जब सेनाले २० मिनेटपछि मर्छस् भन्दै अस्पताल लैजान मानेन

जब सेनाले २० मिनेटपछि मर्छस् भन्दै अस्पताल लैजान मानेन

१० वर्षे माओवादीको सशस्त्र सङ्घर्षको उपलब्धि मात्र गनिन्छ। क्षतिमा कि सरकारी फौज जोडिएका छन् कि विद्रोहीको सङ्ख्या। यो बिचमा सरकारले द्वन्द्व पीडितको नाममा राज्य कोषबाट अर्बौँ रकम खर्च गरिसक्यो। यो द्वन्द्वमा सरकारी फौज या लडाकु मात्रै पीडित भएनन्। जसलाई सशस्त्र द्धन्द्धसँग सरोकारै थिएन उनीहरू पनि परे। कोही दोहोरो भिडन्तमा परे,कोही एम्बुसमा। मारिएकाहरू परिवारको आफ्नै पीडा छ। यहाँ बाँच्नेहरूलाई पनि उत्तिकै पीडा छ।

अनाहकमा द्वन्द्वमा परेका उनीहरूलाई तत्कालीन विद्रोहीले आफ्नो मान्दैन। सरकारले पीडित हो भनिदिँदैन। पीडितको परिचय पाउन निरन्तर सङ्घर्षमा छन् उनीहरू।

आइतबार सुरु भएको तत्कालीन विद्रोही माओवादीको आठौँ महाधिवेशनमा तत्कालीन सरकार प्रमुख शेरबहादुर देउवा र विद्रोहीका नेता पुष्पकमल दाहाल प्रचण्डबिच संविधान सभादेखिको राजनीतिक उपलब्धिको जस लिने दिने होडबाजी नै चलेको थियो। शान्ति प्रक्रियाको केही काम बाँकी रहेको त भनियो तर त्यसमा पनि निर्दोष नागरिक जो दोहोरो द्वन्द्वमा पिल्सिए पक्कै उनीहरूको मागको सुनुवाइ हुने सम्भावना छैन। यही सेरोफेरोमा न सरकारी फौज न माओवादी लडाकु, केवल आम नागरिक हुँदा पनि द्वन्द्वमा परेकाहरूको कथाको शृङ्खला ल्याएको छ उकेराले। पहिलो शृङ्खला :

०००

भाइटिकाको दिन। २०६० साल कात्तिक ११ गते।  गगनगौँडा माइली काकीको घर पुगेका थिए दुदराज अधिकारी। दिदीबहिनीसँग भाइटिका लगाए। त्यो दिन उनी काकीकै घरमा बसे।

दाजुभाइ दिदीबहिनीले रमाइलो गरेर तिहार मनाए। भोलिपल्ट दिदीले भाइटिका लगाएर दिएको सामान झोलामा कसेर गगनगौँडाबाट हिँडे कास्कीकै पोखराको राम बजार पुग्न।

गाडी आफ्नै गतिमा हुइँकिँदै थियो। डाँडानाथ चौकी आइपुग्नै आँटेको थियो गाडी रोकियो। तिहारको भोलिपल्टको गाडी। मान्छे थामिसक्नु थिएनन्। त्यही भिड छिचोल्दै हरियो ड्रेस लगाएका अनि काँधमा बन्दुक भिरेका १५-१६ वर्ष जस्ता देखिने युवा गाडी भित्र छिरे। ती माओवादी थिए।  उनीहरूले एक-एक गर्दै सबै यात्रुलाई गाडीबाट निस्कन भने।

दुदराज गाडीको अन्तिम सिटमा भएकाले छिटो निस्कन सकेनन्। त्यही सेना पनि आइपुगेछ। केही बेरमा दोहोरो भिडन्त सुरु भयो। उनी हतार हतार गाडिबाट निस्केर १० कदम जति पाइला सारेका मात्र थिए उनी लडे। के भो भन्ने भेउ पाएनन् उनले।

उठ्न  खोज्दा उठ्न सकेनन्। निमेषभर नै उनलाई आफ्नो शरीरको नसाले काम नगरे जस्तो लाग्यो। देब्रे हात टेकेर उठ्न खोजे तर उनको हात चलेन। उनले बल्ल थाहा पाए माओवादीले सेना र प्रहरीको लागि राखेको धरापमा उनी परेछन्। लेखनाथ चोकको सालिकनेर बम बिछाइएको रहेछ।  नजिकै गोली पड्केको कारण उनी घाइते भएछन्।

‘लेखनाथ चोकैमा बम विस्फोट भयो। त्यसको नजिकै रहेको मलाई त्यही गोली लागेको रहेछ,’उनले भने, ‘आवाज आएको थिएन। त्यति बेला नै हो आफूलाई गोली लाग्दा आवाज आउँदो रहेनछ भन्ने थाहा पाएको,’ उनले भने।

पानी माग्दा छिमेकीले ढोका लगाए

उनले सोचेँ हातमा गोली लाग्यो। उनलाई शरीरको अगाडि पनि असहज भइरहेको थियो। अलि बेरपछि देखे देब्रे हातबाट गोली छिरेर देब्रे कोखाबाट गोली त भुँडी भित्र पनि छिरेछ। नाइटोबाट भुँडी त बाहिर निस्किएको।

भुँडी एकातिर झोलिएको। आन्द्रा अर्कोतिर झोलिएको। यो देखेपछि उनी तिरिमिरी भए। दुई छोरा एक छोरीका बुबा उनले डेढ वर्षकी छोरी सम्झिएँ। उनको आँखामा आँसु थामिएनन्। छोराछोरी सम्झिए, श्रीमती सम्झिए। डेढ वर्षकी छोरीलाई सम्झँदा उनलाई ऐँठन भयो।

‘अन्तिम अवस्था आयो जस्तो लाग्यो मलाई। सम्झिन त सबैलाई सम्झिएँ,’ उनले भने, ‘डेढ वर्षकी छोरी सम्झिँदा भने आफूलाई समाल्न सकिन।’

बाँच्छु की भन्ने नलागेको हैन। सास रहुन्जेल आस हुने पनि भयो। वरपर घर थिए। उनको मुख सुक्यो। पानी माग्न घिस्रँदै पुगे दैलोमा। उनले चिने जानेकै घर थिए। उनलाई आशा थियो पानी खान पाउँछु। जुन घर गएर पानी माग्थे। त्यो घरमा ढ्याप्प ढोका लगाइन्थ्यो। ४-५ वटा घर पुगे। तर उनलाई कसैले पानी दिएनन्। नाला नजिकै थियो। त्यही नालाको पानीले मुख भिजाए उनले।

‘नाला फोहोर भए पनि घिन लागेन मलाई,’दुदराजले भने, ‘त्यही पानीले मुख भिजाएँ।’

२० मिनेट पछि मर्छस् किन जान पर्यो अस्पताल !

घटनास्थलमा अलपत्र परे दुदराज। त्यति बेला भएको दोहोरो भिडन्तमा युनिफाइड फोर्स भिडेको थियो सरकारी पक्षबाट। सेना र सशस्त्र अनि प्रहरी सहितको फोर्स। सवा ४ बजे बम विस्फोट भयो। सवा ५ बजे मात्रै फोर्स आइपुग्यो उनी भएको ठाउँमा। दुदराजलाई आशा लाग्यो अब त बाँच्छु कि भन्ने। उनले नजिकै आएको सेनालाई भने ‘म माओवादी होइन। पोखरामा भएको लक्ष्मी स-मिलमा सिनियर कार्पेन्टर हुँ। मलाई बचाइदिनुस्।’

जीवन रक्षाको ‘भिख’ मागिरहेका दुदराजलाई सेनाका ती जवानले आमाचकारी गाली गरे। त्यति मात्र होइन ‘जा उ त्यो कुनामा बस् २० मिनेट पछि मर्छस् भने।’ उनलाई लाग्यो यति नै रहेछ दिन।

अलि पर  रेडक्रसको एम्बुलेन्स आइपुग्यो। उनी एम्बुलेन्ससम्म हिँडेर जान सक्ने अवस्थामा थिएनन्। उनलाई आशा थियो सेनाले रेडक्रसलाई त आउन दिन्छ। तर अंह घटनास्थलमा रेडक्रसलाई समेत आउन दिएन।

३७ वर्ष पुगेका थिए उनी। कास्कीकै माछापुच्छ्रे गाउँपालिका लाहाचोक उनको पुर्ख्यौली थलो। उनी छोराछोरी पढाउन पोखराको रामबजार झरेका थिए। आम्दानीको लागि उनी कार्पेन्टर बनेका थिए। घर खर्च राम्रै चलेको थियो। उनले सोचे  'म ज्युँदो फर्किन भने श्रीमतीले कसरी धान्लिन् घर?'

दोस्रो जन्म बनेर आइपुगेका सुरेश

पर चाइनिज भ्यान देखे उनले। दमौली सिसाघाट बस्ने सुरेश आलेम मगर हो कि जस्तो लाग्यो उनलाई। अलि घोरिएर हेरे। नभन्दै परिचित सुरेश रहेछन्। उनले सशस्त्रको एक जवानलाई बोलाएर भने, ‘तिमीहरूले मेरो उपचार गर्दैनौँ। उ त्यो भ्यान चलाउने मान्छ मेरो साथी हो। बोलाइदेऊँ, त्यसले गर्छ मेरो उपचार।’

त्यो जवानले उनलाई सघाए। सुरेशलाई बोलाइदिए। सुरेशले पनि टाढैबाट चिनिहाले। रुँदै आइपुगे। सुरेशले आफूसँग भएको कपडा च्यातेर साथीको हातमा बाँधिदिए। दुदराजलाई भने पेटमा सकस भइरहेको थियो। सुरेशले भने त्यो ख्यालै गरेका रहेनछन्। दुदराजले सुरेशलाई भने ‘मलाई अस्पताल लैजा साथी। मरे पनि अस्पताल नै गएर मर्छु।’

सेनाले त्यसै अस्पताल लैजान कहाँ दिन्थ्यो र। सुरेशले पनि आफूसँग भएका नागरिकतादेखि सबै डकुमेन्ट त्यही डाँडाथान चौकीमा राखे। र साथीलाई भ्यानमा राखेर पुर्याए पोखराको गण्डकी अस्पताल।

अस्पताल पुग्दा दुदराज धेरै गलिसकेका थिए। उनले आफ्नो घरको ठेगाना र भाइको नम्बर दिन भ्याएछन्। त्यसपछि केके भयो उनले थाहा पाएनन्। धेरै नै रगत बगेकाले उनी बेहोस भए।

पत्रकार हिमनिधि लौडारीले उनको परिवारसम्म सम्पर्क गरे। उनका भाईले उपचारको जोरजाम गरे। उनको भुँडीको अप्रेसन सफल भयो। अप्रेसन गरे डाक्टर हर्क गुरुङले। उनको अप्रेसन सफल त भयो तर गोलीले उनको एउटा मिर्गौला नै गुम्यो।

‘मेरो उपचार त भयो मिर्गौला गुम्यो। हात माथि नसर्ने भयो,’तन्दुरुस्त मान्छे म अनाहकमा अपाङ्ग भएँ,’ उनले उकेरासँग भने।

अस्पतालको नौ महिना बसाइँपछि उनी डिस्चार्ज भए। उनी पहिलेको अवस्थामा थिएनन्। पहिले झैँ काम गर्न पनि सक्दैनथे। एउटा हात नै माथि नसर्ने भएपछि कार्पेन्टरको काम नै छोड्नुपर्ने स्थितिमा पुगे।

जग्गा बेच्दै उपचार गर्दै

नौ महिना अस्पताल बसेका उनले जग्गा बेच्दै उपचार गरे। नौ महिनापछि घर फर्कँदा पनि द्वन्द्वको अवस्था उस्तै थियो। उनको शरीरको दुखाइ पनि उस्तै। तर उनीसँग भएको जग्गा धेरै सकिइसकेको थियो। गण्डकी अस्पतालमा उपचार त भयो तर हात काट्न पर्ने चिकित्सकीय टोलीले बताए। दुदराजलाई भने बायाँ हात काट्न मन भएन।

बिएण्डबी अस्पताल आइपुगे जग्गा बेचेर। ६ दिन अस्पताल बसे। २ लाख २५ हजार पैसा तिरे। माछापुच्छ्रे  गाउँपालिकामा भएको उनको नामको जग्गा अब छैन। ७ लाख ९४ हजार लाग्यो उपचार खर्च। सबै जग्गा बेचेर जोहो गरे। उपचार गर्दा सरकारले एक पैसा खर्च दिएन।

‘हामी माओवादी हैनौँ, हामी सेना प्रहरीका मान्छे पनि होइनौँ,’दुदराजले भने, ‘दुवै पक्षले हामीलाई पीडित देखेन। द्वन्द्वमा पर्यौ तर हाम्रो उपचार आफैँले गर्नुपर्यो।'

द्वन्द्व पीडित हुन् तर सरकारको सुचीमा छैनन्

२०५२ साल देखि तत्कालीन नेकपा माओवादीले सशस्त्र सङ्घर्ष सुरु गर्यो। माओवादी भूमिगत थिए। उनीहरू र सरकारी फौजबिच दोहोरो भिडन्त भइरहन्थ्यो। २०५८ सालपछि माओवादी विद्रोहले चरम अवस्थामा पुगेका थियो। माओवादी गाउँ छिरेका थिए।

उनीहरूले सर्वसाधारणलाई खाना खुवाउन भन्थे। हातमा राइफल लिएर आएकालाई डरैले भए पनि खाना खुवाउनै पर्यो। त्यसको केही दिनमा युनिफाइड फोर्स गाउँ पस्थ्यो। माओवादीलाई किन खाना दिइस् भनेर कुट्थे।

नागरिकहरू त्यति बेला खुकुरीको धारमा थिए। खुकुरी जता पल्टे पनि काट्ने नै थियो। दोहोरो भिडन्तमा परेर अनाहकमा नागरिकले ज्यान गुमाए। त्यही लेखनाथ चोकमा भएको बम विस्फोटमा परी एक बालकले ज्यान गुमाएका थिए।

दोहोरो भिडन्तमा परेर, दुवै पक्षले राखेको बम विस्फोटमा परेर कति नागरिकको मृत्यु भयो अनि कति नागरिक घाइते भए। तर सरकारसँग तथ्याङ्क छैन। माओवादीले आफ्नाको मात्रै नाम टिपे। सरकारले पनि फौज या दलमा लागेकालाई प्राथमिकता दिए। उनीहरू न सरकारको प्राथमिकतामा परे न माओवादीको नै। त्यसैले उनीहरूलाई न त सरकारले द्वन्द्व पीडित भनेर स्वीकारेको छ  न तत्कालीन माओवादीले नै। त्यसैले त घाइते भएको १८ वर्ष पछि पनि दुदराजहरु द्वन्द्व पीडित घोषणा गर भनेर सङ्घर्ष गरिरहेका छन्।

उपचारको क्रममा सम्पत्ति सकिएपछि टोल विकास संस्थाहरूले उनका छोराछोरीलाई पढाइदिए। अहिले दुदराज द्वन्द्व पीडितहरूको राष्ट्रिय सञ्जालको केन्द्रीय सदस्य र गण्डकी प्रदेशको संयोजक छन्।

यो संस्था मार्फत उनीहरूले आफूहरूलाई पनि द्वन्द्व पीडितको सूचिमा राखियोस् भनेर धाइरहेका छन्। तर  सरकारले उनीहरूलाई पीडित मानेको छैन।

‘दोहोरो भिडन्तमा परी घाइते भयौँ, अङ्गभङ्ग भएका छौँ,’उनले भने, ‘राज्यले हामीलाई पीडित भन्दैन। द्वन्द्वमा परेको मान्छे द्वन्द्व पीडित नभएर के हुन्छ राज्यले हामीलाई बुझाइदेओस्।’

सरकारले बिर्सियो

नेपाल सरकारले दोहोरो भिडन्तमा परेका, सशस्त्र सघंर्षपछि छाडिएका बम विस्फोट हुँदा घाइते भएकाको सुची राखेको छैन।  उनीहरूलाई कुनै राहत सुविधा दिएको छैन। त्यस कारण त आक्रोशित छन् दुदराजहरु।

‘देश शान्ति प्रक्रियामा गइसक्यो। युद्ध लडेकाहरू र युद्धलाई दबाउनेहरू काँधमा काँध मिलाएर हिँडेका छन्। हामी बिचमा पर्ने बिचल्लीमा छौँ,’ उनले भने, ‘हाम्रो समस्या समाधान गर्दैनन्, के हामी यो देशका नागरिक हैनौँ र ? हामी को हौँ त?’

अन्तरिम राहत अन्तर्गत जम्मा ३० हजार पाएका छन् दुदराजले। उनलाई सरकारले ५० प्रतिशत अपाङ्ग भएको त्यत्ति बल बल्ल स्वीकारेको छ त्यो पनि कयौँ पटक परेको मुद्दा पछि।

इन्सेक पनि उनको गाउँ नपुगेको होइन। तर इन्सेकले पनि उनलाई द्वन्द्व पीडित भनेर गनेको छैन। उनीहरूलाई मानव अधिकार आयोगले पनि वास्ता गरेन। दुदराजले बल्ल उजुरी दिएका छन्। न्याय पाउने हुटहुटी छ दुदराजमा। तर उनी झस्किन्छन्  ‘दुवै पिडकहरू सत्तामा छन् हामी पीडितलाई के न्याय देलान् र?’

 

दोहोरो बन्दुकले च्यापिएकाहरू

११ पुस, २०७८, २१:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।