ट्रमा सेन्टरमा करार थप्न प्रशासन प्रमुखले घुस मागेको आरोप, वार्षिक तलब २ लाख ७५ हजार, घुस एक लाख

ट्रमा सेन्टरमा करार थप्न प्रशासन प्रमुखले घुस मागेको आरोप, वार्षिक तलब २ लाख ७५ हजार, घुस एक लाख

काठमाडौं : राष्ट्रिय ट्रमा सेन्टरका शाखा अधिकृत सञ्जय कुमार साहमाथि करारमा रहेका कर्मचारीलाई म्याद थप गर्न घुस मागेको आरोप लागेकाे छ। साह ट्रमा सेन्टरमा प्रशासन प्रमुख हुन्।

शाखा अधिकृत साहले ट्रमा सेन्टरका एक कर्मचारीसँग करार नवीकरणका लागि एक लाख मागेको र ५० हजार लिइसकेकाे भन्दै अस्पतालका प्रमुखसमक्ष उजुरी परेको छ। उकेरालाई प्राप्त पत्रमा साहले मसान्तमा करार म्याद सकिएपछि म्याद थपका लागि ५० हजार लिएका थिए।

बाँकी ५० हजार पैसाका लागि शाखा अधिकृत साहले मानसिक तनाव दिएको भन्दै निवेदनमा छानबिन गर्न माग गरिएको छ। एक हप्ता अगाडि परेको निवेदनमा ती कर्मचारीले आफ्नो ५० हजार फिर्ता गराइदिन समेत माग गरेका छन्।

ती कर्मचारीको वार्षिक तलब नै दुई लाख ७५ हजार छ। तर साहले करार थप्न नै एक लाख मागेको उनको दाबी छ। घटनाबारे ट्रमा सेन्टरका निमित्त निर्देशक डा. प्रमोद यादवले आफूकहाँ यस्तो गुनासो आएको स्वीकारे।

शाखा अधिकृत साहले करार म्याद थपिदिन्छु भन्दै तपाईंकहाँ उजुरी परेको सत्य हो? भन्ने जिज्ञासामा निमित्त निर्देशक डा. यादवले भने, ‘विभिन्न स्रोतबाट सञ्जय कुमार साहले करार म्याद थपका लागि पैसा मागेको र केही रकम लिएको जानकारी पाएको छु। यस विषयमा थप सत्य तथ्य बुझ्दै छु।’

डा. यादवका अनुसार ट्रमा सेन्टरमा करिब दुई सय ५० जना करारका कर्मचारी छन्।आवश्यकता अनुसार ६-६ महिनामा ती कर्मचारीहरूकाे करार नवीकरण हुने गरेको छ।

शाखा अधिकृत साहलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ १ गते गृह मन्त्रालयमा सरुवा गरिसकेको थियो। तर, उनी अझै ट्रमा सेन्टरमा नै छन्।

साहलाई नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत, गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिए पनि सरुवा भएको स्थानमा नखटिई साह स्वास्थ्य मन्त्रालयमा छन्।

साहले आइतबार उकेरासँग कुरा गर्दै आफू भदौ १६ गते स्वास्थ्य मन्त्रालय सरुवा भएको तर अहिले ट्रमामा नै हाजिर गरिरहेको बताए। साहले भने, ‘ट्रमामा नै हाजिर गरिरहेको छु। स्वास्थ्य मन्त्रालय मेरो सरुवा भएको छ।’

दुई हप्ता नकट्दै गृहबाट फेरि उनी स्वास्थ्यमा नै सरुवा हुनु आफैँमा रहस्यमय देखिन्छ। आफू स्वास्थ्य मन्त्रालयमा नै बस्ने तर ट्रमा सेन्टरमा नजाने साहले दाबी गरे।

उनले म्याद थपिदिने भन्दै करारका कर्मचारीसँग पैसा मागेको र लिएको आरोप अस्वीकार गरे। साहले भने, ‘यो कपोकल्पित कुरा हो।’

५० हजार त लिनु भएको नै रहेछ नि त? भन्ने अर्को जिज्ञासामा उनले थपे, ‘म एक वर्ष बस्दा कहिल्यै नगरेको कुरा आज गर्छु त। हुँदै हैन। ट्रमामा मेरो पछाडि लागे हाकिम साप। मेरो सरुवा पनि गराए। हाकिमहरू पछाडि लागेपछि त के गर्न सकिन्छ?’

त्यसो त शाखा अधिकृत साहले करारका कर्मचारीसँग म्याद थपका लागि पैसा माग्ने गरेको र पैसा लिएको हल्लाखल्ला भएपछि कर्मचारीलाई फोन गरेर धम्क्याएको अस्पताल स्रोतले बतायो।

उकेरालाई प्राप्त अडियो रेकर्ड अनुसार एक व्यक्तिले फोन गरेर एक कर्मचारीलाई आफ्नो पोल खोलेको भन्दै गाली गरेको सुनिन्छ। ती गाली गर्ने कर्मचारी को हुन् भन्ने खुलेको भने छैन।

अडियोमा  ‘तेरो जागिरचाहिँ कसैले टिकाउने वाला छैन भाइ अब हैन,’ ती व्यक्तिले कर्मचारीलाई फोनमा गाली गर्दै भनेका छन्,‘म हुन्जेलचाहीं तेरो जागिर रहँदैन भाइ अब ल।’

ती व्यक्तिले अस्वाभाविक स्वरमा कर्मचारीलाई गाली गरेको सुनिन्छ। गाली गर्दै ती व्यक्तिले भनेका छन्,‘तँ कहाँ सक्छस् जा भाइ हैन। तेरो धेरै चुरीफुरी देखिसकेँ...। तँलाई यति भन्न मैले फोन गरेको।’

शाखा अधिकृत साहले आफूले कसैलाई नधम्क्याएको दाबी गरे।

कर्मचारीको करार म्याद थप्ने सवालमा टिप्पणी उठाउने लगायत फाइल अगाडि बढाउने सवालमा प्रशासन प्रमुख (साह) को महत्त्वपूर्ण भूमिका हुन्छ। तर, उनले नवीकरण गर्ने-नगर्ने सवालमा आफ्नो अधिकार क्षेत्रमा नपर्ने तर्क गरे। टिप्पणी उठाउने विषयमा आफूले टिप्पणी उठाएको उनले दाबी गरे।

बरु साहले उल्टै निमित्त निर्देशक डा. यादवले आफ्नो स्वार्थ अनुकूल काम गर्न नपाएपछि आफूलाई यस्तो आरोप लगाएको दाबी गरे।

उनले भने,‘उहाँ (निमित्त निर्देशक) ले जेसुकै गरोस् उहाँको विषय हो। मत आफ्नो करियरलाई दाउमा राख्न सक्दिन नि त।’

२० भदौ, २०७९, १८:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।