ब्याच नम्बर ६९ : एक वर्षका लागि गएको १३ वर्ष पो बसें

ब्याच नम्बर ६९ : एक वर्षका लागि गएको १३ वर्ष पो बसें

विशेष गरी प्रहरीमा आफ्नो सीप अरुमा हस्तान्तरण गर्ने बानी नै छैन। जसले जे सिक्यो त्यो सीप उसँगै जान्छ र हराउँछ। 

मैले जानेको कुरा अर्कोलाई सिकायो भने त ऊ मभन्दा जान्ने भइहाल्छ, म तल पर्छु भन्ने भ्रम धेरै छ प्रहरीमा। वास्तवमा यो सोच गलत हो। आफूमा रहेको सीप र अनुभव हस्तान्तरण गर्नै पर्छ। संगठनको सदस्य भएर पाएको ज्ञान संगठनको अर्को सदस्यमा हस्तान्तरण गर्नु दायित्व पनि हो। तर, धेरैमा यो सोच हुन्न।

अनुसन्धानको क्षेत्रमा हेर्ने हो भने ज्ञानको हस्तान्तरण अति महत्त्वपूर्ण विषय हो। अनुसन्धान भनेको अध्ययनले मात्र विकास हुने क्षमता होइन। त्यसमा अनुभवको उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ। 

‘पढेर भन्दा परेर जानिन्छ’ भनिन्छ नि। हो, त्यो अपराध अनुसन्धानको क्षेत्रमा धेरै हदसम्म लागू हुन्छ। अपराध अनुसन्धानका सीप पढेर जानेको भन्दा परेर जानेको प्रभावकारी हुन्छ। सैद्धान्तिक ज्ञानको आफ्नो ठाउँमा महत्त्व हुन्छ। तर, व्यावहारिक ज्ञान सबैभन्दा महत्त्वपूर्ण हो अपराध अनुसन्धानमा।

नढाटी भन्दा सिनियरमा अनुभव र सीपको हस्तान्तरण दुर्लभ नै हो। तर, जुनियरमा त्यस्तो नहुने रहेछ। त्यो अनुभव लागुऔषध नियन्त्रण इकाइले नै गरायो। 

त्यहाँ जो–जो सिनियर थिए नि उनीहरूले आफ्नो क्षेत्रमा चेला बनाइसकेका थिए। म नभए कसले काम गर्ने, त्यो नभए कसले काम गर्न सक्छ भन्ने पहिल्यै तय गरेर काम भएको हुने रहेछ।

उनीहरू आफूले जानेको कुरा सिकाउन सधैं उत्सुक। त्यसमा महत्त्वपूर्ण भनेको विश्वास हो। उनीहरूले विश्वास गरे भने वर्षौं मिहेनत गरेर सिकेको सीप पनि सहजै हस्तान्तरण गर्छन्।

लागुऔषध नियन्त्रण इकाइमा भेटिएका केशव खरेल लगायतको अनुभवी टोली त्यस्तै थियो। उनीहरूले आफूले सिकेको सीप आफैंमा थन्काएर राखेका थिएनन्। आफ्ना जुनियरलाई हस्तान्तरण गरिरहेका थिए।

कति खरेलको मात्र कुरा गरेको भन्ने लाग्न नि सक्छ। तर, मैले अनुसन्धानमा त्यतिको सक्षम प्रहरी भेटेको छैन। म त उसको अगाडि केही पनि हैन अहिले पनि। साँच्चिकै अद्भूत, संगठनले समयमै क्षमता पहिचान गर्न नसकेका हुन् खरेल। सूचना संकलनको पाटो होस् कि, राजनीतिक सूचनाको पाटो होस्, प्रहरी अप्रेसनको पक्ष वा स्टिङ अप्रेसन, उनमा सबै ज्ञान थियो। 

उनको चेला कृष्ण गोपाल पनेरू। उनमा धैर्यताको अचम्मको गुण थियो। अनुसन्धानकर्मीमा हुनुपर्ने महत्त्वपूर्ण गुण हो यो। हतार गर्यो र अत्तालियो भने काम बिग्रिहाल्छ। कुर्न सक्नुपर्छ अनुसन्धानमा। जस्तोसुकै संकटमा पनि नआत्तिने पनेरूको गजबको गुण। उनको अर्को गुण अन्डरकभरमा काम गर्न पक्का। स्टिङ अप्रेसनका त मास्टर। 

अर्का थिए असई वीरबहादुर गिरी। सिन्धुपाल्चोकका हुन उनी। अवकासपछि अहिले उनी गाउँमा खेती गरेर बसेका छन्। उनमा अब्जर्भवेसनको अचम्मको गुण थियो। कतै पठायो भने त्यहाँको अवस्था कस्तो छ जस्ताको त्यस्तै भन्न सक्थे उनी। पूरै फिल्म हेरेझैं गराउने।

अनुसन्धानमा यतिको अनुभव भएको टिम भएपछि सफल नहुने कुरै हुन्न। 

०००

उनीहरूले मेराबारे जति बुझ्नुपर्ने थियो आफैं बुझे। म किन लागुऔषध आएको भन्नु पनि परेन। उनीहरू आफैंले बुझे। जब उनीहरूले मलाई विश्वास गरे त्यसपछि उनीहरू आफैं सिकाउन अगाडि बढे। काठमाडौंभित्र अनि बाहिर हुने प्रहरी अप्रेसनमा सँगै लिएर जान थाले। 
कसरी अगाडि बढ्ने ? कहाँ गएर रोकिने ? बोली कस्तो ? कहाँ कस्तो व्यवहार गर्ने भन्ने अनुसन्धानमा निकै महत्त्वपूर्ण पक्ष हुन्।

उनीहरूसँग अप्रेसनमा सँगै हुँदा मैले उनीहरूको यी पाटो मिहिनरूपमा अवलोकन गर्न थाले। नजानेको ठाउँमा वा चुकेको ठाउँमा यस्तो होइन, यसरी गर्ने हो भने सिकाए। मेन्टर भनिन्छ नि। हो उनीहरूको भूमिका त्यस्तै भयो।

उनीहरूसँग विस्तारै सिक्न थाले। फिल्डमा सँगै हिँड्न थाले। 

खरेलसँग यति धेरै सूचना रहेछ कि कुरै नगरौं। सूचनाहरू सबै थुप्रिएर बसेको। उनको सूचनाको आधारमा काठमाडौंबाहिर मात्रै होइन, विदेशमा समेत अप्रेसन भयो। सफल पनि भयो। 

अनुसन्धानमा बुझ्नुपर्ने अर्को महत्त्वपूर्ण पक्षबारे थोरै चर्चा गरौं।

गुप्तचरीमा प्रहरी अप्रेसनको मोडालिटी अधिकांश तल्लो तहबाट विकास हुन्छ। हाकिमले यस्तो गर्नु पर्यो भन्ने होइन कि त्यहाँ यस्तो भएको रहेछ गर्नु पर्यो भनेर बन्ने हो अप्रेसनको योजना।  

त्यसपछि कति जना जनशक्ति चाहिने ? कति वटा गाडी, कति पैसा चाहिने ? यी सबै जसले सूचना ल्याएर योजना बनाएको हो उसैले गर्ने हो। यसमा दर्जाको महत्त्व हुन्न। सूचना र ज्ञानको महत्त्व हुन्छ। कहाँ जाने, के के गर्ने योजना पनि उनीहरूले नै बनाउने हो। रणनीति निर्माणदेखि अप्रेसनको मोडलसम्म जसले सूचना ल्याएको हो, जसले सूचना खेलाएको हो उसैले गर्दा प्रभावकारी हुन्छ। त्यसमा एकै पटक माथिल्लो तहका अधिकृत संलग्न हुनुहुँदैन। 

केही प्रहरीले हाकिम खुसी पार्न जानकारी नै नभए पनि हाकिमलाई फिल्डमा लैजाने गर्छन्। यसले अप्रेसन बिग्रन सक्छ। बिग्रिएका पनि छन्। त्यो हिरोइजम मात्र हो।

अर्को समस्या भनेको जो सूचनादाता हो त्योसँग हाकिमले सिधै सम्पर्क र सम्बन्ध राख्न खोज्नु पनि हो। जसले सूचकको विकास गरेको हुन्छ त्यो प्रहरीलाई उसको स्वार्थदेखि बानी–व्यहोरा सबै थाहा हुन्छ।

कुन सूचनामा उसको के स्वार्थ छ भन्ने जसले लामो समयदेखि सूचक खेलाइरहेको हुन्छ, ऊ जानकार हुन्छ। माथिल्लो तहका प्रहरी अधिकारी त्योबारे जानकार हुँदैनन्।

माथिल्लो तहकाले आफैं सूचकसँग सम्पर्कमा बस्न खोज्दा, सूचकलाई खेलाउन खोज्दा उसले कतिखेर दुरुपयोग गरिदिन्छ चालै पाउन सक्दैनन्। सूचकलाई आफ्नो स्वार्थमा चलाउँछु भन्दा केही उच्च तहका प्रहरी आफैं सूचकबाट दुरुपयोग भएर फसेका छन्। त्यो फस्नुको कारण भनेको तल्ला तहका आफ्ना कर्मचारीले विकास गरेको सूचकसँग आफैं नजिक हुने लोभले नै त हो।

राम्रोसँग नबुझ्दा सूचकलाई खेलाउँछु भन्दा उल्टो सूचकले खेलाइदिन्छन्। अनि फस्छन्। उनीहरूसँग बडो होसियारीका साथ सम्बन्ध राख्नु पर्छ। त्यो धेरैले बुझ्दैनन्।

जसले सूचकसँग सम्बन्ध बनाएको हो ऊसँग खेल्ने सम्बन्धित प्रहरी कर्मचारीले नै हो। कसैकसैले हाकिम भेटौं न भन्छन् भने भेट्ने। तर, भेट्दा सम्बन्धित प्रहरी कर्मचारीसँगै भेट्ने। चिया खाने, गफ गर्ने, बस्ने। यति गरे भइगयो। 

कसले काम गर्यो भन्दा संगठनले के काम गर्यो भन्नेमा ध्यान केन्द्रित गर्ने हो भने यो समस्या पर्दैन। व्यक्ति केन्द्रित भए बिग्रन्छ कुरा।

०००

प्रहरीमा ब्रिफिङ लिने चलन छ। त्यसको शैली गलत छ। अझ सादा पोशाकमा काम गर्ने कार्यालयमा। सादा पोशाकमा काम गर्ने हो भने ब्रिफिङ लिने होइन, गफ गर्ने हो। 

हामी त बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म गफ चल्थ्यो। त्यो गफ सामान्य होइन, व्यावसायीकै हो। ब्रिफिङ एकोहोरो हुन्छ। त्यसमा कुनै प्रहरी पोजिसनमा ठिंग उभिन्छ। भटाभट भन्नुपर्ने कुरा भन्छ, हिँड्छ। न दोहोरो संवाद, न अन्तरक्रिया। त्यो त ड्युटी मात्र भयो। त्यसले काम चल्दैन। दोहोरो कुराकानी भए न थप जानकारी आउने हो। त्यसका लागि त गफ गर्नुपर्छ हाकिम पारा देखाएर ब्रिफिङ लिने होइन।

गफ गर्यो भने कुन–कुन क्षेत्रमा गाँजा खेती भएको छ ? चरेस कसरी बनेको छ ? मुख्य मान्छे को हो ? पुराना खेलाडी को हो ? नयाँ प्रविधिबाट चरेस बनेको हुन्छ त्यो कसरी भन्ने जस्ता विषय पनि आउँछन् नि गफमा।

ब्रिफिङमा त फलाना ठाउँमा चरेस फेला पर्यो, यति जना पक्राउ परे, अन्यको खोजी भइरहेको छ भन्यो, सक्कियो। के सूचना आयो त माथिल्ला तहका प्रहरीलाई ? के जानकारी पाए ? 

०००

प्रारम्भमा म एक वर्षका लागि भनेर इकाइ गएको थिएँ। सामान्य प्रहरी कार्यालयझैं १२ महिनाको ड्युटी। तर, अचम्म त्यहाँ मेरो प्रहरी जीवनको १३ वर्ष बित्यो। सम्झँदा नि छक्क पर्छु म अहिले पनि।

कार्यालयमा को कति टिक्छ भन्नेमा दुई कुराले प्रभाव पार्ने रहेछ। पहिलो त तलको टिमको व्यवहार र विश्वास। तल्लो टिमले रुचाएन भने माथिल्लो तहका अधिकृत लामो समय एकै कार्यालयमा टिक्न सक्दैनन्। 

दोस्रो सुपरभाइजरको भूमिका पनि महत्त्वपूर्ण हुने रहेछ। म इकाइमा काम गर्दा सुपरभाइजरहरू निकै राम्रा आउनु भयो। केशव बरालसँग दोहोर्याएर काम गरे। रविराज थापा सरसँग काम गरे। कुमार कोइरालासँग दुई वर्ष, सुरेन्द्र पालसँग काम गरें। कुवेर रानासँग काम गरें। 

यी गजबका अफिसर्स हुन्। कोही डिआइजीमा रिटायर्ड भए कोही आइजिपी पनि भए। यी सक्षम अफिसर्स थिए। गजबका अफिसर्स थिए। उहाँहरूले मेरो कामको मूल्यांकन गर्नुभयो, सिफारिस गर्नुभयो अनि म किन इकाइमा चाहिन्छ भनेर माथिल्लो तहमा कुरा गर्नुभयो। र त म १ वर्षका लागि गएको कार्यालयमा १३ वर्ष बसें।

तेस्रो महत्त्वपूर्ण पाटो काम गर्दै जाँदा रमाइलो पनि लाग्नु पर्यो। म इकाइमा मज्जाले रमाएँ। राष्ट्रियसँगै अन्तर्राष्ट्रिय अप्रेसन हुन थाले। राम्रो रेस्पोन्सहरू आउन थाले। राष्ट्रिय अप्रेसन पनि महत्त्वपूर्ण थिए। टिमले मलाई घरको सदस्यको रूपमा स्वीकार गर्यो र १ वर्ष भनेर गएको १३ वर्ष एकै कार्यालयमा बसेँ, रमाउँदै।

क्रमश:

(नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्लको डायरी ब्याच नम्बर ६९ हरेक बुधबार उकेरामा प्रकाशित हुँदै आएको छ।)

चैत २५, २०७७ बुधबार १३:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।