वीर अस्पताल व्यवस्थापकको बदमासी: 'कमिसनको लोभ' मा बन्ने मेसिन थन्काएर नयाँ किन्छन्

वीर अस्पताल व्यवस्थापकको बदमासी: 'कमिसनको लोभ' मा  बन्ने मेसिन थन्काएर नयाँ किन्छन्

काठमाडौँ : वीर अस्पतालमा सिटी स्क्यान गर्ने मेसिन बिग्रिएर थन्किएको साढे २ वर्ष भयो। १ सय २५ स्लाइसको यो मेसिन बन्नै नसक्ने भएकाले थन्किएको भने हैन।

नयाँ किन्ने हो भने करिब तीन करोड लाग्छ। बनाउँदा त्यत्रो पैसा लाग्दैनथ्यो। तर वीर व्यवस्थापकले एक पटक पनि मेसिन बनाउने प्रयासै नगरी नयाँ मेसिन किनेर ल्याए।

यसरी नै मर्मत गर्दा बन्ने हुँदाहुँदै थन्किएको अर्को मेसिन हो मेमोग्राम। स्तन क्यान्सर पत्ता लगाउन परीक्षण गर्ने मेसिन हो यो। यो मेसिन थन्किएको एक वर्ष पुगिसक्यो। 

अस्पतालमा रहेका दुई वटामध्ये एउटा ‘सी आम’ मेशिन बिग्रिएको छ। नयाँ किन्दा एक करोड बढी मूल्य पर्ने यो मेसिन बनाउनुभन्दा किन्नतिरै ध्यान छ व्यवस्थापनको।

०००

वीरमा बिग्रिएको बहानामा महँगा स्वास्थ्य उपकरणहरू थन्काउने र नयाँ किन्ने प्रक्रिया अगाडि बढाउने खेल नौलो हैन। अहिले अस्पतालको निर्देशक छन् डा. केदार प्रसाद सेन्चुरी। बिरामीको स्वास्थ्य परीक्षणमा उपयोग हुने महत्त्वपूर्ण उपकरणहरू बिग्रिएकोबारे उनी जानकार छन्। तर बिग्रिएको मेसिन बन्छ कि बन्दैन भनेर प्रयास गराउनुको साटो उनी नयाँ उपकरण किन्नतिर बढी सक्रिय देखिए।

‘पुराना मेसिन बनाउनुभन्दा नयाँ मेसिन किन्नु नै ठिक देखिएकाले नयाँ किन्न लागेका हौँ,’ वीर अस्पतालका निर्देशक डा. सेन्चुरीले भने‘ पुरानो मेसिन बनाउँदा लाग्ने खर्चमा केही पैसा थप्दा नयाँ नै आउँछ भने किन बिग्रिएकै मेसिन बनाउनु ?’

उनले बिग्रिएका मेसिन बनाउँदा नयाँ किन्ने हाराहारीकै खर्च लाग्ने भएकाले खरिद गर्ने योजना बनाएको दाबी गर्दै भने ‘कोरोना भाइरस सङ्क्रमण सुरु हुनु भन्दा अघि नै नयाँ मेशिन किन्ने योजना थियो। तर, कोरोना भाइरस सुरु भएपछि सो प्रक्रिया रोकियो। अहिले केही उपकरणहरू खरिद गर्ने प्रक्रिया अघि बढेको छ।’

तर स्वास्थ्य उपकरणको अवस्थाबारे जानकार अस्पताल स्रोत बिग्रिएको मेसिन बनाउनुको साटो नयाँ किन्ने प्रक्रियामा कमिसनको प्रभाव रहेको दाबी गर्छ।

स्रोतका अनुसार एक्स–रे लगायत केही स्वास्थ्य उपकरण त सामान्य मर्मत गर्दा चल्छ। तर बनाउने विषयमा व्यवस्थापक चासो नै दिँदैन। 

०००

निर्देशक डा. सेन्चुरी अस्पतालका धेरै स्वास्थ्य उपकरण बिग्रिएको स्वीकार गर्छन्। कुन कुन मेसिन बिग्रिएका छन् अनि के के किन्ने तयारी छ भन्ने उकेराको जिज्ञासामा उनले यकिन बताउन सकेनन्। भने ‘बिग्रिएको त धेरै छ।’ 

स्रोतबाट उकेराले पाएको बिग्रिएका स्वास्थ्य परीक्षण उपकरणहरूबारे जानकारी गराउँदा भने उनले ती बिग्रिएका छन् भनेर स्विकारे। 

‘अप्रेसन थिएटरका करिब १० वटा भेन्टिलेटर बिग्रिएका छन्। आइसियुमा आवश्यक भेन्टिलेटर पनि बिग्रिएको छ,’ उनले स्वीकार गरे।

उता चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा. डा. देवनारायण (डिएन) साहले भने बिग्रिएका मेसिन बनाउने दाबी गरे। उनको दाबी अनुसार कोरोनाका कारण मर्मतका सामाग्री नपाएकाले एक्स–रे लगायतका उपकरण नबनेको हो।

कोरोनाका कारण विदेशबाट आउने सामान नपाउँदा मेसिन बनाउन नसकिएको उनको तर्क छ। उपकुलपति डा.साहले भने,‘कोभिडका कारण तेस्रो देशबाट आउने सामानको अभाव छ। सामान नपाएका कारण केही मेशिनहरू बनाउन सकेका छैनौँ।’ 

निर्देशक डा. सेन्चुरीले सिटी मेसिनको उदाहरण दिँदै यो बनाउन धेरै खर्च हुने र बनाउने कम्पनीले पनि समयमै नबनाइदिने भएकाले नयाँ किन्नु नै ठिक रहेको तर्क गरे। 

निर्देशक सेन्चुरीको अर्को तर्क अनुसार प्रतिस्पर्धामा नभई सप्लायर्सकै भरमा परेर मेसिन किन्नु र बनाउनुपर्ने भएकाले पनि अस्पताल व्यवस्थापकले समस्या झेलिरहेको हो। 

‘सप्लायर्स एउटै हुन्छ। प्रतिस्पर्धाको बजार भए पो,’ उनले दाबी गरे‘यति दाम चाहियो भन्छ। हामीलाई थाहा हुँदैन।’ यसरी सामान सप्लाई गर्ने कम्पनीले बिग्रिएपछि बनाउन मनोमानी रकम माग्दा बरु नयाँ नै किन्नु ठिक लागेको उनले बताए।

बिग्रिएको सिटी बनाउनुभन्दा किन्नतिरै जोड

साढे २ वर्ष देखि सिटिस्क्यान मेसिन बिग्रिएर थन्किएको छ। सो उपकरणबारे जनकार स्रोतका अनुसार १ सय २५ स्लाइसको यो मेसिन बनाउन चाहे बन्छ। तर, एक पटक पनि बनाउने प्रयास भएन। बिग्रिएको पहिलो पटक नै थन्क्याइयो।

बरु यो मेशिन बनाउनुको सट्टा २ वर्ष अघि नयाँ सिटी मेसिन खरिद गरेर ल्याइयो। अहिले त्यही नयाँ खरिद गरेर ल्याएको एउटा सिटी मात्र चलिरहेको छ। 

पुरानो सिटीको ट्युब बिग्रिएकाले बनाउन करिब १ करोड ५० लाख खर्च लाग्ने भएकाले नबनाएको निर्देशक सेन्चुरीको तर्क छ। उनले भने,‘ट्युब बिग्रिएको छ। झन्डै–झन्डै १ करोड ५० लाख लाग्छ रे।’ उनले तीन करोडमा त नयाँ नै आउने बताए। उनकै दाबीमा डेढ करोडमा बन्ने मेसिन नबनाएर थप डेढ करोड सरकारी रकम खर्च गर्ने उनको मनसाय देखियो नै। 

उनको अर्को बहाना बिग्रिएको सिटी मेसिन बनाएपछि कति समयसम्म चल्छ भन्ने ठेगान नभएकाले नै नयाँ किन्न लागिएको हो। निर्देशक डा. सेन्चुरीले भने,‘ यो भन्दा अगाडीका डाइरेक्टरले पनि बनाएनन्। मैले पनि स्वास्थ्य सेवा विभागसँग राय लिँदा नबनाउँदै ठिक हुन्छ भने। त्यसैले बनाइन।’ 

मेमोग्राम पनि थन्कियो

स्तन क्यान्सर भएको हो या हैन परीक्षण गर्न प्रयोग गरिने मेमोग्राम मेसिन पनि बिग्रिएको छ। तर, उपकुलपति डा. साहले त मेमोग्राम बिग्रिएकोबारे आफूलाई थाहै नभएको तर्क गरे। 

उनले भने,‘एक्चुल्ली भन्नुहुन्छ भने मेमोग्राम बारेमा थाहा भएन।’ यो मेसिन बिग्रिएकोबारे आफूलाई कसैले नभनेको उनको दाबी छ। वीर अस्पतालमा ३ सय ५० भन्दा बढी विभिन्न उपकरण भएकाले सबै उपकरणको बारेमा आफूलाई थाहा नहुने उनको तर्क छ।

एक्स–रे पनि बनेनन्

वीरका एक्स रे लगायतका मेसिनहरू पनि बिग्रिएर थन्किएका छन्। ती मेसिन सामान्य मर्मत गर्दा बन्ने प्राविधिक स्रोतको दाबी छ।

वीर अस्पतालमा ३ मध्ये २ वटा एक्स–रे मेशिन बिग्रिएर थन्किएका छन्। औषधि खुवाएर गरिने स्पेसल एक्स–रे मेशिन ३ वर्षदेखि बिग्रिएर थन्किएको छ। 

अहिले स्पेसल केसको एक्स–रे गर्नुपर्दा अस्पताल बाहिर पठाउनुपर्ने अवस्था छ। यो मेशिन पनि एक पटक बिग्रिएपछि कहिल्यै बनाउने प्रयासै गरेन व्यवस्थापकले।

यो एक्स–रेबाट दैनिक २०-२५ जनाको एक्स–रे हुन्थ्यो। एक जनाको १५ सय हाराहारीमा एक्स–रे हुने भए पनि निजीमा जाँदा ५-६ हजार शुल्क तिर्नुपर्छ।  साधारण एक्स–रे गरेर रोग पहिचान नभए यस किसिमको एक्स–रे गरिन्छ। 

त्यसै गरी हातखुट्टा, ढाड र पेटको एक्स–रे गर्ने अर्को उपकरण पनि कात्तिकदेखि बिग्रिएर थन्किएको छ। दैनिक २०-२५ जनाको एक्स–रे हुन्थ्यो भने एक्स–रे गरे बापतको शुल्क २ देखि ४ सय पर्थ्यो। यो मेसिन बिग्रँदा निजी ल्याबमा गएर ६ सय हाराहारी तिर्न बाध्य छन् अस्पताल आउनेहरू।

अहिले छाती र घाँटीको एक्स–रे गर्ने एउटा मात्रै एक्स–रे मेसिन चलिरहेको छ। यो मेसिनले दैनिक १ सय ५० हाराहारी बिरामीको एक्स–रे भइरहेको थियो। 

उपकुलपति साहले पनि अस्पतालमा धेरै एक्स–रे मेसिन आवश्यक रहे पनि बनाउन नसकेको स्विकारे। उनले भने,‘एक्स–रे बढी आवश्यकता छ। अरू पनि मेसिन भइदिएको भए राम्रो हुन्थ्यो।’ 

अरू पनि थन्किएका छन्

अस्पतालमा रहेको दुई वटा मध्ये एउटा ‘सी आम’ मेसिन बिग्रिएको छ। एक करोड हाराहारी मूल्य पर्ने यो मेसिनको  सहयोगले अङ्ग हेरेर शल्यक्रिया गर्न मिल्छ। 

फाइबर स्क्यानको पनि हालत उस्तै छ। कलेजोको अवस्था पत्ता लगाउने यो उपकरण भिडियो एक्स–रे भन्दा राम्रो भएको जानकारले बताए। 

यो मेसिन नबिग्रँदा दैनिक १२/१५ वटा परीक्षण हुन्थ्यो। वीरमा परीक्षण शुल्क करिब ३ हजार पर्ने भए पनि निजी अस्पताल तथा ल्याबमा यो सेवा लिन जाँदा ७/८ हजार हाराहारी तिर्नुपर्छ।

एक हप्ता देखि इन्डोसकोपी मेसिन बिग्रँदा यो सेवा पनि बन्द छ। वीरमा १ हजार शुल्क तिरेर इन्डोसकोपी गर्न पाइने भए पनि निजीमा यो सेवा लिँदा ३ हजार हाराहारी तिर्नुपर्ने बाध्यता छ।

११ फागुन, २०७७, ०७:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।