भारतीय कुख्यात अपराधीको हातमा नेपाली नागरिकता : मूल्य मात्र दुई लाख

भारतीय कुख्यात अपराधीको हातमा नेपाली नागरिकता : मूल्य मात्र दुई लाख

काठमाडौं : 'जिस देशमे पचास, सौ पेटी खर्च कर के सांसद बना जा सकता है, वहाँ इतना पैसा खर्च करके तो सीधे पिएमके साथ बैठो, ऐसे देशमे क्या नहीं किया जा सकता है। मिनटौ मे नागरिकता मिल सकती है।'

मिर्जा दिलसाद बेगदेखि जमिम शाहसम्मको हत्याका मुख्य योजनाकार मानिएका बब्लु श्रीवास्तबले लेखेको आत्मवृतान्त 'अधुरा ख्वाब'मा लेखिएको यो अंश नेपालको बारेमा हो। अनि किताबमा जे लेखेका छन्, त्यो मित्थ्या हैन भन्ने उनी आफैँले पुष्टि समेत गरिदिए।

किनकी नेपालको सुरक्षा संगठनको सूचीमा बब्लु श्रीवास्तब भारतीय नागरिक भनेर लेखिए पनि उनी भारतीय मात्र हैन नेपाली नागरिक समेत हुन्। भारतमा बब्लु श्रीवास्तब रहेका उनको कानुनी नेपाली नाम हो, अरुण अग्रवाल र स्थायी ठेगाना नेपालको कपिलवस्तु।

उनी सिंगापुरमा पक्राउ पर्नुअघि नेपालमा पटक–पटक आउने, यतै बस्ने मात्र नभई नेपालमा एक पटक पक्राउ समेत परेका थिए। नेपालमा व्यवसाय सुरु गरेका उनी पक्राउ पर्दा मिर्जा दिलसाद बेगको सहयोगमा छुटेका थिए।

उनी पक्राउ परेपछि उनले कपिलवस्तु जिल्लाबाट अरुणकुमार अग्रवालको नाममा नागरिकता लिएको खुल्यो। त्यो बेला उनको नागरिकताबारे विशेष प्रहरीले अनुसन्धान गर्दा नागरिकताको आधारमा जग्गा समेत किनेको देखियो।

नागरिकताकै सम्बन्धमा चलेको भ्रष्टाचार मुद्दामा विशेष प्रहरीमा आएर बब्लुलाई नेपाली नागकिताको सिफारिस गर्ने तत्कालीन गाविस अध्यक्ष शिवप्रसाद चौधरीलाई वेगले नै जमानी बसेर छुटाएका थिए। पछि उनको नागरिकता रद्द् भयो।

यति मात्रै हैन जमीम शाहको हत्याको योजना सफल बनाउन काठमाडौं आएका बब्बु भन्ने त्रिलोक सिंहसमेत नेपाली नागरिक हुन्। त्रिलोकले पनि बब्लुले जस्तै कपिलवस्तुबाट आफ्नो नाममा नागरिकता निकालेका थिए। उनलाई नागरिकता दिलाउन सांसद समेतको संलग्ना देखिएको जिमम हत्या अनुसन्धानका लागि गठित जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ।

अनुसन्धानमा त्रिलोकलाई नागरिकता सिफारिस गर्ने तत्कालीन गाविस सचिव रोहितकुमार उपाध्यायको वयानमा बब्बु भन्ने त्रिलोक सिंह शाही जस्ता १०/१२ जना व्यक्तिले आफूबाट सिफारिस लिएको उल्लेख छ। उनले वयानमा तत्कालीन राजनीतिक परिस्थिति एवं माहोलको कारण त्यस्तो सिफारिस गर्नुपरेको दाबी गरेका थिए।

दुई लाखमा बेचियो नेपाली नागरिकता

नेपाली पुरुषसँग विवाह गर्ने महिलाले तत्काल नेपाली नागरिकता पाउनसक्ने कि निश्चित समयपछि भन्ने विवादले राष्ट्रपति कार्यालयमा पुगेर नागरिकता विधेयक रोकिएको छ। यो अदालतभित्र समेत पुगिसकेको मुद्दा हो।

एमालेले केही समय राखेर मात्र नागरिकता दिनुपर्छ भन्ने माग गरिरहेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको मत एमालेसँग मिल्छ। तर, सरकारमा रहेका चार दलले भने तत्काल नागरिकता पाउने प्रावधानसहितकै विधेयक पारित हुनुपर्ने पक्षमा छन्।

तत्काल नागरिकता पाउने प्रावधानलाई अपराधीहरूले कसरी उपयोग गर्न सक्छन् भन्ने तथ्य यही हत्या श्रृंखलाले पनि देखाएको छ। यो अपवाद घटना हुनसक्छ। तर, भारतमा अपराध गरेर टिक्न नसकेपछि नेपाल आएका सौकत बेगले विवाह गर्दा तत्काल नागरिकता पाउनसक्ने कानूनको उपयोग गरेर आफ्नी प्रेमिकाको नागरिकता बनाएको जाँचबुझ आयोगले नै पुष्टि गरेको थियो।

भारतको लखनउमा बस्दै आएका बेग उता मोस्ट वान्टेड भएपछि नर्स समेत रहेकी प्रेमिकासहित नेपाल प्रवेश गरेर कपिलवस्तुमै बस्न थाले। उनकी श्रीमती पनि भारतीय नागरिक थिइन्। दुवै भारतीय नागरिक भएकाले नेपालमा जायजेथा जोड्न सकेनन्।

अनी सौकतले नेपालको कानुनको फाइदा उठाउने योजना बनाएर प्रेमिकाको विवाह गराए नेपाली युवकसँग। उनको श्रीमती नाजमा खातुनले नेपाली नागरिक अकवाल रंगरेजसंग विवाह गरिन्। त्यो विवाहको उदेश्य नागरिकता लिनु थियो। नाजमाले अकवालको श्रीमतीको रूपमा नेपाली नागरिकता लिइन्। अनी अकवालविरुद्ध सम्बन्ध विच्छेद मुद्दा दिएर छुट्टिएर सौकतसँग विवाह गरिन्। उनले जग्गा समेत किनेकी थिइन्।

सौकत वेगको हत्यापछि अनुसन्धान गर्दा बेगको पुर्ख्यौली घर भारतको गोरखपुर अम्बेडकरमा रहेको खुल्यो। बाबुको नाम वरकत वेग रहेको खुल्यो। तर, उनको नाममा यातायात व्यवस्था कार्यालय बागमती अनि लुम्बिनीबाट छुट्टाछुट्टै ठेगाना देखाएर दुईवटा लाइसेन्स लिएको पुष्टि भयो। बागमतीबाट लाइसेन्स निकाल्दा उनले ३७३०५२।२९३ नम्बरको नागरिकता पेश गरेको खुल्यो। पछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीबाट २०६३ चैत २१ गते उनको नाममा अतुल उपाध्यायले नागरिकता जारी गरेको पुष्टि नै भयो।

उनको हत्यापछि नाजमासँग लिएको बयानबाट अझ धेरै तथ्य खुल्यो। उनको वयानमा वेगले २०५३ फागुन २८ मा नाजमा विवाह कपिलवस्तुका अकवाल रंगरेजसँग विवाह गराए। त्यही महिना कपिलवस्तु नगरपालिकामा विवाह दर्ता गराएर अंगीकृत नागरिकता लिए। 

उनले वयानमा नागरिकता लिँदा मोहमद अकवाल रंगरेज र कपिलवस्तुका तत्कालीन मेयर रामदाशलाई प्रतिव्यक्ति एक लाख दिएको बताएकी थिइन्। नागरिकता र विवाहदर्ता प्रमाणपत्र लिएपछि चैत महिनामा नाजमाले आफू सौकतसँग पोइल गएको भनेर सम्बन्ध विच्छेद मुद्दा दायर गरिन्। अदालतबाट सम्बन्ध विच्छेद हुने ठहर भयो।

'यसरी कृत्रिम तबरबाट नेपाली नागरिक भएपश्चात नाजमा खातुनका नाउँमा घर जग्गा खरिद भएको र संविधान सभाको निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट राप्रपाको उमेदवार भएको' जमिम हत्याको जाँचबुझका लागि गठित आयोगको प्रतिवेदनमा उल्लेख छ।

आयोगले जमिम हत्यासँगै कपिलवस्तुमा बाँडिएको नागरिकताको अवस्थाबारे समेत अनुगमन गरेको थियो। प्रतिवेदनमा नागरिकताबारे 'भारतसँगको खुल्ला सीमानाका कारण अपराधिक प्रवृत्तिका व्यक्तिहरूले सरकारको सहज नागरिकता वितरण नीति र कानूनी व्यवस्थाको फाइदा उठाउँदै नेपाली नागरिकता लिइरहेको' उल्लेख गरेको थियो।

यी दुई घटनाकै आधारमा मात्रै आयोगले यस्तो सुझाव दिएको पक्कै हैन। किनकी यस अगाडि बंगलादेशी आतंककारी समूहको सक्रिय सदस्य रहेको पुष्टि भएका अलि असरफ अन्सारीले समेत सुनसरीबाट वंशजको नागरिकता निकालेर नेपालमा बसेको पुष्टि भएको थियो।

अपराधमा संलग्न भारतीय नागरिक पप्पुदेव भुमिहार, धिरेन्द्र यादवसँग समेत नेपाली नागरिकता फेला परेको थियो।  कपिलवस्तुबाट सांसद समेत मन्त्री समेत बन्न सफल भएका मिर्जा भारतीय नागरिकै थिए। पोखरामा पक्राउ परेका इन्डियन मुज्जाहिद्दिनका कमाण्डर यासिन भट्कलले समेत कपिलवस्तुबाट आफ्नो नाममा नागरिकता लिने प्रक्रिया सुरु गरिसकेको खुलेको थियो। पक्राउमा केही ढिलाई भएको भए उनको साथमा पनि नेपाली नागरिकता फेला पर्ने पक्का थियो।

भारतीय विद्रोही नेतासँग पनि नेपाली नागरिकता
भारतमा पृथकतावादी आन्दोलन गरिरहेका भारतीय नागरिक निराजन होजाई नेपालमा पक्राउ पर्दा उनी नेपाली नागरिक भइसकेको खुलेको थियो। उनले नेपाली महिला सरिता गिरिसँग विवाह गरेका थिए। उनले निर्मल राईको नाममा नेपाली नागरिकता लिएर नेपालमा बस्दै आएका थिए। 

उनले सुनसरीको धरान नगरपालिका-८ स्थायी ठेगाना देखाएर वंशजका आधारमा ३२५५६ नम्बरको नागरिकता लिएको खुलेको थियो। उनको नागरिकतामा बाबुको नाम जगतबहादुर राई उल्लेख थियो जुन नक्कली देखियो। नागरिकताको आधारमा उनले सन् २००८ मा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट ४१५९३९४ नम्बरको राहदानीसमेत लिएको खुलेको थियो।

पक्राउ परेपछि उनी भारतको आसाम र नागाल्यान्डमा सशस्त्र आन्दोलन गरिरहेका दिमा हालम दाओग (जे) का कमान्डर भएको खुलेको थियो। उनलाई रातारात भारतीय सुरक्षा निकायलाई बुझाइयो। पछि गिरि र राईको नाममा १३ करोड रूपैयाँभन्दा बढी स्रोत नखुलेको सम्पत्ति फेला परेको भन्दै सम्पत्ति शुद्धिकरण विभागले मुद्दा लगाएको थियो। पछि पुष्टि पनि भयो।

उनी नेपालमा पक्राउ परेको समाचार बाहिरिए लगत्तै भारतको स्पेशल टाक्स फोर्सको टोली नेपालमै आएर उनलाई भारत लगेको थियो। पछि उनको नागरिकता रद्द भयो।

(अडियो)

नीतिन पनि शंकामा
गत सोमबार गोठाटारमा लाल मोहम्मदको हत्यामा संलग्न देखिएका नीतिन मदर अरोरा लामो समयदेखि नेपालमा बस्दै आएको र उनले नेपाली युवतीसँग विवाह गरेको पुष्टि भइसकेको छ। उनी नेपालमा भारतीय नागरिकको हैसियतमा बस्थे या उनले नेपाली नागरिकता लिइसकेका थिए खुलिसकेको छैन। तर, उनीसँगै उनको आमा र दाई समेत नेपालमा बस्ने गरेको भने पुष्टि भइसक्यो।

फलोअप स्टोरीहरु

१० असोज, २०७९, १९:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।