गेस्ट हाउसमा झोलै छाडेर भागे लाल मोहम्मदको सुटर, निगरानी गर्न घर नजिकै थियो सेल्टर

गेस्ट हाउसमा झोलै छाडेर भागे लाल मोहम्मदको सुटर, निगरानी गर्न घर नजिकै थियो सेल्टर

काठमाडौं : गोठाटारमा सोमबार बेलुका मारिएका लाल मोहम्मदको हत्यामा संलग्न सुटरहरू उनको घर नजिकैको गेस्ट हाउसमा बसेको खुलेको छ। प्रहरी अनुसन्धानमा घटनामा संलग्नमध्ये एक जना मोहम्मदको घर नजिकैको कोसीपारी गेस्ट हाउसमा बसेको खुलेको हो।

अनुसन्धान स्रोतका अनुसार त्यहीको एक स्थानीयले साथी भनेर उनलाई गेस्ट हाउसमा लगेका थिए। गेस्टहाउसको रजिष्टरमा उनको नाम जितेन खान लेखिएको छ। गेस्ट हाउसले उनको परिचय खुल्ने कुनै कार्ड नै नलिई कोठामा राखेका थिए।

स्थानीय र गेस्ट हाउसका कर्मचारीका अनुसार ती व्यक्ति तीन दिन अगाडि मात्रै गेस्ट हाउसमा आएर बसेका थिए। कोठामा एक्लै बसे पनि उनलाई भेट्न अन्य तीन जना व्यक्तिहरू समेत आउने गरेका थिए।

यसले घटनामा तीन जना संलग्न देखिए पनि थप व्यक्तिहरू समेत योजनामा रहेको देखिएको छ।

झोलै छाडेर भागे सुटर

प्रहरीले गेस्ट हाउसको कोठाको अनुसन्धान गर्दा एउटा झोला नै फेला परेको छ। यसले सुटरहरू लाल मोहम्मदको हत्या लगत्तै गेस्ट हाउस नगई भागेको पुष्टि भएको छ। झोलामा के-के फेला पर्यो भन्ने प्रहरीले खुलाएको छैन।

घटनास्थलको क्लोज सर्किट टेलिभिजनको फुटेजमा रातो सर्ट र जिन्स पाइन्ट लगाएका व्यक्तिले लाल मोहम्मदलाई लखेटेर गोली हानेको देखिन्छ। तर, अनुहार चिनिएको छैन। प्रहरीले सोमबार बेलुका त्यही कपडालाई आधार बनाएर रातो सर्ट र जिन्स पाइन्ट लगाउनेहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। तर फेला परेनन्।

सिसिटिभी फुटेजको खोजीमा प्रहरी

निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको हत्या अनुसन्धानमा सबैभन्दा बलियो प्रमाण बनेको थियो सिसिटिभी फुटेज। प्रहरीले गौचन हत्या अनुसन्धानमा घटनास्थलको मात्रै सुटर भागेको सम्भावित सबै क्षेत्रको फुटेज सङ्कलन गरेको थियो। जसले घटनामा संलग्नको पहिचान गर्न सहज भएको थियो।

लाल मोहम्मदको हत्या अनुसन्धानमा प्रहरीले घटनास्थलको फुटेज फेला पारेको छ जसले सुटरले लगाएको कपडाको पहिचान भएको छ। त्यो फुटेजमा मोटरसाइकल नम्बर नखुले पनि अन्यत्र पहिचान हुनसक्छ।

त्यही सूत्र अपनाउँदै प्रहरीले अहिले सुटरहरु मोटरसाइकलमा भाग्न सक्ने सम्भावित क्षेत्रको सिसिटिभी फुटेज सङ्कलनमा लागेका छन्।

अनुसन्धानमा तीन निकाय

मोहम्मदको आपराधिक पृष्ठभूमिले यो घटना सामान्य दुस्मनीका आधारमा भन्दा पनि सङ्गठित रूपमा भएको अन्तर्देशीय अपराधको सम्भावना बलियो देखिन्छ। त्यसैले घटनाको अनुसन्धानमा काठमाडौं जिल्ला परिसर, उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयसँगै प्रहरीको विशेष ब्यूरो समेत जोडिएको छ।

४ असोज, २०७९, १९:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।