बिग्रिएको मेसिनबारे चासो राख्दा ट्रमा सेन्टरका निर्देशकले भने- ‘यार आउनुस् न, पैसा दिन्छु’

बिग्रिएको मेसिनबारे चासो राख्दा ट्रमा सेन्टरका निर्देशकले भने- ‘यार आउनुस् न, पैसा दिन्छु’

काठमाडौँ : ट्रमा  सेन्टरमा भएको महँगो मेसिन बिगारेर नयाँ किन्ने चलखेल भइरहेको सूचनाको आधारमा मङ्गलवार उकेराकर्मीले राष्ट्रिय ट्रमा सेन्टरका निमित्त निर्देशक(सुपरिटेन्डेन्ट) डा सन्तोष पौडेलसँग सम्पर्क गर्दा पहिल्यै उनले भने‘ भोलाजी, अन्यथा केही थियो कि ?’

‘ट्रमामा सिटीहरू बिग्रिएका रहेछन्, के के सेवा अवरुद्ध छ ?’ भन्ने जिज्ञासा राख्नासाथ उनले भने ‘ए त्यो मुडभरिले पठाएको हो कि क्या हो तपाईँलाई ?’

उनी रोकिएनन् ‘एक जना मुडभरि पछि लागिरहेको छ क्या मेरो।एउटा काँग्रेसी केटो मेरो पछि लागिरहेको छ। तपाईँलाई त्यसले जानकारी दिएको मलाई थाहा छ।’

भएका मेसिन आफैँ बिगारेर नबनाउने, चल्ने मेसिन पनि थन्काउने र नयाँ किन्ने तयारी भइरहेको सूचनाको आधारमा उकेराले उनीसँग सम्पर्क गरेको थियो। तर उनी विषयतिर प्रवेश गर्न भन्दा पनि भेटेर कुरा गर्न जोड दिइरहेका थिए।

‘मेरोमा आउनुस्। मेरोमा पाँच मिनेट बस्नुस्। जति मन लाग्छ। पानाका पाना लेख्नुस्’ उनले भने‘ चिया, कफी खाएर मसँग पाँच मिनेट बस्नुहोस्। यो डाक्टरको बारेमा अब म लेख्छु भनेर लेख्नुस्।’ आफूसँग भेटेपछि लेख्नै नसक्ने उनको तर्क थियो।

उनी भन्दै थिए‘हिजै एउटा पत्रिकामा  हालिसक्यो त्यसले। त्यही भएर मलाई थाहा भएको। मसँग आइसकेको छ, न्युज। त्यो न्युज अर्काले छापिरहेका छन्। तपाईँहरूले त्यसलाई ब्ल्याक मेल गर्न खोज्नु भएको होला।’

उकेराले पाएको सूचना भेरिफाई गर्न सम्पर्क गरेको जानकारी दिँदै उनलाई सोधियो‘ बन्न सक्ने मेसिन नबनाई थन्काएर किन राखेको त ?’

उनले भने‘मलाई सप्पै थाहा छ। म मेसिन बिगार्दै हिँड्छु र ? प्रक्रिया हुन्छ। बनाउनु पर्छ। म तपाईँलाई लिस्ट दिन्छु यार। पैसा दिन्छु। त्यो पुरै दृष्टिकोण मलाई एक पटक भेटेपछि बदलिन्छ, तपाईँको दृष्टिकोण।’

उनी विषयतिर प्रवेश गर्नेभन्दा पनि भेट्नमै जोड दिइरहेका थिए ‘परिवारको लिगेसी हुन्छ। संस्कार हुन्छ भन्दै उनले उकेराकर्मीलाई भने‘ तपाईँलाई राम्रै हुन्छ। व्यक्तिगत फाइदै हुन्छ भेटौँ न।’

उनले पटक–पटक भेट्न आग्रह गरेपछि बिहीबार उकेराकर्मी ट्रमा सेन्टरमा रहेको उनको कार्यकक्षमा पुग्यो।

उनले बिग्रिएको मेसिन बनाउन स्वास्थ्य मन्त्रालयसँग बजेट मागेको बताउँदै आलटाल गरिरहे। ‘सिटी स्क्यानको लागी १०–१५ दिनमा काम हुने’ हुने बताउँदै उनले करिब २ घण्टा अलमलाए मात्रै।

न लिस्ट दिए,न बिग्रिएको मेसिनबारे विस्तृतै कुरा गर्न चाहे। उनले आफ्नै बखान मात्रै गरिरहे भेटमा। उनले नयाँ सिटिस्क्यान मेसिन किन्ने प्रयास गरेको तर मन्त्रीले अहिले कोरोना छ पर्दैन भनेर भनेको पनि बताए।

भानुभक्त ढकाल स्वास्थ्य मन्त्री भएपछि तत्कालीन निर्देशक डा. प्रमोद यादवलाई हटाएर पौडेल ट्रमा सेन्टरमा आएका थिए। उनी हाड जोर्नी विशेषज्ञ हुन्। ट्रमामा उनीभन्दा काबिल र वरिष्ठ चिकित्सक अरू पनि छन्। तर राजनीतिक प्रभावका कारण उनी नै मन्त्रीको रोजाइमा परेका थिए।

साढे चार करोडको सिटी थन्काइयो

ट्रमामा सिटी स्क्यान गरेको २ हजार पाँच सय हाराहारी पर्छ। तर त्यही काम निजीमा गयो भने पाँच हजार शुल्क तिर्नुपर्छ।

डेढ महिना भयो ट्रमा सेन्टरमा चार करोड २८ लाखको सिटी स्क्यान मेसिन थन्काइएको। मेसिन थन्किनु अगाडि दैनिक ३० जनासम्म बिरामीको सिटी स्क्यान ट्रमामै हुने गरेको थियो। अहिले अन्त पठाउँछन् चिकित्सकहरू। 

ट्रमामा भएको सिटी सिमेन्स कम्पनिको हो।  यो सिटिस्क्यान १६ स्लाइसको हो। भारतले ट्रमा सेन्टर स्थापना भएपछि आर्थिक वर्ष २०७१-०७२ मा अनुदानमा दिएको थियो यो मेसिन।

मेसिनले ०७४ सम्म राम्रै काम गरिरहेको थियो। कर्मचारीको फेरबदल सुरु भएसँगै मेसिन पनि बिग्रन थाल्यो।

कहिले सिटी स्क्यान मेसिनको सफ्टवेयर उड्यो त कहिले हाई भोल्टेज आयो भन्दै मेसिन थन्काइयो।

‘सिटी यतै हुने भएपछि बिरामी बाहिर पठाउन मिलेन। मेसिनै बिग्रिएपछि त बाहिर जाऊँ भन्न सजिलो भयो,’ ट्रमाका एक चिकित्सकले भने‘ यहाँ आएका बिरामीलाई सिटी गराउन अन्त पठाउनै हाइ भोल्टेज पठाएर समेत मेसिन बिगारे।’

एक वर्ष भयो सिटी स्क्यान मेसिनको ट्युब बिग्रिएर ८० लाख खर्च गरेको। ८० लाख खर्च गरेर बनाएको मेसिन वर्ष दिन मुस्किलले चल्यो। फेरि समस्या आयो भनेर त्यसै थन्काएर राखिएको छ।

निर्देशक डा. पौडेल भने ‘यो मेसिनको आयु नै सकिएको दाबी गर्छन्। उनको तर्क छ‘ दुई लाख वटा स्क्यान गरेपछि मेसिनको आयु सकिन्छ। यसले दुई लाख ८६ हजार वटा सिटी स्क्यान गरिसक्यो।’

६४ करोडको अर्को सिटी थन्कियो

यो मात्रै हैन, शल्यक्रियामा प्रयोग हुने करिब ६४ करोड मूल्य बराबरको ६४ स्लाइसको मेसिन पनि नचलाई थन्क्याइएको छ ट्रमामा। तत्कालीन निर्देशक डा. प्रमोदकुमार यादवको कार्यकालमा ६४ स्लाइसको यो मेसिन सञ्चालन गर्न मापदण्ड पूरा गरी तयारी गरिएको थियो।  उनी पदबाट हटेपछि मेसिन सुरु गर्न पहलै भएन।

डिजिटल एक्स-रे पनि काम गर्दैन

डा. पौडेल निमित्त निर्देशक हुनासाथ ओपिडीका डिजिटल (डिआर) एक्स–रे मेसिन पनि थन्किए। अहिलेसम्म पनि त्यो सुरु भएको छैन। 

बिग्रिएको भन्दै स्टोरमा थन्काइएको छ डिजिटल एक्स–रे पनि। डिजिटल एक्स-रे मेसिनबाट दैनिक करिब ३ सय जनाले एक्स–रे हुने गरेको थियो। अहिले ट्रमामा जम्मा आकस्मिक र ओपिडीमा गरेर २ वटा एक्स रे मेसिन मात्रै चलिरहेको छ। 

डिजिटल मेसिनबाट एक्स-रे हुन छाडेपछि पुरानोबाट गरिने एक्स-रे बुझ्नै कठिन हुने ट्रमाका अर्का चिकित्सकले बताए।

‘एक्स-रे नबुझिँदा एकै बिरामीले पटक पटक एक्स-रे गर्नु पर्ने अवस्था छ,’ ती चिकित्सकले भने‘ कति बिरामीका आफन्त त हैरान भएर बाहिर जान्छन् डिजिटल एक्स-रे गर्न।’

टाउकोको चोट थाहा पाउनै मुस्किल

विशेष गरी दुर्घटनामा परी घाइते भएका बिरामको उपचार गरिने सरकारी अस्पताल हो, ट्रमा। सडक दुर्घटना तथा दैवी दुर्घटनामा परी घाइते भएकाहरूको सबैभन्दा पहिले सिटी स्क्यान गर्नुपर्ने हुन्छ। 

त्यसमाथि पनि टाउको लगायत शरीरका अङ्गको सिटी नगरी उपचार गर्न असहज हुन्छ। टाउकोमा रगत जमे–नजमेको एक्स–रे बाट थाहा हुँदैन। टाउकामा के भएको छ भन्ने पहिचान गर्न सिटी स्क्यान नै गर्नुपर्छ। 

घाइते भएर ट्रमा पुगेका बिरामीको उपचारको सबैभन्दा पहिलो चरणको काम नै सिटी स्क्यान हो।

डिएसए पनि लथालिङ्ग

ट्रमामा डिएसए (डिजिटल सबट्रयाकशन एन्जिओग्राफी) मेशिन पनि छ। तर त्यो पनि लथालिङ्ग अवस्थामा छ। 

यो मेसिनको मूल्य ४ करोड ९७ लाख भन्दा बढी पर्छ। भारतको अनुदानमा सिटीसँगै ल्याइएको यो मेसिन पनि केही समय मात्रै चलाइयो। तर, पछि यो मेसिनको रिपोर्ट हेरी उपचार गर्ने इन्टरभेन्सन रेडियोलोजिस्ट नहुँदा मेसिनै थन्कियो। 

सुरुमा करारमा इन्टरभेन्सन अध्ययन गरेका रेडियोलोजिष्ट ल्याएर करिब एकवर्ष यो मेसिन चलाइएको थियो। तर, पछि उपचार गर्ने चिकित्सक पनि भएनन्, करार नियुक्ति थप नभएपछि यो मेसिन थन्काइयो।

एक चिकित्सकले भने‘पछि मुसाले तार काट्यो भने। अहिले यो मेसिनै चलाइएको छैन। बनाउने चासो पनि कसैलाई छैन।’

डिएसए मेसिनको सहायताले नसामा क्यारेक्टर छिराएर बिरामीको रगत बगिरहेको छ भने पनि रोक्न सकिने चिकित्सक बताउँछन्। यसको सहयोगले नसा तथा अंग प्रत्यांगको ब्लकेज खोल्न सकिन्छ। जसले हृदयाघात भएका बिरामीलाई समेत बचाउने सम्भावना बढी हुन्छ।

कुनै अङ्गको एम्बोलाईजेशन पनि यो मेशिनबाट गरिन्थ्यो। यो मेशिन रेडियोलोजी, न्युरो, मुटुलगायतको उपचारमा अति उपयोग हुने चिकित्सक बताउँछन्। 

यो मेसिनको सहायताले बिरामीको उपचार गर्दा ट्रमामा करिब १० दश हजार शुल्क पर्थ्यो। तर, बाहिर भने करिब ७० हजार शुल्क बुझाउनुपर्छ। 

मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मिका अनुसार शरीरका विभिन्न नसा तथा कोशिकामा के समस्या भएको छ भन्ने हेर्नका लागि यो मेसिन काम लाग्छ। यो सिटीकै एक प्रकारको रूप हो। यो मेसिनको सहायताले क्याथेटर नसामा छिराएर ब्लक भएका नसा पनि खोल्न सकिन्छ। 

फोलोस्कोपको हालत नि उस्तै

फोलोस्कोप मेसिन पनि २०७४ देखिनै थन्काइएको छ। यो मेसिनले स्पेसल एक्स-रे गरिन्थ्यो। एलेन्जर कम्पनीको हो यो मेसिन। यसको मूल्य करिब दुई करोड पर्छ।

बनाउन भन्दा किन्नमै ध्यान

ट्रमा सेन्टर आफैँमा संवेदनशील उपचार स्थल हो जहाँ विभिन्न दुर्घटनामा परेका बिरामीहरू आकस्मिक उपचारका लागि आउँछन्। दुर्घटनामा परेकाहरूको उपचार वीरको साटो ट्रमामा गर्न भारतले सहयोग गरेको थियो।

सहयोगसँगै आवश्यक उपकरणहरू समेत अनुदानमा दियो भारतले। केही सरकार आफैँले किन्यो।

ट्रमा सुरु भएसँगै बिस्तारै मेसिनहरू थन्कन थाल्यो। थन्काउनुको कारण बिग्रियो मात्रै भनिन्छ। मर्मत किन गरिएन प्रस्ट उत्तर दिएनन् पौडेलले पनि।

‘पुरानो हो बिग्रन्छ नि’ उनको उत्तर यही थियो।

ट्रमा स्रोतका अनुसार भएका मेसिन बनाउनतिर भन्दा पनि नयाँ किन्नमै नेतृत्वको जोड हुन्छ यहाँ। सामान्य तार फेर्दा चल्न सक्ने महँगा मेसिन समेत विभिन्न कारण देखाएर थन्काउने र महँगो दरमा सेटिङ मिलाउँदै खरिद गर्ने रोग पुरानै हो ट्रमाको।

‘सके नयाँ मेसिन ल्याउने, सकिएन भने बिरामी बाहिर पठाउने,’एक चिकित्सकले भने‘ सामान्य खर्चमा बन्न सक्ने मेसिन पनि बनेका छैनन् यहाँ। जसले मेसिनबारे कुरा गर्र्यो उही जोखिममा पर्छन्।’

२९ माघ, २०७७, २२:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।