डा. कृष्णजङ्गको कमिसन कारोबार, ट्रमा सेन्टर आएका बिरामीलाई लेटरहेडमै मूल्य तोकेर ‘कुण्डलिनी’ पठाए

डा. कृष्णजङ्गको कमिसन कारोबार, ट्रमा सेन्टर आएका बिरामीलाई लेटरहेडमै मूल्य तोकेर ‘कुण्डलिनी’ पठाए

काठमाडौं : बुधबार राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. कृष्णजङ्ग साहले एक २६ वर्षीय पुरुषलाई एमआरआईका लागि निजी संस्थामा पठाएको खुलेको छ।

उकेरालाई प्राप्त तथ्यअनुसार डा.साहले ट्रमा सेन्टरको प्रेस्कृप्सन लेटर(रिक्युजिसन फर्म)मा चण्डोलस्थित ‘कुण्डलीनी डाइग्नोस्टिक सेन्टर’को नाम र सम्पर्क नम्बर लेखेरै एमआरआई गरेर ल्याउन बिरामीलाई पठाएको खुलासा भएको हो।

त्यतिमात्रै हैन उनले एमआरआईको शुल्कसमेत लेटरहेडमा नै लेखिदिए– १० हजार रूपैयाँ। ती बिरामीलाई बुधबार नै डा. साहले कुण्डलिनी जान भने।

ढाडको एमआरआई गर्न डा. साहले ट्रमा सेन्टर पुगेका बिरामीलाई वीर अस्पताल नपठाएर निजी संस्थामा पठाए। ‘तल्लो ढाड’को सामान्य किसिमको एमआरआई वीर अस्पतालमा नै हुने गर्छ। अस्पताल प्रशासनसँग बुझ्दा ढाड र हड्डीको सामान्य एमआरआई वीरमा नै हुने थाहा पाइयो।

वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत पर्ने दुई संस्था हुन्। तर, वीर अस्पतालमा नै सम्भव हुने एमआरआई परीक्षण गर्न डा.साहले निजी संस्थामा पठाएपछि उनको नियतमा प्रश्न उठेको छ।

चिकित्सकले मौखिक रूपमा कुनै संस्थाको नाम सिफारिस गर्नु वा सुझाव दिनुलाई सामान्य रूपमा लिन सकिन्छ। तर, सरकारी अस्पतालकै लेटरप्याडमा बकाइदा एमआरआई गर्ने ठाउँको नाम, सम्पर्क नम्बर र शुल्क समेत तोकेर पठाउनु गम्भीर विषय हो।

उकेरासँगको कुराकानीमा डा.साहले बिरामीलाई कुण्डलिनीमा एमआरआई गर्न पठाएको स्वीकारे। उनले वीर अस्पतालमा भएको एमआरआई मेसिन गुणस्तरीय नभएको भन्दै छिटो र गुणस्तरीय रिपोर्टका लागि निजी संस्थामा पठाएको तर्क गरे।

‘ट्रमा सेन्टरको लेटरप्याडमा नै मूल्य समेत तोकेर किन बिरामीलाई कुण्डलिनीमा पठाउनुभएको?’ भन्ने प्रश्नमा डा. साहले भने, ‘हामीलाई जहाँको भए पनि केहि पनि फरक पर्दैन। मलाई थ्री टेस्ला एमआरआईको (रिपोर्ट) चाहियो।’

ट्युमरहरूको केसमा सानो एमआरआई मेसिनले राम्रो नदेखिने भएकाले थ्री टेस्ला एमआरआईको लागि कुण्डलिनी पठाएको डा. साहले भने।

‘थ्री टेस्ला एमआरआईको लागि त्यहाँ (कुण्डलिनी) पठाएको हो, जहाँको भए पनि ईमेजचाहिँ मलाई पेनड्राइभमा चाहियो।’

त्यसो त वीर अस्पतालमा एमआरआई गरेको ९ हजार रूपैयाँ लिने र ढिलो हुने भएकाले पनि निजी संस्थामा पठाएको डा.साहको अर्को तर्क छ।

‘वीरमा पनि ८/९ हजार रूपैयाँ लिन्छ,’ उनले भने, ‘मेरो सिग्नेचरविना त्यहाँ (कुण्डलिनी) जानुभयो भने १४ हजारदेखि १५ हजार रूपैयाँ एमआरआईको लाग्छ।’

उनले वीर अस्पतालमा १५ देखि १८ दिनमा एमआरआईको पालो आउने दाबी गर्दै निजी संस्थामा तुरुन्तै हुने भएकाले रेफर गरेको तर्क गरे।

‘मलाई जहासम्म लाग्छ, वीर अस्पतालमा केही नभए पनि १५ देखि १८ दिनसम्म लाग्छ,’ उनले थपे, ‘त्यहाँ (कुण्डलिनी)ले अस्पतालकै रेटमा तुरुन्तको तुरुन्तै एमआरआई गरिदिन्छ, त्यही भएर मैले लेखेको हो।’

के रहेछ त वास्तविकता भनेर उकेराले अस्पतालमा बुझ्दा यस किसिमको समस्याको एमआरआई गर्न करिब आठ हजार खर्चमा तीन दिनमा एमआरआई हुने देखियो।

डा. साहले निजी संस्थामा रेफर गरे पनि बिरामी भने वीर अस्पतालमा एमआरआई हुन्छ कि हुँदैन भनेर बुझ्न गए। त्यहाँ उनले शुक्रबार एमआरआई गर्नका लागि समयसमेत पाए।

डा. साहले वीर अस्पतालमा कम गुणस्तरको एमआरआई भएकाले निजीमा पठाएको दाबी गरे पनि वीरमा कस्तो एमआरआई छ भन्ने प्रष्ट रूपमा खुलाउन भने सकेनन्।

‘हामीले एमआरआईका लागि पठाउने वीर अस्पताल नै हो, अहिलेको मोर्डन जमानाको थ्री टेस्ला एमआरआई भयो तर त्यो मेसिन वीर अस्पतालमा छैन,’ डा. साहले भने, ‘अस्पतालमा एमआरआई भनेको १.५ टेस्लाको सायद होला। आइएम नट सियोर एबाउट द्याट।’

अस्पतालमा कुन गुणस्तरको एमआरआई छ भन्ने विषयमा डा.साह आफैँ अनविज्ञ देखिए। आफूलाई जानकारी नै नभएको अवस्थामा अस्पतालको एमआरआई मेसिन किन कम गुणस्तर भन्दै निजीमा बिरामी पठाएको भन्ने उकेराको प्रश्नमा डा. साहले पीडा बुझिदिन आग्रह गर्दै भावनात्मक कुरा गरे।

आफूले कमिसन खाने भए सुटुक्क बिरामी पठाउने उनको तर्क छ।

‘म गलत भएको भए त त्यसरी ट्रमा सेन्टरको लेटरहेडमा नाम लेखेर यत्रो सिग्नेचर गरेर त पठाउँदै पठाउँदिन थिएँ नि ! कमिसन भएको भए त सुटुक्क यसमा जानुहोस्, यतिमा गराइदिन्छु भनेर गर्थें होला नि त!’

तर, लेटरप्याडमा नै लेखेपछि बिरामी पठाउने डाक्टरको कमिसन सुनिश्चित हुने जानकार स्रोतले बतायो।

के भन्छन् ट्रमाका प्रमुख?
ट्रमा सेन्टरका प्रमुख डा. रुद्रप्रसाद मरासिनी, त्यसरी ट्रमा सेन्टरको लेटर प्याड (प्रेस्कृप्सन लेटर)मा नै लेखेर निजी संस्थामा एमआरआई परीक्षणका लागि पठाउन नमिल्ने बताउँछन्।

उनले भने, ‘यो गलत कुरा हो। त्यसरी पठाउन मिल्दैन। बिरामीलाई अप्सन दिने हो। त्यसरी लेखेर ठाउँ नै तोकेर दिनु गलत कुरा हो।,’

त्यसरी ट्रमा सेन्टरको लेटरप्याडमा नै कुनै निजी संस्थामा एमआरआई परीक्षण गर्न पठाएको पुष्टि भए पहिलो चरणमा सचेत गराउँदै स्पष्टिकरण साधिने उनले बताए।

‘प्रमाण भेटेको खण्डमा सचेत गराइन्छ पाहिलो चरणमा। स्पस्टिकरण सोधिन्छ,’ उनले भने।

०००

नेपाल सरकारको स्थायी जागिरे अर्थोपेडिक्स सर्जन डा. साह ट्रमाका रेजिडेन्ट चिकित्सक हुन्। डा. साहको भनाइलाई आधार मान्ने हो भने वीर अस्पतालमा भएको एमआरआई मेसिन गुणस्तरीय छैन। यसले राम्रो नतिजा दिँदैन।

तर, अस्पताल भने डा.साहको भनाइमा बदनियत देख्छ। उनले कसिमनका लागि निजी संस्थामा एमआरआई गर्न बिरामीलाई पठाएको अस्पताल स्रोत बताउँछ।

२२ मंसिर, २०७९, १८:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।