कभर स्टोरी

अन्तर्देशीय गम्भीर अपराधमा प्रहरी चुक नियोजित कि त्रुटि !

जमिम हत्यापछि आयोगले जे-जे नगर्नु भनेको थियो सुरक्षाकर्मीले त्यही दोहोर्‍याउँदा सहजै भागे गोठाटार घटनामा सुटर र सहयोगी

'यो यथार्थलाई अझै पनि राज्यले महसुस नगरिरहने हो भने जमीम शाहको हत्या अन्तिम घटना मात्र नभई अन्य सम्भावित घटनाको पनि सूचक घटना हुन सक्दछ भन्ने आयोगको राय निष्कर्ष रहेको छ'।


जमिम शाहमाथि गोली प्रहार भएको स्थान।

(अडियो)

 

काठमाडौँ : जमिम शाहको हत्या अनुसन्धानमा चुक हुँदा सुटरसहित मुख्य योजनाकारहरू काठमाडौँबाट भाग्न सफल भए। गोली हानेको दिन मात्रै हैन भोलिपल्ट सम्मै शाह हत्या योजनामा संलग्नहरू काठमाडौँभित्रै थिए। नेपालमा समूह परिचालन गर्ने मुख्य व्यक्ति त्रिलोक सिंह शाहको हत्याको भोलिपल्ट मोटरसाइकलमा थानकोट हुँदै काठमाडौँबाट बाहिरिएर भारत पुगेको सरकारी अनुसन्धानमै खुलेको थियो।

काठमाडौँबाट उम्किएपछि उनी फेला परेका छैनन्। सुटरसहितका मुख्य सहयोगीहरू पनि फुत्किएपछि फेला परेनन्। प्रहरीले केवल नेपाली सहयोगी मात्रै पक्राउ गर्न सकेको थियो। घटनाको प्रकृतिले नै अन्तरदेशिय अपराध देखाएपछि छानबिनमा उच्चस्तरीय समिति गठन भएको थियो।

समितिले अनुसन्धानको केस्राहरू केलाएर भएका सुरक्षा चुकहरू उल्लेख गर्‍यो। जमिम मारिएको १३ वर्षपछि गोठाटारमा लाल मोहम्मद मारिए उसै गरी। जमिम हत्याको अनुसन्धानमा प्रहरीबाट जेजस्ता चुक भएको देखाउँदै अब नदोहोर्‍याउन आयोगले सुझाव दिएको थियो त्यही दोहोरिँदा लाल हत्याको एक साता पुग्न लाग्दा पनि प्रहरी घटनाका सुटर र सहयोगीसम्म पुग्नै सकेको छैन।

आयोगको प्रतिवेदनमा भारतीय अपराधीहरू जमिमलाई मार्ने उद्देश्यले नै नेपाल आएको र त्यसमा बब्बु/ दीपक  भन्ने त्रिलोक सिंहले भारतीय सुटर र सहयोगी टिमको नेतृत्व गरेको उल्लेख छ।

उनी नेपालको कृष्णनगर सिमानापारि बढनीबाट कृष्णनगरमा आउने, विभिन्न वैध अवैध व्यापार कारोबार गर्ने, स्थानीय विभिन्न व्यक्तिहरूसित सम्पर्क सम्बन्ध बढाउने, प्रहरी अधिकृतहरुसंग नजिकिने गर्थे। उनले नेपाली नागरिकता समेत लिए। उनले कृष्णनगरमा चिनेका प्रहरीलाई काठमाडौँमा जमिम हत्यामा उपयोग गरेको आयोगकै प्रतिवेदनमा उल्लेख छ।

सुटर मोहम्मद वाकर सइद (हैदर) पनि नेपालको कपिलवस्तुस्थित कृष्णनगर र तौलिहवातिर बरोबर आवत जावत गर्थे। त्रिलोकले नेपाल प्रहरीका निलम्बित डिएसपी जगदीश चन्दलाई जमिम हत्यामा उपयोग गरेका थिए। उनले जमिमसँग नजिक भएर उनको दिनचर्या बुझ्ने र तत्पश्चात् आफ्नो आपराधिक योजना र कार्यक्रम सञ्चालन गर्ने गरेका थिए। त्रिलोकले निलम्बित मात्रै हैन बहालवाला सई प्रकाश क्षेत्रीलाई समेत आफ्नो योजनामा संलग्न गराएका थिए।

उनीहरू तीन महिना अगाडिबाट काठमाडौँ आएर बसेर योजना बनाएर कार्यान्वयन गरेर भाग्दा समेत पक्राउ गर्न सकेन सुरक्षा निकायले। आयोगले त्यही ‌औँल्याउँदै प्रतिवेदनमा 'भारतीयहरूको नेपाल आगमन र बसोबास सम्बन्धमा अध्यागमन निकायतिरबाट खास कुनै निगरानी वा नियन्त्रण व्यवस्था नअपनाउँदा त्रिलोक सिंहलाई हत्या योजना र कार्यक्रम मिलाउन सजिलो भएको' निष्कर्ष निकालेको थियो।

आयोगले नेपालमा बसोबास गर्ने भारतीय नागरिकको हकमा तथ्याङ्क राखेर उनीहरू कुन प्रयोजनका लागि नेपालमा बसेका हुन् र के काममा संलग्न छन् भन्नेबारे निगरानी गर्न सुझाव दिएको थियो। त्रिलोकले जमिम हत्यामा खेलेझै भारतीय नागरिक नितिन मदन अरोराले लाल मोहम्मदको हत्यामा भूमिका निभाएको अहिलेसम्मको अनुसन्धानले देखाएको छ।

उनी लामो समयदेखि नेपालमा बस्ने, अवैध जुवा र हुन्डीमा संलग्न रहेको र केही प्रहरीसँग परिचित समेत रहेको खुलिसकेको छ। यसले जमिम हत्यामा भएको त्रुटि लाल मोहम्मदको हत्यामा पनि दोहोरिएको देखियो।

'बब्बु सहितका भारतीय अपराधीहरू काठमाडौँ आएर होटेल लज र विभिन्न ठाउँमा भाडामा बसेर बहालवाला र निलम्बित प्रहरी अधिकृतहरुसंग सम्पर्क र सम्बन्ध स्थापित गरेर सूचना र जानकारी लिएका छन्' आयोगको प्रतिवेदनमा भनिएको छ' गोली हानी मोटरसाइकलमा भागेका उनीहरूले गुप्त योजना, षडयन्त्र गर्दा पनि सुरक्षा निकायले थाहा पाएन भनेर आलोचना गर्नु ठिक हैन।'

प्रतिवेदनमा घटना अगाडि नै चाल नपाउनु सुरक्षा चुक नभए पनि हत्यापछिको अवस्थामा भने सुरक्षा चुक भएको किटानै गरेको छ। घटनाको लगत्तै अपराधी घटनास्थलबाट भाग्न सफल हुनु, घटनापछि सबैतिर चेक प्वाइन्ट राख्न, नाकाहरू सिल गरी चेक जाँच गर्न, हुलियाको आधारमा नियन्त्रणमा लिन, रातको समयमा सर्च, चेकिङ, खानतलासी र नाकाबन्दीलाई तीव्र नपार्दा उनीहरू उम्किएको उल्लेख छ।

'सोही दिन बेलुका र भोलिपल्ट बिहानै बब्बु लगायतका मुख्य अपराधीहरू उम्केर जान्छन् र सोही राति हत्यामा प्रयोग गरिएको मोटरसाइकल फुटुङ्गमा पुर्‍याई फालिन्छ भने कहीँ न कतै सुरक्षात्मक त्रुटि रहे भएकै स्थिति देखा परेको छ' प्रतिवेदनमा लेखिएको छ।

प्रतिवेदनमा जुनसुकै देशको सुरक्षा व्यवस्था पनि शतप्रतिशत त्रुटिरहित हुन नसके पनि एउटै प्रकृतिका घटनाको पुनरावृत्ति भइरहनु, आपराधिक कार्यविधिमा समानता देखिनु, घटनापश्चात् लगत्तै गरिने नाकाबन्दी, चेकजाँच जस्ता सुरक्षात्मक कारबाही प्रभावकारी नुहुनुलाई भने सुरक्षा चुकको रूपमा उल्लेख गरेको छ।

सम्भावित खतराको मूल्याङ्कन गर्ने राज्यको संयन्त्रले घटनाअघि र घटनापछिको स्थितिका विषयमा अनभिज्ञ रहनु, काठमाडौँ उपत्यकामा हातहतियार सहज रूपमा भित्रिन सक्नु, राजधानी भित्रको निगरानी व्यवस्थामा सुरक्षा निकायको कमजोर उपस्थिति रहनु, सार्वजनिक सेवामा अपराधीको सरल र सहज पहुँच जस्ता विषयले सुरक्षा व्यवस्थालाई अव्यवस्थित र कमजोर बनाएको प्रतिवेदनमा औँल्याइएको थियो।

'यो यथार्थलाई अझै पनि राज्यले महसुस नगरिरहने हो भने जमीम शाहको हत्या अन्तिम घटना मात्र नभई अन्य सम्भावित घटनाको पनि सूचक घटना हुन सक्दछ भन्ने आयोगको राय निष्कर्ष रहेको छ'।

र भयो पनि त्यस्तै। जमिम हत्यापछि पनि निरन्तर उस्तै शैलीका हत्याहरू भइनै रहे। फैजान अहमद लगायतकाहरु मारिए। तै पनि सुरक्षा निकायले कमजोरी सुधारेको देखिएन। उस्तै शैलीमा गत सोमबार लाल मोहम्मद मारिए। अनि उस्तै शैलीमा घटनामा संलग्नहरू फरार भए।

हत्यासम्बन्धी घटनाको प्रकृति, घटनास्थलको छनौट र घटना पश्चात् अपराधी सजिलै भाग्न उम्कन सफल भएका कारण राज्यको सुरक्षा व्यवस्था, खतराको मूल्याङ्कन र अनुमान गर्ने संयन्त्र, खबर सङ्कलन विधि, घटना पश्चातको कारबाही फितलो र प्रभावहीन देखिएको प्रतिवेदनमा उल्लेख छ।

शाहको हत्यामा संलग्न आपराधिक समूहको संलग्नताले नेपालमा कुख्यात अन्तर्राष्ट्रिय आपराधिक गिरोहको क्रियाशीलता र चासो बढेको सहज अनुमान गर्न सकिने प्रतिवेदनमा उल्लेख छ।

आयोगले यस्ता अपराध रोक्न नेपालमा बसोबास गर्ने, आवत जावत गर्ने विभिन्न आपराधिक गतिविधिमा संलग्न सञ्चार यातायात लगायत अन्य सेवाको उपयोग गर्ने सार्वजनिक सुरक्षा प्रणालीमा असर पर्न सक्ने विषयमा तथ्याङ्क सङ्कलन गरी तत्सम्बन्धी अभिलेखलाई दुरुस्त राख्ने, अद्यावधिक गर्ने र अध्ययन विश्लेषण गर्न सुझाव दिएको थियो।

उसले नेपाल प्रहरी भित्रको अपराध तथ्याङ्क प्रणालीलाई प्रहरीको कार्य क्षेत्रभित्र मुद्दाका अभियुक्तसँग मात्र सीमित नगरी यसलाई राष्ट्रिय अभिलेखालयका रूपमा विस्तारित गर्न आवश्यक रहेको सुझाव दिए पनि कार्यान्वयनमा आएन।

आयोगले सुझाइदिँदा केन्द्रीय अनुसन्धान ब्युरो बनिसकेको छैन। यस्ता अपराध हेर्ने विशेष ब्युरो भने थियो। पछि सिआइबी पनि गठन भयो तर यस्ता घटना भने रोकिएनन्।

प्रतिवेदनमा नाकाबन्दी योजना र राजमार्ग चेक जाँच र सुरक्षा योजनामा व्यापक परिवर्तन र परिमार्जन गर्न सुझाव दिइयो। आयोगले जमीम हत्या प्रकरणभन्दा ११ वर्षअघि भएको मिर्जा दिलसाद वेगको हत्याका सम्बन्धमा गठन भएको न्यायिक जाँचबुझ आयोगले पेस गरेको प्रतिवेदन समेत सान्दर्भिक रहेको तर त्यसमा दिइएको सुझाव समेत कार्यान्वयन नगरिएको उल्लेख छ।

'आयोगबाट उपलब्ध प्रतिवेदन हेर्दा शान्ति सुरक्षा, अपराध अनुसन्धान, विदेशी मूलका व्यक्तिहरूको आवागमन, आप्रवासन, गतिविधि र कृत्रिम नागरिकता समेतका कतिपय महत्त्वपूर्ण विषयमा सुझावहरू पेस गरेको देखिन्छ। तर, सो प्रतिवेदनमा उल्लेखित सुझावसँग सम्बन्धित कतिपय समस्याहरू हालसम्म पनि यथावत् रूपमा रहेको र त्यस्ता समस्याहरूले अझ विकराल रूप लिँदै गएको स्थिति देखा परेको छ,' प्रतिवेदनमा उल्लेख छ।

मिर्जा हत्या र जमीम हत्यासम्बन्धी दुवै घटनाको प्रकृति र संलग्नता मेल खाने किसिमको रहेको, अपराधीले प्रयोग गरेको आपराधिक कार्य योजनाको शैली र सुरक्षा चुहावटको अवस्थामा पनि समानता रहेको उल्लेख गरियो।

'यस अवधिभर सरकारले चुहावट नियन्त्रणका उपायमा कहाँ के कति मात्रामा ध्यान दियो दिएन भन्ने विषयवस्तुको मूल्याङ्कन गर्दा आयोगको सुझाव प्रतिवेदनको पानामा मात्र सीमित रहेको स्थिति बोध  हुन्छ। सरकारको धनराशि र विज्ञहरूको श्रमको उपयोग गरी तयार गरिएको सुझावलाई विना झन्झट सरकारले लागू गर्ने नीति बनाउनु उपयुक्त हुन्छ, प्रतिवेदनमा भनियो।

तर जमिम हत्या सम्बन्धी आयोगको अवस्था पनि उस्तै रह्यो।

जमिम शाहको हत्या अगाडि र हत्या पछाडि जे जस्ता सुरक्षा चुक भयो भनेर आयोगले औँल्यायो लाल मोहम्मदको हत्या घटना अगाडि र पछाडि पनि त्यही सुरक्षा चुक हुँदा योजनाकार र सुटरहरु सहजै सुरक्षित हुन सके।

फलोअप स्टोरीहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

रविको अर्को 'अपराध'को खुलासा : अमेरिकी पासपोर्ट हुँदाहुँदै झुक्याएर निकाले नेपाली पासपोर्ट

उनले निवेदनमा खुलाएको विवरणले उनीसँग सन् २०१८ मे १७ अर्थात् विक्रम संवत् २०७५ जेठ ३ सम्म अमेरिकी राहदानी नै रहेको पुष्टि हुन्छ। उकेराले प्राप्त गरेको....

चितवन- २ मा उपनिर्वाचन कि रविलाई सफाई ?

निर्वाचन कानूनअनुसार कुनै उम्मेदवारको उम्मेदवारीबारे कानूनी प्रश्न उठे मतपरिणाम घोषणा अगाडि भए निर्वाचन आयोगले निर्णय गर्नसक्छ। परिणाम आइसकेपछि भने यो सिधा संवैधानिक इजलासमा जान्छ। रविले....

गगनको संसद् यात्रा : घट्दो लोकप्रियता, बढ्दो जिम्मेवारी

विद्यादेवी भण्डारीलाई हराएर सांसद बनेकी घिमिरेको केही जोड चलेन। उनले सय हाराहारी मत ल्याइन्। पशुपति क्षेत्रका स्थानीय अनि काठमाडौँ-४ मा परिचित कुइँकेलको मत पनि थापाको....

आरोप असत्य हो भने ब्युँतिएको नागरिकता किन सार्वजनिक गर्दैनन् रवी!, किन फैलाउँदैछन् भ्रम ?

निर्वाचन कार्यालयमा उनले २०५० सालमा जिल्ला प्रशासन कार्यालयबाट निकालेको नागरिकताको प्रमाण पत्र पेस गरेका छन्। नेपालको नागरिकता सम्बन्धी कानुन अनुसार उनले अमेरिकी नागरिकता लिए लगत्तै....

नागरिकता ब्युँताउने प्रक्रिया पुरा नगर्दा रवीको कानुनी हैसियत 'अनागरिक'

नियमावली अनुसार उनले खारेज भइसकेको नागरिकता ब्युँताउन सम्बन्धित सरकारी कार्यालयमा निवेदन दिएर नयाँ नागरिकता निकाल्न अपनाउनुपर्ने कानुनी प्रक्रिया पुरा गरेपछि मात्रै उनको खारेज भएको नागरिकता....