हत्याको सजिलो ट्याग 'भारत विरोधी गतिविधिमा संलग्न', देखिने राजन-बब्लु, अप्रेेशन इन्चार्ज खुफिया एजेन्सी

हत्याको सजिलो ट्याग 'भारत विरोधी गतिविधिमा संलग्न', देखिने राजन-बब्लु, अप्रेेशन इन्चार्ज खुफिया एजेन्सी

काठमाडौँ : प्रहरीको विशेष ब्युरो, उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालय अनि जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोली लाल मोहम्मद हत्यामा संलग्न सुटरहरुको खोजीमा खटिएको छ।

उपत्यका प्रहरी कार्यालयले एसएसपी जनकराज भट्टराईको नेतृत्वका पाँच सदस्यीय समिति समेत बनाइसकेको छ। प्रहरी नाकासँगै सम्भावित क्षेत्रमा खोजीमा सक्रिय देखिन्छ। तर यस्तै पुराना घटनाको अपराध कार्यशैली हेर्ने हो भने सुटरहरु पक्राउ पर्ने सम्भावना न्यून देखिन्छ।

सिफलमा मारिएका मिर्जा दिलसाद बेग, वीरगन्जमा मारिएका रमाशंकरदेखि बारामा मारिएका शौकत बेग, अफताब आलम, मजिद मनिहार, केन्द्रीय कारागारमा भएको युनुस अन्सारीको हत्या प्रयास, खुर्सीद आलम अन्सारीको हत्या, जमिम शाह अनि फैजान अहमदको हत्यासम्मको घटनाको अनुसन्धानमा सुटरहरुले एकै रुट प्रयोग गर्ने गरेको खुलेको थियो।

यस अगाडि जुन अपराध कार्यशैली अपनाइयो लाल मोहम्मदको हत्यामा समेत उही शैली अपनाइएकाले पुराना घटनासँग जोडेर यो घटनाको अनुसन्धान गर्नुपर्ने बताउँछन् पूर्व डिआइजी हेमन्त मल्ल। मल्ल यही अपराध शृङ्खलामा जोडिएको युनुस अन्सारीको हत्या प्रयासको अनुसन्धानको नेतृत्व गरेका प्रहरी अधिकृत हुन्।

मोहम्मदको जुन शैलीले हत्या भयो त्यसले पुरानै हत्या शृङ्खलासँग यसलाई जोडेको छ। घर नजिकैको गेस्ट हाउसमा बसेर निगरानी गर्ने, हत्यामा मोटरसाइकल प्रयोग गर्ने,टाउकैमा गोली हानेर भाग्ने शैली पुरानै घटनाकै कार्यशैली हुन्।

मिर्जादेखि फैजान हत्यासम्मका रणनीति हेर्ने हो भने यस्ता घटनामा संलग्न सुटरहरु घटना गराएको २४ घण्टाभित्र सीमा पार पुगिसक्ने गरेको देखिन्छ।

प्रहरीले मङ्गलवार घटनामा संलग्न तीन जानमध्ये एक जना बसेको मोहम्मदको घर नजिकैको कोसीपारी गेस्ट हाउस एन्ड होटेलमा तीन दिन अगाडि जितेन खानको नाममा बसेको देखिएको छ।

गेस्ट हाउसमा एक्लै बसे पनि उनलाई भेट्न अन्य तीन जना बारम्बार आउने गरेको आधारमा घटनामा न्यूनतम ४ जना संलग्न रहेको देखिन्छ। घटना लगत्तै उनीहरू गेस्ट हाउसमा नफर्की झोलै छाडेर भागेका थिए।

दोस्रो सेल्टर कता?

यस्ता योजनामा संलग्नहरू बिरलै होटेल या गेस्ट हाउसमा बस्छन्। अधिकांश घटनामा संलग्नहरू डेरामै बसेको देखिन्छ। मिर्जाको हत्यामा संलग्नहरू पनि डेरामा बसेका थिए। जमिम शाह अनि फैजान अहमदको हत्यामा संलग्नहरू पनि डेरामै बसेका थिए।

मिर्जाको हत्यामा संलग्नहरूले नेपाल प्रहरीका अवकाशप्राप्त अधिकृतको घरमा डेरा लिएका थिए। जमिमको हत्यामा संलग्नहरूले उसैगरी सशस्त्र प्रहरीका अवकाशप्राप्त प्रहरी अधिकारीको शान्तिनगर कात्यानी मन्दिर क्षेत्रमा रहेको घरमा डेरामा बसेका थिए।

फैजान अहमदको हत्यामा संलग्नहरू कलङ्की क्षेत्रमा डेरामा बसेका थिए। युनुस अन्सारीको हत्या प्रयासमा असफल समूह भक्तपुरमा डेरामा बसेका थिए।

लाल मोहम्मदले एक महिना अगाडि नै लेनदेनको विवादमा आफ्नो ज्यान खतरामा रहेको भन्दै प्रहरी बिट जम्मुडाँडामा निवेदन दिएकाले सो समूह एक महिना अगाडिबाटै गोठाटार क्षेत्रमा सक्रिय रहेको देखिन्छ।

हत्यामा संलग्नमध्ये एक जना नजिकैको गेस्ट हाउसमा बसे पनि अन्य भने डेरामा बसेको देखिन्छ। तर त्यो डेरा कता छ प्रहरीले फेला पार्न सकेको छैन।

'जो गेस्ट हाउसमा बसेको हो उ सुटर हुने सम्भावना छ। अन्य सहयोगी,' यस्ता घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने' उनीहरू गेस्ट हाउस बाहेक पनि अन्यत्र बसेका हुन्छन्। यस्तो सेल्टर सकेसम्म घटना गराउने स्थानबाट निकै टाढा हुन्छ।'

टार्गेट सूचीमा थिए मोहम्मद

जानकार प्रहरी अधिकारीका अनुसार मोहम्मद जाली भारु र आतङ्कवाद सम्बन्धी अनुसन्धान गर्ने भारतीय सुरक्षा टोलिको सूचीमै थिए। उनीहरूसँगको अनौपचारिक छलफलमा पटक-पटक मोहम्मदको नाम लिने गरेका थिए।

नक्कली भारतीय रुपैयाँको कारोबारसँगै भारत र पाकिस्तानमा रहेका इस्लामिक लडाकुलाई सेल्टर दिने गरेको भन्दै भारतीय सुरक्षा अधिकारीले मोहम्मदलाई पक्राउमा सघाउन आग्रह गर्ने गरेका थिए। बलराम पतुवारको हत्यामा तोकिएको सजायमा ९ वर्ष जेल बसेर उनी कारागारमुक्त भएपछि पनि उनीबारे भारतीय सुरक्षा निकायका अधिकारीले चासो राखेका थिए।

भारतमा लुकेर बसेका नेपाली र नेपालमा लुकेर बसेका भारतीय नागरिकलाई अनौपचारिक रूपमा हस्तान्तरण हुनु सामान्य घटना हुन्। तर नेपालबाट नेपाली नागरिक लैजान र भारतबाट भारतीय नागरिक ल्याउन भने जटिल हुन्छ।

मोहम्मद नेपाली नागरिक भएकाले उनलाई भारत लैजान सहयोग गर्न सकेनन् नेपाली सुरक्षाकर्मीले। त्यसैको नतिजा सोमबारको घटना भएको हुनसक्ने देखिन्छ।

बारम्बार एकै नाका

अनुसन्धानमा खुलेका तथ्यहरूले यस्ता घटनामा संलग्न सुटरहरुले एकै रुटको प्रयोग गर्ने गरेको देखिन्छ। अधिकांश सुटरहरु भारतको उत्तर प्रदेशबाट भैरहवाको सुनौली नाका हुँदै नेपाल भित्रिने र काम सकिएपछि त्यही नाकाबाट भारत छिर्ने गरेको देखिन्छ।

काठमाडौँमा मारिएका जमिम शाह अनि फैजान अहमदको हत्यामा संलग्नहरू सुनौली नाका हुँदै नेपाल आएका थिए। अनि घटना भएको बिहानै सुनौली पारी पुगेको खुलेको थियो।

'मधेसमा भएका एकाध हत्या घटनामा नेपालगन्जको नाका प्रयोग गर्ने गरेको देखिए पनि काठमाडौँमा भएका यस्तै घटनामा भैरहवाको सुनौली नै प्रयोग हुने गरेको देखिन्छ,' अनुभवी प्रहरी अधिकारीले भने' यो घटनामा पनि सुनौली नाकाकै प्रयोग भएको हुनसक्ने सम्भावना बढी छ।'

अझै समातिन सक्छन् निगरानी टोली

लाल मोहम्मदको परिवारबाट आएको जानकारी अनुसार उनलाई यस अगाडि नै गोली हानेर हत्या गर्ने प्रयास भएको थियो। तर टार्गेट मिस भएको देखियो।

दोस्रो प्रयासमा उनी सोमबार मारिए। यस्तो घटनामा पहिलो दिनमै सुटर आउँदैनन्। पहिला निगरानी गर्ने समूह आएर टार्गेटबारे सूचना सङ्कलन गर्छन्।

टार्गेट कुन समयमा कहाँ जान्छ, को-को संलग्न सम्बन्ध छ अनि हत्या गर्न कहाँ सहज हुन्छ भन्ने सबै सूचना सङ्कलन गरेपछि घटनाको २-३ दिन अगाडि सुटर आउने र हत्या गरेर जाने गरेको देखिन्छ।

यस्तो आपराधिक कार्यशैलीले जो गेस्ट हाउसमा बसेका थिए उनी यो घटनाको सुटर हुने सम्भावना बढी देखिन्छ। जो उनलाई भेट्न आउँथे ती निगरानी गर्ने टोलीका सदस्य हुने सम्भावना छ।

'घटना घटेको २४ घण्टा बित्दा पनि कोही फेला नपरेकाले अब सुटर पक्राउ पर्ने सम्भावना अति न्यून छ,' अर्का एक प्रहरी अधिकारीले नाम नलेख्ने सर्तमा भने' तर होसियारी अपनाउने हो भने निगरानी गर्न आएको समूहका कोही पक्राउ पर्न सक्छन् अझै।'

अनुसन्धानमा प्रहरीको अलमल

पहिलाका घटनाको अनुसन्धानमा संलग्न रहेका प्रहरी अधिकारीले घटनाको प्रकृतिको आधारमा उनीहरूको आपराधिक कार्यशैलीको काउन्टर अनुसन्धान शैली अपनाउन सक्थे। जसले सुटरहित निगरानी टोली समेत एम्बुसमा पर्ने सम्भावना बलियो हुन्थ्यो।

तर अहिले यस्तै खालका आपराधिक घटनाको सफल अनुसन्धान गरेका प्रहरी कर्मचारी छिन्नभिन्न छन्। केहीले अवकाश पाइसके। त्यसको प्रभाव लाल मोहम्मद अनुसन्धानमा देखियो नै।

जानकार प्रहरी अधिकारीका अनुसार नेपालमा भारत विरोधी गतिविधिमा संलग्नहरूमाथि दिल्लीको टोली र उत्तर प्रदेशको एन्टी टेरोरिस्ट स्क्वायडले अप्रेशन गर्ने गर्छ।

दिल्लीको टोलीको प्राथमिकता सकेसम्म ज्युँदै लैजाने हुन्छ। नेपालमा आएका अब्दुल करिम टुँडा, यासिन भट्कल अनि जावेद इकवाल ज्युँदै भारत पुगेका थिए। भट्कललाई फाँसी भयो। अन्य अहिले पनि भारतको जेलमा छन्।

तर उत्तर प्रदेशको एन्टी टेरोरिस्ट स्क्वायडको प्राथमिकता सफाया नै हो। उनीहरूले गर्ने अप्रेसनमा अधिकांश मारिएका नै छन्।

लाल मोहम्मद समेत मारिए। घटनाक्रमले व्यक्तिगत दुस्मनीका कारण हत्या भएको देखिएको छैन। अनुसन्धानमा अनुभवी प्रहरी अधिकारी संलग्न भएको अवस्थामा उनीहरू भारत फर्कने सम्भावित सुनौली नाकामा ब्लक गर्न सक्थे।

निरन्तर निगरानी पछि मात्रै यस्तो घटना घटाइने भएकाले लाल मोहम्मदको दैनिक गतिविधिका आधारमा सो क्षेत्रको सिसिटिभी फुटेज सङ्कलन गर्दा कमसेकम निगरानी गर्न खटिएकामध्ये कसैको पहिचान खुल्न सक्थ्यो। जसले उनीहरूलाई सहजै पक्राउ गर्न सकिन्थ्यो।

'घटना भएको रातभरमा घटनामा संलग्नमध्ये कसैको तस्बिर फेला पारेको भए उनीहरूलाई नाकामा जहाँ पनि ब्लक गर्ने सम्भावना हुन्थ्यो। तर लामो समयपछि नेपालमा रहेका सामान्य सहयोगी बाहेक अन्य पक्राउ पर्ने सम्भावना कम हुन्छ।

घटनाको २४ घन्टापछि प्रहरीले अनुसन्धान समिति गठन गर्यो। त्यो अगाडिसम्म प्रहरी बृत्त बौद्ध, उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालय अनी काठमाडौँ जिल्ला परिसरविच कुन काम कसले गर्ने भन्ने हानथाप चलेको थियो।

मोहम्मदको छोरीसँग परिसरले बयान लियो। झोला अर्कै युनिटले लियो अनी गेष्टहाउको फुटेज बौद्ध बृत्तमा पुगेको थियो। 

जिल्ला प्रहरी परिसरका प्रवक्ता दिनेश मैनाली घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरी सक्रिय रहेको बताए।

'अपराधीलाई उम्कन नदिन जे-जे उपाय अपनाउनुपर्ने हो सबै अपनाएर अनुसन्धान भइरहेको छ,'उनले भने।

एकै सुटर प्रयोग हुन्छन् पटक-पटक

युनुस मार्न हतियार बोकेर केन्द्रीय कारागार पुगेका मनमित सिंह भाटिया अनि बारामा आफताब आलमको हत्या गरेर भाग्दै गर्दा उखुबारीमा फहद अहमद पक्राउ परे। अहिलेसम्म नेपालमा पक्राउ परेका सुटर यी दुई जना मात्रै हुन्।

फहद अहमद उर्फ विपिन यादव उर्फ रबी पाण्डे पक्राउ परेपछि काठमाडौँमा फैजान अहमदको हत्यामा उनी नै सुटर रहेको खुलेको थियो। अनि युनुसलाई जेलमै गोली हान्नेक्रममा पक्राउ परेका मनमितले नै मजिद मनिहारलाई गोली हानेको खुलेको थियो।

नेपालमा पक्राउ परेका २ सुटर मनमित सिंह भाटिया र फहद अहमद

यति मात्रै हैन जमिम हत्यामा जोडिएका आदित्य पाल, त्रिलोक सिंह  अनि सुटर मानिएका मोहम्मद वाकर सईदले नै २०६६ मै बुटवलका सौकत अलि बेगको गोली हानी हत्या गरेको खुल्यो। फहद अहमदले नै फैजानको हत्या गरेको उनी अगाडि नै पक्राउ परेका सहयोगी ट्याक्सी चालक धनबहादुर थापा मगरले पुष्टि गरेका थिए।

यस्ता अप्रेसनमा एकै सुटर बारम्बार प्रयोग हुने गरेको देखिन्छ। पहिलाका घटनामा नाम खुलेको तर पक्राउ नपरेको भनेको मोहम्मद वाकर सईद नै हुन् जो यस अगाडि जमिम र सौकतअलीको हत्यामा संलग्न भइसकेका छन्।

जमिमको हत्यापछि बदलियो रणनीति

जमिम शाहको हत्या योजनासहित नेपाल आएका टोलीसँग नेपाल प्रहरीका बहालवाला मात्रै हैन पूर्व प्रहरी समेत संलग्न देखिए। नेपाल प्रहरीका पूर्व डिएसपी जगदीश चन्द समूहको मुख्य सहयोगी नै देखिएका थिए।

ती सबै एक्सपोज भए। चन्दपछि पक्राउ पनि परे। त्यसपछि भने यस्ता अप्रेसनमा हाई प्रोफाइल प्रयोग नगरी सामान्य सहयोगी प्रयोग गर्ने गरेको खुल्यो।

फैजान अहमद हत्यामा ट्याक्सी चालकलाई प्रलोभनमा पारेर सहयोगी बनाएको खुल्यो। सोमबार मारिएका लाल मोहम्मदको हत्यामा संलग्नलाई गेस्ट हाउसमा राख्न कवाडी सङ्कलन गर्ने एक नेपाली देखिएका छन्।

अनि यस्ता अधिकांश घटनामा पक्राउ पर्नेमा त्यही सहयोगी नेपाली नै हुन्।

सजिलो ट्याग' भारत विरोधी गतिविधिमा स‌ंलग्न'

यो शृङ्खलामा जति मारिएका छन् तर जति सुरक्षा जोखिममा छन् उनीहरूमाथि लाग्ने आरोप भनेको भारत विरोधी गतिविधिमा संलग्न भन्ने नै देखिन्छ। अनि अधिकांश दाउद इब्राहिम र पाकिस्तानसँग जोडिन्छन्।

अपवादमा कमलसिंह नेपाली र फैजान अहमदको हत्या हो। नेपालीको हत्याको कारण दाउद र छोटा राजनबिचको दुस्मनी मात्र देखिएको थियो। फैजानको हत्याको कारण अझै खुलेको छैन।

भारतले लगाउने सबै आरोप मिथ्या देखिएका पनि छैनन्। दाउदसँग सम्बन्ध रहेको भनिएका मिर्जादिलसाद बेगमाथिका अधिकांश आरोपहरू उनको हत्यापछि गठन भएको सरकारी आयोगले नै पुष्टि गरेको थियो। जमिम शाहमाथिका अधिकांश आरोप मिथ्या देखिएनन्। यही शृङ्खलामा मारिएका मजिद मनिहार अनि सौकत बेग पनि कुनै न कुनै रूपमा जाली भारुको कारोबारमा स‌ंलग्न नै देखिए।

बाँचेकामध्ये युनुस अन्सारी त पटक-पटक जाली भारुसहित समातिएकै छन्। इल्ताफ अन्सारी जाली भारु कारोबारमा अदालतबाटै सजाय पाए। 

कुनै न कुनै रूपमा अपराधमा संलग्न भए पनि आपराधिक समूहको प्रयोग गरेर निरन्तर भइरहेको हत्याका घटनाप्रति न सरकार गम्भीर देखिएको छ न सुरक्षा निकाय नै। 

उता भारतबाट भारत विरोधी गतिविधिमा संलग्न भन्यो अनि यता नेपाली सुरक्षा निकायबाट आउने हत्याको कारण पनि उस्तै देखिन्छ। तर आरोपको अनुसन्धान गरेर संलग्न हो भने कारबाहीप्रति त्यति सक्रिय देखिँदैन। उनीहरूको मनस्थिति मारियो ठिकै भयो भनेजस्तो देखिन्छ।

कतिपय हकमा त राजनीतिक संरक्षणका कारण पनि ग्याङवारको आवरणमा सुरक्षाकर्मीबाट अप्रेसनमार्फत भएको देखिन्छ। यसको उदाहरण मिर्जा र जमिमको संरक्षण र हत्या घटना नै हो।

देखिने कारण दाउद र छोटा राजनको दुस्मनी

हत्या शृङ्खलामा सार्वजनिक भएको कारण अनि नेपाली सुरक्षा निकायले भन्ने पनि पाकिस्तानमा रहेको मानिने दाउद इब्राहिम अनि अहिले भारतको कारागारमा रहेका छोटा राजनबिचको दुस्मनी नै हो। बिचमा बब्लु श्रीवास्तव पनि जोडिन्छन्।

मुम्बई बम विष्फोटको घटनासँगै दाउद र छोटा राजन एक अर्काको दुस्मनको रूपमा देखिए। त्यसको बाछिटा नेपालसम्म परिरहेको छ। मिर्जा हत्यामा त यो प्रस्टै देखिएको नै हो। जमिम हत्यामा बब्लु श्रीवास्तवको भूमिका खुलेकै थियो। जमिम हत्या अनुसन्धानमा प्रहरीले भारतीय कारागारभित्र रहेका बब्लुले भित्रैबाट मोबाइल चलाएर नेपाल आएको टिमलाई निर्देशन दिने गरेको खुलेको थियो।

बब्लु श्रीवास्तव

युनुस अन्सारी हत्या प्रयासमा छोटा राजन जोडिए। पक्राउ परेका मनमित सिंह भाटियासँग अनुसन्धानमा संलग्न तत्कालीन प्रहरी अधिकारी र छोटा राजनबिच टेलिफोन संवादै भएको थियो। 

यो एक पाटो भयो। तर सुरक्षा निकायका अधिकारीहरू जो अन्तरदेशिय अपराधबारे जानकार छन् उनीहरू यसको दोस्रो पाटोबारे पनि राम्रो जानकार छन्। नेपालमा भएका अधिकांश सुरक्षा अप्रेसनमा राजन र बब्लु समूहका सदस्य प्रयोग भए पनि रणनीति निर्माण र परिचालनमा भने उनीहरू संलग्न देखिँदैनन्। उनीहरु देखिने मुहार मात्र हुन्।

४ असोज, २०७९, २२:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।