एमआरआई खरिदमा मिलेमतो गरेको भन्दै ट्रमा सेन्टरका प्रमुख डा. मरासिनीविरुद्ध अख्तियारसहित तीन ठाउँमा उजुरी

एमआरआई खरिदमा मिलेमतो गरेको भन्दै ट्रमा सेन्टरका प्रमुख डा. मरासिनीविरुद्ध अख्तियारसहित तीन ठाउँमा उजुरी

काठमाडौँ : राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रप्रसाद मरासिनीले अधिकार दुरुपयोग गर्दै अनियमित काम गरेको भन्दै उजुरी परेको छ। उनले मिलेमतोमा करिब ३० करोडको एमआरआई मेशिन खरिद प्रक्रिया अगाडि बढाएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा उजुरी परेको हो।

उजुरीमा मरासिनीले मिलेमतोमा काम गरेको दाबी गरिएको छ। पुस चार मा उनी विरुद्ध उजुरी परेपछि अख्तियार र सतर्कता केन्द्रले छानबिन सुरु गरेको छ। ‘करोडौँ भ्रष्टाचार गर्ने उद्देश्यले एमआरआई मेसिन खरिद गर्न लागेकाले सत्य तथ्य छानबिन गरी यो टेन्डर बदर गरी दोषीलाई कारबाही गर्न माग गर्दछौँ,’उजुरी पत्रमा भनिएको छ।

उकेरालाई प्राप्त उजुरी पत्रमा ट्रमा सेन्टरमा खरिद गर्न लागेको एमआरआइको विषयमा अख्तियारमामा परेको उजुरी पत्रको दर्ता नम्बर ‘सी–०३०६२७’ रहेको छ। त्यसैगरी सतर्कता केन्द्रमा परेको उजुरी पत्रको दर्ता नं. ‘२३१’ छ भने स्वास्थ्य मन्त्रालयमा परेको उजुरी पत्रको दर्ता नं. ‘३९७३’ रहेको छ।

मरासिनीविरुद्धको उजुरीबारे राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरीको फाइल पठाएर प्रक्रिया अगाडि बढाइएको खुलेको छ।

गलत तरिकाले खरिद प्रक्रिया अगाडि बढाएको देखिए सार्वजनिक खरिद अनुगमन कार्यालयले टेन्डर नै रद्द गर्न सक्ने सतर्कताका एक अधिकारीले बताए।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले उजुरी परेको र छानबिन प्रक्रिया के भइरहेको छ भन्ने विषय खोल्न अहिले जानकारी दिन नमिल्ने बताए। कानुन बमोजिम छानबिन गोप्य हुने भन्दै उनले छानबिनको प्रक्रिया कहाँ पुगेको छ भन्न नमिल्ने बताए।

 ‘कानुन बमोजिम गोप्य गर्नुपर्ने व्यवस्था भएकाले छानबिन प्रक्रिया पनि गोप्य रूपमा नै अगाडि बढाउँछौँ,’उनले भने।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोख्रेलले भने ट्रमा सेन्टरमा भएको एमआरआई खरिद प्रक्रिया तथा उजुरीका सम्बन्धमा जानकारी नभएको दाबी गरे।

तर, स्वास्थ्य मन्त्रालयकै अर्का एक उच्च अधिकारीले ट्रमा सेन्टरमा खरिद प्रक्रियामा रहेको एमआरआईको विषयमा उजुरी आएको र सो उजुरी तोक लगाएर प्रशासनमा पुगेको पुष्टि गरेको छ।

बोलपत्र प्रस्ताव गर्ने अन्तिम मिति पुस १४ (२९ डिसेम्बर) सम्म छ।

सोमबार नै यस विषयमा स्वास्थ्य मन्त्रालयमा अर्को उजुरी समेत परेको छ। फिलिप्स, सिमेन्स र जिई कम्पनीका सप्लायर्सहरुले ट्रमा सेन्टरमा खरिद प्रक्रियामा रहेको एमआरआईको विरुद्धमा उजुरी दर्ता गराएको मन्त्रालयस्रोतले उकेरालाई जनकारी दियो

‘फिलिप्स, सिमेन्ट र जिई कम्पनीका सप्लायर्सले ट्रमा सेन्टरमा एमआरआई खरिद प्रक्रिया अनियमित तरिकाले अगाडि बढेको भन्दै एमआरआई खरिद प्रक्रिया रोक्नका लागि उजुरी दिनुभएको छ,’स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो।

ट्रमा सेन्टरले करिब ३० करोड मूल्य बराबरको ‘थ्री टेस्ला एमआरआई मेसिन’ खरिदका लागि कात्तिक २८ मा टेन्डर आह्वान गरेको थियो। उकेराको खोजमा ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मरासिनीले एक कम्पनीको उत्पादन मात्रै मिल्नेगरी लक्ड स्पेशिफिकेशन बनाएर २५ करोडको मेसिन ३० करोडमा किन्ने तयारी गरेको खुलेको थियो।

ट्रमा सेन्टरबारे उकेरामा प्रकाशित सामाग्री

१२ पुस, २०७९, १७:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।