सुन तस्करी गराएको प्रमाणित गर भन्दै पार्टी बैठकमै रिसाए अर्थमन्त्री महत

सुन तस्करी गराएको प्रमाणित गर भन्दै पार्टी बैठकमै रिसाए अर्थमन्त्री महत

काठमाडौँ : सय किलो सुन तस्करीबारे राजश्व अनुसन्धान विभाग अनि प्रहरी अनुसन्धानमै रहे पनि प्रमुख प्रतिपक्षी दल एमालेले उच्चस्तरीय छानबिन समितिको माग राखेर निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ।

उसले सदन चल्न दिएको छैन। उता सरकार भने समिति गठनका लागि तयार देखिएको छैन। गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्मा यसबारे प्रस्टीकरण दिए पनि एमालेले चित्त नबुझाइरहेको बेलामा सत्ताधारी दल नेपाली काङ्ग्रेसभित्र समेत समिति गठनको माग उठ्न थालेको छ।

काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले सार्वजनिक मञ्चहरूमा समिति गठनको माग राख्दै आएका थिए। अर्का नेता शेखर कोइरालाले राजश्व अनुसन्धान विभागमा प्रमुख नवराज ढुङ्गाना र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्बन्धबारे उल्लेख गर्दै अनुसन्धानमा शङ्का गर्ने गरेका थिए।

आइतबारको काँग्रेस संसदीय दलको बैठकमा डा. शेखर र पौडेल दुवैले सुन तस्करीबारे उच्चस्तरीय छानबिन समिति गठनको माग उठाए।

शेखरले बैठकमा नेपाललाई तस्करीको अखडा बन्नबाट रोक्न समिति गठन गर्नुपर्ने र एमालेले किन यो माग उठाइरहेको छ भनेर पार्टीले गम्भीर रूपमा हेर्नुपर्ने धारणा राखेका थिए। उनले भारतमा हरेक वर्ष पाँच सय टन सुन नेपालबाट तस्करी भएर जाने गरेको दाबी समेत गरेका थिए।

केन्द्रीय सदस्य पौडेलले सुन तस्करी प्रकरणसहितका चर्चामा रहेका घटनाहरूको छानबिन गर्न उच्चस्तरीय समिति बन्नुपर्ने धारणा राखेका थिए।

उनले पार्टीको संसदीय दलको बैठकले उच्चस्तरीय समिति गठनबारे निर्णय नै गर्नुपर्ने माग समेत राखेका थिए।

' हामीले निर्णय गरिसकेपछि सरकारले मानेन भने सरकारप्रतिको समर्थन फिर्ता लिनुपर्छ’ पौडेलले बैठकमा भनेका थिए।

उनले छानबिन समिति गठन गर्न सरकारले चासो नदेखाउँदा राजनीतिक नेतृत्व समेत शंकामा परेको भन्दै अनुसन्धानमा भरिया समातिएको तर भारी बोकाउने नसमातिएको भन्दै आलोचना गरेका थिए।

बैठकमा नेता कोइरालाले सांसद सुनिल शर्मा पक्राउको समेत विरोध गरेका थिए। उनले सुन तस्करीबारे संसद्मा बोलेको आधारमा शर्मालाई पक्राउ गरिएको दाबी गरेका थिए। शर्मालाई सिआइबीले नक्कली शैक्षिक प्रमाण पत्रको अनुसन्धानका लागि पक्राउ गरेको थियो। अदालतले हिरासतमा नराखी अनुसन्धान गर्न भनेपछि उनी छुटेका थिए। सुनिल शेखरका निकट नेता हुन्।

काँग्रेस संसदीय दलको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन तस्करी प्रकरणमा आफ्नो संलग्नता प्रमाणित गर्न चुनौती नै दिएका थिए। उनले आफूमाथि यस्तो आरोप लगाउनेले प्रमाणित गर्नुपर्ने भन्दै बैठकमै रिसाएका थिए। 

कांग्रेस सांसद सुनिल शर्माले सुन तस्करीमा गृहमन्त्री र अर्थमन्त्रीबारे समेत छानविन हुनुपर्ने बताउँदै आएका थिए। उनले डा महत वडाको निर्वाचनमा समेत पराजित हुने भन्दै आलोचना गरेका थिए।

बैठकमा डा महतले कसैलाई होच्याउने र लाञ्छना लगाउने ट्रयाक रेकर्ड न आफ्नो दाई रामशरण महतको भएको न आफ्नो भएको भन्दै पार्टीका सबै अनुशासनमा बस्नुपर्ने धारणा राखेका थिए। 

साउन २८, २०८० आइतबार २२:१०:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।