२५ करोडको एमआरआई मेसिन ३० करोडमा किन्ने खेलमा रहेका ट्रमा सेन्टरका प्रमुख डा. मरासिनी भन्छन् 'यसमा धेरै चासो नराख्नुस्'

२५ करोडको एमआरआई मेसिन ३० करोडमा किन्ने खेलमा रहेका ट्रमा सेन्टरका प्रमुख डा. मरासिनी भन्छन् 'यसमा धेरै चासो नराख्नुस्'

काठमाडौँ : राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. रुद्रप्रसाद मरासिनीले निश्चित कम्पनीलाई मात्र मिल्ने गरी प्राविधिक स्पेशिफिकेशन तयार गरेर करिब ३० करोडको एमआरआई मेशिन खरिद गर्ने गरी टेन्डर प्रक्रिया अगाडि बढाएको खुलेको छ।

उकेराले प्राप्त गरेको प्रमाणहरूले मरासिनीले नेपालमा एआरआइ मेसिनको स्थानीय एजेन्टहरूमध्ये युनाइटेड इमेजिङ कम्पनीको एमआरआई मेसिनसँगमात्र मिल्ने गरी प्राविधिक स्पेशिफिकेशन तयार  गरेर खरिद प्रक्रिया अगाडि बढाएको खुलेको हो।

प्राविधिक स्पेशिफिकेशन भनेको कुन मिसिन, कस्तो किसिमको, कुन-कुन सुविधा तथा विशेषता रहेको भन्ने जस्ता प्राविधिक पक्षको विवरण हो। यही आधारमा खरिद गरिने कुन मेसिन योग्य र कुन मेसिन अयोग्य भन्ने निश्चित हुन्छ।

मरासिनीले ट्रमा सेन्टरका लागि एमआरआई मेसिन किन्न स्वास्थ्य सेवा विभागबाट प्राविधिक स्पेशिफिकेशन मगाएर त्यही कार्यान्वयनमा ल्याएका हुन्। जबकि कुनै मेसिन किन्नुपरे त्यसको प्राविधिक पक्षबारे उल्लेख गरेर प्राविधिक स्पेशिफिकेशन बनाउन ट्रमामै बायोमेडिकल इन्जिनियर छन्।

डा. मरासिनीले नै ट्रमाले एमआरआई खरिद गर्न बनाएको प्राविधिक स्पेशिफिकेशन स्वास्थ्य सेवा विभागबाट ल्याएर टेन्डर गरेको उकेरासँग स्वीकार गरिसकेका छन्। उनले किन त्यस्तो गर्नुपरेको हो भन्ने खुलाएनन्।

उनी यस अगाडिका २ प्रमुख डा प्रमोद जोशी र डा प्रमोद यादव ट्रमाको प्रमुख बन्नु अगाडि नै प्रमुखको प्रतिस्पर्धामा थिए। उनी युनिफाइड केन्द्रीय अस्पतालको प्रमुखमा नियुक्त भएर नियुक्ति पत्र पाइसक्दा समेत हाजिर हुन नपाएर उनको नियुक्ति नै खारेज भएको थियो।

मरासिनी यस अगाडि स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको प्रमुख थिए। मरासिनी त्यहाँको प्रमुख हुँदा डेढ अर्ब बढीको स्वास्थ्य उपकरण खरिद गर्दा अनियमितता गरेको स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले आरोप लगाउँदै स्पष्टीकरण नै सोधेका थिए।

उनले विभागमा रहेर गरेका निर्णय विवादित देखिएपछि ट्रमा सेन्टरमा सरुवा भएका हुन्। ट्रमा सेन्टरमा एमआरआई मेसिनको अभाव छ। त्यही अभावमा खेल्दै मरासिनीले आफू अनुकूल निर्णय गरेर निश्चित कम्पनीलाई मात्र फाइदा हुने गरी प्राविधिक स्पेशीफिकेशन बनाएका हुन्।  

निर्वाचनको मुखमा निकाले टेन्डर

राष्ट्रिय ट्रमा सेन्टरले करिब ३० करोड मूल्य बराबरको ‘थ्री टेस्ला एमआरआई मेसिन’खरिदका लागि कात्तिक २८ गते (१४ नोभेम्बर, २०२२) मा टेन्डर आह्वान गरेको थियो।

यो बेलामा सबैको ध्यान निर्वाचनमा थियो। उनले यही मौका छोपेर ट्रमामा एमआरआई मेसिन किन्ने प्रक्रिया अगाडि बढाए। तर उनको बदमासी लुकेन। उकेराले पहिलो पटक निर्वाचनको बेला पारेर टेन्डर खुलाएको समाचार सार्वजनिक गरेको थियो।

उनले निर्वाचनको मौका मात्र छोपेनन् निश्चित कम्पनीको एमआरआई मेसिन मात्र किन्न मिल्ने गरी प्राविधिक स्पेशिफिकेशन बनाएर ट्रमामा एमआरआई किन्ने प्रक्रिया अगाडि बढाए।

तर ट्रमा सेन्टरका प्रमुख डा. मरासिनी भने सेटिङमा स्पेशिफिकेशन नबनाएको तर्क गर्छन्। उनले एमआरआई खरिद प्रक्रिया नियमसँगत नै रहेको दाबी गर्दै उकेराकर्मीलाई यसबारे चासै नराख्न आग्रह गरेका थिए।

‘यो विषयमा मेरो भन्नु केही छैन,’डा. मरासिनीले उकेरासँग भने,‘सबै ऐन नियम अनुसार नै भएको छ। यसमा तपाईँले धेरै चासो नराख्नुहोस्।’

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग  र अदालत बाहेक अन्य कारणले खरिद प्रक्रिया नै नरोकिने दाबी समेत गरे।

 ‘अख्तियारले रोक्यो भने रोकिन्छ। अदालतले रोक्यो भने पनि रोकिन्छ। अरू कुनै कारणले रोकिँदैन’ उनले उकेराकर्मीसँग भने।

यस्तो छ स्पेशिफिकेशन

ट्रमा सेन्टरले खरिदका लागि टेन्डर गरेको थ्री टेस्ला एमआरआई मेसिन ‘वाइड बोर’ साइजको कम्तीमा ७५ सेन्टिमिटर डायमिटरको हुनुपर्ने टेन्डरको प्राविधिक स्पेशिफिकेशन मापदण्डमा उल्लेख छ।

ट्रमा सेन्टरले एमआरआई खरिदका लागि तयार गरिएको प्राविधिक स्पेशीफिकेशनको बुँदा नं. ३.१ मा भनिएको छ,‘एमआरआई थ्री टी, वाइड बोर विथ एट लिस्ट ७५ सेन्टिमिटर डायमिटर कम्प्लेट युनिट।’

७५ सेन्टिमिटर डामिटर भन्नाले एमआरआई गर्दा एमआरआईमा मान्छे छिराउने गोलाइको आकार हो।

जानकार बायोमेडिकल इन्जिनियरका अनुसार खरिद गरिनुपर्ने सो मेसिनको प्राविधिक स्पेशिफिकेशनमा ७५ सेन्टिमिटर डायमिटरको ठाउँमा ७० सेन्टिमिटर राख्नुपर्ने थियो। ७० सेन्टिमिटर डामिटर राखिएको भए अन्य कम्पनीले समेत टेन्डर प्रक्रियामा भाग लिन सक्थे।

तर, युनाईटेड इमेजिङबाहेक नेपालमा आयात हुने गरेका सिमेन्स, फिलिप्स, जिई र हिटाची जस्ता कम्पनीका एमआरआई ७० सेन्टिमिटर डामिटर भन्दा माथिका छैनन्।

त्यसैले ट्रमा सेन्टरले एमआरआई खरिदका लागि गरेको टेन्डर युनाइडेड इमेजिङ कम्पनीको मेसिनसँग मात्र मिल्ने गरी प्राविधिक स्पेशिफिकेशन बनाएकोमा कुनै शङ्का नरहेको एक प्राविधिकले बताए।

प्राविधिक स्पेशीफिकेशनमा ७० राखेको भए सिमेन्स, फिलिप्स, जिई र हिटाचीलाई पनि मिल्थ्यो,’एक प्राविधिकले भने,‘यिनीहरूको ७० भन्दा माथि छैन। युनाइटेड इमेजिङको ६५ र ७५ को छ।

यो प्राविधिक स्पेशिफिकेशन अनुसार खुलेको टेन्डरको प्राविधिक स्पेशिफिकेशन युनाइटेड इमेजिङको बाहेक अन्य कम्पनीसँग मिल्दैन। यसले उनीहरूले जति मूल्य राख्यो त्यतिमै किन्नुपर्ने हुन्छ।'

त्यसै गरी ट्रमा सेन्टरले एमआरआई खरिदका लागि तयार गरेको प्राविधिक स्पेशिफिकेशनको बुँदा नं. ‘४.२.१’ मा पनि भनिएको छ,‘बोर साइज (डामिटर) स्यालबी एटलिष्ट ७५ सेन्टिमिटर अर एभोव।’

यसबाट पनि ७५ सेन्टिमिटरभन्दा माथिकै बोर साइज (डामिटर) को एमआरआई हुनुपर्ने प्रस्ट हुन्छ। यो डबल आरएफ सिस्टमको एमआरआई हो।

बुँदा बुँदामा लक्ड गरेर सेटिङ

ट्रमा सेन्टरमा एमआरआई खरिदका लागि तयार गरिएको प्राविधिक स्पेशिफिकेशनमा ‘०.१६’ पीपीएम भन्दा माथि हुन नहुने उल्लेख छ। बुँदा नं. ४.६.१ मा भनिएको छ,‘स्याल नटबी मोर द्यान ०.१६ पीपीएम।’ जुन युनाईटेड इमेजिङको ७५ सेन्टिमिटर बोर साइज मोडलको एमआरआईसँग मात्र मिल्ने देखिन्छ।

एक प्राविधिकका अनुसार अन्य कम्पनीको एमआरआईमा भने ०.५ पीपीएम र त्यो भन्दा माथि हुन्छ।

‘युनाइटेड इमेजिङको ७५ सेन्टिमिटरको मोडलमा ०.१६ पीपीएम छ,’एक प्राविधिकले भने,‘अरूको ०.५ पीपीएम र त्यो भन्दा माथिको छ। त्यसैले यो बुँदामा पनि युनाइटेड इमेजिङकै एमआरआईलाई मात्रै मिल्ने गरी ‘लक्ड’ स्पेशिफिकेशन बनाइएको देखिन्छ। पीपीएम (पार्टस् पर मिलियन) को एमआरआई गर्दा मेसिनले एकरुपताकासाथै गुणस्तर दिने मापदण्ड हो।

त्यसै गरी एमआरआई खरिदका लागि तयार गरिएको प्राविधिक स्पेशिफिकेशनमा कम्तीमा ७२ वा सो भन्दा बढी च्यानलको एमआरआई हुनुपर्ने उल्लेख छ। प्राविधिक स्पेशिफिकेशनको बुँदा नं. ‘४.७.१’ मा भनिएको छ,‘नं. अफ आरएफ च्यानल्सः मिनिमल अफ ७२–च्यानल अर एभोव।’

जुन युनाइटेड इमेजिङको एमआरआइसँग नै मिल्ने गरी स्पेशिफिकेशन बनाइएको स्रोतको दाबी छ। ६४ भन्दा माथिको च्यानलको मेसिन नेपालमा नआएको र अभ्यासमा पनि नरहेको एक प्राविधिकले जानकारी दिए।

युनाइटेड इमेजिङ बाहेक अन्य कम्पनीको ३२, ४८, ६४ र १२८ वा त्यो भन्दा बढी च्यानलका एमआरआई हुने एक प्राविधिकले जानकारी दिए।

यसरी हेर्दा ७२ च्यानल भन्दा माथिको एमआरआई हुनुपर्ने मापदण्ड राखिएकाले ६४ भन्दा कम च्यानल भएका अन्य कम्पनीका एमआरआई सप्लायर्स कम्पनीले टेन्डर हालेको खण्डमा सिधै अयोग्य हुने देखिन्छ। ७२ भन्दा माथिको च्यानल भएका एमआरआई सप्लायर्सले मात्रै टेन्डर हाल्न योग्य हुने देखिन्छ।

तर, युनाइटेड इमेजिङ बाहेकका कम्पनीको ७२ च्यानलका एमआरआई नभएको एक प्राविधिकले बताए। प्राविधिकका अनुसार अन्य कम्पनीका एमआरआई ६४ पछि सिधै १२८ च्यानलका छन्।

त्यसैले एकातर्फ १२८ च्यानल भएको एमआरआई खरिद गरिदिने भनेर सप्लायर्स कम्पनीले टेन्डर हाल्दा महँगो पर्ने भएकाले एमआरआई खरिदका लागि ट्रमा सेन्टरले व्यवस्था गरेको बजेटको सीमा भन्दा बढी लागत पर्न आउने जानकार स्रोतले उकेरालाई बतायो।

अर्कातर्फ सप्लायर्सले १२८ च्यानलकै राखेर टेन्डर हाले पनि ७५ सेन्टिमिटरभन्दा माथिकै बोर साइज (डामिटर) को एमआरआई हुनुपर्ने प्राविधिक स्पेशिफिकेशनका कारण अन्य कम्पनीको एमआरआई प्राविधिक छनोटमा स्वतः अयोग्य हुने एक प्राविधिकले जानकारी दिए।

प्राविधिक स्पेशिफिकेशनको बुँदा नम्बर ‘४.७.३’ मा राखिएको मापदण्ड पनि युनाईटेड इमेजिङकै एमआरआइसँग मात्रै मिल्ने देखिन्छ।

बुँदा नं. ‘४.७.३’ मा भनिएको छ,‘म्याक्सिमम फिल्ड अफ भिउ (एफओभी) मस्ट बी आइसोट्रोपिकः नट लेस द्यान ६० सेन्टिमिटर × ६० सेन्टिमिटर × ५० सेन्टिमिटर।’ यो बुँदाबाट  ‘६० सेन्टिमिटर × ६० सेन्टिमिटर × ५० सेन्टिमिटर भन्दा कमको ‘फिल्ड अफ भिउ (एफओभि)’ भएको एमआरआई अयोग्य हुने देखिन्छ।

तर, युनाईटेड इमेजिङ बाहेक अन्य कम्पनीका एमआरआईमा भने ‘५५ सेन्टिमिटर × ५५ सेन्टिमिटर × ५० सेन्टिमिटर’ भन्दा कमका एफओभि हुने प्राविधिकहरू बताउँछन्। त्यसैले यो प्राविधिक स्पेशिफिकेशन लक्ड रहेको जानकारको दाबी छ।

युनाइटेड इमेजिङको वेभ साइडमा देखिएको थ्री टेस्ला, ७५ सेन्टिमिटर अल्ट्रा–वाइड–बोर साइजको एमआरआईको  ‘एक्सपाण्डेड इमेज क्यापाबिलिटी’ ६० सेन्टिमिटर × ६० सेन्टिमिटर × ५० सेन्टिमिटर’ फिल्ड अफ भिउ उल्लेख छ। जुन ट्रमा सेन्टरले खरिद गर्नका लागि तयार गरेको एमआरआईको प्राविधिक स्पेशिफिकेशनसँग ठ्याक्कै मिल्छ।

यसबाट ट्रमा सेन्टरले खरिदका लागि टेन्डर गरेको एमआरआईको टेन्डर युनाईटेड इमेजिङकै स्थानीय एजेन्टलाई पर्ने देखिन्छ।

प्रि बिड बैठक बहिस्कार

सामान्यतया  टेन्डर आह्वान गर्नु अघि खरिद गर्ने मेशिनको लागत अनुमान तयार गर्न मेसिन खरिदका लागि बोलपत्र (टेन्डर) पेस गर्ने सम्भावित सप्लायर्स कम्पनीहरूलाई स्पेशीफिकेशन पठाइन्छ।

सप्लायर्सले दिएको मेसिनलाई आधार मानेर खरिदका लागि लाग्ने सम्भावित लागत रकमको आधारमा टेन्डर गर्ने संस्थाले लागत अनुमान तयार गर्छ।

सामान्यतया कम्तीमा तीन वटा कम्पनीसँग दररेट मागेर लागत अनुमान तयार गरी टेन्डर प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ।

स्रोतका अनुसार फिलिप्स, सिमेन्स र जिईजस्ता कम्पनीका सप्लायर्सलाई ट्रमा सेन्टरले भने लागत अनुमान तयार गर्न लागि स्पेशिफिकेशन नै नपठाई सिधै एमआरआई खरिदका लागि टेन्डर प्रक्रिया अगाडि बढाएको थियो।

‘मेसिन खरिदका लागि प्रस्ताव गर्ने सम्भावित सिमेन्स, फिलिप्स, जिइ जस्ता कम्पनीसँग टेन्डर आह्वान गर्नुअघि दररेट माग्नुपर्ने थियो तर मागिएन’ जानकार स्रोतले भन्यो।

टेन्डर आह्वानको सूचना अनुसार ‘प्रि–बिड मिटिङ’ हुने मिति मङ्सिर १२ गते सोमबार (२८ नोभेम्बर) १२ बजेलाई तोकिएको थियो। एमआरआई खरिद प्रक्रिया अघि बढेपछि सो मेसिन खरिदका लागि निर्धारित मिति (२८ नोभेम्बर) मा राष्ट्रिय ट्रमा सेन्टरमा नै ‘प्रि–बिड’ बैठक डाकिएको थियो।

स्रोतका अनुसार निर्धारित समयमा नै ‘प्रि-बिड’  बैठकमा सिमेन्स, फिलिप्स, जीई र युनाईटेड इमेजिङजस्ता कम्पनीको मेसिन सप्लायर्सका प्रतिनिधि ट्रमा सेन्टरमा पुगेका थिए।

बैठक एक बजे राखिएको भए पनि बेलुका तीन बज्दासम्म ट्रमा सेन्टरका प्रमुख डा. मरासिनी ‘प्रि–बिड’ बैठकमा पुगेनन्। ‘प्रि–बिड’ बैठकमा सम्बन्धित विभागका चिकित्सक, स्पेशिफिकेशन बनाउने बायो मेडिकल इन्जिनियर तथा प्राविधिक समितिका प्रतिनिधि नै सहभागी थिएनन्।

बैठकमा अस्पताल प्रशासनका कर्मचारी थिए। प्रशासनका कर्मचारीले स्वास्थ्य सेवा विभागबाट आएको स्पेशिफिकेशन नै अनुमोदन गरेर प्रकाशित गरेको बताएको बैठकमा एक सहभागीले जानकारी दिए।

अस्पतालका बायोमेडिकल इन्जिनियर रोशन पोख्रेल पनि बैठकमा सहभागी थिए। तर, आफूले स्पेशिफिकेशन नबनाएको भन्दै उनले बैठकमा जवाफ दिन नमानेको स्रोतले उकेरालाई बतायो।

त्यसपछि सप्लायर्स कम्पनीहरूले विरोध जनाउँदै त्यो ‘प्रि–बिड’ बैठक नै बहिष्कार गरे।  युनाइटेड इमेजिङलाई मात्रै मिल्ने गरी एमआरआईको प्राविधिक स्पेशिफिकेशन बनाइएको भन्दै स्पेशिफिकेशन बनाउने प्राविधिक समितिलाई समेत सहभागी गराएर ‘प्रि–बिड’ को अर्को बैठक बोलाउने मिति तोक्नुपर्ने माग गर्दै माइन्युटमा लेखेर त्यसमा हस्ताक्षर गरी सप्लायर्स कम्पनीहरू बैठक स्थलबाट बाहिरिएका थिए।

‘बैठक पूर्ण रूपमा बहिस्कार गरेर अर्को प्रि–बिड मिटिङ बोलाउनु पर्ने मिति तोक्न अनुरोध गर्दै बैठक स्थगित भयो,’बैठकमा सहभागी एक व्यक्तिले भने।

टेन्डर आह्वानपछि प्रि–बिड बैठकको छलफलमा नै खरिद गरिने मेसिनको स्पेशिफिकेशन र बोलपत्रका सर्तमा विभिन्न सप्लायर्स कम्पनीले आ–आफ्नो तर्फबाट मेसिनको विशेषता तथा गुणस्तर लगायतका बारेमा प्रस्तुति दिने चलन हुन्छ।

प्रि–बिड छलफलमा नै सप्लायर्स कम्पनीहरूले टेन्डर प्रक्रियामा रहेको खरिद गरिनुपर्ने मेसिनको कुनै प्राविधिक विषयमा चित्त नबुझेको खण्डमा संशोधनको लागि सुझाव सहितको लिखित माग गर्न सक्छन्।

त्यसपछि उचित ठानेको अवस्थामा टेन्डर गर्ने संस्था (ट्रमा सेन्टर) ले स्पेशिफिकेशन लगायत प्राविधिक विषय संशोधन गर्नुपर्ने हुन्छ। त्यसपछि तोकिएको मितिभित्र कम्पनी (सप्लायर्स) ले मेसिन खरिदका लागि बोलपत्र पेस गर्छन्।

बोलपत्र पेशगर्ने लगायत खरिदको प्रक्रिया पूरा भएपछि टेन्डर (बोलपत्र) खुल्छ। बोलपत्र खुल्दा टेन्डर हाल्ने सप्लायर्स कम्पनी (फर्म) हरू उपस्थित हुन्छन्।

स्पेशिफिकेशन नसच्चिए चाहेकै कम्पनीलाई टेन्डर

पहिलो चरणमा प्राविधिक रूपमा योग्य भएको बोलपत्र पेस गर्ने प्रस्तावक (कम्पनी)को मेसिन मात्रै खरिदका लागि छनोटमा पर्छ। तर, प्राविधिक रूपमा मात्रै छनोटमा परेर हुँदैन। टेन्डर स्वीकृतिमा पर्नका लागि आर्थिक छनोटमा समेत योग्य हुनुपर्छ।

आर्थिक रूपमा छनोट गर्दा टेन्डरमा उल्लेख भए अनुसारको गुणस्तर तथा मापदण्डको मेसिन बोलपत्र प्रस्तावक कम्पनीमध्ये कम मूल्यमा खरिद गर्ने गरी आर्थिक प्रस्ताव पेस गरेको छ की छैन, मेसिन खरिदका लागि छुट्टाएको बजेटको सीमा भित्र मेसिन खरिद गरिदिनेगरी बोलपत्र प्रस्ताव गरेको छ की छैन भन्ने लगायतको मापदण्ड हेरिन्छ।

सामान्यतया मेसिन खरिदका लागि बोलपत्र पेस गर्ने कम्पनीमध्येबाट प्राविधिक र आर्थिक दुवै रूपमा छनोट भएका कम मूल्यमा गुणस्तरीय मेसिन खरिद गरिदिने कम्पनी (सप्लायर्स) लाई मेसिन खरिदका लागि खरिद प्रक्रिया तथा मापदण्ड अनुसार टेन्डर स्वीकृति गर्नुपर्ने हुन्छ।

त्यसपछि टेन्डर स्वीकृति पाउने कम्पनीले निश्चित प्रक्रिया पूरा गरी टेन्डर गर्ने संस्थालाई मेसिन ल्याइदिनुपर्ने हुन्छ।

तर, ट्रमा सेन्टरले खरिदका लागि टेन्डर गरेको एमआरआईको स्पेशीफिकेशन नै प्राविधिक रूपमा एउटा निश्चित कम्पनी मात्रै छनोटमा पर्ने गरी बनाइएको देखिएकाले कम्पनीहरूबिच स्वस्थ प्रतिस्पर्धा हुने सम्भावना देखिएन नै। अर्को जोखिम प्राविधिक रूपमा योग्य देखिने एक कम्पनीले बजेटको सीमाभित्र रहेर जति प्रस्ताव गरे पनि स्वीकृत गर्नुपर्ने हुन्छ।

जानकारस्रोतका अनुसार ट्रमाले माग गरेको एमआरआई मेसिनको अधिकतम लागत २५ करोड नेपाली रुपैयाँसम्म पर्छ। सप्लायर्स कम्पनीहरूलाई ट्रमा सेन्टरले बुधवारसम्म पनि पुनः ‘प्रि–बिड’ मिटिङका लागि बोलाएको छैन।

‘प्रि–बिड मिटिङ बोलाउन नै ढिला भयो भने मल्टिनेश्नल कम्पनीमा सप्लायर्सले डकुमेन्ट पठाउन ढिला हुन्छ,’स्रोतले भन्यो,‘पुनः प्रि–बिड मिटिङ बोलाउन नसक्दा एमआरआई खरिदको लागि टेन्डर हाल्नै नभ्याउने भएकाले ट्रमाले मल्टिनेश्नल कम्पनीलाई वञ्चित गराउने खेल गरेको देखिन्छ।’

७५ सेन्टिमिटर बोर साइजकै मेसिन किन?

एक प्राविधिकका अनुसार अन्य कम्पनीका ६० वा ७० सेन्टिमिटर बोर साइजका एमआरआई हुने प्राविधिकहरू बताउँछन्। त्यसैले ७५ सेन्टिमिटर बोर साइजको एमआरआई मेसिन किन्ने किन ट्रमाको नेतृत्व सक्रिय भयो भन्ने शङ्कास्पद देखिन्छ।

६५ र ७० सेन्टिमिटर बोर साइजको एमआरआई मेसिन समेत पाइन्छ। यी दुवैको एमआरआईमा करिब दुई सय किलोसम्म तौल भएका व्यक्तिको एमआरआई गर्न सकिने एक प्राविधिकले जानकारी दिए।

७५ सेन्टिमिटर बोर साइजको एमआरआई करिब तीन सय किलोसम्म तौल भएका व्यक्तिको एमआरआई गर्न मिल्छ। सरकारी अस्पतालले स्वास्थ्य सामाग्री किन्दा अधिकतम सेवाग्राहीलाई सेवा दिने र कम मूल्यमा उच्च गुणस्तरको मेसिन किन्नुपर्नेमा बढी मूल्य पर्ने र नियमित परीक्षणका लागि अस्पताल आउने बिरामीको तौल केन्द्रित नगरी दुर्लभ तौल केन्द्रित गरेर मेसिन किन्न खोज्ने ट्रमाको नेतृत्वको नियत सफा देखिँदैन।

६५, ७० र ७५ सेन्टिमिटर बोर साइजको एमआरआईको गुणस्तरमा समेत त्यति फरक नपर्ने एक प्राविधिकले बताए। ७५ सेन्टिमिटर बोर साइजको देखाएर ट्रमा सेन्टरले खरिद गर्न लागेको एमआरआइको अन्य प्राविधिक स्पेशिफिकेशन भने कम गुणस्तरको राखिएको देखिएको एक प्राविधिक दाबी गर्छन्।

गोलाइमा हुने खेल

बोर भनेको मेसिनमा परीक्षण गर्ने व्यक्तिलाई राख्ने गोलाइको आकार हो। जति सानो बोर भयो त्यति कम तौल भएको व्यक्तिको परीक्षण गर्न सहज हुन्छ। जति धेरै बोर भयो त्यति धेरै तौल भएको व्यक्तिलाई परीक्षण गर्न सहज हुन्छ।

नेपालीको सामान्य तौल अनुसार ७५ भन्दा कम बोरको एमआरआई मेसिन पनि योग्य नै मानिन्छ। तर नेपालमा स्वास्थ्य सम्बन्धी उपकरणको आयात गर्ने कम्पनीको मेसिनको बोर साइज फरक फरक हुने भएकाले प्राविधिक स्पेशिफिकेशनमा यसैमा खेल हुने गरेको देखिन्छ।

इमेजिङसँग ६५ र ७५ बोर साइजको मात्र एमआरआई मेसिन छ। त्यसैले अन्य कम्पनीका स्थानीय एजेन्टहरूले टेन्डरमा आफ्नो मेसिन योग्य बनाउन प्राविधिक स्पेशिफिकेशनमा सकेसम्म ७० बोर पार्ने प्रयास गर्ने जानकार स्रोतले बतायो।

इमेजिङको स्थानीय एजेन्टसँग ६५ र ७५ बोर साइजको मात्रै एमआरआई मेसिन रहेकाले उनीहरूले आफ्नो प्रभाव चल्ने स्थानमा कि ६५ कि ७५ बोर साइजको एमआरआई मेसिन प्राविधिक स्पेशिफिकेशनमा पार्ने गरेको देखिन्छ।

'बोर साइज भनेको एमआरआई गर्दा बिरामीलाई मेसिनमा छिराउने आकार हो। बोर साइज केही तलमाथिहुँदा मेसिनको गुणस्तरमा अलिअलि फरक त पर्छ तर त्यति धेरै फरक पार्दैन। अन्तर्राष्ट्रिय उत्पादकहरूसँग आफू अनुकूल बोर साइजका एमआरआई मेसिन छन्,' जानकार स्रोतले भन्यो'  त्यसका नेपाल एजेन्टले नेपाललाई आवश्यक रहेको भन्दा पनि आफ्नो कम्पनी अनुकूल बोर साइज प्राविधिक स्पेशीफिकेशनमा पारेर टेन्डर लिन मिलेमतो गर्ने गरेको देखिन्छ। ७० बोर साइज हुने कम्पनीको एजेन्टले त्यही पार्न खोज्छ। ७५ हुनेले त्यही। सरकारी कर्मचारीले यसैमा खेलेर अतिरिक्त लाभ लिन्छन्।'

कुन कम्पनीका कुन एजेन्ट

नेपालमा जिई कम्पनीको सप्लायर्स म्याक्स मेडिटेक हो। जिई अमेरिकन कम्पनी हो। त्यसैगरी युनाइटेड इमेजिङको सप्लायर्स लुम्बिनी हेल्थ केयर हो। युनाईटेड इमेजिङ चिनिया उत्पादक कम्पनी हो। त्यसैगरी सिमेन्सको सप्लायर्स इष्टवेष्ट कन्सर्न हो। सिमेन्स युरोपियन कम्पनी हो।

फिलिप्सको सप्लायर्स कम्पनी हस्पिटेक इन्टरप्राइजेज हो। फिलिप्स युरोपियन कम्पनी हो। हिटाचिको सप्लायर्स कम्पनी क्यापिटल इन्टरप्राइजेज हो। हिटाची जापानको कम्पनी हो।

ट्रमा सेन्टरबारे उकेरामा प्रकाशित सामाग्री

 

२८ मंसिर, २०७९, २२:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।