पाँच करोडमा रुमल्लिएको निर्मल पुर्जाको कार्यालयमा भएको विस्फोट घटनाको अनुसन्धान ६ महिनामा पनि सकाएन सिआइबीले

पाँच करोडमा रुमल्लिएको निर्मल पुर्जाको कार्यालयमा भएको विस्फोट घटनाको अनुसन्धान ६ महिनामा पनि सकाएन सिआइबीले

काठमाडौँ : ग्याँस विस्फोटमा नेपाली काँग्रेसका नेता चन्द्र भण्डारी घाइते भएको घटनाको अनुसन्धान सक्काउन प्रहरीलाई एक महिना पनि लागेन। भण्डारीको आमाको मृत्यु भएको सो घटनाको कारण ग्याँस लिक भएको निस्कियो।

उता कपनमा तीन जनाको ज्यान जाने गरी चर्चित आरोही निर्मल पुर्जाको कम्पनी एलाइट एडभेन्चरको कार्यालय रहेको घरमा भएको शङ्कास्पद विस्फोट घटना भएको छ महिना बित्दा समेत प्रहरीले अनुसन्धान सकाएको छैन। त्यो पनि अन्य युनिटले हैन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले।

यो घटनाबारे प्रारम्भमा प्रहरी वृत्त बौद्धले अनुसन्धान गरेको थियो। विस्फोटको प्रकृति केवल हिमाल चढ्दा प्रयोग हुने अक्सिजन ग्याँसका कारण मात्र देखिएन।

कम्पनीले हिमालमा बाटो खोल्न अवैध विस्फोटक पदार्थ ल्याएर कार्यालयमा राखेको र आगलागीमा त्यो पड्किएको दाबी गर्दै विभिन्न ठाउँहरूमा उजुरी पर्यो।

उता एलाइटकै सञ्चालकहरूले पनि विस्फोटको प्रकृति हेरेर ग्याँस सिलिन्डर मात्र नपड्किएको र विस्फोट भएको स्थानमा शङ्कास्पद रूपमा एलपिजी ग्याँसका सिलिन्डरहरू देखिएको भन्दै शङ्का गरे।

घटना शङ्कास्पद देखिएपछि अनुसन्धानमा सीआइबी पनि प्रवेश भयो। तर अहिलेसम्म न अनुसन्धानको निचोड निस्किएको छ न त फाइलै बन्द भएको छ।

सीआइबी प्रमुख किरण बज्राचार्य अहिलेसम्मको अनुसन्धानमा अक्सिजन सिलिन्डर कै कारणले घर जलेको भन्ने देखिएको दाबी गर्छिन्।

विष्फोटमा परेको कपनको घर जहाँ निर्मल पुर्जाको कार्यालय थियो। तस्बिर : कृष्पा श्रेष्ठ

‘हामीले प्रत्यक्ष यो केस हेरेका हैनौँ। बौद्ध प्रहरीलाई सघाइरहेका हौँ। हामीबाट खटिएका अनुसन्धानमा संलग्न प्रहरीका अनुसार अहिलेसम्म प्राप्त अनुसन्धानले सिलिन्डर ग्यासकै कारणले घर जलेको देखिन्छ। पूरै प्रतिवेदन नआई यही कारण हो भन्न सकिन्न।’

यसबारे बौद्ध प्रहरीसँग पनि खुलाउने कुनै तथ्य देखिएन। न त बौद्ध वृत्तको तालुकवाला उपत्यका प्रहरी कार्यालयसँग नै कुनै उत्तर छ।

मुद्दा किन अगाडि बढेन?

एलाइटका सञ्चालकमध्येका एक निर्मल पुर्जा नेपाल आउँदा प्रधानमन्त्रीदेखि प्रहरी प्रमुखसम्म भेट गरेर विस्फोटको घटना मिलाउन लबिङ गरिरहेका छन्।

उनी दोहोरो नागरिकता र दोहोरो राहदानीका आरोपी समेत हुन्। बेलायती नागरिक हुँदाहुँदै उनले नेपाली राहदानी नत्यागेको अनि नेपाली राहदानी समेत लिएको उकेराले खुलासा गरेको थियो।

त्यसपछि उनले बेलायतमा गएर बेलायतस्थित नेपाली दूतावासमा निवेदन दिएर नेपाली नागरिकता त्यागे। दोहोरो राहदानीबारे काठमाडौँ प्रहरी परिसर, अध्यागमन विभाग अनि राहदानी विभागमा उजुरी परेको थियो। उजुरीको अनुसन्धान अझै टुङ्गिएको छैन। उनी बेलायती नागरिकको रूपमा निर्बाध नेपाल आउँछन्। तर प्रहरीले चासो देखाएको छैन।

उता दुई जनाको ज्यान गएको घटनाले जाहेरीको स्वरूप समेत लिएको छैन। यसमा प्रहरी घरधनीलाई दोष देखाउँछ भने घरधनी प्रहरीलाई।

उपत्यका प्रहरी कार्यालयका प्रवक्ता हिमालय कुमार श्रेष्ठले यसबारे जाहेरी नआएकाले मुद्दा दर्ता नभएको घरबेटी र एलाइट एडभेन्चरका सञ्चालकहरू आपसमा मिल्ने कुरा भएको दाबी गरे।

विष्फोटपछिको घरको छतको अवस्था। तस्बिर : कृष्पा श्रेष्ठ

घर जलेको २०७९ असोज ५ गते। ठ्याक्कै ६ महिना पुगिसक्यो। यति लामो समय सम्म किन अनुसन्धान नसकिएको भन्ने उकेराको प्रश्नमा उपत्यका प्रहरी कार्यालयका प्रवक्ता श्रेष्ठले गोलमोटोल जवाफ दिए।

उनले भने, ‘अनुसन्धान नै नभएको त होइन। हामीले अनुसन्धान गरिरहेका छौँ। ६ महिना मात्रै होइन अरू धेरै समय पनि लाग्न सक्छ नि।’

‘घरबेटी र एलाइट एडभेन्चरका सञ्चालकहरू एक आपसमा मिलेर जाने भनेकाले अदालतमा मुद्दा दर्ता नभएको हो,’श्रेष्ठ भन्छन्, ‘ के कारणले घर जलेको हो भन्नेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।’

घरधनी टङ्क घिसिङ आफूले बौद्धमा जाहेरी दिन खोज्दा नलिएको अनि काठमाडौँ प्रहरी परिसर टेकुमा जाँदा जाहेरी नदिई मिल्न सुझाव दिएर फर्काएको दाबी गरे।

असोज ५ गते के भएको थियो?

दशैँ सुरु हुनु पाँच दिन मात्र बाँकी रहँदा काठमाडौँको कपनमा साँझ ६ बजेतिर अकस्मात् ठूलो आवाजका साथ लगातार विस्फोटको आवाज आयो। प्रत्यक्षदर्शीहरूका अनुसार आवाजसँगै भुइँचालो आए जस्तै जमिन हल्लिएको थियो।

असोज ५ को त्यो साँझ कपनको लसुनटारस्थित टङ्क घिसिङको साढे तीन तल्लाको पक्की घर दनदनी बलेको देखे छिमेकीहरूले।

घटनामा दुई जनाको ज्यानै गयो– ताप्लेजुङ घर भएका २९ वर्षीय तेन्जिङ शेर्पा, सोलुखुम्बु घर भएका २४ वर्षीय छेवङ शेर्पा र सङ्खुवासभा घर भएका ३२ वर्षीय अशोक राई। सोही घटनामा घाइते भएका कुशल बुढाथोकी उपचारपछि निको भए।

निर्मलको कम्पनी एलाइट एड्भेन्चरको कार्यालय भएको कोठा। विष्फोटको शुरुवात यहीँबाट भएको थियो। तस्बिर : कृष्पा श्रेष्ठ

ज्यान गुमाउनेहरू एलाइट हिमालयन एडभेन्चर्सका कर्मचारी थिए जुन कम्पनी अहिले भिआईपी हिमाल आरोहीहरूको आकर्षणको केन्द्र बनेको छ।

उकेराले केही प्राविधिक अनि विस्फोटबारे जानकार व्यक्तिलाई घटनास्थल लगेर देखाएको थियो। उनीहरू पनि सो घरमा केवल अक्सिजन ग्याँसको सिलिन्डर मात्र पड्किएकोमा विश्वस्त हुन सकेनन्। तर के पड्कियो होला अनुमान गर्न सक्ने अवस्था पनि देखिएन।

उकेराले ज्यान गएका दुई जनाको परिवार, एलाइट कम्पनीका सञ्चालकमध्येका एक अनि घर जलेका टङ्क घिसिङ लगायतकासँग भेटेर,घटनास्थलको अवलोकनका साथ योसँग जोडिएको पाटोबारे रिपोर्टिङ गर्दा पनि रहस्य थप बल्झियो तर सुल्झिएन।

घटनामा ज्यान गुमाएका तेन्जिङ शेर्पाकी श्रीमती भएको दाबी गरिरहेकी युवन्तिका तामाङ एकातिर तेन्जिङको परिवारले स्विकारेन भन्ने गुनासो गर्छिन्। अर्कातिर उनी आफैँ नक्कली नागरिकताको मुद्दामा जिल्ला अदालत चितवनबाट धरौटीमा रिहा भएकी छिन्।

कपन विष्फोटमा ज्यान गुमाएका तीन पर्वतारोही।

घटनामा आफ्ना भाइ छेवाङलाई गुमाएका पासाङ शेर्पा घटनाको राम्रोसँग अनुसन्धान नै नभएको गुनासो गर्छन्।

घरका साहु म्यानपावर व्यवसायी घिसिङले एलाइटसँग पाँच करोड क्षतिपूर्ति मागिरहेका छन्। तर कतै उजुरी गरेका छैनन्। उनले सो घर राखेर बैङ्कबाट तीन करोड बढी ऋण निकालेको उकेराले पत्रै फेला पारेको छ। तर यसबारे उनी खुलाउन चाहँदैनन्।

एलाइट कम्पनीका सञ्चालकमध्येका एक मिङमा डेबिट शेर्पा विस्फोटबाट जुन रूपमा घरमा क्षति भएको छ त्यसबारे आफूहरूलाई समेत शङ्का रहेको दाबी गर्छन्।

लामो समयदेखि पर्यटन व्यवसायमा संलग्न र निम्ससँगै हिमालहरू आरोहण गरेर कीर्तिमान बनाएका उनी हिमाल चढ्दा प्रयोग हुने अक्सिजन ग्याँसको सिलिन्डरहरू मात्र पड्कँदा त्यत्रो क्षति हुनै नसक्ने बताउँछन्। के पड्कियो उनी पनि अनुमान गर्न सक्ने अवस्थामा छैनन्। तर आफूहरूले गैर कानुनी रूपमा कार्यालयमा विस्फोटक पदार्थ नराखेको दाबी गर्छन्।

भान्छाको रूपमा प्रयोग गरेको कोठाको ग्याँसको सिलिन्डर सकुशल रहेको तर आगलागी भएको ठाउँमा आठ वटा एलपिजी ग्याँसका सिलिन्डरहरू देखिएको भन्दै त्यसबारे प्रहरीले विस्तृत अनुसन्धान नगरेको गुनासो गरे। आगलागीमा ५० वटा स्लिपिङ ब्याग, डाउन ज्याकेट, ब्याग, म्याट्रेस लगायतका सामान जलेको उनले जानकारी दिए। 

'भान्छाको चामल पनि डढेको छैन। भान्छामा रहेको एलपिजी ग्याँस केही भएको छैन,' उनले उकेरासँग भने' हामीसँग भएको एलपिजी ग्याँसको एउटा मात्रै सिलिन्डर थियो। तर आगो लागेको ठाउँमा पाँच वटा पड्किएको अनी तीन वटा केही नभएको एलपिजी ग्याँसको सिलिन्डर थियो। त्यो कहाँबाट आयो?'

घटनामा उनको भाइको समेत मृत्यु भएको थियो।

'विस्फोटमा मेरो भाइ समेत मारिएको छ। मेरो भाइ किन मारियो मलाई पनि जानकारी त हुनुपर्छ,’ उनले उकेरासँग भने’ तर कतैबाट कुनै जवाफ आएको छैन।’

विष्फोट भएको स्थानको भान्छा जहाँ कुनै क्षति भएको छैन। तस्बिर : कृष्पा श्रेष्ठ

उकेराको खोजमा प्रहरी अनुसन्धानलाई टुङ्ग्याउनतिर भन्दा पनि सबै पक्ष आफैँ मिलून् भन्नेमा बढी केन्द्रित रहेको देखियो। त्यसैको प्रमाण हो ६ महिनासम्म अनुसन्धान नटुङ्गिनु।

एलाइटका सञ्चालक निर्मल पुर्जा आफ्नो हाई प्रोफाइल छविको प्रयोग गरेर राज्यका निकायलाई आफू अनुकूल निर्णय गराउन सक्रिय देखिन्छन्। उनी कहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेटेर सहयोग माग्छन् त कहिले प्रहरी महानिरीक्षक।

घरधनी टङ्क घिसिङलाई पनि घरमा कसरी विस्फोट भयो भन्नेतिर भन्दा पनि क्षतिपूर्ति बापतको रकममै बढी ध्यान गएको देखियो।

मारमा परे ज्यान गुमाएका तीन परिवारका सदस्य। जसले अहिलेसम्म आफ्नो परिवारको सदस्यको मृत्युको कारण दुर्घटना हो या घटना थाहा पाउन सकेका छैनन्।

सम्बन्धित समाचार

७ बैशाख, २०८०, १७:२८:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।