सय किलो सुन प्रकरणमा समातिएका दुई चिनिया र रोहन अडुकिया छुटे

सय किलो सुन प्रकरणमा समातिएका दुई चिनिया र रोहन अडुकिया छुटे

काठमाडौँ : सय किलो सुन तस्करीमा संलग्न रहेको आशङ्कामा राजश्व अनुसन्धान विभागले पक्राउ गरेको दुई चिनिया नागरिक शनिवार छुटेका छन्।

सुन तस्करीमा संलग्न रहेको भन्दै विभागले अध्यागमनको कालोसूचीमा राखेको रोहन अडुकिया पनि शनिवारै रिहा भए।

काठमाडौँबाट चीन जान लाग्दा ली जियालिङ र लिउ फुयान पक्राउ परेका थिए। यी दुवै जनालाई विभागले कालो सूचीमा राखेर नेपाल बाहिर जान नदिन अध्यागमनमा पत्र पठाएको थियो। विभागको पत्र अनुसारै उनीहरू पक्राउ परेका थिए।

अध्यागमन विभागले नियन्त्रणमा लिएर दुवै चिनियालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा बुझाएको थियो। ब्युरोको अनुसन्धानमा उनीहरू सुन तस्करीमा संलग्न नदेखिएको भन्दै रिहा गर्यो।

भारतको दिल्लीबाट काठमाडौँ आउनेक्रममा अध्यागमनले नियन्त्रणमा लिएका रोहन पनि शनिवारै थुनामुक्त भएका छन्। उनी पनि राजश्वको पत्रको आधारमा समातिएका थिए। तर उनलाई न अध्यागमनले बुझ्न मान्यो न सिआइबीले। शुक्रवार बेलुका अध्यागमनले आफ्नै हिरासतमा राखेर शनिवार उनलाई थुनामुक्त गर्यो।

सुन तस्करीको आरोपमा सिआइबीको हिरासतमा बेल्जियन नागरिक दावा छिरिङ, सुरेन्द्र तामाङ, भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल, एक्स-रे अपरेटर सरोज श्रेष्ठ, भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम, ग्लोबल प्रालिका सञ्चालक पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, राजन श्रेष्ठ, ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, उनका मामा रामकुमार भुजेल, हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ र चिनियाँ नागरिक लिन जेछियाङ छन्।

भन्सार एजेन्ट रूक्मिना सुब्बा स्वास्थ्यका कारण हाजिर जमानीमा हिरासत बाहिर छिन्।

प्रारम्भमा विभागले राजश्व छलीको आरोपमा अनुसन्धान गरिरहेका आरोपीहरू अहिले सिआइबीको हिरासतमा छन्। सिआइबीले सङ्गठित अपराध लगायतका आरोपमा उनीहरूमाथि अनुसन्धान गरिरहेको छ।

साउन २७, २०८० शनिबार १३:०५:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।