ट्रमा सेन्टरको ३० करोडको एमआरआई खरिद प्रक्रियाको लागत स्वीकृत गरेका स्वास्थ्य सचिव पोख्रेलको तर्क ‘स्पेशिफिकेशन गलत छ भने मुद्दा हाल्नुपर्‍यो’

ट्रमा सेन्टरको ३० करोडको एमआरआई खरिद प्रक्रियाको लागत स्वीकृत गरेका स्वास्थ्य सचिव पोख्रेलको तर्क ‘स्पेशिफिकेशन गलत छ भने मुद्दा हाल्नुपर्‍यो’

काठमाडौं : स्वास्थ्य सचिव डा. रोशन पोख्रेलले राष्ट्रिय ट्रमा सेन्टरको एमआरआई मेसिन खरिदमा भएको सेटिङबारे आफूलाई जानकारी नभएको दाबी गरेका छन्।

ट्रमाका प्रमुख रुद्र प्रसाद मरासिनीको सक्रियता निश्चित कम्पनीलाई मात्र मिल्ने गरी प्राविधिक स्पेशिफिकेशन बनाएर २५ करोड लागतको एमआरआई ३० करोडमा किन्ने तयारी गरेको उकेराले सार्वजनिक गरेको थियो। यसमा स्वास्थ्य सचिव पोख्रेल समेत संलग्न रहेको दाबी आएका छन्। तर यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।

डा. पोख्रेलले ट्रमा सेन्टरले एमआरआई खरिदका लागि गरिरहेको काम आफ्नो क्षेत्राधिकारमा नपर्ने र सबै अधिकार ट्रमाका प्रमुख मरासिनीको भएको बताए।

‘सचिवले सामान खरिद गर्ने हैन। सबै उहाँ (डा. मरासिनी) कै अधिकार हो,’ सचिव पोख्रेलले भने,‘स्वास्थ्य मन्त्रालयमा सचिवलाई यसमा जोड्नै पर्दैन।'

मेसिनको खरिदका लागि प्राविधिक स्पेशिफिकेशन स्वास्थ्य सेवा विभाग वा खरिद गर्ने संस्था (ट्रमा सेन्टर) दुवैले गर्न सक्ने सचिव पोख्रेलले दाबी गरे।

ट्रमा सेन्टरका प्रमुख डा. मरासिनीले सेटिङमा चिनिया कम्पनी युनाइटेड इमेजिङलाई मात्र मिल्ने गरी ७५ बोर साइजको एमआरआई मेसिनसँग मात्र मिल्ने स्पेशिफिकेशन बनाएर टेन्डर गरेका थिए।

‘सचिवले स्रोतको सुनिश्चितता गरिदिने हो,’ सचिव डा. पोख्रेलले भने, ‘उहाँले भनेको रकमको स्रोत सुनिश्चित गरिदिने काम मात्रै मेरो हो।’

संस्था (ट्रमा सेन्टर)को प्रमुख दशाैं तहको भए दश करोड भन्दा माथिको सामान खरिद गर्नुपरेको खण्डमा भने मन्त्रालयको सचिवले सहमति दिनुपर्ने सचिव पोख्रेलले बताए। तर, डा. मरासिनी भने ११औं तहका चिकित्सक हुन्।

सार्वजनिक खरिद नियमावली अनुसार २० करोडभन्दा बढि रकमको लागत अनुमानको विभागीय प्रमुखबाट स्वीकृति लिनुपर्ने हुन्छ।

नियमावलीमा भनिएको छ, ‘विभागीय प्रमुख भन्नाले कुनै मन्त्रालय अन्तर्गतको विभाग वा सो सरहको अन्य कार्यालयको प्रमुखको रूपमा काम गर्ने पदाधिकारी सम्झनुपर्ने हुन्छ।’

नियमअनुसार स्वास्थ्य सचिव डा. रोशन पोख्रेलले एमआरआई खरिदका लागि लागत अनुमान स्वीकृति दिनुपर्ने देखिन्छ।

ट्रमा सेन्टरका प्रमुख डा. मरासिनीले स्वास्थ्य सेवा विभागबाट एमआरआई खरिदका लागि प्राविधिक स्पेशिफिकेशन मगाएर स्वास्थ्य मन्त्रालयबाट लागत अनुमान स्वीकृति भएपछि खरिद प्रक्रिया अगाडि बढाएको बताइसकेका छन्। यसले एमआरआई खरिदमा स्वास्थ्य सचिव पाेख्रेलकाे भूमिका समेत देखिन्छ नै।

ट्रमा सेन्टका प्रमुख डा. मरासिनीले एमआरआई खरिदका लागि प्राविधिक स्पेशिफिकेशन कहाँको ल्याए, कुन स्पेशिफिकेशन पास गरे र त्यो स्पेशिफिकेशन गलत छ भने सोही आधारमा मुद्दा हाल्न सकिने सचिव पोख्रेलले बताए।

‘उहाँले कहाँको स्पेशिफिकेशन ल्याउनुभयो। कुन स्पेशिफिकेशन पास गर्नुभयो। त्यो स्पेशिफिकेशन गलत छ भने सोही आधारमा मुद्दा हाल्नुपर्यो,’ सचिव पोख्रेलले भने,‘यसमा सचिवलाई किन मुछ्ने।’

कसैले मुद्दा हालेको खण्डमा ट्रमा सेन्टरले खरिद गर्न लागेको एमआरआई मेसिनको खरिदको विषयमा सोध्न सकिने सचिव पोख्रेलले बताए।

उनले भने, ‘अनियमित भयो भने कसैले मुद्दा हालेको केसमा हामी उहाँहरूलाई सोध्छौँ के कस्तो हो भनेर।’

मरासिनीले अख्तियार र अदालत बाहेक अन्य कारणले एमआरआई खरिद नरोकिने दाबी गर्दै आएका छन्।

‘रोकियो भने अख्तियारले राेकियाे भने रोकिन्छ,’ डा. मरासिनीले उकेरासँग भनेका छन्, ‘अदालतले रोकियो भने रोकिन्छ। अरू कुनै कारणले रोकिँदैन।’

ट्रमा सेन्टरका प्रमुख डा. मरासिनीले करिब ३० करोड मूल्य बराबरको ‘थ्री टेस्ला एमआरआई मेसिन’खरिदका लागि कात्तिक २८ गते (१४ नोभेम्बर, २०२२) मा टेन्डर आह्वान गरेका हुन्।

टेन्डर गर्न लागिएको थ्री टेस्ला एमआरआई मेसिन ‘वाइड बोर’ कम्तीमा ७५ सेन्टिमिटर डायमिटरको हुनुपर्ने स्पेशिफिकेशनमा उल्लेख छ।

स्पेशिफिकेशनमा भनिएको छ,‘एमआरआई थ्री टी, वाइड बोर विथ एट लिस्ट ७५ सेन्टिमिटर डायमिटर कम्प्लेट युनिट।’

तर, प्राविधिक स्पेसिफिकेशनको अधिकांश बुँदा 'लक्ट' गरेर युनाइटेड इमेजिङको एमआरआई मेसिनलाई मात्रै टेन्डर पर्ने गरी डा. मरासिनीले टेन्डर प्रक्रिया अगाडि बढाएका छन्। प्राविधिक स्पेशिफिकेशन भनेको कुन र कस्तो किसिमको, कुन-कुन सुविधा तथा विशेषता रहेको भन्ने जस्ता प्राविधिक पक्ष हुन्।

ट्रमा सेन्टरले करिब ३० करोड मूल्य बराबरको ‘थ्री टेस्ला एमआरआई मेसिन’खरिदका लागि कात्तिक २८ गते (१४ नोभेम्बर, २०२२) मा टेन्डर (बोलपत्र) आह्वान गरिसकेको छ। तर, युनाइटेड इमेजिङ कम्पनीलाई टेन्डर पर्ने गरी स्पेशिफिकेशन बनाएर टेन्डर प्रक्रिया अगाडि बढाएको देखिन्छ।

ट्रमा सेन्टरले खरिदका लागि टेन्डर गरेको थ्री टेस्ला एमआरआई मेसिन ‘वाइड बोर’ साइजको कम्तीमा ७५ सेन्टिमिटर डायमिटरको हुनुपर्ने टेन्डरको प्राविधिक स्पेशिफिकेशन मापदण्डमा उल्लेख छ।

ट्रमा सेन्टरले एमआरआई खरिदका लागि तयार गरिएको प्राविधिक स्पेशीफिकेशनको बुँदा नं. ३.१ मा भनिएको छ,‘एमआरआई थ्री टी, वाइड बोर विथ एट लिस्ट ७५ सेन्टिमिटर डायमिटर कम्प्लेट युनिट।’

७५ सेन्टिमिटर डायमिटर भन्नाले एमआरआई गर्दा एमआरआईमा मान्छे छिराउने गोलाई हो। त्यसैले स्पेशिफिकेशन नै लक्ड गरेर बनाएकाले ट्रमा सेन्टरले एमआरआई खरिदका लागि गरेको टेन्डर युनाइडेड इमेजिङ कम्पनीलाई नै पर्ने निश्चित देखिएको छ।

टेन्डर आह्वानको सूचना अनुसार ‘प्रि–बिड मिटिङ’ हुने मिति मंसिर १२ गते सोमबार (२८ नोभेम्बर) १२ बजेलाई तोकिएको थियो। तर, आफूले स्पेशिफिकेशन नबनाएको भन्दै उनले बैठकमा जवाफ दिन नमानेको स्रोतले बतायो।

युनाइटेड इमेजिङलाई मात्रै मिल्ने गरी एमआरआईको प्राविधिक स्पेशिफिकेशन बनाइएको भन्दै स्पेशिफिकेशन बनाउने प्राविधिक समितिलाई समेत सहभागी गराएर ‘प्रि–बिड’ को अर्को बैठक बोलाउने मिति तोक्नुपर्ने माग गर्दै माइन्युटमा लेखेर त्यसमा हस्ताक्षर गरी सप्लायर्स कम्पनीहरूले प्रि बिड बैठक नै बहिष्कार गरेका छन्।

ट्रमा सेन्टरबारे उकेरामा प्रकाशित सामाग्री

१ पुस, २०७९, १५:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।