डिआइजी राई भन्छन्' गोठाटार घटनाको फुटेज हेर्दा सार्प सुटरले गोली हाने जस्तो देखिँदैन'

डिआइजी राई भन्छन्' गोठाटार घटनाको फुटेज हेर्दा सार्प सुटरले गोली हाने जस्तो देखिँदैन'

सोमबार साँझ गोठाटारमा एक समूहले गोली हानेर लाल मोहम्मदको हत्या गरेको घटनामा भारतीय नागरिक संलग्न रहेको प्रारम्भिक विवरणहरू सार्वजनिक भए पनि घटनामा संलग्न कोही पक्राउ परेका छैनन्।

घटनामा संलग्न भएको अनुमान गरिएकामध्ये एक व्यक्ति लामो समयदेखि नेपालमा बसेर हत्यामा संलग्न समूहलाई सहजीकरण गरेसम्मका विवरण बाहिर आएका छन्। तर तीनले किन हत्या गरे अनि हत्यामा को-को संलग्न थिए भन्ने खुल्न सकेको छैन।

घटनाको चार दिनसम्म पनि आरोपी किन पक्राउ परेनन् ? अनि यो व्यक्तिगत दुस्मनीले निम्तिएको घटना हो या अन्तर्देशीय ? घटनापछिको अनुसन्धानमा प्रहरी किन चुकेको देखियो ? नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी टेकप्रसाद राईलाई उकेराको पाँच प्रश्न :

१-गोटाठारमा लाल मोहम्मदको जसरी हत्या भयो यो आन्तरिक अपराध हो कि अन्तर्देशीय ? चार दिन भइसक्यो अनुसन्धान सुरु भएको। अब त कसले?, किन हत्या गर्यो भन्ने निष्कर्षसम्म पुग्ने बेला त भयो नि हैन?

अहिले प्रहरी टोली अनुसन्धानमै छ। निष्कर्ष निकाल्ने बेला भइसकेको छैन। अनि यो यही कारणले भयो भन्ने अवस्थामा पनि हामी छैनौँ। मिडियामा यसलाई अन्तर्देशीय अपराधको रूपमा जोडेर सामाग्रीहरू आइरहेका छन्। हामीले त्यसलाई बेवास्ता गरेका छैनौँ। त्यो पनि अनुसन्धानको एक पाटो भने हो। 

अनुसन्धानमा हेरिने भनेको को मारियो? कहाँ मारियो ?, कसरी मारियो ? कसले मार्यो अनि किन मार्यो भन्ने प्रश्नको खोजी नै हो। यसमा को मारियो भन्ने आइसक्यो। लाल मोहम्मद भन्ने व्यक्ति मारिए। कहाँ मारिए भन्दा गोठाटार। अनि कसरी मारिए भन्दा गोली हानेर। अब अनुसन्धानको जटिल पाटो भनेको कसले मार्यो र किन मार्यो भन्ने प्रश्नको खोजी नै हो। यी दुवै प्रश्नको उत्तर खोज्ने काम भइरहेको छ।

२- हत्या हुनु अगाडि व्यक्तिलाई जोगाउन सकेको भए राम्रै हुन्थ्यो। ल जोगाउन सकिएन। तर हत्यापछि घटनास्थल अनि होटलको फुटेज फेला पार्दा पनि यत्रो दिनसम्म कोही पक्राउ गर्न नसक्नु अनुसन्धानको चुक हैन र ?

अब यसलाई कसरी हेर्ने भन्नेमा भर पर्ने विषय भयो यो। पहिल्यै हत्या योजना पत्ता लगाएर व्यक्तिको ज्यान जोगाउन सकेको भए त राम्रो हुन्थ्यो। तर प्राय अपराध कहाँ अनि कसरी हुन्छ भन्ने पहिल्यै सूचना नआउन पनि सक्छ।

मुख्य कुरा घटनापछि प्रहरीले कसरी काम गर्यो भन्ने नै हो। घटनास्थलमा पुग्ने, घाइतेलाई अस्पताल पुर्याउने, मृत्युपछि पोस्टमार्टम लगायत घटनासँग जोडिएका प्रमाण सङ्कलन अनि बयानको काम भइराखेकै छन्।

साधन स्रोत अनि जनशक्तिको अभावका कारण कतिपय तत्काल गर्नुपर्ने काम तत्काल नभएको हुनसक्छ। अहिले हाम्रो प्राथमिकता किन हत्या भयो र कसले हत्या गर्यो भन्ने प्रश्नको खोजी नै। यसको उत्तर आएपछि अनुसन्धानबारे समीक्षा हुन्छ नै।

३- यस्तै खालका पुराना घटनापछि बनेका अनुसन्धान समिति अनि छानबिन आयोगको प्रतिवेदन हेर्दा घटना लगत्तै प्रहरीको परिचालन, घटनामा संलग्न भाग्न सक्ने क्षेत्रको निगरानी अनि खोजीमा प्रहरीबाट चुक भएको र सुधार गर्नुपर्ने भनेर सुझाव दिएको देखिन्छ। तर उस्तै कमजोरी पटक-पटक दोहोरिन्छ। अहिलेसम्म एक जना पक्राउ नपर्नुले त्यो कमजोरी गोठाटार घटनामा पनि देखियो। यो त देखिने नै कमजोरी हो नि, हैन ?

मैले माथि नै भने व्यक्ति बचाउने एउटा पक्ष हो। तर कतिखेर, कसले, कहाँ, के गर्छ भन्ने सबै सूचना प्रहरीमा नआउन पनि सक्छ।

अर्को समस्या जुन नाकामा निगरानीको छ यसमा उपत्यकामा अलि समस्या देखिन्छ। उपत्यकाबाट बाहिरिन सक्ने बाटाहरू धेरै छन्। एकै पटक, सबै नाकामा तत्काल प्रहरी नपुगेको हुनसक्छ। अर्को घटनामा जो संलग्न हुन सक्छन् उनीहरू नेपाल बाहिर पुगिसकेका छन् भन्ने आएको छ। यो त अहिलेसम्म पुष्टि भएको नभई अनुमान मात्र हो।

तर सामान्य अवस्थामा होस् या आकस्मिक अवस्था होस्, कुन प्रहरी, कहाँ बस्ने अनि कसरी परिचालन हुने भन्ने एक्सनप्लान हुन्छ प्रहरीको। त्यही अनुसार परिचालित भएका छन्। नतिजा आउन केही समय लागेको हो। कुनै अनुसन्धानमा समय लाग्छ।

४- यस्तो गम्भीर घटनामा पनि अनुसन्धानमा संयोजन भन्दा प्रहरी युनिटैपिच्छे उल्टो प्रतिस्पर्धा गर्ने, संयोजन नगरी आफ्नै तालले काम गर्ने गर्दा पनि अनुसन्धान प्रभावकारी नभएको देखिन्छ। किन यस्तो ?

अब मैले सफल अनुसन्धान गर्न पाए हुन्थ्यो भन्ने लाग्नु मानवीय स्वभाव हो। प्रहरी पनि व्यक्ति नै हो। त्यसले गर्दा संयोजन भन्दा प्रतिस्पर्धा जस्तो देखिन गएको हुनसक्छ। तर अपराधको कार्यशैली अनुसार प्रहरी युनिटले काम गरिरहेको हुन्छ। गरिरहेको छ। पहिला जहाँ घटना हुन्छ त्यो जुन कार्यालयको कार्यक्षेत्र हो उसले हेर्छ।

यो घटना बौद्ध वृत्तको कार्यक्षेत्रमा पर्यो। उनीहरूलाई परिसर वा अन्य निकायले अनुसन्धानमा सघाउने र संयोजन गर्ने हो।

तर विशेष प्रकृतिको घटनाको अनुसन्धानका लागि विषयगत कार्यालय पनि छ। ठुला घटना अनि अझ अन्तरदेशिय अपराध अनि आतङ्कवादको अनुसन्धान गर्न प्रहरीमा विशेष ब्युरो छ। यसमा उसले पनि अनुसन्धान गरिरहेको छ नै। उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयको काम उपत्यकामा हुने गम्भीर अपराधको अनुसन्धान हो। यो उसको पनि कार्यक्षेत्रमा पर्ने नै भयो।

एउटै काममा विभिन्न निकायका प्रहरी देख्दा सबै किन एकै केसमा लागेका होलान् भन्ने जस्तो देखिए पनि प्रहरीबिच समन्वय हुन्छ नै। एकै निकायले गरेको काम अर्को निकायले पनि गर्नु प्रतिस्पर्धा नभई क्रस भेरिफाई पनि हो नि। अनुसन्धानमा सहजीकरण नहुने भन्ने हुँदैन। अनुसन्धान एकीकृत नै भइरहेको छ।

५- तपाईँ अहिले प्रहरी प्रवक्ताको जिम्मेवारीमा भए पनि तपाईँको स्कुलिङ त विशेष ब्युरोमा बसेर यस्तै अन्तरदेशिय अनि आतङ्कवाद सम्बन्धी घटनाको अनुसन्धान हो। तपाईँले हेर्दा यो घटना व्यक्तिगत दुस्मनी या अन्तर्देशीय के लाग्छ ? सामान्य अपराधी या सङ्गठित अपराधका सार्पसुटर कुन श्रेणीका प्रयोग भए ?

अहिले मेरो जिम्मेवारी अनुसार अनुसन्धानका भित्री पाटोबारे जानकारी छैन। प्रहरी सङ्गठनले यसलाई गम्भीर रूपमा लिएर अनुसन्धान गरिरहेको छ।

तर केही चैँ भन्न सक्छु। पहिलो अपराध हुनुको कारण व्यक्तिगत नै हुन्छ। केवल कसरी अपराध भयो भन्ने मात्रै हो। कुनै आवेशप्रेरित हुनसक्छ। कुनै योजनाबद्ध।

यो योजनाबद्ध घटना हो भन्ने त घटनास्थलको प्रकृति अनि सार्वजनिक भएको सिसिटिभी फुटेजले नै देखायो।

घटना जसरी भयो त्यसको मनसाय तर्साउने मात्र देखिएन। हत्या नै गर्ने देखियो। तर जसरी व्यक्तिलाई खेदी-खेदी गोली हिर्काएको देखियो त्यसले सार्प सुटर प्रयोग भएकोमा भने शङ्का छ।

किनकि सार्प सुटर हो भने व्यक्तिलाई यसरी खेदी-खेदी हत्या गर्दैनन्। उनीहरूको सिप यो हैन।

फलोअप स्टोरीहरु

७ असोज, २०७९, १५:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।