महरामाथि अनुसन्धान गर्ने गृहमन्त्री श्रेष्ठको संकेत !

महरामाथि अनुसन्धान गर्ने गृहमन्त्री श्रेष्ठको संकेत !
फाइल तस्वीर

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा मुछिएका आफ्नै पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरालाई कारबाही गर्ने संकेत देखाएका छन्। 

आइतबार बसेको माओवादी पदाधिकारी तथा सरकारबाट सहभागी मन्त्रीहरूको बैठकमा गृहमन्त्री श्रेष्ठले महरा दोषी देखिए कारबाहीको भागीदार हुनुपर्ने बताएका हुन्। 

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले बैठकमा सुशासन र भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा सरकारले गरिरहेको कामबारे जानकारी गराएका थिए। उनले महराबारे पनि सीआईबीको रिपोर्ट र मिडियामा आएका समाचारबारे जानकारी गराएका थिए।

चिनियाँ नागरिक ली हानसोङले २०७९ पुस १० मा फ्लाई दुबईको उडानबाट आउँदा भेपको ७३ बट्टामा ७ सय ३० थानमा करिब ९ केजी सुन लुकाएर ल्याएको प्रकरणमा महरा मुछिएका हुन्। महरासँगै उनका छोरा राहुल इलेक्ट्रिक चुरोट (भेप) प्रकरणमा मुछिएको सीआईबीको प्रतिवेदनले देखाएको थियो। 

महराका छोरा राहुलले सुन ल्याउने चिनियाँ नागरिकसँग पटक-पटक फोन गरेको तथ्य सीआइबीले फेला पारिसकेको छ। 

गत १७ देखि २१ गतेसम्म काठमाडौंमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा भने महराले आफूलाई सुन तस्करीसँग जोडेको भन्दै गुनासो गरेका थिए। त्यस क्रममा उनले आफ्नो कनेक्सन सुन तस्करीसँग भएको प्रमाणित गरे कारबाहीको भागिदार हुने बताएका थिए।

यद्यपि सरकारले भने महरा र उनका छोरामाथि अनुसन्धान गरेको छैन। यता प्रतिपक्षी एमालेले सुन तस्करी प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको आशंका गर्दै लगातार संसद अवरुद्ध गर्दै आएको छ। उसले उच्चस्तरीय समिति बनाएर सबैखाले काण्डको छानबिन गर्न माग गर्दै आएको छ। 

साउन २८, २०८० आइतबार १९:२२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।