सुन तस्करीमा राजश्वको अनुसन्धान पारा : आफैँ कालो सूचीमा राख्ने, पक्राउ परेपछि नबुझ्ने

सुन तस्करीमा राजश्वको अनुसन्धान पारा : आफैँ कालो सूचीमा राख्ने, पक्राउ परेपछि नबुझ्ने
राजश्व अनुसन्धान विभागका प्रमुख ढुंगाना

काठमाडौँ : सय किलो सुन तस्करीमा संलग्न देखिएको भन्दै राजश्व अनुसन्धान विभागले विवादित व्यवसायी राकेश अडुकियाको कमलपोखरीमा रहेको घरमा छापा मार्यो। केही डकुमेन्ट नियन्त्रणमा लियो। अनि राकेश र उनको छोरा रोहन फेला नपरेपछि दुवैको विवरण अध्यागमन विभागमा पठाएर कालो सूचीमा राख्न लगायो।

राकेश कहाँ छन् खुलेको छैन। रोहन शुक्रवार दिल्लीबाट काठमाडौँ आउनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागले नियन्त्रणमा लियो। प्रहरीको सुरक्षासहित उनलाई राजश्व अनुसन्धान विभागमा लैजाँदा विभागले' बुझ्न समय पुगेन' भनेर अध्यागमनमै फर्कायो। अहिले रोहन अध्यागमनकै हिरासतमा छन्।

आफैँ अध्यागमनको कालो सूचीमा राख्न लगाउने अनि जब व्यक्ति पक्राउ पर्छन् लिन नमान्ने विभागको व्यवहारले उसले गरेको सुन तस्करीको अनुसन्धानको प्रक्रियाको कमजोरी सार्वजनिक गरेको भएको छ।

राजश्व आफैँले मात्र सुन तस्करीबारे अनुसन्धान गर्न खोजेको थियो। प्रहरीमार्फत अनुसन्धान गराउन दबाब बढेपछि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा अनुसन्धानको जिम्मा प्रहरीले पाएको थियो। अनुसन्धान सुरु भएको दुई हप्तापछि मात्रै प्रहरीले औपचारिक अनुसन्धान सुरु गरेको थियो।

राजश्व छलीसँगै सङ्गठित अपराध लगायतका कसुर समेत आकर्षित भएपछि सुन तस्करीको अनुसन्धान राजश्व अनुसन्धान विभागबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा पुगेको छ।

ब्युरोले १७ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। शुक्रवार पक्राउ परेका रोहनलाई ब्युरोले पनि बुझ्न मानेन। अध्यागमनले उनलाई राजश्वले कालोसूचीमा राख्न भनेकाले उसैलाई बुझाउने तयारी गरेको छ।

सुन तस्करीमा जोडिएका भनिएका आरोपीलाई प्रहरीले किन बुझ्न मानेन? केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायत ब्युरोको अनुसन्धानमा रोहन फरार आरोपी नभएकाले उनीसँग प्रहरीको तत्काल सरोकार नभएको बताए।

'प्रहरीले गरिरहेको अनुसन्धानमा रोहनको संलग्नता छ या छैन भन्ने केही खुलेको छैन। ब्युरो अनुसन्धानमै छ,' उनले उकेरासँग भने' अनुसन्धानकोक्रममा उनको संलग्नता देखिए पक्राउ गर्न जुन प्रक्रिया अपनाउनुपर्ने हो प्रहरीले अपनाउँछ। अहिलेलाई उनलाई नियन्त्रणमा लिनुपर्ने कारण छैन।'

उनले प्रहरीले सुन तस्करीको जालो केलाउन गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको र पक्राउ गर्नुपर्ने कोही नदेखिए कसैलाई पनि छुट नहुने बताए।

'अनुसन्धानमा जो संलग्न देखिन्छन् उनीहरूलाई अनुसन्धानको दायरामा ल्याउन नेपालमै भए त्यही प्रक्रिया अनुसार पक्राउ गरिहाल्छौँ। कोही नेपालमा नभएर बाहिर गएको अवस्था खुले रेड कर्नर जारी गराउने कि डिफ्युजन नोटिस जारी गराउने त्यो प्रहरीले नै गर्छ' प्रवक्ता कडायतले भने।

२६ साउन, २०८०, २०:५९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।