उकेरा प्रभाव : ट्रमा र वीरका निर्देशकको अनियमितता छानबिन गर्न मन्त्रालयले बनायो समिति

उकेरा प्रभाव : ट्रमा र वीरका निर्देशकको अनियमितता छानबिन गर्न मन्त्रालयले बनायो समिति

काठमाडौँ : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा भएको अनियमितताको छानबिन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समिति गठन गरेको छ।

ट्रमामा काम गर्ने स्वास्थ्य उपकरण बिग्रियो भनेर थन्काउँदै कमिसनका लागि नयाँ उपकरण किनेर अनियमितता गर्ने गरेकोबारे उकेराले प्रकाशित गरेको समाचारको आधारमा मन्त्रालयले समिति गठन गरेको हो। फागुन १३ मा सचिवस्तरिय निर्णय गर्दै ४ सदस्यीय छानबिन समिति गठन भएको हाे। 

मन्त्रालयले छानबिनका लागि पठाएको पत्रमा ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रसाथ संलग्न उजुरीमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा भएको अनियमितता छानबिन गरी दोषी उपर कारबाही गरी पाउँ भन्ने ब्यहोराको उजुरी एवं श्रीमान् सचिवज्यूलाई सम्बोधन गरी सोही ब्यहोराको उजुरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा दर्ता भएको हुँदा उक्त उजुरीका सम्बन्धमा सत्य तथ्य छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न’ भनिएको छ।

मन्त्रालय स्रोतबाट प्राप्त जानकारी अनुसार छानबिन समितिको संयोजक मन्त्रालयकी प्रमुख जनस्वास्थ्य प्रशासक रिता भण्डारी जोशी छिन्। 

वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरका कर्मचारीले उकेरामा प्रकाशित समाचारसहित निर्देशक सहितका कर्मचारीको अन्य गतिविधिलाई आधार बनाउँदै छानबिनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, र स्वास्थ्य मन्त्रालयमा उजुरी दिएका थिए।

बिग्रिएको मेसिनबारे चासो राख्दा ट्रमा सेन्टरका निर्देशकले भने- ‘यार आउनुस् न, पैसा दिन्छु’

 

निवेदनमा दुवै अस्पतालमा अनियमित रूपमा कर्मचारी भर्ना गरिएको, मन नपरेको कर्मचारीलाई अनावश्यक रूपमा सरुवा गरेर दुख दिएको र मिलेमतोमा आफू निकटका व्यापारीसँग नियम विपरीत सामान खरिद गरेको दाबी गरिएको छ।

उजुरीमा ट्रमा सेन्टरका निमित्त निर्देशक(सुपरिटेन्डेन्ट) डा. सन्तोष पौडेल ट्रमाका डा. गौरव ढकाल, डा. नवीन पोखरेल, अहेव विष्णु फुयाँल, अर्जुन भेटवाल, आइसियु र ओटी प्रमुखको मिलेमतोमा अनियमित रूपमा कर्मचारी भर्ना, ठेक्कापट्टा गर्नुका साथै अस्पताल भित्रै अवैध व्यापार गरेको दाबी गरिएको छ।

ट्रमाका सुपरिन्टेन्डेन्ट पौडेलले सामान्य मर्मत गर्दा काम गर्ने मेसिन थन्काएर नयाँ किन्ने प्रक्रिया अगाडि बढाएकोबारे उकेराले समाचार प्रकाशित गरेको थियो।

ट्रमामा डा. पौडेल र ढकालको मिलेमतोमा बिरामीको शल्यक्रिया गर्दा प्रयोग हुने करिब ३ लाख हाराहारीका सर्किजल सामग्री अस्पताल भित्रै आफूले भनेका व्यापारीसँग मगाउन लगाउने कर्मचारीको दाबी छ।

ट्रमाका एक चिकित्सकले भने,‘अस्पताल भित्रै अप्रेसन थिएटर अगाडी र बेडमा नै व्यापारीलाई बोलाएर बिरामीलाई किन्न लगाइ कमिसन लिन्छन्।’ उनीहरूले भनेको बाहेकको ठाउँबाट बिरामीले सामग्री किन्दा विभिन्न बहानामा शल्यक्रिया ढिला गरिदिने तथा कुनै जटिलता आए आफू जबाफदेही नहुने भन्दै बिरामीलाई तर्साउने गरेको ती चिकित्सकको दाबी छ।

टेन्डरमा गुणस्तरीय र सस्तो उपकरण दिँदा पनि यो समूहले कमिसन लिँदै महँगोमा करोडौँको सामान खरिद गरिरहेको उजुरीमा उल्लेख गरिएको छ।

उजुरीमा वीर अस्पतालमा पनि चरम अनियमितता भएको दाबी गरिएको छ। 

वीर अस्पतालको खरिद एकाइमा पाँच वर्ष देखि व्यापारिकसँगको मिलेमतोमा बसिरहेको समूहलाई सार्वजनिक खरिद अनुगमन कार्यालय, महालेखा, राष्ट्रिय सतर्कता केन्द्र, प्रधानमन्त्री कार्यालयको सुशासन इकाई समेतले कारबाही गर्ने निर्देशन दिए पनि मन्त्रालय र उपकुलपतिले हालसम्म कुनै कारबाही नगरेको  उजुरीमा उल्लेख छ।

वीर मा निर्देशक डा. केदार सेन्चुरी, खरिद प्रमुख नर्स भगवती थपलिया, सुब्बा विजय लामा, श्याम बिक, राजकुमार राजथला, डा. अचुत कार्कीमाथि समेत कारबाहीको माग गरिएको छ।

अनियमितताका बारेमा बोल्दा निर्देशक र खरिद इकाई प्रमुख थपलियाले कर्मचारीलाई धम्क्याउने गरेको वीरका एक कर्मचारीले बताए। 

ती कर्मचारीले भने,‘अनियमितताका बारेमा बोल्दा खरिद प्रमुख भगवती थपलिया धम्क्याउँछिन्। गुन्डा लगाएर पिटाउँछु भन्छिन्।’ 

तर, यो आरोपमा सत्यता नभएको थपलियाले उकेरालाई बताइन्। उनले भनिन्,‘कसलाई धम्क्याउने र सर? म ३० वर्ष भयो यो ठाउँमा कम गरेको।’ 

यसअघि वीर अस्पतालमा पनि उपकरणहरू नबनाउने तर, खरिद गर्न भने हतार गर्ने विषयमा उकेराले समाचार प्रकाशित गरेको थियो।

वीर अस्पताल व्यवस्थापकको बदमासी: 'कमिसनको लोभ' मा बन्ने मेसिन थन्काएर नयाँ किन्छन्

वीर अस्पतालमा बिग्रिएका सिटी, एक्स–रे लगायतका उपकरण किन नबनाउनु भएको भन्ने प्रश्नमा थपलियाले सामान नपाएकाले नबनाएको दाबी गरिन्। 

उनले भनिन्,‘केही सामान जर्मनबाट आउने भएकाले पाइएन। व्यापारीले नै महँगो भनेकाले उपकरण बनाउन सकिएन।’

ट्रमा सेन्टरमा सिटी स्क्यान, एक्स–रे लगायत अत्यावश्यक उपकरण अझै बनेका छैनन्। केही उपकरण भने चलाउँदै नचलाई थन्क्याइएकोबारे उकेराले समाचार प्रकाशित गरेको थियो।

१७ फागुन, २०७७, २२:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।