टेन्डर सेटिङको आरोपमा ट्रमामा सरुवा भएका डा मरासिनीले एक सातापछि बल्ल पाए सरुवाको पत्र

टेन्डर सेटिङको आरोपमा ट्रमामा सरुवा भएका डा मरासिनीले एक सातापछि बल्ल पाए सरुवाको पत्र

काठमाडौँ : स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखामा रहँदा एकै कम्पनीसँग मिलेर अनियमितता गरेको आरोपमा परेका डा रुद्र मरासिनी ट्रमा सेन्टरको निर्देशकमा सरुवा भए। तर एक साता सम्म न उनी व्यवस्थापन महाशाखा जान सके न ट्रमामा नै हाजिर हुन सके।

बल्ल बल्ल उनी मङ्गलवार मरासिनी राष्ट्रिय ट्रमा सेन्टरको प्रमुखको पत्र पाएर पद बहाली गरेका छन्। ११ औँ तहका मरासिनीले मङ्गलवारै काम सुरु गरेका छन्।

एकपछि अर्को खरिद प्रकरणमा मरासिनी मुछिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उनको सरुवा निकाले पनि एकीकृत समाजवादीको नेतृत्व असहमत भएकाले उनले सरुवा पत्र पाएका थिएनन्।

स्रोतका अनुसार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल मरासिनीको पक्षमा थिएनन्। त्यसैले उनको सरुवा एक साता रोकियो। सेन्टरका निमित्त प्रमुख डा प्रमोद यादवले पनि मरासिनीलाई रोक्न प्रयास गरे।

प्रधानमन्त्री कार्यालयमा रहेका राज्यमन्त्री उमेश श्रेष्ठसँग निकट सम्बन्ध बनाएका मरासिनीको सरुवाको अवरोध खुलाउन उनै श्रेष्ठ सक्रिय भएका थिए। श्रेष्ठको पहलमा मरासिनीले सरुवाको पत्र पाएर मङ्गलवार हाजिर भए।

श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री हुँदा उनले मरासिनीलाई युनिफाइड अस्पतालको प्रमुखमा नियुक्त गरे पनि मरासिनी र श्रेष्ठ जनमैत्री अस्पतालमा साझेदार रहेको सूचना चुहिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले डा भूपेन्द्र बस्नेतलाई निमित्त प्रमुखमा नियुक्त गरेका थिए।

त्यसपछि मरासिनी ट्रमामै रहे। पछि उनी मन्त्रालय अन्तर्गतको खरिदका लागि आकर्षक मानिने व्यवस्थापन महाशाखा पुगे। उनीमाथि लुम्बिनी हेल्थ केयरसँगको सेटिङमा स्वास्थ्य सामाग्री खरिदको ठेक्का एकलौटी बनाएको आरोप लाग्यो। यही आरोपमा स्वास्थ्य राज्यमन्त्रीले उनीसँग स्पष्टीकरण समेत सोधेका थिए।

२१ भदौ, २०७९, १९:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।