ध आकस्मिक हैन घनिष्ठ
प्रहरीको प्रस्तावित राय र सुझाव, मिसिलमा संलग्न प्रमाण अनि अभियोग पत्रअनुसार सुन तस्करीको योजनाकारका रूपमा उल्लेख गरिएकाहरूसँग कृष्णबहादुर महरा अनि राहुल महराको सम्बन्ध सामान्य राजनीतिक वा व्यक्तिगत मात्र हैन भन्ने प्रष्टै खुल्छ।

उनीहरूबीच एक पटक हैन, पटक-पटक फोन सम्पर्क भएको छ। एक जनासँग हैन पहिलो तहमा रहेका अधिकांशसँग नै उनीहरूको नियमित सम्पर्क देखिन्छ। यही सम्पर्ककै आधारले उनीहरूलाई औपचारिक अनुसन्धानमा ल्याउने आधारहरू निर्माण गरेको देखिन्छ।

उनीहरूलाई कसैले मौखिक रूपमा मात्र पोलेका हैनन्, अपराध अनुसन्धानमा अकाट्य प्रमाण मानिने फोन सम्पर्कले नै उनीहरूबीचको घनिष्ठ सम्बन्ध स्थापित गरेको देखिन्छ।

सुन तस्करीको मुख्य व्यक्तिहरूमा चिनियाँ नागरिक ली, लोकेन्द्र पौडेल, श्याम साह र असिन पहिलो लहरमा देखिन्छन्। दोस्रो लहरमा छन् कृष्णबहादुर महरा, राहुल महरा र  चिनियाँ नागरिक दोजिङ वाङ।

महराको सम्बन्ध चिनियाँ नागरिक वाङ र लीसँग घनिष्ठ देखिन्छ। महरा र लीबीच ११ पटक मोबाइलमा कुराकानी भएको पुष्टि भएको छ भने वाङसँग पनि ११ पटक नै कुराकानी भएको देखिन्छ। अन्यसँग महराको सम्पर्क भएको देखिँदैन।

कृष्णबहादुर महराको छोरा राहुलको सम्बन्ध चिनियाँ नागरिक लीसँग देखिँदैन। उनको सम्बन्ध वाङसँग छ। वाङ र राहुलबीच एक वा दुई पटक हैन ६४ पटक कुराकानी भएको छ। राहुल र सुन तस्करीको योजनाकारको सूचीमा रहेका लोकेन्द्र पौडेलबीच ३६ पटक कुराकानी भएको छ।

चिनियाँ नागरिक ली, दोजिङ वाङ, लोकेन्द्र पौडेल, खुवाप्रसाद नेउपाने, राहुल महरा समेतको सम्पर्क कृष्णबहादुर महरा, मुक्तिप्रसाद श्रेष्ठसँग रहेको, निजहरूको सम्पर्क सून बेचबिखन गर्ने समूहमा रहेका रेवन्त खड्का, दिनेश बस्नेत, निर्मल विक, दिपेश बस्नेत, गोपाल सुवेदीसँग रहेको प्रस्ट उल्लेख छ।

राहुलको आसिनसँग तीन पटक र त्रिभुवन विमानस्थलका मुक्तिप्रसाद श्रेष्ठसँग एक पटक कुराकानी भएको पुष्टि भइसकेको छ। यसबीचमा बाबुछोराबीच २८ पटक फोनमा कुराकानी भएको देखिन्छ।

राहुलले भन्सारले जफत गरेको सामानको लिलामी प्रक्रियाबारे बुझ्न आफूलाई फोन गरेको मुक्तिप्रसादको बयानबाट खुल्छ। तर, अन्य व्यक्तिहरूसँग उनले पटक-पटक कुन प्रयोजनका लागि सम्पर्क गरेका हुन् अनि उनीहरूबीचको औपचारिक सम्बन्ध के हो भन्ने कहिँ कतै खुल्दैन।

यसले अभियोग पत्रमै उल्लेख गरिएको स्वतन्त्र प्रमाणहरू नै यही सम्पर्क जालो देखिन्छ, जसलाई न प्रहरीले अनुसन्धानको क्रममा महत्व दिएको देखियो न त अभियोग पत्र दर्ता गर्दा जिल्ला न्यायाधिवक्ताको कार्यालयले नै वास्ता गरेको देखियो।

अभियोग पत्रमा कृष्णबहादुर महरा र राहुलको संलग्नताबारे उल्लेख गरिएको विवरण।राहुलको सम्बन्ध देखिएको वाङ र लोकेन्द्र पौडेलबीच ६ सय ५१ पटक फोन सम्पर्क भएको देखिन्छ। श्याम साहले लीलाई ५२ पटक वाङ र खुवा प्रसाद नेउपानेबीच ५४ पटक कल भएको देखिन्छ। मुख्य सुन तस्कर भनिएका चिनियाँ नागरिक ली र लोकेन्द्रबीच ३ पटक कल भएको देखिन्छ भने श्याम साहले लोकेन्द्रलाई ९० पटक कल गरेको देखिन्छ। लोकेन्द्रले खुवालाई एक सय ३५ पटक कल गरेका छन्।

यो सम्पर्क जालो नै सुन तस्करी खुलाउने सबैभन्दा बलियो प्रमाण देखिन्छ अनुसन्धानमा। तर, यसैलाई प्रहरी र जिल्ला सरकारी वकिलको कार्यालयले स्वतन्त्र प्रमाण स्वीकार गरेनन्। कारण महरा बाबुछोरा।

संगठित आपराधिक विश्वासघातमा नाम छ, अभियोग छैन
अर्को रमाइलो पक्ष, अभियोग पत्रमा को, कसले, के-के कसुर गरे भनेर गरिएको व्याख्या खण्डमा कृष्णबहादुर महरा अनि राहुल महरा दुवै जनाको नाम संगठित रूपमा आपराधिक विश्वासघात गरेको उल्लेख छ। तर, अभियोग छैन।

अभियोगको व्याख्या खण्डमा अनुसन्धानको क्रममा मौकामा बुझिएका व्यक्तिहरू समेतले प्रहरी प्रतिवेदन समर्थित हुनेगरी गरेको घटना विवरण कागज, अनुसन्धानको क्रममा खुल्न आएको ९ किलो ११ ग्राम सुनको बजार मूल्य आठ करोड ५५ लाख रहेको पत्र र सलंग्न कल डिटेल लिङ्क चार्टको आधारमा कसको के भूमिका देखियो भनेर उल्लेख छ।

त्यसमा चिनियाँ नागरिक ली, दोजिङ वाङ, लोकेन्द्र पौडेल, खुवाप्रसाद नेउपाने, राहुल महरा समेतको सम्पर्क कृष्णबहादुर महरा, मुक्तिप्रसाद श्रेष्ठसँग रहेको, निजहरूको सम्पर्क सुन बेचबिखन गर्ने समूहमा रहेका रेवन्त खड्का, दिनेश बस्नेत, निर्मल विक, दिपेश बस्नेत, गोपाल सुवेदीसँग रहेको प्रस्ट उल्लेख छ।

यसैगरी ‘सुन खरिद गर्ने समूहमा रहेका अन्य सदस्यहरूसँग समेत सम्पर्क देखिएकाले निजहरू फरक-फरक समूहमा रही, आ-आफ्नो अपराधिक जिम्मेवारी बमोजिम सम्पर्क स्थापित गरी नेपाल सरकारको गोदाममा रहेको दुई वटा सुटकेसभित्र ७३ बट्टामा रहेको सात सय ३० थान इलेक्ट्रिक सिगरेट ‘भेप’ बेची संगठित रूपमा आपराधिक विश्वासघात गरेको झनै पुष्टि हुन्छ’ लेखिएको छ।

यसले आपराधिक विश्वासघातमा महरा बाबुछोरा समेत संलग्न रहेको अभियोग पत्रकै व्याख्याले देखाउँछ। तर, किन अभियुक्त नबनाएको खुलाउँदैन।

अभियुक्त नबनाएकोबारे उकेराले जानकारसँग जिज्ञासा राख्दा महरा बाबुछोरा अनुसन्धानमा सम्पर्क देखिएको तर सुन तस्करीमा संलग्न रहेको प्रमाणित हुने प्रमाण फेला नपरेको हो भने अभियोग पत्रमै ‘उनीहरूको हकमा सम्पर्कमा रहेको देखिएको तर सो सम्पर्कको प्रयोजन सुन तस्करी गर्ने नदेखिएकाले पछि थप प्रमाण फेला परेको अवस्थामा पूरक अभियोग पत्र पेश गरिने’ भनेर उल्लेख गरिनुपर्ने जानकारी दिए।

यो प्रकरणमा पनि घटनामा संलग्न नभएका तर, घटनामा जोडिएकाहरूसँग सम्बन्ध देखिएकाहरूसँग ‘किन सम्पर्क भएको?’ भनेर घटनाबारे जानकारी लिएर मिसिल र अभियोग पत्रमा समेत राखिएको छ।

‘अभियोगको व्याख्यामा नाम उल्लेख भएको अवस्थामा यदि उनीहरूलाई अभियुक्त बनाउनुपर्ने आधार नदेखिए अभियोग पत्रमै प्रष्ट उल्लेख गर्ने गरिन्छ,’ एक अनुभवी सरकारी वकिलले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘उनीहरू फरार पनि हैनन् अनि पहिचान नखुलेको अवस्था पनि देखिएन। उनीहरूको नाम र भूमिका समेत उल्लेख हुनु तर उनीहरूलाई अभियुक्त नबनाउनुले अनुसन्धान र अभियोग पत्र दुवैमा प्रष्टै बदनियत देखिन्छ।’

नौ जना अभियुक्तमा दुई फरार, मुख्य कारोबारीलाई सुविधा
अभियोग पत्र हेर्ने हो भने यो प्रकरणमा नौ जनालाई अभियुक्तय नै किटान गरिएको छ जसमा दुई जना फरार छन्। अभियुक्त बनाइएकाहरूमा भन्सारका नायव सुब्बा रेवन्त खड्का, सहित दिनेश बस्नेत, भोटेबहाल बस्ने वेद प्रकाश अग्रवाल, भारतीय नागरिक साहेब राव पाण्डुरङ मरग, अमृत कार्की, दिपेश बस्नेतलाई अभियुक्त बनाइयो।  गोपाल सुवेदी र रामकेशव थापा पनि अभियुक्त छन् तर, दुवै फरार।

सुवेदी र थापा अभियुक्त बन्दा नाम खुलेका अन्य कसरी अभियुक्त बनेनन्? अभियोग पत्रमा खुल्दैन।

तस्करीको सुन किन्ने समूहमा ११ जनाको नाम छ। गणेश बडु, साहेव राव, वेदप्रकाश अग्रवाल, सचिन पवार, नन्दुकुमार, सचिन( भेडासिङ टर्च हाउस) सहित नाम उल्लेख नगरिएको ९८६९२३९७१३, ९१८०१०७०१०६२, ९१७४४७७२७३५५, ९११४०८४०१४६०, ९१९१६८०८६९९५ नम्बरहरू उल्लेख गरिएको छ। यसमा केही भारतीय नम्बरहरू समेत रहेका छन्। नेपालमा तस्करी भएर आउने अधिकांश सुन भारत जाने गरेको पुष्टि भइसकेको छ। तर, ती भारतीय नम्बर कसको हो भनेर सीआईबीले भारतीय पक्षसँग जानकारी लिएको खुलेन।

सामान्यसँग जानकारी लिँदा महरा बाबुछोरा छुटाइयो
अनुसन्धानमा घटनामा संलग्न अभियुक्तहरूसँग बयान र अभियुक्तहरूसँग जोडिएकासँग जानकारी लिने गरिन्छ। यो प्रकरणमा पनि घटनामा संलग्न नभएका तर, घटनामा जोडिएकाहरूसँग सम्बन्ध देखिएकाहरूसँग ‘किन सम्पर्क भएको?’ भनेर घटनाबारे जानकारी लिएर मिसिल र अभियोग पत्रमा समेत राखिएको छ।

सुन चोरेर बेच्ने रेवन्त खड्काले ३० लाख रकम बैंक खातामा राख्न दिएकी प्रेरणा थापा, ३५ लाख राख्ने ललिता थापा, जग्गा पास गरेका दिनेशको ससुरा रामकेशव थापा, डेक्सचर ट्राभल्स एण्ड टुरका साझेदार अमृत कार्की, भन्सारका नासु टीकाराम माझी, अशोक सिंह, उमेशप्रसाद कोइराला, भुवनराज घिमिरे, सुवर्णाप्रभा केसी, मधुसुदन पोखरेलसँग लिखित जानकारी लिएको देखिन्छ।

त्यसैगरी, भन्सार अधिकृत सुवेन्द्र श्रेष्ठ, प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ, भन्सार एजेन्ट खुवाप्रसाद नेउपाने, लिलाममा संलग्न हुन चाहने पिके ट्रेडर्सको बब्लुकुमार गुप्ता, जग्गा किनबेच गराउने बीरबहादुर भण्डारी, वीरको भाई रमेश काजी भण्डारी र प्रमुख भन्सार प्रशासक अरुण पोखरेलसँग बयान कागज गराउँदा महराका बाबुछोरासँग सुन तस्करीमा संलग्न देखिएकाहरूसँग बाक्लो फोन सम्पर्क देखियो किन? भनेर सम्म सोधिएन।

सम्बन्धित समाचार:

१८ साउन, २०८०, १९:४८:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।