गोठाटार घटनाको रेकी गर्ने र सम्भावित सुटरको सिसिटिभी फुटेज भेटियो, हत्या घटनामा जोडिए भारतीय नागरिक नितिन र सेट्टी

गोठाटार घटनाको रेकी गर्ने र सम्भावित सुटरको सिसिटिभी फुटेज भेटियो, हत्या घटनामा जोडिए भारतीय नागरिक नितिन र सेट्टी

काठमाडौँ : कोसीपारि लज एन्ड होटेलमा रहेको क्लोज सर्किट टेलिभिजनको फुटेजका आधारमा गोठाटारमा सोमबार मारिएका लाल मोहम्मदको हत्यामा भारतीय नागरिक नितिन मदन आरोरा संलग्न रहेको देखिएको छ। घटना लगत्तै गेस्ट हाउसमा रहेको झोलै छाडेर उनी भागेका थिए।

प्रहरीले फेला पारेको झोलामा नितिन मदन आरोरा, पन्जाब लेखिएको कार्ड बरामद भएको छ। कार्डमा रहेको तस्बिर र होटेलको फुटेजमा देखिएका व्यक्ति एकै जना रहेको र ती व्यक्तिसँगै अर्का क्याप लगाएका व्यक्ति समेत रहेको देखिएको छ।

अनुसन्धानमा खटिएको टोलीको निष्कर्ष अनुसार क्लोज सर्किट टेलिभिजन अगाडि नपर्ने गरी उनले क्यापले मुख लुकाउने प्रयास गरेका छन्। कालो ब्याग बोकेका व्यक्ति घटनाका सुटर रहेको र सुटरलाई सहजीकरण र रेकी गर्ने कामको नेतृत्व भारतीय नागरिक नितिनले गरेको अनुसन्धान समितिको प्रारम्भिक निष्कर्ष देखिन्छ। 

तीन दिनको अनुसन्धानमा लाल मोहम्मद हुन्डी कारोबारमा संलग्न देखिएको र नितिन समेत नेपालमा बसेर हुन्डी कारोबारमा संलग्न रहेको प्रहरीको आशंका छ। यसमा अपहरण अभियोग पुष्टि भएसँगै लामो समयदेखि जेलमा रहेका अर्का भारतीय अपराधी उदय सेट्टी समेत जोडिएका छन्।

लाल मोहम्मद र उदयको भेट नक्खु कारागारमा बस्दा भएको प्रहरीको निष्कर्ष छ। त्यही जेलमा जाली भारतीय रुपैँयाको कारोबारमा संलग्न रहेका अर्का युनुस अन्सारी पनि थिए। तर केन्द्रीय कारागारमा जेलभित्रै गोली हानेर हत्या प्रयास भएपछि उनलाई जेलभित्र पनि अन्य कैदीबाट छुटाएर एक्लै राख्ने गरिएको थियो।

त्यो बेलामा जाली भारतीय रुपैयाँको कारोबारमा संलग्न रहेको भन्दै अदालतबाट तोकिएको कैद सजाय काट्न लाल मोहम्मदले काम गर्ने नाइके इल्ताफ अन्सारी समेत नक्खु कारागारमै पुगेका थिए।

होटलको लबीमा देखिएका नितिन र अर्का भारतीय नागरिक। तस्बिर : नारायण अधिकारी

लाल मोहम्मद, इल्ताफ अनि उदयबिच भेटघाटमा कुनै बन्देज हुने कुरै भएन। किनकि तीनै जना एकै जेलमा थिए। नक्खुभित्र जेल नाइकेको विषयमा उदय सेट्टीसहितको टोलीले बारम्बार आन्दोलन गर्ने गरेपछि जेल प्रशासनले उनको सरुवा गराएर रसुवा पूर्यायो। यो बिचमा लाल मोहम्मद नौ वर्ष सजाय काटेर रिहा भइसकेका थिए।

कारागारमुक्त भएपछि लाल मोहम्मद र उदयबिच रसुवा कारागारमा भेट भएको रेकर्ड समेत अनुसन्धान समितिका प्रहरी अधिकारीले फेला पारेको दाबी गरिरहेका छन्। यहीबिचमा सो समूहमा नितिन पनि मुछिए।

तर अन्तरदेशिय अपराधबारे लामो समय अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूकै लागि नितिन नयाँ व्यक्ति हुन् यो शृङ्खलामा।

'अहिलेसम्मका यस्ता घटनामा नितिनको नाम आएको थिएन। यो श्रृंखलाका लागि उनी नयाँ ब्यक्ती हुन्,' जमिमदेखि फैजान हत्यासम्मको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने' नाम गलत प्रयोग गरेको या सहयोगीको रुपमा नयाँ ब्यक्ती प्रयोग गरिएको हुनसक्छ।'

रसुवा कारागारमा रहेका उदय सेट्टी

उदयसँग लाल मोहम्मदको हत्यामा सहजीकरण गर्ने व्यक्तिसँग सम्पर्क हुने गरेको देखिए पनि यसमा उनको भूमिका के हो भन्ने खुलेको छैन। उनी लामो समयदेखि अपहरणका २ घटनामा दोषी ठहर भएर कारागारमा रहेका व्यक्ति हुन्। उनी केन्द्रीय कारागार, नक्खुहुँदै रसुवाको जेलमा पुगेका हुन्।

भारतको मुम्बइमा बसेर नेपालमा अपहरणको धन्दा चलाएका अमर टण्डनको समूहमा रहेर नेपालमा हुने अपहरणमा संलग्न हुन थालेका उनी टण्डन पक्राउ परेपछि आफैँले नेपालीहरू भेला पारेर अपहरणको धन्दा चलाएका थिए। तर उनी लामो समय जोगिन सकेनन् र पक्राउ परिहाले।

नेपालमा उनी देखिनु अगाडि भारतमा दाउद इब्राहिम समूहका लागि काम गर्दा सुरक्षा खतरा बढेपछि नेपाल आएको केही सुरक्षा अधिकारीहरू दाबी गर्छन्। पछि उनले समूह बदलेर छोटा राजनका लागि काम गर्ने सन्तोष सेट्टी समूहमा रहेर काम गरेको दाबी समेत गरिन्छ। तर यसबारे पुष्टि हुने तथ्यहरू भने फेला परेका छैनन्। 

दाउद अनि छोटा राजनसँगको उनको सम्बन्ध गसिप हो या सत्य पुष्टि भइसकेको पक्ष हैन।

नेपालमा भएका हत्या श्रृंखलाहरुमध्ये मिर्जादिलसाद बेगको हत्यामा संलग्नहरू छोटा राजन र बब्लु श्रीवास्तव समूहसँग सम्बन्ध रहेको पुस्टी भएको थियो।

जमिम शाहको हत्यामा संलग्नहरू बब्लु श्रीवास्तवको सम्पर्कमा रहेको पनि पुष्टि भएकै विषय हो। अनि युनुस अन्सारीको हत्या गर्न आएका मनमित सिंह भाटियाको सम्बन्ध छोटा राजनसँग रहेको पुष्टि हुने जस्ता प्रमाण फेला परेका थिए।

उदय सेट्टीको दाउद या छोटा राजनसँगको सम्बन्ध पुष्टि हुने तथ्य नेपाल प्रहरीले फेला परेको देखिएन। भारतीय मिडियामा सन्तोष सेट्टीबारे प्रकाशित समाचारलाई नै नेपाली सुरक्षा निकायका अधिकारीहरुले आधार बनाएर उनलाई भारतीय अन्डरवर्डसँग जोड्ने गरेको देखिन्छ।

जेलमा बस्दाको उदय सेट्टीको आर्थिक हैसियतले पनि उनी भारतीय अन्डरवर्डका लागि काम गर्ने ब्यक्ती भएकोमा शंकै गराउँछ। कारागारमा रहेका मनमित सिंह भाटियाका लागि भारतबाट नियमित खर्च आउने गरेको र उनलाई कारागारमा आर्थिक पक्षमा कुनै समस्या भएको देखिएको छैन। तर उदयको अवस्था यस्तो छैन।

यस अगाडि उनी जाली भारतीय रुपैयाँको कारोबारमा मुछिएका पनि थिएनन्। प्रहरी अधिकारीहरुको मत अनुसार अपहरणमा संलग्न हुनेहरु जाली भारतीय रुपैंया या लागुऔषधको कारोबारमा बिरलै संलग्न हुन्छन्। यसले पनि लाल मोहम्मद घटनामा उदयको भुमिका अहिले नै यस्तै हो भन्न सक्ने आधार देखिएको छैन।

काठमाडौँमै बस्ने गरेका नीतिक प्राय न्युरोड क्षेत्रमा हुने भएकाले उनी नेपालमा बसेर हुन्डी कारोबारमा संलग्न रहेको प्रहरीको आङ्कलन भए पनि निष्कर्ष भने निस्किसकेको छैन।

'उ बदमास ब्यक्ती हो भन्नेसम्मको जानकारी हामीलाई पहिल्यैदेखि थियो। तर यो हदसम्मको अपराधमा संलग्न हुनसक्छ भन्ने सामान्य अनुमान पनि थिएन' नीतिकसँग पहिल्यै परिचित एक प्रहरी अधिकारीले भने।

नीतिनलाई गेस्ट हाउसमा कोठाका लागि सोही क्षेत्रका कवाडीको काम गर्ने अर्का व्यक्तिले सघाएको खुलेको छ। उनी तीन दिन अगाडि लाल मोहम्मदको घर नजिकै रहेको गेस्ट हाउसमा आउनु र उनी आएपछि अन्य अपरिचितहरू आउने जाने गरिरहनुले शुक्रवार अगाडि नै लाल मोहम्मदको मुभमेन्टबारे सबै सूचना सङ्कलन गरेर हत्याका लागि सबैभन्दा सहज गोठाटार उनी बस्ने घर अगाडि नै रहेको भन्दै उनीहरू सो क्षेत्रमा सक्रिय भएको देखिन्छ।  

दुई दिन लाल मोहम्मदलाई निगरानीमा राखेर तेस्रो दिन अनुकूल समय पारेर गोली प्रहार गरेको देखिन्छ।

सार्वजनिक भएको घटनास्थलको फुटेजमा लाल मोहम्मद चढेको गाडी अगाडि बढ्दा एक बाइक देखिन्छ। उनी सडकबिचमै गाडिबाट ओर्लिए लगत्तै अँध्यारो क्षेत्रतिरबाट गोली हानेको र उनी भाग्ने प्रयास गरेपछि पछाडि लखेटी-लखेटी गोली हानेको देखिन्छ।

मोहम्मद हत्या घटनाको अनुसन्धानका लागि उपत्यका प्रहरी कार्यालयले एसएसपीको नेतृत्वमा अनुसन्धान समिति गठन गरेको छ। सो समितिसँगै अन्तर्देशिय अपराध सम्बन्धी अनुसन्धान गर्ने विशेष ब्युरो समेत संलग्न छ।

फलोअप स्टोरीहरु

 

५ असोज, २०७९, २१:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।