जाली भारूमा जोडिँदा थ्रेटमा पूर्व एआईजीदेखि खेलाडीसम्म, ज्यान जोगाउन युनुस र इल्ताफ जेलमा

जाली भारूमा जोडिँदा थ्रेटमा पूर्व एआईजीदेखि खेलाडीसम्म, ज्यान जोगाउन युनुस र इल्ताफ जेलमा

काठमाडौं : २०७४ पुस १२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुटकेस लिन गएका युनुस अन्सारीको साथबाट सात करोड नक्कली भारतीय रूपैयाँ बरामद हुँदा प्रहरी आफैँ छक्क पर्यो।

यो भन्दा अगाडि युनुस २ पटक जाली भारूसहित पक्राउ परेर जेल परिसकेका थिए। दुवै पटक उनी जाली भारूसहित फेला परेका थिएनन्। पहिलो पटक ब्लुबर्डमा रहेको उनको कोठामा जाली भारू फेला परेको थियो। पछि घरमै पक्राउ परेका उनी आफैँ सुटकेस लिन जाँदा पक्राउ परेका थिए।

जाली भारतीय रूपैयाँसहित युनुससँगै तीन जना नेपाली र तीन जना पाकिस्तानी नागरिक पक्राउ परे। अन्सारी, नसरुद्दिन अन्सारीसँगै सुजन रानाभाट, रोयल खान अनि पाकिस्तानी नागरिक मोहम्मद अक्तर नाशिव उद्दिन, तथा नाविया अनवर पक्राउ परेका थिए। जाली भारू फेला परेको सुटकेस कतार एयरवेजमार्फत आएको थियो।

केन्द्रीय कारागारभित्रै रहेको बेला भारतबाट आएका सुटर मनमित सिंह भाटियाले हत्या गर्ने प्रयास गर्दा पनि जोगिएका युनुसको आफ्नो ज्यान जोखिममा रहेकोबारे जानकार थिए।

जमिम शाहको हत्यापछिको अनुसन्धानमा सो टोलीको पहिलो टार्गेट युनुस रहेको तर उनी जेलमा रहेकाले पटक-पटक प्रयास गर्दा पनि सम्भव नभएपछि टार्गेट बदलिएर जमिम मारिएको प्रहरी अनुसन्धानले नै खुलाएको थियो।

OOO

त्यसको केही समयपछि इल्ताफ अन्सारी जाली भारतीय रूपैयाँको कारोबारमा संलग्न रहेको आरोपमा अदालतबाट तोकिएको कैद सजाय कटाउन पक्राउ परे। केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेर नक्खु कारागार पठाएको थियो।

तर, घटनाक्रमले उनी लुक्दै बसेको अवस्थामा प्रहरीले खोजी गरेर पक्राउ गरेको भन्दा पनि उनकै इच्छामा पक्राउ परेको देखाएको थियो। किनकि अदालतबाट सजाय तोकिए पनि उनी काठमाडौं र बारामा खुल्लमखुल्ला हुँदा पनि त्यसअघि प्रहरीले पक्राउ गर्ने प्रयासै गरेको थिएन।

तोकिएको कैद सजाय भुक्तान गरेर जेलमुक्त भएको केही समयमै २०७७ साउन २९ गते उनी १५ किलो नक्कली सुन प्रकरणमा पुन पक्राउ परेर जेल पुगे। प्रहरीले चाँदीमा सुनको लेपन लगाएको १५ किलो धातु बा ६ च ५५११ नम्बरको गाडीमा फेला पारेको थियो। जुन गाडी अन्सारीकै थियो।

जाली भारूको कारोबारमा नख्खु जेलमा रहेका बेला उनीसँगको भेटमा उनले आफू इल्ताफै नभएको दाबीसमेत गरेका थिए।

OOO

जब-जब युनुस रिहा भएर जेल बाहिर आए उनी केही समयमै पुन: जेल पुगे। यसलाई सुरक्षा अधिकारीहरू ज्यान बचाउन युनुसले बनाएको रणनीतिको रूपमा लिन्छन्।

उनी दोस्रो र तेस्रो पटक जसरी नाटकीय रूपमा पक्राउ परे, त्यसले पनि हैन भन्ने देखिँदैन। उनी अहिले नख्खु कारागारमा छन्। नख्खु कारागारमै रहेका अन्सारी पनि जाली भारतीय रूपैयाँको कारोबारमा संलग्न रहेकोमा रेड लिस्टमै रहेका व्यक्ति हुन्।

युनुसको हत्या प्रयास गर्दा पक्राउ परेका मनमितसँगको बयान र अनुसन्धानमा प्रहरीले त्यही समयमा इल्ताफ, युनुसका बाबु सलिममियाँ अन्सारी लगायत ४ जना रेड लिस्टमा रहेको खुलाएको थियो।

सो खुलेपछि प्रहरीले उनीहरूलाई सुरक्षाकर्मी दिन प्रस्ताव गर्दा पूर्व मन्त्री समेत सलिममियाले लिए। अन्यले मानेनन्। सलिममियाको निधन भइसकेको छ।

सङ्गठित अपराधका अनुभवी इल्ताफले नयाँ धन्दा सुन तस्करी सुरु गरेर आफ्नै गाडी प्रयोग गर्ने मूर्खता गरेको पत्याउने कमै छन्।

जेल बाहिर बस्दाको सुरक्षा थ्रेटबाट जोगिन उनले जेल जाने उपाय अनुसार यस्तो तरिका अपनाएकोमा सङ्गठित अपराधबारे अनुसन्धान गर्ने प्रहरी अधिकारीहरूमा शङ्का देखिएन।

OOO

गत सोमबार गोठाटारमा जाली भारतीय रूपैयाँको कारोबारमा जोडिएर भएको एक हत्यामा नौ वर्ष जेल परेर रिहा भएको ४ वर्षमै लाल मोहम्मद मारिएपछि अन्तर्देशीय अपराधमा जोडिएकाहरू बाचुन्जेल सुरक्षा खतरामा रहने देखाएको छ।

यसले युनुस र इल्ताफझैँ ज्यान जोगाउन कारागार नरोजेकाहरू थ्रेटमा रहेको देखिन्छ। यसरी थ्रेटमा हुनसक्ने सूचीमा नेपाल प्रहरीका पूर्व एआईजीदेखि पटके समेत छन्।

OOO

नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक पदमा बहाल रहेकै बेला रमेश शेखर बज्राचार्यको नाम आयो जाली भारतीय रूपैयाँको कारोबारमा।

यस्तो गम्भीर अपराधमा उनको नाम जोडिनुको कारण थियो भारतको लखनउमा पक्राउ परेका शेख जावेद इकवालको बयान। उनको बयान उद्धृत गर्दै 'हिन्दुस्तान टाइम्स'ले उनले प्रहरीको गाडीको प्रयोग गरेर जाली भारतीय रूपैयाँ सीमा पार गराउने गरेको आरोप लाग्यो।

उनले लिखित रूपमै 'हिन्दुस्तान टाइम्स'ले प्रकाशित गरेको समाचारको खण्डन गरे। सो पत्रिकाले लखनउको प्रति आतंकवाद स्क्वायडको हवाला दिँदै समाचार प्रकाशित गरेको थियो।

त्यो बेला प्रहरी महानिरीक्षक थिए उपेन्द्रकान्त अर्याल। खण्डन प्रकाशितले मात्र उनीमाथि लागेको आरोप मेटिने सम्भावना थिएन। यता प्रहरी प्रधान कार्यालयले तत्कालीन एआईजी सुरेन्द्र शाहको नेतृत्त्वमा छानबिन समिति नै गठन गरेको थियो।

छानबिन समितिले प्रतिवेदन बुझायो। तर, त्यो कहिल्यै सार्वजनिक भएन। एक भेटमा बज्राचार्यले 'समितिले आफूलाई सफाइ दिएको दाबी गरेका थिए।

गत सोमबार गोठाटारमा लाल मोहम्मद मारिएपछि अहिले हिजोका दिनमा भारतीय जाली नोटको कारोबारमा संलग्न रहेको आरोपी र दोषी ठहरिएकाहरू पुन रेड लिस्टमै रहेको जोखिम देखियो। किनकि मोहम्मद पछिल्लो समयमा जाली भारतीय रूपैयाँको कारोबारमा संलग्न रहेको नदेखिए पनि उनी भारतीय सुरक्षा एजेन्सीको रेड लिस्टमै रहेको देखियो।

जानकार स्रोत बज्राचार्य एआईजीको रूपमा नभई उनी अञ्चल प्रहरी कार्यालयको प्रमुखको रूपमा वीरगञ्जमा हुँदा जाली भारतीय रूपैयाँको कारोबारमा संलग्नहरूसँग निकट रहेको विवरण मेटिइसकेको छैन।

उनी वीरगन्जबाट सरुवा भएर तत्कालीन महानगरीय प्रहरी कार्यालय अनि त्रिभुवन विमानस्थलको प्रमुख रहँदासम्म पनि भारतीय सुरक्षा एजेन्सीले जाली भारूको कारोबारमा रहेको भनेर सूचीकृत गरेका व्यक्तिहरूसँग बज्राचार्यको सम्बन्ध रहेको खुलेको थियो।

जाली भारूको कारोबारमा संलग्न रहेको पुष्टि भएसँगै कारागार पुगेका इल्ताफ अन्सारी समूहलाई सहयोग गरेको उनीमाथि आरोप लाग्दै आएको थियो।

यति मात्रै हैन जाली भारतीय रूपैयाँ लिएर पाकिस्तानबाट आएकी मरियम नामक एक महिलालाई लिन विमानस्थल पुगेका भारतीय नागरिक इमरान तेलीलाई बज्राचार्यले भगाएको आरोपमा तत्कालीन केन्द्रीय अनुसन्धान ब्यूरोले नै अनुसन्धान गरेर तत्कालीन प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीलाई प्रतिवेदन समेत बुझाएको थियो।

तर, उनीमाथि सङ्गठनले कुनै कारबाही गरेन। जाली भारतीय रूपैयाँको कारोबारमा जोडिएकाहरू एकपछि अर्को गर्दै मारिन थालेपछि इमरान तेली आफैँ भारत पुगेर सरेन्डर गरेका थिए। उनी अहिले पनि भारतकाे जेलमै छन्।

इमरानभन्दा अगाडि भारतीय सुरक्षा एजेन्सीले जाली भारूको कारोबारमा संलग्न रहेको भन्दै वीरगन्जका शेख जावेद  इकवाललाई काठमाडौंको न्युरोड गेटबाट उठाएर लखनउ पुर्याएको थियो।

बज्राचार्यको नाम उनै इकवालको बयानबाट जाली भारूको कारोबारमा तानिएको थियो। सार्वजनिक भएको इकवालको बयानमा बज्राचार्य वीरगन्जमा रहँदा उनकै गाडीमा इल्ताफ लगायतकाले जाली भारतीय रूपैयाँ सीमा पार पुर्याउने गरेको दाबी गरिएको थियो।

जानकार स्रोतका अनुसार वीरगन्ज हुँदादेखिकै बज्राचार्यको गतिविधिमा भारतीय सुरक्षा एजेन्सी विशेष गरी लखनउमा रहेको एन्टी टेरोरिस्ट स्क्वायडका अधिकारीहरूले शङ्का गरेका थिए। तर, उनीमाथि अनुसन्धान हुँदा उनी एआईजीमा बढुवा भएपछिको गतिविधि केन्द्रित भएर सफाइ दिइयो।

त्यो बेलामा प्रहरी प्रधान कार्यालयले नेपालस्थित भारतीय दूतावासमा समेत पत्राचार गरेको थियो। जवाफमा दूतावासले बज्राचार्यबारे त्यस्तो केही नभएको भन्दै पत्र पठायो। त्यसैलाई सफाइको आधार बनाइएको थियो।

'प्रहरी प्रधान कार्यालयले ‌औपचारिक पत्र पठाएकाले लेटर प्याडमै इन्टेलिजेन्स रिपोर्टको विवरण खुलाउन नमिल्ने भएकाले औपचारिक रूपमा त्यस्तो केही नभएको जवाफ आएको थियो,' यसबारे जानकार एक प्रहरी अधिकारीले भने, 'तर अनौपचारिक भेटघाटमा भारतीय सुरक्षा अधिकारीहरूले भारत विरोधी गतिविधिमा लागेकाहरूबारे जानकारी दिँदा पनि नेपालले वास्ता नगर्ने गरेको भन्दै गुनासो गर्थे।'

बज्राचार्यले अहिले अवकाश पाइसकेका छन्। उनी अहिले चौधरी समूहको सिजी फुडमा संलग्न छन्। उनी सिजी फुडको तर्फबाट युनाइटेड इन्स्योरेन्सको बोर्डमा समेत छन्। जाली भारतीय रूपैयाँको कारोबारमा नाम जोडिएर रेड जोनमा रहेका अर्का नेपाली हुन् शेख सफी अहमद। उनी इल्ताफ समूहका सदस्य हुन्।

इल्ताफ जुन केसमा कारागारमा पुगेका थिए अहमद पहिला त्यही केसमा जेल परेका थिए। ललितपुरमा रहेको उनको कोठामा फेला परेको करिब सात लाख नक्कली भारतीय रूपैयाँकै केसमा उनीसहित इल्ताफ समेत दोषी ठहर भएका थिए। अहमद पक्राउ परे। इल्ताफ लामो समयपछि मात्र पक्राउ परे।

चाचा नामले परिचित उनी वीरगन्ज जेलमा बसेका थिए। त्यहाँबाट भाग्ने योजना बनाएको खुलेपछि उनलाई केन्द्रीय कारागारमा ल्याइयो। उनी पाँच वर्ष अगाडि नै रिहा भइसकेका छन्।

अर्का हुन् बारा सपहीका सुरेन्द्र चौधरी। लाल मोहम्मदले गोली हानेर बलराम पटुवाको हत्या गरेपछिको अनुसन्धानमा उनी नै योजनाकार देखिएका थिए। त्यो बेला प्रहरीको प्रतिआतंकवाद इकाईले गरेको अनुसन्धानमा उनी युनुस अन्सारीको प्रतिस्पर्धी समूहका नाइके रहेको देखिएको थियो।

बलराम पटुवाको हत्याको कारण नै उनले चौधरी समूह छाडेर युनुस समूह निकट हुनु अनुसन्धानमा खुलेको थियो।

नेपाल तेक्वान्दो सङ्घका तत्कालीन कोषाध्यक्ष रवि सिंह छक्क पार्ने गरी जाली भारूको कारोबारमा जोडिए। उनकै घरबाट जाली भारू फेला परेपछि उनी जेल समेत पुगे।

एक करोड भारूसहित पक्राउ परेका शेख मोहम्मद र नुर उल्लाहको बयानबाट उनी पोलिएका थिए। नुरु उल्लाह जमिम शाहका सहयोगी समेत हुन्। त्यो बेला उनी दाउद इब्राहिमको सहयोगी रहेको सुरक्षा निकायका अधिकारीले दाबी गरेका थिए। तर, पुष्टि हुने आधार भने सार्वजनिक भएन।

२०७० वैशाख ३० मा पक्राउ परेका उनी जाली भारूको अभियोगमा २ वर्ष जेल बसेर रिहा भए। २०७३ कात्तिकमा उनी कल बाइपास गराएको आरोपमा पक्राउ परेका थिए।

OOO

२०६४ यता एकै प्रकारको आपराधिक कार्यशैलीमा जो-जो मारिए उनीहरूमाथिको आरोप कि जाली भारूको कारोबार कि भारत विरोधी गतिविधिमा संलग्न रहेको नै हो।

मजिद मनिहार, सौकत बेग, जमिम शाह, फैजान अहमद हुँदै लाल मोहम्मदसम्मलाई लागेको आरोप एकै हो। २०७९ असोजमा आएर जुन प्रकारले लाल मोहम्मदको हत्या भयो अनि यो शृङ्खलामा हिट लिस्टमा रहेकाहरू जसरी नाटकीय रूपमा जेल गएर बसेको देखिन्छ यसले बाहिर रहेकाहरू कुनै न कुनै रूपमा जोखिममा रहेको देखिन्छ।

फलोअप स्टोरीहरू

११ असोज, २०७९, १६:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।