सेनाले राखेको बम पड्किँदा आकाशमा उडेर भुईंमा बजारिएकी थिइन् तुलसी

सेनाले राखेको बम पड्किँदा आकाशमा उडेर भुईंमा बजारिएकी थिइन् तुलसी

काठमाडौं : ड्याम्म बम पड्केको आवाज कानमा ठोक्कियो। घरै पछाडि आर्मीको ब्यारेक थियो। तुलसीका परिवारले सुने। सबैका आँखा त्यतै पुगे। बमको धक्काले एक बालिका आकाशमा उडाइरहेको देखियो। ती बालिका अरु कोही नभएर उनीहरुकै घरकी सदस्य तुलसी थिइन्। 

उनी हेर्दाहेर्दै बम बिस्फोट भएको स्थानभन्दा अलिक पर पछारिइन्। त्यसपछि जुरुक्क उठेर रुन-कराउन थालिन्। वरपर गाउँका मानिस जम्मा भइसकेका थिए। दाजुले अलि वर आउन भने। उनी विस्तारै दाजुको नजिक आइन्। 

००० 
२०६२ साल वैशाख २५ गते बिहान १० बजे आमाको मुख हेर्ने दिन। विद्यालय बिदा भएकोले तुलसी परियार अबेर गरी उठिन्। घरमा खाना पनि ढिला पाक्ने भयो।

बिहानको नास्ता खाएर साथीहरु खेल्न हिँडिन्। केटाकेटी खेल्न जान लागेको थाहा पाएपछि आमाले ८ वर्षे तुलसीलाई खेल्न नजान भनिन्। तर बालपनको मन के मान्थ्यो र? उनी सहित ८/९ जना केटाकेटी खेल्न दौडिए। 

द्वन्द्वको चरम अवस्था। कपिलवस्तु गोरुसिंङ्गे घर। तुलसीको घर पछाडि आर्मीको ब्यारेक पनि थियो। त्यसैले त आमाले घरको आँगनबाहेक अन्त खेल्न जान दिँदैनथिन्। 

केटाकेटी मन न हो। न जा भनेको ठाउँमा जानै पर्ने, जा भनेको ठाउँमा नजानुपर्ने जिद्दी स्वभाव। आमालाई  छलेर साथीहरुसँग खेल्न गइन् तुलसी। अलिक पर पोखरीमा पुगेकी तुलसी साढे १० बजेतिर घर फर्कन लाग्दा घर पछाडि सेनाको ब्यारेकमा केही साथी भित्र प्रवेश गरे। उनी पनि खेल्दै भित्र पुगिन्। जसै भित्र पुगिन्, पैतालाले बम कुल्चिएछ। 

नेपाली सेनाले आफ्नो सुरक्षाको लागि कम्पाउण्डमा बम राख्ने गर्थ्यो,  माओवादीबाट बच्न। जब उनले बम कुल्चिन् तब उनलाई माथि हुत्त्याएको महसुस भयो। तल पछार्दा खाल्डोमा परे जस्तो भयो। ‘बम कुल्चिएपछि बिस्फोट भएछ,’ उनले भनिन्, ‘कहाँ माथि पुर्याएर हुत्त्याए जस्तो लाग्यो, खाडलमै परे जस्तो भयो। परिवारले यो सबै देखिरहेका रहेछन्।’

प्लास्टिकमा बेरेर अस्पताल
सुरुमा त तुलसीले केही दुखेको आभाष नै पाइनन्। दाइले उनलाई बोकेर नेपाली सेनाको ब्यारेक अगाडिको क्लिनिकमा लगे। क्लिनिक जाँदा पो थाहा भयो, हात र गोडामा नराम्रोसँग चोट लागेको रहेछ। देब्रे गोडाको मासु पूरै उछिट्टिएर नसा झुण्डिएको थियो।

क्लिनिकले  उपचार हुन सम्भव नभएको बताएपछि तुलसीका दाजुले अस्पताल लैजान खोजे। 

सेनाले हेलिकोप्टर त बोलाइदियो तर ढिलो आउने भयो। ह्वालह्वालती रगत बगिरेहको थियो। तुलसीका दाजुले बुटवलको अस्पताल लैजाने भए लोकल बसमा। प्लास्टिकले बेरियो तुलसीलाई। लोकल बस भए पनि मान्छे ओराल्यो मात्रै बीचमा यात्रु चढाएन। छिट्टै अस्पताल पुर्यायो।

बाटोमा तुलसीलाई तिर्खा लागेर हैरान भयो। दाजुले पानी खान दिएनन्। ‘रगत बगेको बेला पानी खान हुँदैन रहेछ,’ तुलसीले भनिन्, ‘दाइले त्यही भएर पानी खान दिनुभएन। मलाई भने बाटोभरि प्यास लागिरह्यो।’

जब अस्पताल पुगिन्, त्यसपछि बेहोस भइन् तुलसी। चार महिनाको अस्पताल बसाइपछि उनी घर जाने भइन्। घर त जाने भइन् तर पहिले जस्तो हिँड्न सक्ने अवस्थामा थिइनन्। वैशाखीको सहाराले हिँड्नुपर्ने भयो। फेरिए उनका दैनिकी, साथीहरुसँग खेल्न जान नपाउने भइन्। 

कृत्रिम खुट्टा राखेपछि फर्किएको खुसी 
खेल्न जाने उमेरमा तुलसीले ड्रेसिङ गर्न अस्पताल चहार्दै गर्दै बिताउनुपर्यो। केही समयपछि विद्यालय त गइन् तर साथीहरुले ताँती लागेर हेर्दा उनलाई विद्यालय जानै मन लागेन। ‘त्यतिबेला म कक्षा तीनमा पढ्थेँ। कक्षाका साथीहरु म विद्यालय छिरेपछि ताँती लाएर हेर्थे,’ उनले भनिन्, ‘मलाई विद्यालय नै जान मन लागेन। घर आएर रुन्थेँ।’

त्यसपछि उनलाई केही सामाजिक संस्थाहरुले सहयोग गरे। ती संस्थाले उनलाई पढाइदिने भए। एक निजी विद्यालयमा पढ्ने भइन्। सो विद्यालयमा पनि उनी प्रवेश गरेपछि बाहिर निस्किँदैनथिइन्। कक्षामा एक्लै बस्थिन्। विद्यालय छुटेपछि मात्रै उनी बाहिर निस्कन्थिन्। 

०००
तुलसीको देब्रे गोडा काट्नुपर्ने भयो। नलीखुट्टाभन्दा मुनिको भागमा नक्कली खुट्टा राखियो। त्यसपछि भने उनले वैशाखीको साहरा लिनु परेन। हिँड्न सक्ने भइन्। उनी अहिले सर्ती-सर्ती हिँड्न सक्छिन्। ‘दाइने गोडाभरि खतैखत छन्। देब्रे गोडाको पनि भर भएन,’ उनले भनिन्, ‘वैशाखी टेकेर हिँड्नुभन्दा त नक्कली नै भए पनि गोडा राखेपछि सजिलो भएको छ। गोडा राखेसी नै त हो ममा पहिलेको खुसी फर्किएको।’

बैंकर बन्ने सपना
तुलसी बिस्फोटमा परेको १६ वर्ष भइसक्यो। तर बम पड्केको आवाज भने मनबाट अझै हटेको छैन। भन्छिन्, ‘मलाई त अहिले टायर पड्कियो भने पनि बम विस्फोट भएको जस्तो डर लाग्छ।’ उनका अनुसार मनबाट डर भाग्न भने निकै समय लाग्ने रहेछ। 

२०७२ सालमा एसएलसी दिएकी तुलसी अहिले व्यवस्थापनमा स्नातक तेस्रो वर्ष पढ्दै छिन्।  एक गैरसरकारी संस्थाले उनलाई विध्यालयतहसम्म पढ्न सहयोग गरेको थियो। अहिले उनी आफ्नै खर्चमा पढिरहेकी छिन्। तपाईं भविष्यमा के बन्न चाहनुहुन्छ भन्ने प्रश्नमा तुलसीले भनिन्, ‘बैंकर बनेर समाज सेवा गर्छु।’

तुलसीलाई पनि अन्य पीडितलाई जस्तै सरकारले द्वन्द्वपीडितको सूचीमा राखेको छैन। उनलाई यसमा असतुष्टि छ। ‘सानोमा झुक्किएर सेनाले राखेको बम पड्केर घाइने हुनु द्वन्द्वपीडित हैन र? यो देशमा द्वन्द्व नभएको भए म अपांग हुने थिइनँ नि। क्याटगोरी गर्न सक्थ्यो होला तर द्वन्द्वपीडितको सूचीमै नराख्नु त अन्याय भएन र ?,’ उनको प्रश्न छ।

दोहोरो बन्दुकले च्यापिएकाहरू

१६ पुस, २०७८, ११:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।